राजनीतिक शास्त्रीय मान्यताको आधारमा नेपाल अहिले वालनीति, लाजनीति र ठगनीतिबाट ग्रसित छ। यस मानेमा नेपालको राजनीतिक अवस्था शुद्ध राजनीतिकभन्दा आपराधिक देखिन्छ- आग्रह, प्रतिशोध र पूर्वाग्रहमा रुमलिएको छ।
दलीय भूमिका जनकल्याणभन्दा ‘म’ केन्द्रित छ। मबाट नै सरकार बन्ने र बनाउने कारखानामा रुपान्तरित छ। बारम्बार सरकार फेरबदलले राजनीतिक प्रवृत्तिले सीमा काटिसकेको स्थिति छ। लगभक विधि, प्रक्रिया, प्रणाली र पद्दति समाप्तिएको छ।
परिभाषित लोकतन्त्रमा वैराग्यवादी जनअविश्वास छ। जुनै दलले सत्ता सम्हाले पनि कसैले पनि मुलुक केन्द्रित जनमुखी भएर काम गरेको देखिँदैन। अहिले मुलुकलाई जुन अवस्थामा पुर्याइएको छ, योभन्दा तलको क्रुर र अत्याचारको कुनै तह नै छैन। हालको सत्ता दुरुपयोगले जनता विचलित हुँदै गएका छन्।
राज्यको कुनै पनि भूमिमा सरकारको लोककल्याण उपस्थिति छैन। यस अर्थमा यो मुलुकमा सरकार नै छैन। सिमामा सरकार छैन। सेवा प्रभाही कार्यालयमा सरकार छैन। यसको प्रत्यक्ष उदारण सिफारिस लिने वडा निकायसमेतमा भएको प्रणालीगत भ्रष्टाचारले प्रमाणित गरेको छ।
जनप्रतिनिधिले आफूलाई प्रतिनिधिभन्दा अभ्यासी दलालको रुपमा प्रस्तुत गरी लोकतन्त्रको राम्रो परिभाषा दिएका छन्। जनताको विश्वासमाथि अपमान गर्नाले जनतामा बढ्दो निराशा छ। यो लोकतन्त्रमा हुने वैराग्यवादको राम्रो अनुभव हो।
मुलुकमा अपराधी र लुटेराको जमात छ। राजनीतिको अभ्यास दण्डहिनता र आतङ्कवादबाट सुरु भएको छ। नेतृत्व ‘म’वादबाट ग्रसित छ। ‘म’वादले परिवारवादलाई मलजल गरेको छ। त्यही भएर भाइ, भतिजा, बुहारी र छोरीहरु बनेको र भएका छन्।
राज्य पारिवारिक भर्तिकेन्द्र बनेको छ। यसबाट न मुलुकको गरिमा छ, न जनताको अनुहारमा मुस्कान छ। जनता खाडीमा छन्। भारतको सुरततिर छन्। अछाम र गुल्मीमा एड्स छ। लोकतन्त्रको उपहार यही हो। स्मरण तथ्य करिब सात दशकअघि कोरिया भोकमरीसँग लडिरहँदा नेपालले कोरियालाई धान निर्यात गरेको इतिहास जीवितै छ। तर अहिले नेपालको भोकमरी टार्न कोरियाले नेपालीलाई रोजगार दिँदै आएको छ। यो लोकतन्त्रको उपहार हो।
राजनीति भनेको मुलुकको विकास, सो मुलुकका नागरिकहरुको हक, हित, उन्नति, प्रगति, सहजता, सुविधा, स्वास्थ्य, शिक्षा, रोजगार र सुनिश्चित भविष्य आदिलाई केन्द्रमा राखेर बनाइने नीति र अभ्यास हो। यसले मुलुकका भिन्न र निम्न वर्ग समूहका मानिसहरुको रिति, संस्कार, संस्कृति, मौलिकता आदिको जगेर्ना अर्थात मुलुकभित्रको माटोलाई सुहाउँदो नीति बनाउनलाई प्रेरित गर्छ। दुर्भाग्य हामीलाई लोकतन्त्रले सम्बाेधन गरेन।
विकसित मुलुकहरुको राजनैतिक अभ्यासलाई हेर्ने हो भने उनीहरुले बालबालिकामाथि अधिक लगानी गर्छन्। गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारलाई उनीहरुको राज्यको नीतिभित्रको पनि पहिलो मेरुदण्डको रुपमा लिइन्छ। ताकी ती आजका बालबालिकाहरु नै भोलि त्यो मुलुकका राष्ट्र निर्माता बनुन् तर हामी नेपाली आमाको कोखलाई अरवको धुपमा पसिना बगाउने कामदार उत्पादन गर्ने कारखाना बनाइरहेका छौँ। यो लोकतन्त्रले दिएको रोजगारीको अवसर मान्न र बुझ्न बाध्य छौँ।
