विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो
मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू अनुपस्थित थिए।
000
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट सन्तुलित विकास हुने गरी ल्याइएको बताएको छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यालयलगायत बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले प्रस्तुत बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको बताएका हुन्।
लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने भन्दै आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने उनकाे दाबी थियाे।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको उनकाे भनाइ थियाे।
000
अमेरिकाले डिपोर्ट गरेका चार जना भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराउँदै नेपालबाट डिपोर्ट गर्ने निर्णय भएको छ।
अध्यागमन विभागले डिपोर्ट भएका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरूङलाई सके अमेरिका नभए भुटानतिरै डिपोर्ट गर्ने निर्णय गरेको हो।
उनीहरूलाई ५-५ हजार जरिवानाका अलावा भिसा शुल्क र बिलम्ब शुल्कबापत दैनिक ८ डलर तिराउने पनि निर्णय भएको छ।
000
सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण माग गरेको छ।
रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।
प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र मधेसी समुदायलाई होच्याएको आरोपमा उनी गत असार १ गते पक्राउ परेकी थिइन्। रमालाई विद्युतीय कसुर गरेको आरोपमा पक्राउ गरिएको थियो।
000
सरकारले ल्याएको नीतिविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
विभिन्न स्वास्थ्य संस्थाहरूमा रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाउनुपर्ने माग राख्दै मंगलबार उनीहरुले विरोध गरेका हुन्।
सरकारले रेडियोग्राफी पेशाको पक्षमा ल्याएको नीति स्वीकार्य नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
000
सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि न्यूनतम पारिश्रमिक १ हजार दिराम वा त्यसभन्दा माथि हुने निर्णय कार्यान्वयनमा ल्याएको छ।
सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार अब म्यानपावर कम्पनीले तोकिएको भन्दा कम तलबमा यूएईमा कामदार पठाउन पाउने छैनन्।
सरकारले गत जेठमा न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको थियो। राजपत्रमा प्रकाशित भएसँगै उक्त निर्णय कार्यान्वयनमा आएको हो।
000
नेपालले एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।
मलेसियाको कोजल टुन्कु जाफर ओभलमा आज भएको खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो।
यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो।
नेपालले तेस्रो खेल यही असार १५ गते इण्डोनेसियासँग र चौथो खेल असार १७ गते भुटानसँग खेल्ने छ।