अन्नपूर्ण पदमार्ग 

अन्नपूर्ण हिमालको काखमा पदयात्रीको पाइला बिसाउने 'माइला बा माइली आमा' को पाहुना घर

‘ल है छोराछोरी हो ,रात परिसक्यो ! यतै बास बसम्...’

अन्नपूर्ण आधार शिविर (बेसक्याम्प) जानुभएको छ भने बाटोमा गुरुङ लवजको यो बोली तपाईंले अवश्य सुन्नुभएको होला। याद पनि गर्नु भएकै हुनुपर्छ।

पोखराबाट सखारै निस्कँदा पहिलो रात अप्पर सिनुवामा बास बस्न पुगिन्छ। अनि सुनिन्छ– यो न्यानो आतिथ्य।

हो, ‘सिनुवा लज एण्ड गेष्ट हाउस’ की बेलमाया गुरुङको मायालु आतिथ्यले तपाईंको पैताला त्योभन्दा अघि बढ्न सक्दैन। तपाईं त्यही रोकिनुहुन्छ।

रुकस्याक बिसाउनुस्। तपाईंको अघि तातो तातो चिया आइ पुग्छ। अर्थोक जे जे तपाईं अर्डर गर्नुहुन्छ। 
पर्खिनुस्, बाँकी कथा हामी भन्छौं...
'आमा' शब्दमै कति ठूलो प्रेम छ। 
‘छोराहरु, के खानुहुन्छ ?’, दिनभरि उकालो उक्लेर शिथिल पदयात्रीलाई बेलकुमारी प्रेमपूर्वक सोध्थिन्।

'आमा मलाई मिल्क टी, आमा मलाई हट वाटर, आमा हट लेमन विथ हनी’...यस्तै यस्तै । फिस्स हाँस्दै थाकेको अनुहार बोल्थ्यो, मानौँ झोला बिसाएर आफ्नै आमासँग खानेकुरा मागेजस्तो।

यता बेलकुमारीका श्रीमान हुकुमसिंह पनि उनलाई सघाउँथे। कहिले कुर्सी टेबल मिलाउँथे त, कहिले भान्छामा पुग्थे।

पालैपालो उनी सबैलाई सोध्दै जान्थिन्। उसैगरी, ल्याइदिन्थिन् सबैका अर्डर। भ्याई नभ्याई छ उनलाई। तैपनि हँसमुख देखिन्छ उनको अनुहार।

हुकुमसिंह परिवारका माइला छोरा। उनीसँग बिहे गरेर आएपछि भइन्– बेलकुमारी पनि माइली बुहारी। गाउँघरमा सबैले माइला बा, माइली आमाको नामले बोलाउने गर्छन्। अनि त दुवै सबैका माइला बा, माइली आमा।

यो सब गतिविधि नियाली रहेका थियौं हामी। हाम्रो परिचय दियौं। काम सकाएपछि एकैछिन कुराकानी गर्ने समय माग्यौं।

कुरा गर्नै आउँदैन छोरा हो, के कुरा गर्ने ?’, उस्तै हँसमुख पारामा उनले भनिन्। ‘तपाईंले नजान्ने त कुरै आएन, सामान्य कुराकानी हो,’ हामीले भन्यौं। उनी राजी नभए पनि हामीले कुरा त गरेरै छाड्ने थियौं।

०००

उनको जन्मथलो सिंगापुर। 

‘बा’ पल्टनमा हुँदा उनको जन्म भएको हो। नेपाल फर्केपछि हुकुमसिंहसँग जोडा बाँधियो। अन्नपूर्ण पदमार्गमा पदयात्रीहरु फाट्टफुट्ट आउन थालेका थिए। पदयात्रीलाई सुरक्षित बासस्थान र खाना खुवाउने होटल लजहरु पनि खुल्दै थिए। आजभन्दा करिब ३६ वर्ष अघि सुरु भएको थियो रे! ‘सिनुवा लज एण्ड गेष्ट हाउस’।

उनका श्रीमान हुकुमसिंह, ज्यादा बाहिरकै काम सम्हाल्छन्। पाहुना सत्कार गर्नेदेखि बुकिङ लिने काम बेलकुमारीको। पदयात्रीको लागि यो उपयुक्त सिजन हो। आकाश पनि छ्याङ्ग खुल्ने। हिमपात पनि नहुने। दसैं, तिहार बिदा पनि। बेसी त यही सिजनमै उक्लिन्छन् घुमन्तेहरु। अनि त व्यवसायीहरुलाई पनि भ्याई नभ्याई।

‘नेपाली धेरै आइरहेको छ। विदेशीहरु पनि आइरहेको छ,’ बेलकुमारीले सुनाइन्, ‘हिउँदामा कोरियन र चाइनिज बढी आउँछ। अरु नेपालीहरुको असोज र कात्तिकमा एकदमै भीड हुने गरेको छ।’ पहिला नेपाली भन्दा विदेशी पदयात्री बढी आउँथे। अहिले नेपाली बढी छन्।

लकडाउनले करिब अढाई वर्ष त ठप्पै रह्यो। पदयात्री एउटै आएनन्। दुई वर्ष खेतिपाती गरेर बसे। बरु पोखरा झरेका हुकुमसिंहलाई रुघाखोकी देखिएपछि आफन्तहरु पनि टाढिन थाले। ‘दुई, चार दिन त सुतायो। अरु, बेला आएर बोल्ने पनि मुन्टो बटार्दै हिडें,’ हुकुमसिंहले सुनाए।

