अमर अधिकारी
केही दिनअघि मैले आफ्नो दोस्रो कृति ‘ओगिल्जा’ चर्चित कलाकार तथा गायक हरिवंश आचार्यलाई दिँदै भनेँ, ‘दाइहरुले देशमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचारका विषयमा बोल्न छाड्नुभो, किन होला?’ अस्वस्थ अवस्थामा रहनुभएका हरिवंशले भन्नुभयो, ‘हामी त अब थाकिसक्यौँ, अब तपाईंहरुको पालो हो, लेख्नुस्, मजाले लेख्नुस्।’
उहाँले यस्तो भन्नुअघिदेखि अर्थात् २०८० मंसिरदेखि मैले प्रभावकारी किसिमबाट लेखहरु लेख्न थालेँ। एक वर्षको अवधिमा सबैभन्दा बढी लेख-रचनाहरु प्रकाशन सायद मेरै भए होलान्। किनकि म राति पाँच घण्टा मात्र सुत्ने गर्छु र देशको चिन्ता लिँदै लेख-रचनाहरु तयार गर्छु।
माथि उल्लिखित पुस्तक ‘ओगिल्जा’ मोबाइलमै कोरिएको नेपालको सम्भवतः पहिलो पुस्तक हो। मैले करिब ४२ वर्ष काठमाडौँमा बिताउँदा र त्यसमा पनि १२ वर्ष सिंहदरबारभित्र राष्ट्र सेवकको रुपमा बिताउँदा देशलाई बर्बाद गर्नेहरुको समूह देखेँ। अख्तियार प्रमुखको कुर्सीमा महाभ्रष्टलाई विराजमान गराएको पनि देखेँ। आठ कक्षा मात्र पढेकालाई सार्वजनिक संस्थानको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको पनि देखेँ। पेट्रोल पम्पका मालिकलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष बनाएको पनि देखेँ। तमाम विकृति र विसंगति अनि भ्रष्टाचारका शृंखलाहरु देखेँ।
मन्त्रीका स्वकीय सचिवले मेरो कुर्सी टेबुल नै कब्जा गरेको कुरा त मेरा प्राय जसो लेखहरुमा उल्लेख हुने गर्छन्। मेरा लेख-रचनाहरु काठमाडौँदेखि जुम्लासम्मका दुई दर्जनभन्दा बढी सञ्चार माध्यमहरुबाट प्रकाशन हुँदै आएका छन्। जुनसुकै दलनिकट मिडियाबाट माग भए पनि मैले कुनै न कुनै विषयका लेखहरु पठाउने गर्छु।
मलाई एउटा लेख तयार गर्न दुई घण्टा पनि लाग्दैन। इमेल गरेर पठाएको कुनै कुनै लेख दश मिनेटभित्रै प्रकाशन हुने गरेको इतिहास पनि छ। मेरो एउटा लेखकै कारण सिंहदरबारमा भोलिपल्टै व्यापक परिवर्तन भएको छ भने विराटनगरमा गृहिणीहरुको जुलुसले मेयरलाई घेरेको पनि पाइएको छ। मेरा केही लेखहरुले परिवर्तनकारी काम गरेका छन्। मैले जनतालाई सुसूचित गर्ने काम गर्दै आएको छु।
एक प्रतिष्ठित र स्थापित अनि चर्चित साप्ताहिक पत्रिकामा समाज सुधारका विषयमा चेतनामूलक लेख प्रकाशित भयो। सो लेख फेसबुकमा पोस्ट गरेपछि एकजनाबाट धम्कीपूर्ण टिप्पणी आयो- ‘तिम्रा करङ जनताले अवश्य भाँचिदिनेछन्।’ को हो जनता? कस्ता हुन् जनता? जनताकै कल्याणका खातिर लेख लेख्ने अनि जनतामा परिवर्तन र चेतना जगाउने सामाजिक अभियन्ताको कसरी करङ भाँचिदिन्छन्? त्यस्ता पनि जनता हुन्छन्। ती त कुनै नेता वा पार्टीमार्फत् राज्यकोष दोहन गरेवापत छ्याक्कन अर्थात् केही अंश खाने मान्छे हुन्।
