३५ वर्षअघि बर्दियामा एक जना प्रहरीले जाँड–रक्सी खाएर हाकिममात्रै हाेइन परिवारै हैरान पारिसकेका छन्।
उनको त्यो बानी सुधार्न कहिले कुटपिट त कहिले जेलभित्र राखिन्थ्यो अनि पानीमा डुबाएर चेनले बाँधिन्थ्यो। त्यही पनि ती प्रहरी सुध्रिन सकेनन्।
उनमा सुध्रिने छाँटकाँट नदेखेपछि जागिर खोसिदिने निर्णय भयो। त्योबेला उनको जागिर खोस्ने जिम्मेवारी दिइएको थियो भर्खरै प्रहरी निरीक्षक बनेका बसन्त कुँवरलाई।
श्रीमानको जागिर गुम्न लागेको थाह पाएपछि गर्भवती श्रीमतीले कुँवरको अगाडि रुँदै बिन्ती बिसाइन्। परिवारको अवस्था बुझेका बसन्तले प्रहरीको जागिर खोसेनन्।
ती प्रहरीको जागिर जोगाइदिन कुँवरले नै उनलाई आफ्नाे ‘बडीगार्ड’को काममा राखे।
दुई चार दिन राम्रैसँग बित्याे। तर केही दिनको लागि कुँवर बाहिर गएकोबेला ती प्रहरीले फेरि मद्यपानको सेवन गर्न थाले। उनमा सुध्रिने छाँटकाँट नदेखिपछि ती प्रहरीलाई जागिरबाट निकालियो।
त्यो घटना देखेर निराशिएका प्रहरी निरीक्षक कुँवरले भारतमा पढ्न गएका एक न्यायाधीशसँग सबै कुराहरू खोले।
अनि प्रश्न गरे, ‘ती प्रहरीलाई सबै यातना दिइयो। तर घरमा दुई छाक खाने छैन। त्यहीपनि किन जाँड–रक्सी खाँदै हिँडेको होला?’
उनको त्यो प्रश्नमा न्यायाधीशले जवाफ फर्काए, ‘यो एडिक्ट हो’।
बसन्त कुँवरले त्याेबेला पहिलोपटक ‘एडिक्ट’ शब्द सुनेका थिए। किनकी त्यसबखत ‘एडिक्ट’ भन्ने शब्द नै थिएन प्रहरीको कोर्शमा।
एडिक्टलाई के गर्नुपर्छ भनेर कोर्शमा केही लेखिएको थिएन। मात्र थियो ड्रग खानेलाई समात्नुपर्छ। जेल हाल्नुपर्छ।
न्यायाधीशले एडिक्ट सुर्धान उपचार पुर्नःस्थापना गर्नुपर्छ भनेर बसन्तलाई सुझाए। त्यसपछि उनी उपचार पुर्नःस्थापनाको अध्ययनमा लाग्न थाले।
त्यहीक्रममा उनी ‘डीएसपी’ भएर बर्दियाबाट काठमाडौं सरुवा भए।
एकदिन प्रहरी उच्चअधिकारीहरूको ‘मिटिङ’ थियो। त्यतिबेला सहभागी भएका थिए बसन्त पनि।
काठमाडौं उपत्यकामा अपराध बढ्यो भनेर छलफल हुँदैथियो ‘मिटिङ’मा। त्यहीबीचमा उनले भनिदिइहाले, ‘अपराध बढ्नुको एउटा प्रमुख कारण ड्रग हो। यसलाई रोकेपछि मात्र अपराध घट्न सक्छ।’
उनले ड्रग खानेलाई जेल हाल्नुको सट्टा उपचार केन्द्रमा राख्नुपर्ने बताएका थिए। तर बिडम्बना, त्योबेला नेपालमा कुनै सुधार गृह नै सञ्चालन भएको थिएन।
त्यहीकारण बसन्त आफैंले प्रहरीले नै ड्रग खानेहरूलाई सुर्धानका लागि सुधार केन्द्रको सुरुआत गर्नुपर्ने सुझाए।
