आज पुस ६ गते, २०७९ साल।
यसो हेर्दा २०७९ सालका ३६५ दिनमध्ये एक दिन हो आज। हो, सगर फाटेर घाम झुल्किदा उस्तै एक दिन हो आज, खासै फरक छैन। तर, अर्को कोणबाट हेर्दा इतिहासका हरेक महत्वपूर्ण दिन आउँदा यसरी नै आउँछन्, जाँदा मात्र इतिहास बनाएर जाने हुन्।
हुनसक्छ, आजको दिन त्यस्तै इतिहास बन्ने सम्भावनाको भ्रुण लिएर उपस्थित छ। यसले कम्तीमा नेपाली कांग्रेसको जीवनमा केही आशा पलाएको छ। हुनसक्छ, त्यसले बिटुलिएको नेपाली राजनीतिका कारण समाजमा ब्याप्त निराशा, कुण्ठा र हतासाको कालो बादलभित्र चाँदीको घेरा दिनेछ।
प्रसंग आज हुने नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनको हो। अनेकौ शंका/आशंका र सम्भावनाबीच अन्तत: पार्टी सभापनि शेरबहादुर देउवा संसदीय दलको नेतामा सर्वसम्मत भएनन्। उनलाई महामन्त्री गगन थापाले पुस्तान्तरण र रूपान्तरणको ‘पे अफ लाइन’मा चुनाैती तेर्स्याइ दिए।
राम्रो कुरा यो मुद्दामा अरू बेला फरक गुटमा रहेका दामलेहरू एकै भुँइमा उभिएर अबको कांग्रेस उनीहरूको भएको भन्दै स्वामित्व लिए। यसका चुनाैती साझा ठानेर सामना गर्न तयार भए। उनीहरूले थापेको काँध र दिएको साथले कस्तो परिणाम ल्याउँछ, त्यसका लागि अब केही घण्टा मात्र पर्खनुपर्ने हुन्छ।
यसो त रात रहे अग्राख पलाउने संस्कार भएको नेपालमा हिजोको रात कसरी बित्यो ?, त्यसको सहज अनुमान गर्न गाह्रो छ। निराशावादी कोणबाट हेर्दा काठमाडौं खाल्डोमा हिजोको रात सुत्नुअघि देउवाको अंकगणित भारी थियो। त्यो हिजोको कुरा थियो। तर, आजको दिन भोलिको कांग्रेसको भालेको डाक लिएर आएन भन्न सकिन्न।
हिजो जे जसरी जसको कोटामा परेर सांसद भए पनि उनीहरू अन्तत: कांग्रेसका सांसद हुन्। ह्विप नलाग्ने र गोप्य मतदान हुने चुनावमा उनीहरू आफ्नो विवेकको मत दिन स्वाधिन छन्, स्वतन्त्र छन्। यति स्वाधिन चेत भएका उनीहरूलाई शंकाको सुविधा दिनैपर्छ।
कांग्रेस सांसदहरूले मत हिजोका लागि हैन भोलिका लागि दिने हो; आफ्नै र कांग्रेसको भविष्यका लागि दिने हो। यति मात्र हैन, उनीहरूले मत वीपीको कांग्रेस अनि गणेशमान र कृष्णप्रसाद भट्टराईको कांग्रेसलाई पनि दिने हो। अझ, उनीहरूले मत आमनिर्वाचनमा नेपाली सचेत मतदाताहरूले परिवर्तनको पक्षमा उठाएको आवाजलाई सम्बोधन गर्न पनि दिने हो।
प्रस्तुत पृष्ठभूमिका उनीहरूलाई शंकाको सुविधा दिनैपर्छ।
