के चाहन्थे प्रसाईं, के हुन्छ अब

डिल्ली पाण्डे

काठमाडाैँ
Break n Links
Break n Links

मंगलबार अपराह्न १२ बजेकाे समयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरस्थित घरमा खाना खाएर आराम गरिरहेका थिए। घरकाे मुख्य ब्लककाे तल्लाे काेठामा उनकाे केही मानिससँग छलफल चल्दै थियाे। बाहिर समर्थकहरु मंसिर ७ गतेकाे तयारीमा जुटेका थिए। त्यसैबेला प्रहरीकाे ठुलाे जमात घरमा छिर्‍याे।

प्रहरी घरमा छिर्नुअघि नै प्रसाईंले आफू पक्राउ पर्न सक्नेबारे सामाजिक सञ्जालमा जानकारी गराइसकेका थिए। र, भयाे पनि त्यही।

किनभने, प्रसाईंले साेमबार काठमाडाैँमा पत्रकार सम्मेलन गरेर एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले कम्बाेडियाकाे एक टेलिकम कम्पनीमा २२ कराेड अमेरिकी डलर अर्थात् नेपाली साढे ३२ अर्ब रुपैयाँ अबैध लगानी गरेकाे बताएका थिए। र, त्यससम्बन्धी ६ मिनेट ११ सेकेन्डकाे भिडियाे रिपाेर्ट आफ्नाे फेसबुकमा सार्वजनिक गरेका थिए। त्यस भिडियाेमा प्रधानमन्त्री ओलीले कम्बाेडियाकाे टेलिकम कम्पनीमा लगानी गरेकाे भन्दै केही प्रमाणहरु पेस गरिएकाे छ, जसमा ओलीकाे नागरिकतादेखि उनले हस्ताक्षर गरेका केही डकुमेन्टहरु (डकुमेन्टकाे आधिकारिकताबारे जाँच भइरहेकाे छ) पनि समावेश गरिएकाे थियाे।

यही भिडियाेका कारण आफू पक्राउ पर्नेमा प्रसाईं निश्चित जस्तै थिए। किनभने, उनी यस्तै घटनामा पहिला पनि यही घरबाट पक्राउ परेका थिए।

केही घण्टाअघि उनले सामाजिक सञ्जालमार्फत जे कुराकाे संकेत गरेका थिए, त्यही भयाे। ठुलाे संख्यामा नेपाल प्रहरीकाे केन्द्रीय अनुन्धान ब्युराे (सिआइबी)काे टाेली घरमा छिर्‍याे। र, उनलाई पक्राउ गर्‍याे।

यसपटक उनले मिडियासँग बाेल्नसमेत पाएनन्। अघिल्लाेपटक भने पक्राउ पर्नेबेला उनले ‘शरीरमा एकथाेपा रगत रहँदासम्म प्रधानमन्त्री ओलीविरुद्ध लड्ने’ घाेषणा गरेकाे थिए।

राेचक कुरा त के छ भने सामाजिक सञ्जालबाट अनेकाैँरुपमा प्रस्तुत हुने प्रसाईंकाे घरबाट प्रहरीले ९ थान माेबाइल र ३ वटा ल्यापटप बरामद गर्‍याे। प्रहरी आउनेमा लगभग ढुक्कजस्तै बनेर बसेका प्रसाईंले ती माेबाइल र ल्यापटम शाैचालयदेखि घरनजिककाे खेतमा समेत लुकाएर राखेकाे थिए।

मंगलबार पक्राउ गरेर भाेटाहीटीस्थित साइबर ब्यूराेकाे कार्यालयमा राखिएका प्रसाईंलाई बुधबार जिल्ला अदालत काठमाडाैँमा पेस गरिएकाे छ। र, अदालतले पाँच दिन हिरासतमा राखेर अनुमति दिएकाे छ।

अब प्रहरीले सिंहदरबार प्रहरी वृत्तकाे चिसाे काेठामा राखेर प्रसाईंमाथि अनुसन्धान गर्नेछ।

त्यस्तै प्रहरीले प्रसाईंकाे घरबाट बरामद गरेका माेबाइल र ल्यापटप प्रहरी प्रधान कार्यालय नक्सालमा रहेकाे फरेन्सिक ल्याबमा पठाएकाे छ।

अब के हुन्छ?