सुरुवाती दिनमा भयंकर विवाद भयो त्यो कुराको। तर अपराध रोक्ने उद्देश्यका साथ बसन्त कुँवर इञ्जार्ज हुँदाखेरि नै नेपालमा पहिलोपटक २०५४ सालमा ‘आसरा सुधार केन्द्र’ सञ्चालन भयो। जहाँबाट सयाैं लागुऔषध प्रयोगकर्ताहरूले नयाँ जीवन पाए।
प्रहरीको ड्यूटीसँगै उनले ड्रग सम्बन्धि थप अनुसन्धान गर्दै गए। त्यहीक्रममा उनी ४४ वर्षको उमेरमा ‘एसएसपी’बाट सेवा निवृत्ति भए।
नेपाल प्रहरीको जागिरबाट ‘रिटायर’ भएका बसन्तले वैदेशिक रोजगारमा जाने योजना बुने। तर सफल हुन सकेन।
एकदिन ‘मर्निङ वाक’ जाँदै गर्दा उनले खेतबारीमा बच्चाहरूले ड्रग खाइरहेको देखे। त्यो देखेर उनले ड्रग खानेहरूको लागि एउटा ‘हटलाइन’ खोल्ने निधो गरे।
र, पत्रिकामा एउटा सूचना निकाले, ‘यदि कसैको घरमा ड्रग खाने मान्छे छन् भने हामीलाई सम्झनुस्।’
पत्रिकामा उनले दिएको सूचना देखेर केही अभिभावकहरू बसन्तकहाँ पुगे। त्यसपछि उनले प्रहरीमा हुँदा आसरामा गरेका कामहरूबारे अभिभावकहरूलाई सुनाए।
उनको त्यही अनुभवको कारण अभिभावकले उनलाई आफ्नो छोराछोरीलाई सुर्धानका लागि एउटा संस्था खोल्न अनुरोध गरे। र, तीनै अभिभावकहरूले बसन्तको लागि हात्तीगौडामा एउटा घर भाडामा लिइदिए।
भलै, बसन्त कुँवरको सोच विदेश जाने थियो। तर त्यो संस्थामा नशा गर्ने मानिसहरूको भीड पनि बढ्दैथियो। अब उनलाई त्याे भीड घटाउनुथियाे। दुर्व्यसनीहरूलाई सुधारेर।
विदेश जाने सोचलाई बीचैमा रोकेर लागुऔषध प्रयोगकर्ताहरूको सेवामा तल्लीन थिए कुँवर। नेपालमा उनले गरिरहेको कामबारे अमेरिकामा रहेको ‘नार्कोनन्’ संस्थाले पनि थाहा पायाे।
अमेरिका, अस्ट्रेलियालगायत यूरोपहरूमा फैलिरहेको ‘नार्कोनन्’ एसियाली देशमा भने सञ्चालन हुन सकेको थिएन।
त्यसैले अमेरिकाको नार्कोननले बसन्त कुँवरलाई एउटा प्रस्ताव राख्यो।
‘एसियाली देशहरूमा नार्कोनन् सञ्चालन हुन सकेको छैन। त्यसैले अबदेखि तपाईंले नै नेपालमा नार्कोनन् स्थापना गर्नुस्। हामी तपाईंलाई नार्कोनन् विधि सिकाउँछौं’, आफूलाई आएको प्रस्तावबारे बिएल नेपाली सेवालाई बताए।
नार्कोनन् विधिबाट ‘रिहाब सेन्टर’ सञ्चालन गर्ने तय भएपछि उनलाई थप शिक्षाको आवश्यकता थियो।
सोहीकारण उनी त्यसबारे अध्ययनका लागि यूएसए, यूके, डेनमार्क, सुर्डेन, स्विट्जरल्याण्ड, साउथ अफ्रिका, रुसिया, अस्ट्रेलिया, जापान, इजरायल, भेदनाम, इन्डोनेसिया, मलेसिया, हङकङ, सिंगापुर, इण्डिया र बंगलादेश समेत पुगे। र, लागुऔषधमा विज्ञता पनि हासिल गरे।