परिणाम जे आए पनि यसबाट कांग्रेस नै नेपालमा बहुलावादी सोचको पार्टी हो, अरू कुनै पनि पार्टीले सिकाउनु पर्दैन भनेर ढुक्कले भन्न सक्ने ठाउँमा पुगेको छ। नयाँ नाममा पार्टी हुन् वा पुराना संसदीय दलको नेताको चुनाव हुने कांग्रेस एक्लो पार्टी भएको छ। अरू दलमा चुनाव भएन, प्राविधिक सर्वसम्मत निर्णय गरियो। यसको अर्थ ती दलमा पार्टी अध्यक्षभन्दा फरक मत थिएन भन्ने हैन, थियो त मूल कुरा अभ्यास नै गर्न नदिइएको बनिबनाउ कारण थियो। कम्युनिष्ट पार्टीको त कुरै भएन नयाँ भनिने पार्टीहरूमा पनि जबर्जस्त टिकेप्रथा नै कायम गरियो। यसले नयाँ कुरा मात्रै हो, काम त उही पुरानै हो भन्ने पुष्टी भयो।
कांग्रेस सांसदहरूले मत हिजोका लागि हैन भोलिका लागि दिने हो; आफ्नै र कांग्रेसको भविष्यका लागि दिने हो। यति मात्र हैन, उनीहरूले मत वीपीको कांग्रेस अनि गणेशमान र कृष्णप्रसाद भट्टराईको कांग्रेसलाई पनि दिने हो। अझ, उनीहरूले मत आमनिर्वाचनमा नेपाली सचेत मतदाताहरूले परिवर्तनको पक्षमा उठाएको आवाजलाई सम्बोधन गर्न पनि दिने हो।
हुन त कांग्रेसमा अपवादबाहेक संसदीय दलको नेताको चुनाव हुँदैआएको छ। यो पटक हुन लागेको चुनाव पनि यस्तो पहिलो हैन। तर, यसपटकको फरक भनेको कांग्रेसमा पुस्तान्तरण र रूपान्तरण दुबै मुद्दासहितको चुनाव हुन लागेको हो।
यो चुनाव कांग्रेसका सांसदहरूको विवेकको चुनाव त हो नै, हरेक ठूला नामको अग्निपरीक्षा पनि हो। कांग्रेस यो पानीढलोमा पुगेको बेला उनीहरू कुन कित्तामा उभिएर नायक हुन्छन कि खलनायक, इतिहासले त्यसको हिसाबकिताब राख्ने छ।
सरकार निर्माण, राष्ट्रपति चुनावजस्ता जल्दाबल्दा मुद्दाहरूलाई किनारा लगाउँदै सेन्टर स्टेजमा आएको यो विषयले घरदेशमा होस् वा परदेशमा जहाँ रहेका भए पनि सबै नेपालीको ध्यान तानेको छ। उनीहरू चाहन्छन्, नेपाली कांग्रेसका सांसदहरूले विवेकको मत दिएर देउवाको कब्जाबाट कांग्रेस मुक्त होस्। त्यसो भयो भने त्यसको आलोकमा अरू धेरै कुरा नेपालमा फुक्का हुँदै जानेछन्।
विचारको कित्तामा नेपाली यता उता होलान् तर देशको एक वैचारिक कित्ताको नेतृत्वदायी कांग्रेस पार्टी बिग्रेर देशको राजनीतिक थिति बस्छ भन्ने कुरामा विश्वास गर्दैनन्। कोही अपवाद होलान्, तिनीहरूको व्यक्तिगत क्लिसेलाई सामान्यीकरण गर्नु हुदैन।
देश बन्नका लागि देशमा ठूला र बलिया राजनीतिक दल चाहिन्छन्, तिनीहरूको आन्तरिक प्रजातन्त्र सबल हुनुपर्छ। अनि, जनता पनि चुनावलाई बदला लिने वागी पर्वका रूपमा हैन, जनता जनार्दन हुने लोकतान्त्रिक उत्सवका रूपमा बुझ्ने हुनुपर्छ।
सबै कोणबाट थिति निक्कै बिग्रिएको छ। आशा गरौं, आज कांग्रेसको संसदीय दलले दिने निर्णय थिति बसाउने र आशा जगाउने दिशामा प्रस्थान विन्दु हुनेछ।