विकसित देशमा नेता वा दलबीच विचार र सिद्धान्त फरक हुन्छ तर सबैको स्वार्थ एउटै हुन्छ, त्यो हो राष्ट्रिय स्वार्थ। त्यसमा देशको समृद्धि, जनताको सुख। यो आफू तिलाञ्जलीत राष्ट्रको शिरको सम्मान हो अर्थात् देशभक्ति हो। यो भावनाको पुस्तान्तरण हुँदै जान्छ। तर नेपालमा भने देशलाई मरुभूमि बनाउनमै शासकहरुको महानता छ।
बर्सेनि बाढीपहिरोले कत्ति घरबारविहीन भएको अवस्था छ। जीवन बचाउको लागि गुहार माग्दै गर्दाको अवस्थामा उद्दार नपाएरै नागरिक मर्नुपर्ने बाध्यता छ। जब मुलुकमा विपद् आइलाग्छ, जनतालाई सरकारको सहयोग चाहिन्छ, त्यतिखेर सरकार रमिते र दलाल बन्छ। जनता सरकारविहीन बन्छन्। यो आम नेपाली जनताको लागि दुर्भाग्य हो।
यो देश मेरो हो, यो देशको समृद्धि, संरक्षण तथा हितको पक्षमा काम गर्ने जिम्मेवारी मलाई छ। म त्यो स्थानमा छु भन्ने यो देशका कसैमा छैन। सत्तामा पुगेपछि जत्ति सकिन्छ लुट्ने नै हो। आफूले आफैँलाई कौशल नेता ठान्छन्। यिनीहरूको काम, व्यवहार, आचरणले दलालको रुपमा पुष्टि गर्छ। काम व्यवहारले यिनीहरु राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पहिचान भनेको जनता बेचुवा भुटानी ‘हरणार्थी’ हो।
कसको कहाँबाट कति कमायो र कसलाई नियुक्त गरेको थियो र अब मेरो सरकारमा उसको सरकारले नियुक्त गरेका कर्मचारीहरुलाई फाल्ने त निश्चित हो। मैले कसलाई नियुक्त गर्ने, कसले मैले गरेको कुकर्मको संवारण गर्छ भन्नेतिर यो मुलुकका शासकहरुको बढी ध्यान हुन्छ।
जनताले रुचाएको कुनै निकायको प्रतिनिधि पात्र जसले सामाजिक समस्यालाई समाधान गर्दछ, त्यस्ता पात्रलाई अन्य दलको सरकार आएपछि निष्काशन गर्नैपर्छ। अहिले केपी ओली सरकारको लागि कुलमान घिसिङ अभिशाप बनेका छन्। कारण उनले देशलाई केही गरेको र प्रचण्ड सरकारको पालामा नियुक्त भएका थिए।
मुलुकलाई यिनीहरुले यति विकराल अवस्थामा पुर्याए कि हरेक कुरामा मुलुक लगभग लगभग सकिएको अवस्थामा छ। अब देशले नागरिकलाई रोजगार दिन सक्ने, जनतालाई गुणस्तर स्वास्थ्य दिन सक्ने अवस्था छैन। राष्ट्रिय शक्तिको स्रोत जुन हो, त्यो आफ्नो देशमा बस्ने वातावरण पूर्ण रुपमा समाप्त छ।
डाक्टर बन्नको लागि एउटा व्यक्तिले ५०/६० लाख रकम तिर्छ। पढिसकेर काम गर्नलाई राजनीतिक सेटिङमार्फत जानुपर्छ। घुस दिनुपर्ने हो कि चाकडी गर्नुपर्ने हो, त्यो पनि एकदमै न्यून तलबमा। यस्ता खालका वितृष्णाले शिक्षित समूहको रोजाइमा विदेश परेको हो।
जब चाडवाड आउँछ, सँगसँगै बाढीपहिरो पनि आउँछ। यसको प्रत्यक्ष मार जो सामान्य जीविका चलाउँदै आएका छन्, ती जनताहरुलाई पर्छ। तर यहाँका माफियाहरुको लागि त्यो अवसर बन्छ। यातायातले भाडा बढाउँछ, हवाईजहाजले समेत मनलाग्दी भाडा बढाउँछ। सरकार चुप लागेर बस्छ। किनभने सरकारलाई आफ्नो निर्णयले काम गर्ने विवेक र हैसियत देखिँदैन। विवेक नभएपछि अधिकार पनि छैन। बाह्रय शक्तिको सिधा हस्तक्षेप छ। आदेश पालना गर्नुपर्छ।