अहिले उनीसँग अमेरिकालगायत विभिन्न देशहरूले दिएको प्रमाण पत्रहरू छन्। र, अनेकौंथरिका मेडल अनि तक्माहरू पनि।
विश्वका विभिन्न देशहरूमा अध्ययन गरेर प्रमाण पत्रसहित नेपाल फर्किएका उनले २००९ सालमा ‘नार्कोनन् नेपाल’ नामक संस्थाको सुरुआत गरे।
र, ड्रगमा लागेकाहरूलाई पुनः जीवन दिन थाले।
नार्कोनन् नेपाल सञ्चालन भएको करिब डेढ दशक पुग्नै लागेको छ। त्यस अवधिभर संस्थाले पाँच हजारभन्दा धेरै जनालाई नयाँ जीवन दिइसकेको छ। र, अझैपनि कुलतमा फसेकाहरूलाई जीवनको बाटो देखाइरहेको छ।
‘नार्कोनन् नेपाल’ कस्तो संस्था हो?
काठमाडौंको बूढानीलकण्ठमा १२ रोपनी र नुवाकोटको ककनीमा ५२ रोपनी जग्गामा फैलिएको छ, नार्कोनन् नेपाल। जुन एसियाली राष्ट्रहरूमै पहिलोपटक सञ्चालनमा आएको हो।
नार्कोनन् नेपालले लठ्याउने चिज ड्रगको विरोध मात्र गर्दैन। त्यसको उपचार पनि गर्छ। त्यही पनि नार्कोनन् उपचार पद्दतीबाट।
नार्कोनन्ले सुरुमा त ड्रगको बानी परिसकेकाहरूको शरीर निको बनाउने काम गर्छ। त्यसपछि निन्द्रा लाग्ने, ड्रग नखाइकन बस्न सक्ने, ड्रस देखेपनि मनलाई रोक्न सक्ने, शरीरमा भएका ड्रगलाई निकाल्ने, खराब साथी चिनेर छाड्ने सिकाउने, नैतिक बनाउने, पढ्न र काम गर्नसक्ने बनाउने गर्छ। त्यहीपनि ‘भिटामिन’ दिएर।
‘अरू ठाउँतिर औषधि दिएर निको बनाइन्छ तर हामीले उहाँहरूलाई भिटामिन दिएर ठिक बनाउँछौं’, उनले भने, ‘ड्रगले १७ प्रकारको भिटामिनलाई नस्ट गर्छ। त्यसैले हामी भिटामिन दिने गर्छौं। औषधिको कुनै प्रयोग नै गर्दैनौं।’
हुनत नेपालमा कुलत छुटाउने धेरै सुधार केन्द्रहरू छन्। तर अन्य सुधार गृहभन्दा फरक छ, नार्कोनन् नेपाल। यो त एउटा ‘क्याम्पस’ जस्तै हो। त्यहीपनि ड्रगको।
डाक्टर, इन्जिनियरलगायत वकिल बन्नका लागि डिग्री हासिल गरेजस्तो ड्रग सम्बन्धि विज्ञ बन्नका लागि नार्कोनन् नेपालबाट प्रमाणपत्र निकाल्नुपर्छ।
त्यसैले त नार्कोनन्मा ‘एडिक्ट’हरू मात्र नभई सुधार केन्द्र सञ्चालन गर्न चाहनेहरू पनि तालिम लिन भर्ना हुन्छन्। ६ महिनाको कोश लिन्छन् र, आफैंले ‘रिह्याब सेन्टर’ खोल्छन्।
नार्कोनन् नेपालमा ८ वटा कोर्षहरू छन्। जसलाई पूरा गर्नका लागि ६ महिना त्यहीँ बिताउनुपर्छ।
