जुम्लीहरुले पुसमा खेल्ने भैलोले कर्णालीकाे इतिहास र विरासत बाेलेकाे पाइन्छ। भैलाे पुगाड्दा (भट्याउँदा) सिंजा साम्राज्यभित्रका अधिकतम स्थानका नाम आउँछन्। त्यहाँ हुने उत्पादन र त्यहाँका विशेषता सुन्दा कर्णालीकाे इतिहास खाेज्ने भेउ मिल्छ।
भैलाे संस्कृतिकाे रुपमा विकास हुनुका विभिन्न मत छन्। जसमध्ये पहिलाे हाे, युद्ध। जुम्ला राज्यका संस्थापक राजा बलिराजलाई युद्धकाे सामग्री जुटाउन धाै भयाे। उनले सेनालाई आदेश दिए। घर घर पुगेर रितु जनाउनु, माेहर पैसा माग्नु, अन्न माग्नु। पछि त्याे भैलाे संस्कृतिकाे रुपमा विकास भयाे र हरेक वर्ष खेल्न थालियाे।
पुस खेलिने भैलाेमा बलिराजाकाे नाम नआए पनि तिहारमा खेलिने भैलाेमा 'हामी त्यसै आएका हाेइनाैं। बलिराजाले पठाएका,' भन्ने गरिन्छ।
भैलाेलाई लेकका बस्तीमा धउँशीला पनि भनिन्छ। लेककाे बस्ती वाेता मालिकामा यसकाे अस्तित्व अझै पनि भेट्न सकिन्छ। धउँशीलाकाे जन्मकथाअनुसार सिंजाको खसराज्य र तिब्बतको खारीराज्यबीच ताक्लाखार (ताउलाखार) आसपास धेरै दिनसम्म भीषण लडाइँ भयो। त्याे लडाइँ खस सेनाले जिते पनि उनीहरु राजधानी सिंजा फर्किने बाटो खर्च, रासनसामल बाँकी थिएन। त्यसैले उनीहरूलाई बाटोमा पर्ने गाउँबस्तीमा विजय सन्देश फैलाउँदै भैलो माग्ने उर्दी भयो। यसरी भैलो माग्ने चलन सुरु भयो।
दाेस्राे कारण भनेकाे फुर्सद हाे। कर्णाली क्षेत्रतिर मंसिर-पुसका मानिस बढी फुर्सदिला हुन्छन्। फुर्सदमा के गर्ने भनेर राजा बलिराजलाई साेध्दा उनले यसरी गाउँगाउँ, घर-घर गएर खेल्नु, रमाइलाे गर्नु भनेर आदेश दिए। त्यसलाई भैलाे भन्नु भने। त्यसपछि भैलाेकाे सुरु भयाे।
भैलाे मंसिर पूर्णिमामा एक दिन र पुसे औँसीकाे दिनदेखि पाँच दिनसम्म खेलिन्छ। त्यसकाे एक/दुई दिनपछि नजिकैकाे चाैर वा सार्वजनिक जग्गामा गएर सामूहिक भाेज आयाेजना गरिन्छ। जसलाई पाठेभात भनिन्छ। मंसिर पूर्णिमाकाे दिन खेलीने भैलोलाई नानी भैली भनिन्छ। पूर्णिमा अर्थात पुनिमा खेलिने नानी भैली यसरी पुगाड्ने(भट्याउने) गरिन्छ।
आउँसीका बार - भैलो!
दरमुद बार - भैलो!
दराम्या खोली - भैलो!
बाँसैकी झोली - भैलो!
बाँसैकी विर्ता - भैलो!
आर्या न तार्या - भैलो!
पिपलु डाल्या - भैलो!
पिपलु पाती - भैलो!
रायकी छाती - भैलो!
राय जुमाउनु - भैलो!
बाखरी खानु - भैलो!
भैलाेरै चेला - भैलो!
भैलाेरा आया - भैलो!
ऋतु जनाया - भैलो!
ऋतुकी मार्या - भैलो!
हाम्री खेल्नी चार्या - भैलो!
चार्या पैचार्या - भैलो!
भैलाका रात्री - भैलो!
चौथमी छेडो - भैलो!
पच्यामी घोडो - भैलो!
घोडा घोडाउली - भैलो!
छेडो छेडाउली - भैलो!
आकाश शीला - भैलो!
पाताल जडा - भैलो!
भैलै सुहाला - भैलो!
भैलो गयो दाङ - भैलो!
अरु क्यै नमाग - भैलो!
मोहर पैसा माग - भैलो!
ताई तल जाउला - भैलो!
छ्याई छ्याई गनौला - भैलो!
कस्ले दिया भनौला - भैलो!
ठूलाघर दिया भनौला - भैलो!
नामै चलाउला - भैलो!
नामैकी माया - भैलो!
दुवाजन जेलिया - भैलो!
पाथाजन भरिया - भैलो!