हुकुमसिंहको अर्को रमाइलो कथा छ। भएछ के भने वैदेशिक रोजगारीका लागि हुकुमसिंह कुबेत पुगेछन्। सेक्युरिटी गार्डमा। त्यो पनि एअरपोर्टमा।

ड्युटी जान्थे। सिसि क्यामेराले उनको गतिविधि कैद गथ्र्यो। सेक्युरिटी गार्ड त चलाख हुनुपर्ने। हुकुमसिंह एकै ठाउँमा उभिएको उभियै। त्यहाँको इन्चार्जले बोलाएर हप्कीदप्की गरेछ। उनलाई यो सब मन परेन। अनि, आफैंले काम गर्दिनँ भनेर छाडे।

पछि एअरपोर्टको इमिग्रेसनमा काममा लागे। त्यहाँ पनि उनलाई काम मन परेन। बरु घरको यादले ज्यादा सतायो। काममा मनै लागेन। ‘घर फर्किन्छु भन्यो दिएन,’ उनले अघि सुनाए, ‘काममा मनै लागेको छैन। घर फर्किन्छु भन्दा दिँदैन।’

हुकुमसिंहले अनेक उपाय लगाए। जे गर्दा पनि नभएपछि अन्तिममा घरमा एकदमै जरुरी काम प-यो। बरु गएर जसरी भए पनि फर्किन्छु भनेर ढाँटे। त्यहाँको इन्चार्जलाई विश्वास दिलाए। अनि, ढाँटेर ‘टु वे’ टिकट बनाएर नेपाल फर्के। विदेशिएको ६ महिनामा ‘फर्किन्छु भनेर ‘टु वे’ टिकट बनाउन लगायो। त्यसपछि फर्केरै गइनँ,’ ठट्यौली पारामा उनले सुनाए।

उनको एक छोरा दुई छोरी छन्। छोरा युके छन्। जेठी छोरी जापान छिन्। कान्छी छोरी पढ्दै छिन् रे! जागिरमा ढाँटेर फर्केपछि हुकुमसिंह विदेश त धेरै पटक गएका छन्। तर, काम गर्न होइन, घुम्न। ‘कहिलेकाहीँ घुम्न जान्छु। छोराले बोलाएको छ। फेरि जाने हो,’ हुकुमसिंह भन्छन्।

व्यवसाय छोडेर उतै आउनु भनेका छन् रे उनीहरुका छोराले। तर, हुकुमसिंह मन गर्दैनन्। बरु पदमार्गमा बाटो बिराएका पदयात्रीलाई मार्गदर्शन गराउन पाए खुसी मान्छन्। ‘मलाई त झन काम नगरी बस्नै मन लाग्दैन। पोखरा गएर बस्नुस् भन्छ। मलाई त यहीँ ठिक लाग्छ। तल गएर बसि राख्नुभन्दा यहीँ काम गर्ने के,’ बेलकुमारी थप्छिन्।

डेढ वर्ष लामो लकडाउनपछि भर्खरै खुलेको छ व्यवसाय। पदयात्री पनि उक्लिँदै छन् विस्तारै पदमार्गमा। अहिले बेसक्याम्पमा खानाको लागि नेपालीलाई प्याकेज बनाइएको छ १२ सय रुपैयाँको बिहान ब्रेकफास्टसहित। यो नियम समितिले नै लगाएको हो। बढाउन घटाउन कसैले पाइँदैन। 

‘खाने कुराको मेनु सबै एउटै हुनुपर्छ। २ वर्षसम्म त्यही हुने। स्पेशल आइटम हामीले राख्न पाउँछौं,’ बेलकुमारीले सुनाइन्।

कहिलेकाहीँ अबुझ पदयात्री पनि आइदिन्छन्। त्यसमा पनि नेपालीहरु बुझ्दैनन् रे! हुन त उनीहरुलाई बानी परी सक्यो। हामी पुगेकै दिन ५ जना नेपालीले बुक गरेका रहेछन्। पछि आएर त बस्दैनौं भनेका थिए रे! ‘दुई जना यता जाने के के भन्छ। जान्छ भने हामीले खाना पकाई सक्यौं। खानाको तिर। कोठाको तिर जाउ भने,’ उनले सुनाइन्, ‘यस्तो मान्छे आउँछ। हामीले अर्कोमा बसे पनि केही भन्दैनौं। खाना पकाउँछ। रुम अर्कैलाई नदिई राख्छ। त्यसरी त गाह्रो हुन्छ नि है!’

प्राय नेपालीले बुक गरेर जाने। फर्किंदा नबस्ने गर्छन् रे! तर, विदेशीहरु रुम बुक गरेर गएपछि आउन नसके पहिल्यै खबर दिने गर्दा रहेछन्।  ‘आउन सकेन अर्कैले लग्यो भने कहिलेकाहीँ समस्या हुन्छ। हामीले पाहुना फर्काइ रहेका हुन्छौं नि त,’ बेलकुमारीको दुखेसो छ। 

प्रकाशित मिति: : 2021-11-14 19:35:00

प्रतिकृया दिनुहोस्