सुरुवाती दिनमा एडिक्टहरूले ६० दिन बूढानीलकण्ठमा तीन वटा कोर्ष सक्काउनुपर्छ। र, बाँकीको ४ महिना भने ककनीमा ५ वटा कोर्ष पढेर पूरा गर्नुपर्छ।
उनका अनुसार ‘एडिक्शन’ भनेको रोग होइन। यो एउटा बानी मात्र हो। जसलाई सुधार्न सम्भव छ। सोहीकारण कुलतमा फसेकाहरूलाई नार्कोनन्ले एडिक्ट भन्दा पनि विद्यार्थी भनेर सम्बोधन गर्छ।
‘एडिक्शन भनेको खराब बानी मात्र हो। यसलाई नार्कोनन् कोर्षको माध्यमबाट सुधार्न सकिन्छ’, उनले बताए।
जस्तोसुकै खराब बानीलाई सुर्धानका लागि कोर्शले महत्वपूर्ण भूमिका खेल्ने नार्कोननकाे कार्यकारी निर्देशक बसन्त कुँवरले बताए।
‘एउटा स्कुल २० विघामा फैलिएको छ तर त्यहाँ किताबै छैन भने त्यसको कुनै मतलबै भएन’, उनी भन्छन्, ‘बासस्थान जस्तोसुकै भएपनि कोर्ष राम्रो हुुनुपर्छ।’
नार्कोनन् नेपालमा बसेर ६ महिनाको ८ वटा कोर्ष गरिसकेपछि परीक्षा लिइन्छ। र, उत्तीर्ण भएपछि ड्रग सम्बन्धि ज्ञान लिएको प्रमाण पत्र दिइन्छ। जुन अमेरिकाबाटै पठाइएको हुन्छ।
हालसम्म नार्कोनन् नेपालबाट नयाँ जीवन पाएका केही विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरेका छन् भने कोही पाँच तारे होटललगायतमा जागिरे छन्।
अहिलेपनि नार्कोनन्मा ७० जना विद्यार्थी छन्। जसको रेखदेखका लागि ४५ जनाभन्दा धेरै कर्मचारी खटाएको छ, नार्कोनन्ले।
‘हामीले एक वर्षमा ७० जनाभन्दा धेरै जनालाई राख्न मिल्दैन र सकिदैँन पनि’, उनले भने, ‘उहाँहरूको राम्रोसँग सेवा गर्नु र्ने हाम्रो उद्देश्य हो।’
नार्कोनन्मा बसिरहेका विद्यार्थीहरूको संरक्षणका लागि उनले ड्रग परीक्षण किटदेखि ‘विगल’ नामक कुकुर पनि पालिरहेको छ। जसले ड्रग बोकेर नार्कोनन् छिरेका मान्छेलाई पत्ता लगाउँछ।
नार्कोनन् ‘क्लिनिक’ खोल्ने चाहना
लागुऔषध प्रयोगकर्ताहरूलाई सुधार्ने अनि त्यसबारे विज्ञ बनाउने संस्था नार्कोनन्को अबको उद्देश्य भनेको एउटा ‘क्लिनिक’ र ‘म्युजियम’ छ।
‘मानिसहरू रिह्याब भन्नेबित्तिकै आउन खोज्दैनन् तर नार्कोनन् क्लिनिक खोलेपछि उहाँहरूलाई ड्रग सम्बन्धि जानकारी दिन सहज हुन्छ’, उनी भन्छन्, ‘नार्कोनन् म्युजियममा चाहिँ हाम्रा पुस्तकहरू सजाएर विद्यार्थीहरूलाई देखाउने चाहना छ।’
साथै उनलाई त्यही म्युजियमबाट लठ्याउने चिज ड्रगविरुद्ध विद्यार्थीहरूलाई पढाउने पनि सपना छ।
क्लिनिक र म्युजियकसँगै बसन्तलाई अब भने ‘केटी’हरूका लागि पनि नार्कोनन् सञ्चालन गर्ने सोच छ।