पिप्ल जन गाज्या - भैलो!
द्यार जन बड्या - भैलो!
लाख वर्ष बाँच्या - भैलो!
घार मौरा आइजाउन् - भैलो!
ल्हास घोडा भइजाउन् - भैलो!
अन्न भैलो दिन्यालाई - भैलो!
अनिकाल नपरोस् - भैलो!
मोहरपैसा दिन्यालाई - भैलो!
दाल्द डेरा नगरोस् - भैलो!
ऋतुका बात - भैलो
आकाश सिला - भैलो
पातल जडा - भैलो
भैलाे खेल्नेले आफू आउनाको कारण बताउँछन्। हामी दरा खोलाका मानिसहरु कपडाका झोल बोकी बाँस झाँगिएझैं हुल बाँधेर आयौं। ऋतु जनायौं भन्दै मोहोर पैसा माग्छन्। (मोहार भनेको पचास पैसा हो।) तिमी पिपलका पात र हाँगाजस्तै शुद्ध र लक्षिनका छौ। तिम्रो असल होस्, भलो होस्। तिमी बढेर आकाश जतिकाे हुनु। तिमीले दुबोजस्तै जेलिएको(फैलिएको) सम्बन्ध बनाउनु। अन्न भरिएको पाथाेजस्तै भरिपूर्ण हुनु भनि आशिर्वाद दिने गर्छन्। जुन साहित्यिक भाव बोकेको, विम्ब र प्रतिकहरु भएकाे मर्मस्पर्शी र अतिरञ्जनायुक्त हुन्छ।
हरेक घरमा खेल्नुपर्ने भैलाेकाे माथि प्रस्तुत अंश नानी भैलीमा पुगड्ने गरिएको हुनुपर्छ। एक दिन मात्रै, त्याे पनि आफ्नै गाउँमा मात्रै खेल्ने हुनाले याे अलि छाेटाे छ। पछि कतिले ठुली भैलीमा पनि यसलाई नै पुगड्ने र खेल्ने गरेकाे हुनाले दुबै भैली पुगडाई एकैनासे देखिन गएकाे हाे। तर यसमा कर्णालीका सबै कुरा समेटिएको हुँदैन।
प्राय जानेकाले ठुली भैलीकाे बेला लामाे गरी भैलाे पुगड्दा(भट्याउँदा) कर्णाली चित्रित हुन्छ। त्यसमा सिंजा साम्राज्यका विभिन्न स्थानहरुकाे महत्वलाई 'यो खान्की पायो' भन्दै दर्शाइएको छ। अन्तमा दाङ देउखुरी हुँदै भैलोलाई नेपाल(हालको काठमाडौं उपत्यका) सम्म पनि पुर्याइएकाे छ।
नानी भैली अर्थात् मंसिर पूर्णिमाको ठिक १५ दिनपछि औँसीको प्रतिपदादेखि पाँच दिनसम्म सिंजा र जुम्ला उपत्यकामा ठुली भैली खेलिन्छ। यसमा भैलोको उत्पत्तिदेखि पुग्ने ठाउँसम्मको वर्णन गरिएको हुन्छ। जसका शब्दहरुले उतिबेलाको शक्तिशाली साम्रज्यको यथार्थता झल्काउँछ।
बान्की मिलाएर निकै लामो र मिठो लयमा गाउने भैलोको सुरुवात यस्तो हुन्छ।
काँ र जन्म्यो भैलो? मानसरोवर कविलास - भैलो
ऐंर दखि भैलो ताक्लाखार आयो - भैलो
ताक्लाखार भैलाले क्या को खान्की पायो? - भैलो
ताक्लाखार भैलोले सुन खान्की पायो - भैलो
त्यस्तै क्रमश भैलो खोचेर आएर मूर्ति, हिल्सा आएर राज्य, हुम्ला आएर फेरुवा (भेडाकाे उनबाट बनेकाे ओछ्याउने बस्त्र), सोरु गल्ब आएर मास गराउँस, मुगु करान आएर नुन/उन, गमदरा(गमगडी) आएर मच्चा(खुर्सानी), घुच्ची आएर बयाल (बतास), बोता आएर चोतो/कोइरो(सलगम जस्ताे मिठाे फल। अचार र तिउन, तरकारी बनाउन मिल्ने), सिंजा गडी आएर राजधानी पायो, लामथाडो हल्लायो, सिउबाघ जुधायो, लुड्कु आएर राजगुरु, लाहर्ज आएर जम्वुबाली, ओडार आएर पाँचै पाण्डव, देआरपाटा आएर पुजा पालो, जाँच आएर धान खानी, नराकोट आएर केदारनाथ, जुम्ला चौधान आएर चन्दननाथ पायो, मार्सी धान रोपायो, श्रीढुस्का आएर सत्र खम्बा, पाँच सया दरा आएर बाइस पाटन, रकाल खोला आएर बयाल(बतास), बारबीस आएर ओडार, दुल्लु दैलेख आएर पञ्चकोशी, सुर्खेत आएर काँक्रेविहार खान्की पाएको उल्लेख छ।
