अन्तत: पाका कांग्रेसी रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेता हुन डिजर्ब गरेनन्, आयाराम गयाराम भएरै आफ्नो राजनीतिक उचाइ धुलिसात् गरे।
यो क्रमको क्लाइमेक्स यसपालिको संसदीय दल नेताको चुनाव हुने भएको छ। यसपछि उनले देउवाको निगाहमा कुनै पद पाउलान् पनि तर उनको इमानको राजनीतिक एन्डक्लाप चाँहि यही नै हो।
सुरूमा उनले आफैं उम्मेदवार हुने बताए। त्यसका लागि उनले कांग्रेस संस्थापन नेता देउवासमक्ष याचना गरे। संस्थापन इतर नेताहरूलाई यसपटक आफ्नो लागि छोडिदिन आग्रह गर्दै अनेक च्यानल प्रयोग गरे। त्यति मात्र हैन, सत्ता गठबन्धन दलका अन्य घटका नेताकोमा बिना तिहारको देउसी भैलो पनि खेले।
संसदीय दलको नेताका लागि उम्मेदवारी दिने निर्धारित समयको केही समयअघिसम्म पनि भन्दै थिए, म देउवा समर्थक बस्दिनँ।
जब प्रस्तावकको हस्ताक्षर गर्ने बेला आयो, कांग्रेसभित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गरे। त्यति मात्र हैन, देउवालाई संसदीय दलको नेतामा सर्वसहमत चयन गर्न सबैलाई आग्रह पनि गर्न भ्याए।
पौडेल लोभी मानिसका रूपमा बदनाम छन्। अझ राजनीतमा त पदका लागि उनले गरेका अनेकौ हर्कत छन्। सभामुख भएपछि कमाउ मन्त्री बन्ने, अंकगणितले सिधै हार्ने प्रधानमन्त्रीको चुनावमा १७ पटकसम्म पनि उम्मेदवारी कायम राखिराख्ने केही दृष्टान्त हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति वा पार्टी सभापतिको हरियो घाँस देखाएर पौडेललाई आफ्नो टाट्नामा पुर्याएको हुनुपर्छ। यो टाट्नामा प्रवेशसँगै उनले आफ्नो राजनीतिक इतिहास मात्र रसकेनन्, आफूलाई आयाराम गयाराम पनि बनाए।
उनको दर्शन नै भरसक आफू हुने,नभए बढीभन्दा बढी मोलमोलाइ गरेर जित्ने सम्भावना नजिक रहेकोतिर ढल्कने।
उनले यसपटक गरेजस्तो हर्कत १४औं महाधिवेशनमा पनि गरे र संस्थापन इतरले सर्वसम्मत सभापति दिने नभएपछि अन्तत: संस्थापन पक्षमै मिसिए। आफू भने चुनावमै सहभागी नभएर घोर अनैकतिकता प्रदर्शन गरे।
हुन त पौडेल लामो इतिहास भएका कांग्रेसका स्वनामधन्य नेता हुन्। तर, उनको खुट्टा ढोडका जस्तै भए। कहिलै पनि मान्छेकै दुई खुट्टा टेकेर इमानको ठाउँमा उभिन सकेनन्। फलत: उनी आफ्नो इतिहासका पाइलाहरू आफै मेट्दै आयाराम गयाराम हुने स्थितिमा धकेलिए।
यसका लागि अरू कोही दोषी छैनन्, उनी आफैं दोषी छन्। उनको पछिल्ला गतिविधि हेर्दा उनी आयाराम गयाराम नै डिजर्ब गर्ने रहेछन्।
कांग्रेसमा पौडेल जुन स्खलित बाटोमा हिडेका छन्, त्यही बाटोमा हिडे वामपन्थी कित्ताका बामदेबले पनि आफ्नो राजनीतिक करिअर सके। अब पालो प्रजातान्त्रिक कित्ताका पौडेलको छ।
अनुमान गर्न गाह्रो छैन, यसपटक देउवाले उनलाई राष्ट्रपति वा पार्टी सभापतिको हरियो घाँस देखाएको हुनुपर्छ। त्यही देखेर उनी देउवाको टाट्नामा पुगे।
यसपटक उनी गगनको पक्षमा दृढताका साथ उभिएको भए सम्भवत: नेपाली कांग्रेस र कांग्रेसमार्फत देशले देउवाको सिंहदरवारबाट मुक्ति पाउँने थियो। तर, दुर्भाग्य त्यसो भएन। उनले आफ्नै पनि इतिहासको टर्निङ प्वाइन्टमा निष्ठाका खुट्टा कमाए र ढोडका खुट्टा टेकेर अन्तत: आफूलाई नै आयाराम गयाराम साबित गराउने भए।