ममाथि आक्रोश पोख्ने भनेका पार्टी वा नेताका झोले, अति भ्रष्टाचारीका मतियार नै हुन्, जो समाजका लागि घातक हुन्, देशका गद्दार हुन्। समाजका मात्र होइन, देशकै लागि घातक हुन्। देश किन बर्बाद भयो भन्ने कुरा सञ्चार माध्यमहरुले मलाई सोध्दैनन् किनकि कुन कुन मिडिया, कुन कुन गिरोहहरुको इशारामा चलेका छन् भन्ने मलाई थाहा छ।
सरकारी सेवाबाट अवकाशपछि भ्रष्टाचारीले पनि मिडिया खोलेकै थिए, त्यसको साक्षी म पनि हुँ। माफिया र अपराधीहरुले पनि मिडिया चलाएकै छन्। भारतीय अपराधी बाबाहरुहरुको गुनगान गाउने मिडियाहरु पनि यहाँ छन्। लिङ्ग परिवर्तन गर्ने जन्तर-मन्तर बिक्री गर्ने महाठगका विरुद्धमा सिआइबीमा उजुरी दिँदा धार्मिक ठगहरुलाई कारवाही गर्ने कानुन छैन भनियो। धार्मिक र आध्यात्मिक बहानामा ठगी गर्नेहरुको कमी छैन यहाँ।
करोडौँ रकम नेपालबाट भारतमा ओसार्ने ढोँगी र पाखण्डीहरु नभएका होइनन्। नेताहरु उनकै शरण र चरणमा पर्ने गरेका पनि छन्। रुद्राक्ष माला लगाएर बडा कमरेडहरुले समेत पाखण्डीसँग फोटो खिचाएका तस्विर सार्वजनिक भइसकेका छन्। देशमा राजनीतिक ठग, सामाजिक ठग, धार्मिक ठगहरुको बिगबिगी छ। सोझा जनताहरु उनीहरुको चुंगुलमा सजिलै फस्छन् र तन, मन, धन सुम्पिन्छन्।
देशको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र राजनीतिक हस्तक्षेपका कारण ध्वस्त छ। मन्त्रालयका सचिवको महिनामा चारपटक सरुवा हुने गरेको छ। सिडियोहरुको सरुवा छ/छ महिनामा गर्ने गरेको पनि पाइएको छ। सामान्य प्रशासन मन्त्रालयको बरण्डामा प्रशासकहरु थुप्रिएकै हुन्छन्। यो विकृति पहिलेदेखि नै चलिआएको छ।
ब्यंग्यात्मक शब्दमा भनिने ‘बरण्डा’ जगेडामा राखिने कर्मचारीहरुको समूह हो। जसले राम्रो आर्थिक उपहार दिन्छ, उसले कमाउ अड्डा पाउँछ। जसले दिँदैन, उसलाई फ्याँकिन्छ। काम नलाग्ने अड्डामा वा राखिन्छन् त्यही बरण्डामा। मुलुक विदेशी शक्तिको आडमा चलेको छ भन्नेहरु यहाँ नभएका होइनन्। तराई-भारतले लगोस्, पहाड र हिमाल चीनले लगोस् भन्नेहरुको पनि कमी छैन यहाँ। देश पूर्णतया परनिर्भर र आयातमुखी हुने क्रममा छ।
सीमित झोलेहरुले मात्र फाइदा लिने र सोझा सिधा मतदाता अर्थात् जनताहरुले खासै सुविधा पाएको देखिँदैन। स्थानीय निकायका कतिपय पदाधिकारीका आफ्नै डोजर हुने हुँदा ठेक्का घुमाइफिराइ आफ्नै पोल्टामा पार्ने गरेका देखिन्छन्। जनता अमुक छन्, निःशब्द छन् अनि निराश छन्।
कसैकसैले नेताहरुलाई धारेहात पनि लगाउँछन्। एकैचिहान गराउनुपर्छ भनेर आक्रोश पनि पोख्छन्। बरु राजा नै ठीक भन्नेहरुको पनि कमी छैन यहाँ। राजा फर्किने सम्भावना त छँदै छैन। तर नेताहरुमा वुद्धिमानी सोच र विचार देखिँदैन। जनतालाई बेबकुफ बनाउनका लागि घरि कोसँग त घरि कोसँग मिलेर सरकार बनाउने कुचक्र चलिरहेकै छ। पूरा अवधि टिक्ने सरकार र संसद नेपालीहरुले पाउने सम्भावना छँदैछैन। धमिजा र लाउडा काण्डदेखि हालसम्मका विभिन्न काण्डहरु त्यसै सेलाएर गएका छन्। छानविन समिति र आयोगका प्रतिवेदनहरु दराजमा कुहिएर बसेका छन्। पदाधिकारीहरुले भत्ता खाए, उनैलाई भयो उपलब्धि।
