टिप्पणी

धर्म र कुसंस्कारले बचाइराखेको पितृसत्तात्मक सोचलाई भत्काऔँ

प्रकाश गजमेर

पाेर्चुगल

जबसम्म समाज चेतनशील हुँदैन, तबसम्म धार्मिक अन्धभक्तताबाट अलग रहन सक्दैन। धर्म गतिशील हुँदैन, यो समयअनुसार परिवर्तन हुँदैन। यसका अकाट्य नियमहरु हुन्छन्। यसको मतलब धर्म खराब चिज हो, मान्नै नहुने वा मान्दै नमान्ने भन्ने तर्क चाहिँ होइन। यो आ–आफ्नो विचारमा भर पर्ने कुरा हो। व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हो। धर्ममा विश्वास गर्नेहरुले भन्न कुरा पनि हो। तर, धर्मको नाममा भएका रुढिवादको भने विरोध गर्नैपर्छ।

कुन धर्म र संस्कार कहिलेदेखि, कसरी मानियो ? अहिले धर्मलाई कसरी मनाइँदै छ ? भन्ने कुरा बुझ्न जरुरी छ। वर्तमानमा मान्दै गरेको परम्पराहरुको इतिहास बुझ्न भने एकदम आवश्यक हुन्छ।

धर्म र संस्कारले समाजमा के कस्ता सकारात्मक र नकारात्मक प्रभाव गर्‍याे वा गर्दैछ र भविष्यमा कस्ता प्रभाव पार्दै जानेछन् भन्ने कुरा महत्वपूर्ण हुन्छ।

धर्म र संस्कृति भन्ने कुरा समाज जागरणको एउटा महत्वपूर्ण पाटो हो। समाज जागरुक हुन र सम्पूर्ण वर्गको समान अथवा मानवअधिकार सुनिश्चित हुन हामीले मान्दै आएको संस्कृति बारेमा व्यापक बहस हुन जरुरी छ। यस्ता मान्यताले कुनै समुदाय वा वर्गलाई असर पुर्‍याउन हुँदैन। सुधार गर्दै लैजानुपर्छ।

समाजसँग धर्म र संस्कृति जोडिएको हुन्छ। हामीले धर्म, संस्कृतिमा भएको गलत धारणलाई सकारात्मक तरिकाले परिवर्तन गरियो भने समाज बद्लिन समय लाग्दैन्। यदि समाज त्यही धर्म, संस्कृतिमा भएको नकारात्मक कुरालाई स्वीकार गरेरै अघि बढ्दै छ भने कहिल्यै पनि त्यो समाज रुढिवादको दलदलाबाट बाहिर निस्कन सक्दैन।

उदाहरणको लागि युरोपको मध्य युगतिरको कुरा गरौं। त्यतिबेला धर्मगुरुद्धारा पाप मोचन बेच्ने गर्दथे। पाप मोचनपत्र किन्न नसक्नेलाई नर्कको त्रास देखाइन्थ्यो। धनी वर्गको व्यक्तिले पाप मोचनको पत्र सजिलै किन्न सक्थे, त्यसैले उनीहरुमा स्वर्ग जाने चेतना थियो। तर, पाप मोचन किन्न नसक्नेहरु भने गरीब मान्छे हुन्थे, उनीहरु भने नर्क जाने भन्ने बुझाइ थियो।

यो कुराले के भन्न खोजिएको हो भने समाज आर्थिक रुपमा विपन्न भएपछि धर्मले कसरी ठेल्छ भन्ने कुरालाई प्रष्ट गर्छ। बिहान र बेलुका छार्क टार्न दिन/रात काम गरिरहेका मान्छेहरु र उनीहरुकै परिश्रमको फाइदा उठाएर बाँचेका धनी मान्छेहरुलाई धार्मिक व्यापारले पनि उत्तिकै थिचेको हुन्छ। समाज यति ग्रसित थियो कि रुढिवादले मान्छेलाई खानलाउन भन्दा पनि पाप मोचनपत्र किन्न नसके मरेपछि नर्क जाने त्रासले विशेष गरीब मान्छेलाई चिन्ताको विषय बन्यो।

जहाँ रुढिवादले गजडिएको समाजलाई भत्काउने मार्टिन लुथर किङको साहसको जन्म भयो। लुथर यस्तो धर्मको व्यापारलाई भत्काउन थाले। धर्मको व्यापारले भरेको ठुला–ठुला पहाडलाई तोड्ने क्रममा लुथरलाई मान्छेले पागल, धर्म विरोधी, अविवेकशीलजस्ता उपनाम दिन थाले। उनलाई ज्यान मार्ने धम्कीसमेत आयो। अन्तत: लुथरले धर्म व्यापारलाई तोड्न सफल भए।

रुढिवादले युरोपको समाज यसरी थला परेको थियो कि मध्ययुग, पाँच शताब्दीपछि करिब हजार वर्षसम्म यो क्रम चलिरहेको थियो।

