मङ्गलबार, १५ जुलाई २०२५

मृत्युभय !

News Image
• • •

मृत्युु– प्रकृतिको निर्मम र क्रुर यथार्थ हो। यो प्रकृतिको प्रहार चुपचाप सहनुको विकल्प छैन जीवनसँग। जीवनमा जतिसुकै अग्लो पर्खाल लगाए पनि मृत्युले भत्काउँछ एकदिन। प्रकृतिको अजेय शक्तिसँग हायल–कायल छ जीवन। यस्तो जीवनलाई कसरी हराभरा बनाउन सक्छु ?


हत्केलामा च्यापेर एक मुट्ठी सपना 
उभिएको छु– मृत्युको अघिल्तिर !

हातमा च्यापेको छु– कविताको पुस्तक। कविताले हल्लाएको छ मेरो मन–मस्तिष्क ! पुस्तकको आवरणमै ठूल्ठूला अक्षरमा लेखिएको छ– मृत्युको अघिल्तिर ! यही शीर्षक नै काफी हुन्छ मलाई। कवि मणि लोहनीको मृत्युचिन्तनले रिङ्गिएको छु। मस्तिष्कका तरंगहरूमा छप्लङ–छप्लङ पौडिरहेछन् मृत्युका त्रासदीहरू।

मानिसलाई खतरनाक भय मृत्युको हुनेरहेछ। पृथ्वीका हरेक जीव मृत्युको भयसँग पलपल त्राही–त्राही छन्। हामी विज्ञानको युगमा छौं। बैज्ञानिकहरू पृथ्वीलाई आफ्नो वशमा ल्याउने प्रयत्नमा छन्। पृथ्वीका हरेक आश्चर्यहरूमा बैज्ञानिक अनुसन्धान गरिरहेछन्। यद्यपि स्वयं वैज्ञानिक पनि मृत्युलाई चुपचाप स्वीकारीरहेछन्।

 – विज्ञानलाई पनि मृत्युको भय छ। मृत्युको भयबाट बिश्व कम्पायमान छ। प्राणी जगतमा सबैभन्दा खतरनाक ’भय’ भनेकै मृत्यु–भय हो। पृथ्वीको हरेक जीव मृत्यु स्वीकार्न वाध्य छन्। जीवनको अस्तित्व नभए कसरी हुन्छ – मृत्युको अस्तित्व ? जीवन र मृत्युवीचको महत्वपूर्ण पल नै हो जीवन। तसर्थ जीवनमा मृत्युुले सधैं तेलकासा खेलिरहन्छ। कुनो कुइनेटोमा जीवनलाई मृत्युले दपेटिरहन्छ। हामीले हरेक पाइलामा मृत्यु छलिरहनु पर्छ। जीवनमा मृत्यु सधैं अतिथि बनेर बसिरहन्छ। कैले अमोघ–अस्त्र बनेर सोझिइरहन्छ। ढिलोचाँडो मृत्युको अमोघ–अस्त्रले हामीलाई कतिखेर चुकाउँछ, थाहा हुन्न। 

जब जीवनले मृत्युको लडाइँमा पराजय भोग्नुपर्छ अनि जीवनको ज्वाज्वाल्यमान आलोकबाट हामीले अनिच्छित छुट्टिनुपर्छ। जीजीविषाको अगणित लिप्साबाट शीतांग हुँदै मृत्युवरणको यात्रामा सामेल हुन बाध्य हुनुपर्छ। त्योभन्दा ठूलो अन्याय के हुन्छ मानवको जीवनमा ? संसारमा मानव नै हो सबैभन्दा बढी जीवनको भिख  माग्ने ! जीवनसँग किन यति धेरै लोभी छ मानव चेतना ? कल्पना गर्नुहोस्, के हामी अजम्वरी हौं ? अहँ, हुँदै होइन। तेरो–मेरो, लोभलालच... ! आखिरीमा केही लाने होइन।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?