सुदिप बराल
कुनै बेला चुहिएको थोत्रो पुरानो घरमा बस्नुभन्दा नयाँघर बनाउँछु भन्दै माओवादी परित्याग गरेका डा.बाबुराम भट्टराई अन्तत: माओवादीकै दैलाेमा पुगेका छन्। चुनाव नजिकिएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुरामकाे पुनर्मिलन भएकाे छ।
विगतमा उनीहरुबीच आरोप प्रत्यारोपका श्रृंखलाहरू धेरै छन् तर अहिले उनीहरु फेरि एउटै कित्तामा आइपुगेका छन्। एक अर्काविरुद्ध तुच्छ अभिव्यक्ति दिने उनीहरु अहिले एक अर्काको प्रसंशा गरेर थाक्दैनन्। यता बाबुराम–प्रचण्ड पुर्नमिलन चुनावी फण्डा मात्र भएको विश्लेषणहरु सुरु भएका छन्। उनीहरुको सहकार्य दीर्घकालिन हुनेमा धेरैको आशंका छ।
बाबुरामले माओवादी छोडेपछि अध्यक्ष प्रचण्डले भनेका थिए,‘मैले ३० वर्ष झेलेको बाबुरामलाई कसैले एक वर्ष झेलेर देखाओस्।’ अन्तत: प्रचण्डको भनाइलाई बाबुरामले आफैं प्रमाणित गरिदिए। कतै पनि टिक्न नसकेका बाबुराम घुम्दै फिर्दै रुम्जाटार भनेझैं माओवादीकै शरणमा आइपुगेका छन्।
हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका बाबुराम भट्टराई एक बौद्धिक नेताका रुपमा चिनिन्छन्। तर, उनको बौद्धिकताले देशले के पायो ? त्यो भने सोचनीय विषय बनेकाे छ। बाबुरामको राजनीतिक जीवन अस्थिरतामै बितेको छ। उनी राजनीतिक खपतका लागि अनेकौं वैचारिक फण्डा भजाउन माहिर छन्।
कुनै बेला माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब रूपैयाँ कमिसन खाएर आयोजनालाई अन्यौलमा पारेको ठोकुवा गरेका बाबुराम अहिले उनै प्रचण्डको चरणमा किन आए ? धेरैको प्रश्न छ। अब उनै ‘भ्रष्टाचारी प्रचण्ड’लाई बाेकेर कहाँ पुग्लान् बाबुराम ?
हाल नेपाली राजनीतिक वृत्तमा बाबुरामले प्रचण्डबाट पार्टी अध्यक्ष, राष्ट्रिय सभा सदस्य वा भावी राष्ट्रपतिको ‘अफर’ गरेको हुन सक्ने चर्चा चलिरहेको छ।
त्यसैले होला नयाँघरको कुरा गरेर माओवादी छाडेका बाबुरामले आखिरमा आफ्नो घरै प्रचण्डलाई जिम्मा लाइदिएका छन्। पटक–पटक आफूले निर्वाचन जित्दै आएको गोरखा– २ प्रचण्डलाई सुम्पिदिएका छन्। आफैंले कुनै बेला संगीन आरोप लगाएका प्रचण्डको राजनीतिक भविष्य बचाइदिन आफ्नै राजनीतिक भविष्य दाउमा राखेका छन्। सायद प्रचण्डको आश्वासन नपाएको भए बाबुरामले उनको लागि यति ठुलो त्याग गर्ने थिएनन्।
प्रचण्डको मनोनयन दर्ता गर्न पछि–पछि गोरखास्थित निर्वाचन अधिकृतकाे कार्यालय पुगेका बाबुराम आफैं प्रचण्डको प्रस्तावक बने। प्रचण्डजस्तो व्यक्तित्वलाई नेतृत्व हस्तान्तरण गर्न पाउँदा औधी खुसी भएको बताए। गोरखाले आफूभन्दा सक्षम नेता पाएको दाबी गरे। तर, कुनै बेला आफैंले भ्रष्टाचारको बिल्ला भिराएको प्रचण्ड कसरी सक्षम भए ? प्रचण्ड उही हुन्, उनको आचरणमा कुनै परिवर्तन छैन्।
बाबुरामले प्रचण्डलाई देवत्वकरण गर्नुका पछाडि छोरी अस्मिता सिंह (मानुषी) यमी भट्टराईलाई काठमाडौं– ७ बाट माओवादीको टिकट दिलाउनु र मानुषीलाई भट्टराई खानदानको नयाँ उत्तराधिकारीको रुपमा अगाडि सार्ने स्वार्थ रहेको चर्चा चल्न थालेको छ।
छोरीको राजनीतिक भविष्य सुरक्षित बनाउनका लागि आज–भोलि बाबुराम प्रचण्डको पछि मरिमेटेर लागेका छन्। प्रचण्डको लागि भोट माग्दै हिँडेका छन्। कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री भन्दै फुरुक्क पार्दै छन्।
चितवनमा चुनाव जित्ने छाँटकाँट नदेखेर माओवादीको पकड क्षेत्र मानिने गोरखा उक्लिएका प्रचण्ड पनि बाबुरामको साथ पाएर गमक्क छन्। कसैको उक्साहटमा फुरुक्क हुने ‘फुर्के प्रचण्ड’ले फुरुक्क पर्दै बाबुरामलाई लाभको पद दिन बेर पनि लगाउदैनन्। बाबुराम भोलि माओवादी केन्द्रको अध्यक्ष, राष्ट्रिय सभा सदस्य वा राष्ट्रपति नै बने भने पनि अचम्म नमान्दा हुन्छ।
नयाँ संविधान जारी भएलगत्तै पुरानो राजनीतिक दलको औचित्य सकिएको दाबी गर्दै माओवादी छाडेका बाबुरामले नयाँ वैकल्पिक शक्ति बनाउने सपना देखेका थिए। तर, अहिले उनको वैकल्पिक शक्ति बनाउने सपना कहाँ पुग्यो ? सायद उनी आफैँ अनभिज्ञ छन्।
माओवादी छाडेका बाबुरामले नयाँ शक्ति पार्टी बनाएका थिए। तर, उनको नयाँ शक्ति २०७४ सालको चुनावमा उठ्नै नसक्ने गरी बजारिन पुग्यो। उनको नयाँ शक्तिको सपना पनि तुहियो। उनलाई नयाँ शक्तिको सपनाभन्दा पनि भइरहेको पार्टीको अस्तित्व कसरी जोगाउने भन्ने चिन्ताले सताउन थाल्यो।
बाबुरामले आफ्नो अस्तित्व रक्षा हुने आशमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्दै समाजवादी पार्टी बनाएर नेपालमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरे। तर, बाबुराम जहाँ पुग्छन् त्यहाँ भत्कोस लागिहाल्छ। उनी जसपामा पनि टिक्न सकेनन्, उल्टै जसपामा फुटाइदिए।
अहिले बाबुरामले नेपाल समाजवादी पार्टी गठन गरेका छन्। त्यसलाई पनि चुनावपछि माओवादीको चरणमा बिसाउने तयारीमा माओवादीको दैलो कुरेर बसेका छन्।
सशस्त्र द्वन्द्वकालदेखि नै मिलन–बिछोड हुँदै आएको प्रचण्ड–बाबुरामको स्वार्थकेन्द्रित यो पुनर्मिलनमा पनि धेरै आशंकाहरु उब्जिएका छन्। यो जोडीले फेरि हनिमुन मात्रै मनाउछन् कि सम्बन्ध कालान्तरसम्म टिकाउँछन् ? त्याे भने हेर्न बाँकी नै छ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया