उर्लाबारीमा धिमाल फुड फेस्टिबल हुने 

आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवर्ध्दन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले माेरङकाे उर्लाबारीमा चैत्र १९ शनिवार धिमाल फुड फेष्टिबल हुने भएको छ। 

'संस्कृति, मौलिकता र स्वस्थ्य खाना' मूल नारा दिई चिचिरी–गेन्द्रो दिवसकाे अवसरमा धिमाल जातिय विकास केन्द्रले आफ्नो मौलिक सांस्कृतिक परिकार प्रवर्ध्दनका लागि धिमाल परियाेजना स्थल, मंगलबारे, उर्लाबारीमा धिमाल फूड फेष्टिबल गर्न लागेकाे हो।

धिमाल फुड फेष्टिबलमा समुदायको परम्परागत खाद्य परिकार चिचिरी र गेन्द्रोलाई जोड दिईने कार्यक्रम संयाेजक अम्बरबहादुर धिमालले जानकारी दिएका छन्। चिचिरी धिमाल समुदायमा विषेश प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो।

यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको सचिवालय सदस्य तथा प्रचारप्रसार संयाेजक अजितकुमार धिमालले जानकारी दिएका हुन्। चिचिरी एक प्रकारको लस्सायुक्त धानको चामलबाट तयार पारिन्छ। खास गरि विवाह गरेकी चेली माईत आउँदा कोशेलीको रुपमा यो परिकार ल्याउने गरिएको गरिन्छ। माईत आएकी चेली तथा ज्वाईलाई स्वागतका लागि गेन्द्रो खुवाउने चलन छ। गेन्द्रो सोहि चामलको पिठोबाट पातमा बेरेर पानिमा राखेर उमालेर पकाउने गरिएको छ।

धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवर्ध्दन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले बताएका छन्। धिमाल समुदायका कतिपय संस्कृति, पोशाक, बाजा तथा परिकार धिमाल समुदायकै नयाँ पुस्ताले विर्सदै गएकाले उनीहरुलाई चिनाउन र अन्य समुदायमा समेत धिमाल संस्कृति बारे जानकारी गराउन फेष्टिबल सहयोगी हुने उनको भनाइ छ। कार्यक्रमलाई संगीतमय बनाउन विभिन्न कलाकारहरुको समेत प्रस्तुति रहनेछ।

कार्यक्रममा प्रदेश–१ का प्रदेश प्रमुख पर्शुराम खापुङकाे प्रमुख आतिथ्यता रहने  केन्द्रका महासचिव मात्रिका धिमालले बताएका छन्।

झापा र मोरङ्मा सघन तथा सुनसरीका केहि क्षेत्रमा परम्परागत बसोबास रहेको धिमाल जातिलाई झापाको दमक तथा मोरङको उर्लाबारी, पथरी र बेलबारी नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन्। २०६८ सालको जनगणना अनुसार धिमाल जातिको जनसंख्या २६ हजार २ सय ९८ रहेको छ।

प्रकाशित मिति: : 2022-04-01 06:05:00

प्रतिकृया दिनुहोस्