सिआइबीका प्रवक्ता एसपी होमेन्द्र बोगटीका अनुसार उनलाई साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान लागि पक्राउ गरिएकाे हाे। विद्युतीय (इलाेक्ट्राेनिक) काराेबार ऐन २०६३मा यससम्बन्धी व्यवस्था गरिएकाे छ।

यस ऐनकाे दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउन पाइने छैन। यदि त्यस्ताे गरेमा साे व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएकाे छ।

र, अहिले प्रहरीले प्रसाईंमाथि पनि यही मुद्दामा रहेर अनुसन्धान गरिरहेकाे छ। ‘अहिले विद्युतीय कारोबार ऐनमा मुद्धा अघि बढाइएको छ, हामी अनुसन्धान गर्छाैँ, अनुसन्धानले कहाँसम्म पुर्‍याउँछ त्यो अहिले भन्न सकिँदैन’, ब्यूराेका प्रवक्ता एसपी बाेगटीले बिएल नेपाली सेवासँग भने।

उनले संकेत गरेअनुसार प्रसाईंविरुद्ध अरु मुद्दा पनि चल्न सक्छ। सम्भवत: प्रसाईंविरुद्ध किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धीकाे कसुरमा पनि मुद्दा चल्न सक्छ। 

के चाहन्थे प्रसाईं?

त्यसाे त प्रसाईंकाे सार्वजनिक परिचयकाे सुरुवात नै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलकाे भात खुवाएकाे घटनाबाट सुरु हुन्छ।

मार्सी चामलकाे भात खुवाएर ओलीकाे नजिक बनेका प्रसाईंले बिस्तारै राजनीतिमा पनि स्पेस (स्थान) बनाउँदै गइरहेका थिए। र, ओलीबाट ठुलाे अपेक्षा पनि राखिरहेकाे थिए। तर, समय क्रमले ओली र प्रसाईंलाई टाढा बनाइदियाे।

ओलीबाट पाखा लाग्दालाग्दै प्रसाईं अराजक बन्न थालेका थिए। त्यही अराजकताका कारण प्रसाईं दाेस्राेपटक पक्राउ परेका छन्।

ओलीलाई देखाउनकै लागि सडकमा जनता उतार्ने ‘भूत’ प्रसाईंमा सभार छ। प्रसाईंले गत वर्षकाे मंसिर ७ गते राजावादी र सहकारी र मीटरब्याज पीडितलाई सडकमा उतारकाे थिए।

र, त्याे भीडलाई दबाउन ओलीले पनि साेही दिन महेश बस्नेतकाे नेतृत्वमा ठुलाे संख्यामा युवालाई सडकमा उतारेका थिए। त्यतिबेला काठमाडाैँमा दुई समूहबीच झडपकाे अवस्था पनि सिर्जना भएकाे थियाे।

यस वर्ष पनि मंसिर ७ गते काठमाडाैँ सरकारविरुद्ध सडकमा उत्रने तयारी प्रसाईंकाे थियाे। र, फेरि पनि एमालेले त्यही दिन काठमाडाैँमा सरकारकाे पक्षमा कार्यकर्ता उतार्ने घाेषणा गर्‍याे।

र, मंसिर ७ गते एमाले भर्सेस प्रसाईं हुने गरी घटना क्रमहरु विकसित भइरहेका थिए। कतिसम्म भने प्रसाईं केही दिन अगाडि ७ गते एमालेकाे गाडीमा चढेर ओलीकाे बिराेध गर्न काठमाडाैँ आउन समर्थकलाई अपील गरेका थिए।

यता प्रसाईंकाे घरमा देशका विभिन्न जिल्लाबाट काठमाडाैँमा आएका युवाले विराेध कार्यक्रमकाे तयारी थालेका थिए। सम्भवत: त्यही तयारीस्वरुप प्रसाईंले मंगलबार प्रधानमन्त्री ओलीबारे खुलासा गरेका थिए। जुन प्रसाईंलाई हिरासतमा पुर्‍याउने कारण बन्याे।

प्रकाशित मिति: : 2024-11-20 20:50:00

प्रतिकृया दिनुहोस्