दुर्गा प्रसाईद्वारा २ सय विपन्न परिवारलाई नि:शुल्क स्वास्थ्य बीमा

File Photo
File Photo

बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले गरिव, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिएका छन्।

प्रसाईले अर्जुनधारा नगरपालिकाका दुई सय बढि परिवारलाई स्वास्थ्य बीमा गरिदिएका हुन्। उनीहरुले अब सरकारको नीति अनुरुप १ लाखको स्वास्थ्य उपचार गर्न पाउनेछन्।

कार्यकारी निर्देशक प्रसाईले अर्जुनधारा नगरपालिका वडा नम्बर १,२ र ३ का विपन्न २०३ परिवारको स्वास्थ्य बीमा गरेको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए। बीमा सुविधाबाट बञ्चित ती परिवारको बीमा बापत लाग्ने तीन हजार पाँच सय रुपैँया प्रति परिवारका दरले सात लाख बढि रकम तिरेर बीमा सुविधा उपलब्ध गराउने प्रसाईले बताए। प्रसाईले आर्थिक अभावकै कारण कसैले स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले आफूले सो काम गरिदिएको जानकारी दिए।

उनले सो क्षेत्रका बासिन्दालाई कुनै अभाव वा समस्या आइ परेमा आफूकहाँ आउन आग्रह गरेका छन्। ‘तपाईहरु भोकै बस्नु पर्दैन, त्यस्तै अवस्था आए म कहाँ आउनुहोस,’ उनले भने,‘तपाईहरुको छोराछोरीको विहे गर्न १०-२० हजार खर्चले अप्ठ्यारो पर्यो भने आउनुहोस म दिन्छु।’

कार्यक्रममा कार्यकारी निर्देशक प्रसाईले प्रतिनिधिमुलक रुपमा मानबहादुर दर्जी आइतमाया लिम्बू, देउबहादुर बराइली, रेश्मा केरुङ, मनमाया लिम्बू र रुद्र गजमेरलाई बीमा कार्ड वितरण गरेका थिए।

अति विपन्न परिवारलाई अस्पतालको सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य बीमा गराइदिएको कार्यकारी निर्देशक प्रसाईको भनाइ छ। उनका अनुसार छिमेकी जिल्ला इलामको माई नगरपालिकाको थाक्लेमा पनि दुई सय परिवार गरि हालसम्ममा ४ सय ३ जनाको बीमा गरिएको छ।

अभियान नेपालको सहजीकरणमा बिमा कार्ड वितरण गरिएको थियो। अभियानकै पहलमा बाँकी परिवारका लागि स्वास्थ्य बीमा गरिने अभियान नेपालका अध्यक्ष लोकमान श्रेष्ठले बताए। कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरीले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय सेवा गरेको भन्दै बिएण्डसी अस्पताल र कार्यकारी निर्देशक प्रसाईको सामाजिक कार्यको प्रशंसा गरे। सोही अवसरमा कार्यकारी निर्देशक प्रसाईले स्थानीय श्री सर्वेश्वर शिव पाञ्चायन मन्दिरमा ८-८ फिट अग्लो शिव र दुर्गाको मूर्ति स्थापना गरिदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2021-12-21 08:13:00

प्रतिकृया दिनुहोस्