एसएलसीकाे परीक्षा दिन गएकाे त्याे दिन

मलाई डिस्टर्ब नगर !

BreaknLinks
BreaknLinks

एसएलसी परीक्षाको पहिलो दिन उनले मलाई कक्षाकोठामा भनेका ती शब्दहरू अहिले सम्झिरहेकी छु। परीक्षा दिन जाँदा उनीसँग भएको दोस्ती परीक्षा सकिएसँगै टुट्यो।


शुक्रबार बिहान नयाँ बानेश्वरको रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय भरिभाउ थियो। निधारमा राताे टिका र ‘यूनिफर्म’ लगाएका विद्यार्थीहरु स्कुलको गेटमा झुम्मिरहेका थिए। हातमा प्रवेश पत्र र कलम बोकेर गेट अगाडि उभिरहेका भाइबहिनीहरु एकअर्काेसँग कुराकानी गर्दै भनिरहेका थिए, ‘लास्टै डर लागिरहेको छ, यार। कसरी इक्जाम दिनुहोला!’

आजदेखि सुरु भएको ‘एसईई’ परीक्षाको कारण उनीहरु आत्तिएकाे मैले स्कुल अगाडि रोकिरहेको टेम्पोबाट प्रस्टै बुझिरहेकी थिएँ। सडकभरि परीक्षार्थीको भीडका कारण कपनबाट बानेश्वर आउँदै गरेकाे रोकिएको टेम्पोबाट मैले उनीहरुलाई नियालिरहेकी थिएँ।

परीक्षा सुरु हुनुअघि स्कुलकाे गेट अगाडि आएर छटपटाइरहेका उनीहरुलाई देख्दा मलाई भने मैले दिएको ‘एसएलसी’ परीक्षाकाे याद आइरहेको थियो।

कुरा आजभन्दा ६ वर्षअघिको हो। म एसएलसीको परीक्षा दिनका लागि सुन्दरीजलको श्री ओख्रेनी माध्यमिक विद्यालयमा पुगेकी थिएँ। मलाई अझै याद छ, एसएलसीको परीक्षा दिन गएकाे त्याे पहिलाे दिन।

०७२ साल चैत १८ गते। माेबाइलमा ‘अलार्म’ एकाबिहानै ब्यूझिएँ। अरूबेला सात बजेमात्र उठ्ने म परीक्षाकाे दिन भने साढे चार बजे नै उठेकी थिएँ। उठ्नासाथ हत्तारिदैँ अग्रेंजीकाे किताब समातेँ। र कक्षाकाेठामा सरले इम्पोटेन्ट भनेर चिन्ह्र लगाइदिएकाे काेर्शहरू पढ्न थालेँ।

परीक्षामा राम्रो अंक ल्याउने आशमा मैले एकाबिहानै उठेर किताब मात्र पढिनँ, कहिल्यै नगरेकाे पूजा पनि गरेँ। परीक्षाको दिन पूजा गरेर गयाे भने राम्रो अकं ल्याइन्छ भन्ने जनविश्वास थियो। त्यसैले मैले पनि त्यही विश्वासलाई पछ्याउँदै निधार र घाँटीमा रातो टिका लगाएकी थिएँ।

‘एसएलसीमा पास भयाे भने फलामे ढाेका पार गरिन्छ रे!’ त्याेबेलाकाे चर्चित उखान थियाे। त्यसैले मलाई पनि फलामे ढाेका पार गर्नु थियाे।

परीक्षाकाे अघिल्लाे दिनै हाम्रा ब्याजका सबै साथीहरूले परीक्षाकाे दिन स्कुलमा भेट्ने याेजना बनाएका थियाैँ। साेही याेजनाअनुसार म परीक्षाकाे दिन घरबाट सबेरै निस्किएर गाेकर्णमा रहेकाे स्कुल ‘श्री सहयाेगी माध्यमिक विद्यालय’ पुगेँ। म पुग्दा साथीहरू सबैजना आइसकेका थिए।

स्कुलमा भएकाे भेटपछि परीक्षामा आउने प्रश्नहरूकाे चर्चा गर्दै हामी सुन्दरीजल जाने बस चढ्याैँ। ८ बजेदेखि सुरु हुने परीक्षामा हामी सातै बजे पुग्याैँ।