अर्थतन्त्रको दुर्गति चरम रूपमा बढ्दो छ। देशको मेरुदण्ड मानिएको जनस्रोत तीव्र गतिमा पलायनमा छ। जताततै लुटपाट, भ्रष्टाचार, अराजकता, असामान्य रुपमा मूल्य वृद्धिले पनि मान्छेलाई विस्थापित हुने बाटमा पुर्याएको छ। हालको शासन प्रणालीले मुलुकको स्वाभिमान, पुर्खाको योगदानलाई कुल्चिएको छ। जनताको स्वतन्त्रतालाई दबाइएको छ र जनता निर्दयीतापूर्वक शासित छन्।
बोल्न पाउनु मात्र स्वतन्त्रा होइन। स्वतन्त्रताको अर्थ भनेको डर र दमनबाट मुक्त हुनु हो, जहाँ जनताले आफ्नो विचार र अभिव्यक्ति खुल्ला रूपमा व्यक्त गर्न सक्छन। कानुनी रूपमा आफ्नो अधिकारको रक्षा गराउन सक्षम हुन्छन्। तर यहाँ सरकारको गलत निर्णयमाथि जनताले आपत्ति प्रदर्शन गरे भने प्रहरीको कुटाइ खानुपर्छ र अदालतबाट दण्डित हुनुपर्छ। खोई सरकार कहाँ छ त?
राजनीतिक दलहरुबीच जति पनि छलफल भएका छन्। जति पनि एजेन्डा बनाइन्छन्, ती कुनै पनि यो मुलुकको सार्वभौमसत्ता, विकास, नागरिकको लागि रोजगारको सुनिश्चिततासँग नजिक छैन। यिनीहरुको एजेन्डा भनेको कसरी माफियाहरुको काम गर्न अनुकूल वातावरण तयार गर्ने, विदेशीको काम कसरी गर्ने भन्नेतिर नै बढीभन्दा बढी केन्द्रित देखिन्छन्। यसबाट शासक विदेशीयुक्त र स्वदेशीमुक्त भएको प्रमाणित हुन्छ। यस्ता शासकलाई ज्यालादारी भन्दा अन्याय हुँदैन।
हाल चलिरहेको गणतान्त्रिक शासन व्यवस्था रावणतन्त्रमा चरणमा पुगिसकेको छ। विशेष गरी अहिलेको समसामयिक राजनीतिक स्थिति आफूलाई बचाउनको लागि एक दलले अर्को दललाई नङ्ग्याउने प्रयास भइरहेको छ। जसरी रावणले भाइहरुलाई नङ्ग्याएका थिए। यो समय रामको अन्तिम लडाइँ लड्ने समय हो।
स्थिति भयावह बन्दै गएको छ कि अहिले ज-जसले सरकार चलाइरहेका छन्, ती व्यक्ति आगामी दिनहरुमा सुरक्षाविना खुला रुपमा बाहिर आउने अवस्था सायद अब हुँदैन। सार्वजनिक मञ्चमा होस् वा रंगशालामा, नेताप्रति नागरिकको ठाडो आक्रोश देखिन्छ।
अहिले चलिरहेको राजनीतिक उथलपुथल, एक पक्षले अर्को पक्षलाई जेल चलान गर्ने, विरोध प्रदर्शन, प्रधानमन्त्रीजस्तो व्यक्तिले विदेश भ्रमणको चरणमा पाएको उपमालगायत यिनका थुप्रै गतिविधिहरुले अब लुट्ने यिनीहरुको अन्तिम प्रयास हो भन्ने कुराको पनि इन्कित गरेको छ।
देश अपराधीहरुको कब्जामा छ। दण्डहिनताको शासन हाबी भएको छ। सबै परिवर्तनले विशेषत नेता परिवारको व्यक्तिगत जीवनमा ठूलो परिवर्तन ल्यायो। देश बर्सेनि ऋणले ग्रस्त बन्दै गएको छ। जनताको अपेक्षा निराशाको गोलचक्करमा फसिसकेको छ। जनता बेचेर देशमा विकास र समृद्धि ल्याउँछौँ भन्ने मालिकत्त्वको शैलीको अन्त्य आजका जनताको आशय देखिन्छ। सबै शासकीय कुकर्मको अभ्यासबाट आजित जनताको आवाज भनेकै रावणतन्त्रको अन्त्य र रामको राजनतन्त्रको आवश्यकता हो।