त्यसैगरी दाङ देउखुरी आएर भैलाेले संसारै फिजायो, नेपालै पुर्यायाे भन्ने छ। यसरी जुम्लामा खेलिने भैलो मानसरोवरबाट जुम्ला आएको र जुम्लाबाट दैलेख, सुर्खेत, दाङ हुँदै नेपाल(उतिबेलाको काठमाडौं उपत्यका) सम्म पुगेको बुझ्न सकिन्छ।
सिंजातिर खेलिने भैलोले ऐतिहासिक सिंजा साम्राज्यको विरासतसँग संस्कृतिलाई जोडेको देखिन्छ। कुनैपनि क्षेत्रको साहित्य त्यहाँको भूगोल, इतिहास, कला कौशलसँग जोडिएको हुन्छ। यसले संस्कृति निर्माणमा सहयोग मिल्छ। यसरी कर्णाली क्षेत्रमा विकास भएको भैलोले यहाँको संस्कृति र सभ्यताको उच्चतम विकासलाई प्रष्ट्याउँछ।
त्यस्तै जुम्ला उपत्यकामा खेलिने भैलो पनि मावसरोवरमा जन्मेको कुरा बुझ्न सकिन्छ। उक्त भैलोमा मानसरोवर तीर्थ खान्की पाएको कुरा छ। अहिले पनि मस्टो मान्नेहरु आफ्नो देउता ल्याउन मानसरोवर जान्छन्। जुम्ला उपत्यकामा खेलिने भैलो यसरी सुरु हुन्छ।
पैल्हा(पहिला)को भैलो काँबाट उब्ज्यो ? - भैलो
पैल्हाको भैलो मानसरोवर उब्ज्यो - भैलो
सरोवरका भैलोले क्या कै खान्की पायो ? - भैलो
सरोवरका भैलाले यै यै खान्की पायो - भैलो
हाँस खेल्न्या, पुली पाड्न्या तीर्थ खान्की पायो - भैलो
जुम्ला उपत्यकालगायत जिल्लाका अरु स्थानमा खेलिने भैलोको सुरुवात लगभग उस्तै भएपनि पछाडिका अनुप्रास फरक फरक छन्। तर सबै ठाउँमा खेलिने भैलोमा ऐतिहासिक सिंजा साम्राज्यको चर्चा छुटेको छैन। यसरी सबै क्षेत्रमा खेलिने भैलो लगभग उस्तै हुनुले पनि सिंजा साम्राज्य समकालीन अवस्थामा अथाह शक्तिशाली भएको बुझ्न सकिन्छ।
कतिपयले सिधै पुगाड्ने भैलाेलाई केटाकेटीले खेल्ने भैलाे भन्छन् भने 'खान्की पायाे' भनेर खेलिने भैलाेलाई पाका उमेरकाले खेल्ने भन्छन्। भाषा तथा संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्य केटाेकेटीले खेल्ने भैलाे तथा वयस्कले खेल्नेलाई देउसी भन्छन्।
उनले भने, 'भैलाे र देउसी दुबै उही समयमा खेलिन्छ। सामन्य तरिकाले पुगाड्न्या भैलाे हाे। जुन केटाकेटी खेल्छन्। 'खान्की पायाे' भन्ने वयस्क र महिलाहरुले खेल्छन्। जसलाई देउसी भनिन्छ। याे मानसरोवरबाट सुरु भएर नेपाल(काठमाडौं) सम्म पुग्छ। तर उताकाेले केही फेरेर तिहारमा खेल्ने भैलाे बनाए र त्यसैलाई देउसी भने।'
पुसको महिना खेलिने नानी र ठुली भैली यस क्षेत्रका गौरवशाली सांस्कृतिक पर्व हुन्। तर यतिबेला पुसे भैलो छोडेर तिहारको भैलाेमा सबैकाे ध्यान गएकाे छ। जाेसँगै तमाम विकृति पनि भित्रिएका छन्। जसले हाम्राे संस्कृति मास्दै गइरहेको छ।
अहिले त पुस्ताैंदेखि खेल्दै आएकाे भैलो खेल्नेहरु भेटिन छाेडेका छन्। नयाँ पुस्ता पुसे भैलाेबाट बेखबर छ। केही फाट्टफुट्ट अघिल्लो पुस्ताका महिलाहरुले खेलिरहेका भएपनि अब पूर्ण रुपमा लाेभ हुने अवस्थामा पुगेकाे छ। अरुको संस्कृतिलाई आँखा चिम्लेर अंगाल्नाले कुनै दिन थाहै नपाइ हामीले पहिचान गुमाइसकेका हुनेछाैं। हाेस गर्या है मान्ठाै!