जङ्गलको छेउमा थियो, ओख्रेनी माध्यमिक विद्यालय। सडकबाट १० मिनेट भित्र हिँड्नुपर्ने। एकदमै शान्त र आनन्दित लाग्ने थियाे, परीक्षा केन्द्र।

हामी जानुअघि नै परीक्षा केन्द्रमा पुगिसकेका थिए, अरू स्कुलका परीक्षार्थी। जाे स्कुलकाे गेटमा झुम्मिरहेका थिए। एक घण्टाअघि स्कुल पुगेका हामी पनि त्यही भीडमा मिसियाैँ।

परीक्षा सुरु हुनु १५ मिनेट अगाडि हामी गेटभित्र पस्याैँ। त्यसपछि सबै जना छुट्टाछुट्टै कक्षाकाेठाभित्र पुग्याैँ। म कक्षा नम्बर–३ मा पुगेकी थिएँ। म सेकण्ड लास्ट बेन्चमा परेकी थिएँ। अनि मेरै छेउमा थिइन्, ‘वर्ल्ड युथ इन्टरनेशनल सेकेण्डरी स्कुल’ की विद्यार्थी। जाे मसँग बाेल्दै भन्दै थिइन्, ‘हेल्लाे, म कल्पना (नाम परिवर्तित)।’

उसकाे कुरा सुनेर मैले पनि आफ्नाे परिचय दिएँ। परीक्षा सुरू भयाे। म परीक्षा लेख्नमा व्यस्त भएँ, उनी मलाई हेर्नमा। एकटकले मलाई हेरिरहेकाे देख्दा मैले भनेँ, ‘छिट्टाे लेख्न थाल, समय भ्याउँदैन फेरि।’ मेराे कुरा सुनेर अन्याेलमा पर्दै उनले कलम चलाउन थालिन्।

परीक्षा दिन थालेकाे एक घण्टापछि घण्टी बज्याे। उनी अत्तालिँदै मेराे नजिक आएर भन्न थालिन्, ‘ओई, मलाई सिकाइ देउन, मैले केही बुझिनँ।’ उनले गरेकाे अनुराेधलाई स्वीकार गर्दै मैले भनेँ, ‘मैले लेखेकाे हल्ला नगरी सार है, तर मलाई डिस्टर्ब चाहिँ नगर!’ उनले हुन्छ भन्दै टाउकाे हल्लाइन् र सरासर मैले कापीमा लेखेकाे उत्तर सार्न थालिन्।

लेख्न थालेको २ घण्टा १५ मिनेटपछि परीक्षा सकियाे। म गेटबाहिर निस्किँदै थिएँ, उताबाट दाैडिँदै कल्पना आएर भन्न थालिन्, ‘धन्न, तिमी मेरो छेउमा परेर मलाई सजिलाे भयाे यार। नभए त मेरो इक्जाम बिग्रिने रहिछ। तिमीलाई धेरै थ्यांक यू।’

उसले मलाई धन्यवाद दिइरहँदा मैले भने उसलाई सम्झाउँदै ‘थ्यांक यू’ काे सट्टा इक्जाममा पढेर आउन सुझाव दिएँ। मेराे कुरा सुनेर कल्पनाले भनिन्, ‘हुन्छ, भाेलिदेखि पढेर आउँछु।’

एसएलसी परीक्षाको पहिलो दिन उनले मलाई कक्षाकोठामा भनेका ती शब्दहरू अहिले सम्झिरहेकी छु। परीक्षा दिन जाँदा उनीसँग भएको दोस्ती परीक्षा सकिएसँगै टुट्यो। तर जेहाेस्, फलामे ढाेका चाहिँ पार गर्नैपर्छ। आजदेखि एसईई परीक्षा दिने भाइबहिनीहरूले राम्राे अंक ल्याएर उर्त्रीण गरून्। सबै जनालाई ‘अल द बेस्ट।’ 

प्रकाशित मिति: : 2023-03-31 21:05:00

प्रतिकृया दिनुहोस्