कोशी प्रदेशको एकमात्रै महानगरपालिकला विराटनगरले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि चार अर्ब ४० करोड बराबरको बजेट सार्वजनिक गरेको छ।
मंगलबार बसेको १६ औं नगर सभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन्।
‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’भन्ने दीर्घकालीन सोचलाई पूरा गरिने उद्देश्यका साथ बजेट ल्याइएको उपमेयर कार्कीले बताइन्।
प्रस्तुत नीति प्रस्तावमा महानगरले उत्पादन र छिटो प्रतिफल दिने योजनालाई पहिलो प्राथमिकता दिएको छ।
शिक्षा र स्वास्थ्यमा महानगरवासीको पहुँच अझ विस्तार गर्ने लक्ष्यका साथ आवश्यक पूर्वाधार, जनशक्ति र सेवा विस्तारका कार्यक्रम समेटिएको छ।
त्यसैगरी, स्थानीय तहको आन्तरिक आम्दानीमा वृद्धि गर्नसक्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राख्दै नगरले कर प्रणाली सुधार, नविन स्रोतको पहिचान र प्रभावकारी परिचालनको योजना बनाएको छ।
समावेशी र समान समाज निर्माण गर्ने उद्देश्यले लैङ्गिक समानता र सामाजिक समावेशीकरणका कार्यक्रमहरु थप सशक्त र संस्थागत बनाइने जनाइएको छ।
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुशासन, पारदर्शिता र संस्थागत सुधारमा समेत महानगरले विशेष चासो दिएको छ।
स्थानीय स्रोत, सीप र साधनको अधिकतम प्रयोगलाई प्रवद्र्धन गर्दै महानगरले रोजगारीमुखी र आत्मनिर्भर योजना कार्यान्वयन गर्ने तयारी गरेको छ।
साथै, महानगरको मौलिक भाषा, धर्म, कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा पनि ध्यान दिइनेछ।
महानगरले पूर्वाधार विकासमा विशेष ध्यान दिएको छ। भौतिक पूर्वाधारको समपूरक योजना, सडक र बस्ती विकास, नगरस्तरीय योजनालगायत शीर्षकमा १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ।
सामाजिक विकासतर्फ शैक्षिक कार्यक्रमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्यका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रममा ९१ लाख र संघसंस्थालाई अनुदान स्वरूप ५ करोड ५ लाख छुट्याइएको छ। यससहित सामाजिक क्षेत्रमा कुल १ अर्ब ८९ लाख ३० हजार विनियोजन गरिएको छ।
कृषि तथा पशुपालन क्षेत्रमा १ करोड ९० लाख, आर्थिक विकासमा २ करोड ९६ लाख २५ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनमा ३ करोड १० लाख र सुशासन तथा संस्थागत विकासमा ३ करोड ३० लाख विनियोजन गरिएको छ।
महानगरले अनुमानित खर्च व्योहोर्नका लागि आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, संघीय सरकारबाट अनुदानमार्फत ८३ करोड ३४ लाख, प्रदेश सरकारबाट ४ करोड २३ लाख ६७ हजार, र घरजग्गा रजिष्ट्रेसनबाट मात्रै ९४ करोड ६० लाख आम्दानी हुने अनुमान गरेको छ।
अन्य राजस्व स्रोतमा मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, विज्ञापन कर, सडक बोर्ड अनुदान र मौज्दात रकम पनि समावेश छन्।
नरसभामा नगर सर्पदंशको कार्यमा विराटनगरमा तल्लिन भएर लागेका नगर प्रहरी हवल्दार सम्भू प्रसाद घिमिरेलाई सम्मान गर्दै एक तह बृद्धि गरि नगर प्रहरी निरिक्षकको दज्र्यानी चिन्ह समेत प्रदान गरिएको छ।