जीवनको एउटा मात्र यर्थाथ सत्य मान्छे जन्मेपछि मर्छ। त्यो बिचको समयमा उसले बाँचेको समाज र उसले मानेको धर्म, संस्कृतिले जीवनको अन्तिम यात्रासम्म गन्तव्य कोरेको हुन्छ। जन्मेदेखि मृत्युसम्म मान्छेले मान्दै गरेको रीतिरिवाज र परम्पराले उसको चेतनाको जग निर्माण गर्छ। त्यही चेतना, बुझाइ मान्छेको जीवन यात्रासँगै दौडिरहन्छ। यति भनेपछि बुझ्न सकिन्छ, धर्म, संस्कृति बुझ्न कति आवश्यक छ भनेर।

हामीले मान्दै आएको धर्म संस्कृतिभित्र भएका नराम्रो पाटोहरुलाई केलाउनुको साथै भत्काउनुपर्छ। धर्म संस्कृतिले कुनै समुदाय, वर्गलाई असर गराउनु हुँदैन। सबै धर्ममा समनता समावेशी हुनुपर्छ। धर्मको नाममा बनाइएका स्रोत सामग्रीलाई सबै समुदायले सेवा लिन पाउनुपर्छ। मठमन्दिरमा सबैको बराबरी सहभागी हुनुपर्छ।

धर्म संस्कृतिभित्र भएको रुढिवाद तथा बेथितिलाई तोड्न खोज्ने मान्छेलाई समाजले मनपराउँदैन। यस्ता रुढिवादलाई जोगाइराख्नुपर्छ भन्ने जमात बलियो हुन्छ। जब सचेत व्यक्तिलाई दबाब आउँछ, तब ऊ फेरि उठ्न सक्दैन। अब यस्ता व्यक्तिहरुलाई समाजले स्वीकार गर्नुपर्छ।

नयाँ चिज स्वीकार गर्न केही असहज हुने हुँदा मान्छेहरु भइरहेको अवस्थामा रमाउन चाहन्छन्। रुढिवाद चिर्नु ज्यानको बाजी लगाउनु हो, यो सामान्य कुरा होइन।

नेपालमा पनि धर्मको नाम कयौं महिलाले ज्यान गुमाउनु परेको छ। बोक्सीको आरोपमा होस् या देवी चढेको नाममा होस्।

भर्खरै नेपालमा धर्मको नाममा एक बालिकाले ज्यान गुमाइन्। यस्ता धेरै घटना छन्, जसले धर्मको नाममा अकालमा मर्नुपरेको छ।

केही समय नेपालमा सति प्रथालाई जायज गर्ने जमात ठुलै थियो। त्यतिबेला धार्मिक अन्धविश्वासबारे लेख्न, वकालत गर्न सहज थिएन।

एकातिर चर्को पितृसत्ताको विरोध गर्ने र अर्कोतिर पितृसत्तालाई जोगाइराख्नुपर्छ भन्ने जमात अझै पनि समाजमा छन्। उनीहरुकै कारण समाजमा अझै पनि महिलालाई तल्लोस्तरमा राख्नुपर्छ भनिन्छ।

धर्मको नाममा पाप धर्मको बहाना देखाएर जबरजस्ती महिलाले आफ्नो श्रीमानको खुट्टाको पानी पिउनुपर्छ, श्रीमानले भनेको राम्रो नराम्रो सधैं सहनुपर्छ जस्ता कुराहरुको विकास भइरहेको छ। हजारौं वर्षसम्म पितृसत्ताले थिचिएको  साशन अहिले नदेखिने तरिकाले कायम हुँदैछ। जसबारे बहस गर्न आवश्यक छ।

धार्मिक कुराले महिलालाई धेरै संकुचित बनायो। यसको सबै फाइदा पुरुष अथवा पितृसत्ताले मात्र लियो। कुनै पनि निर्णयहरु चाहे आर्थिक होस् वा राजनीतिक, पारिवारिक अझै मातृत्वको निर्णयसमेत पुरुषले कब्जा गरेको छ।

निर्णय गर्न पाउनु सबैको अधिकार हो। यस्ता विषयमा छलफल गर्नुको साथै व्यवहारिक रुपमा लागु गर्नुपर्छ। पुरुष भएपछि सबै छुट हुन्छ भन्ने मान्यताको विकास पनि धर्म संस्कृतिकै कारण हो। पुरुषले महिलालाई सधैं आफ्नो कब्जामा राख्नुपर्छ भन्ने फितलो सोचलाई भत्काउनुपर्छ। मुखले महिला पुरुष बराबर भनेर मात्र नभई व्यवहारिक रुपमा पनि लागू गर्नुपर्छ। हाम्रो पुरुषप्रधान समाज किन र कसरी बन्यो भन्ने कुराको चुरो कुरा यही हो।

धर्म संस्कृतिको नकारात्मक रुढिवादलाई भत्काएर पितृसत्तात्मक सोचलाई पनि तोड्नुपर्छ। महिलालाई बच्चा जन्माउने साधन वा घर, आँगन, चुलोचौका र मेलापातमा मात्र सिमित गराउने क्रमलाई रोक्नुपर्छ। सबै सेवा सुविधामा महिलालाई सहभागी गराउने मात्र होइन, उनीहरुलाई निर्णय गर्न दिएर त्यसलाई सम्मान गर्नुपर्छ।

के हो आरक्षण ? किन हुन्छ यसको विरोध ?

प्रकाशित मिति: : 2023-05-08 21:30:00

प्रतिकृया दिनुहोस्