एक जना वरिष्ठ जनवादी, प्रगतिशील लेखकको सम्मान कार्यक्रम थियो। कार्यक्रममा उहाँलाई मञ्चको विशेष मध्यभागमा लगेर राखियो। प्रमुख अतिथि, अतिथि र आयोजकहरुले फूलमाला, खादा र बढेमानको सुनौलो ताम्रपत्रले स्वागत सम्मान गर्यो। सबै वक्ताहरुबाट उहाँको भूमिगतकालदेखिको योगदान, क्रान्तिकारी गीत, कविताहरूको उध्दुम प्रशंसा भयो। यो सम्मान पाउनु गौरवको कुरा हो, भनिरह्यो।
अहिलेका वरिष्ठदेखि कनिष्ठसम्मका नाम चलेका होनहार कविहरूले उहाँको क्रान्तिकारी, जनवादी कविताहरू जोडले वाचन गरे। वरिष्ठ सर्जक, क्रान्तिकारी योद्धाको अनुहार रातो र चम्किलो देखियो। मञ्चमा झिलिमिलि बत्ति, झिलिमिलि माला र साथ दिइरहेका सहयोद्धा एवं आयोजकहरुबाट उहाँको थोत्रो कोटले बेरेको मैलो कठालो पनि उज्यालो देखियो र अनुहारको कान्ति पुलकित देखियो।
अन्तिममा उहाँ बोल्नुभयोस: आफूले किशोरकालदेखि गरेको संघर्ष, विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, नागरिक आन्दोलन, आन्दोलनहरूमा घन्काएको आन्दोलनकारीलाई जुरुक्क उठाउने र सामन्ती शोषकहरुलाई थचक्क गलाउने रक्तिम आवाजका गीत तथा कविताहरु सुनाउनुभयो। जीवनको यो उत्तराद्र्धमा उमेर, स्वास्थ्य र पारिवारिक एक्लोपनले दिलाएको सन्नाटा भुल्नुभयो। यसरी पनि सम्झने पुस्ता रहेछ भनेर खुसी साट्नुभयो। आँखा भरिलो बनाउनुभयो।
कार्यक्रम सकियो, सामूहिक तस्बिर र उहाँजस्तो ऐतिहासिक पात्रसँगको वैयक्तिक तस्बिर खिच्न तँछाडमछाड भयो। क्रमशः भीड घट्दै गयो। उहाँ बिस्तारै उठ्दै कार्यक्रम हलबाट बाहिर आउनुभयो, एकसे एक टलक्क गाडीमा मानिसहरु शानले बसे र बाहिरिए। कोही मोटरसाइकलमा हुईकिए। म पनि सफा टेम्पोमा फर्कदै थिए, बस स्टेशन ओझेल पर्दापर्दै देखें, सम्मानित स्रष्टा आफूजत्रै प्रमाणपत्रलाई ढाडमा आड दिएर एक्लै उभिरहेका थिए बस बिसौनीमा। मैले चालकलाई टेम्पो रोक्न लगाएँ तर उसले भन्यो, यो मानिसले जहिल्यै भाडा दिँदैन, तपाइले दिने हो ?