झापामा विद्यालयभित्रै छात्रामाथि यौन दुर्व्यवहार, आरोपित शिक्षक पक्राउ

Symbolic photo
Symbolic photo

१३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्ने बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ५० वर्षीय श्रीप्रसाद सिवाकोटी (सन्दीप) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हल्दिबारी गाउँपालिका–१ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत छात्रालाई शुक्रबार दिउँसो विद्यालयभित्रै शिक्षक सिवाकोटीले यौनजन्य  दुर्व्यवहार गरेको आरोप लागेको छ।

स्थानीयका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा सकेर घर जाँदै गरेकी छात्रालाई शिक्षक सिवाकोटीले यौनजन्य  दुर्व्यवहार गरेका थिए।

यौन दुर्व्यवहारमा परेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई तत्काल जानकारी गराएकी थिइन्। आक्रोशित बनेका अभिभावक र छिमेकीहरू घटना बुझ्न विद्यालय पुगेका थिए।

उनीहरूले यौनजन्य  दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कानुनी कारबाहीको माग गर्दै विद्यालय समेत घेराउ गरेका थिए। आक्रोशित भिडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड गरेका थिए।

यता घटना घटेलगत्तै प्रहरी चौकी गोलधाप र प्रहरी कार्यालय झापाका प्रहरी टोली घटनास्थल पुगेका थिए। घटना बुझेपछि प्रहरीले शिक्षक सिवाकोटीलाई शुक्रबार बेलुका घरबाटै पक्राउ गरेको छ।

उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ। पीडित बालिकाको परिवारजनबाट किटानी जाहेरी परेपछि मात्र घटनाको विषयमा थप जानकारी गराउने प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रकाशित मिति: : 2022-03-27 12:51:00

प्रतिकृया दिनुहोस्