ज्ञान र चेतना नभएका जनताहरु पनि छन् यहाँ। पैसाकै लागि कसैको ज्यान पनि लिन तयार छन्। उनीहरुलाई ज्ञान-चेतना दिने गैरसरकारी संस्थाहरु त छन्, तर झोलामा सीमित छन्। दश वटा कम्पनी एउटै झोलामा पनि छन्। अहिले कम्पनी र उद्योगहरु खारेजीमा गइरहेका छन्। कम्पनी रजिष्ट्रारको कार्यालय, घरेलु कार्यालय तथा वाणिज्य कार्यालयमा गएर हेर्यो भने व्यवसायीहरुले आफ्ना कम्पनी वा उद्योगहरु खारेज गरिरहेका छन्। युवाहरुको जमात खाडीतिर गइरहेको छ।
राहदानी विभागमा पासपोर्टका लागि र भिसाका लागि दूतावासहरुमा लामो पंक्तिहरु देख्न सकिन्छ। अशक्त भइसकेका नेताहरुलाई कुर्सीको मोहले छोडेको छैन। युवा नेताहरु गर्जिने मात्र हुन्, उनीहरुको केही लाग्दैछ। नारायणघाट-बुटवल सडकखण्डको बाटोले देशको अवस्था छर्लंग पार्छ। यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन्।
निजी स्वास्थ्य संस्थाहरुले लुटिरहेका छन्। महिनाको ४६ हजार खाने डाक्टरले कुटाइ पनि खाइरहेकै छन्। ६० लाख खर्चेर डाक्टर बनेका मान्छेको यहाँ इज्जत छैन। युवाहरु खाडीतिर गएपछि गाउँगाउँमा खेतबारीहरु बाँझै छन्। भारतबाट आयातित पोषण नभएको चामल खान बाध्य छन् जनता। वर्षमा ७० करोडको कोदो आयात हुँदा नेपाललाई कसरी कृषिप्रधान देश भन्ने? अरबौँका मसला र अरबौँका सौदर्य प्रशाधनका सामानहरु भित्र्याउनु के देशको हितमा हुन्छ? ती सामग्रीहरु देशभित्रै उत्पादन गर्न सकिँदैन? खोई किसानलाई प्रोत्साहन र पुरस्कार? समयमा मल दिन नसक्ने सरकारले अरु के नै गर्न सक्छ र किसानहरुका लागि?
दिमागवालाहरु अमेरिका, अष्ट्रेलिया र युरोप ताक्न बाध्य पार्ने अनि कसरी हुन्छ मुलुक समृद्धि? नेपाली विद्यार्थीहरु पहिले विद्यावारिधि र मास्टर्स गर्न विदेश जान्थे भने अहिले ब्याचलर्स गर्नकै लागि विदेश जानेगरेको र पढिसकेपछि उतै हराउनेगरेको पाइन्छ। १२ कक्षा सकिनासाथ राहदानी विभाग र भिसाका लागि दूतावासहरुमा लाइन बस्न हतार गर्नेहरुलाई रोक्न नसक्नु सरकारको नालायकीपन भन्नुमा फरक पर्दैन।
सरकारमा बस्नेलाई जतिसुकै व्यंग्य गरेपनि, जतिसुकै घचघच्याए पनि सरकारको आँखा खुल्ने गरेको पाइँदैन। उल्टै हाँसोमा उडाइदिन्छन् सरकारमा बस्नेहरु। हातहातमा मोबाइल पुग्यो भनेर सञ्चारको विकास भन्न मिल्दैन। मोबाइलले गर्दा घरपरिवार नै तहसनहस भएको छ। उता गोठ र खोरमा गाई-बाख्रा कराइरहेका हुन्छन्, यता युट्युब र फेसबुकमा मख्ख भएर बस्नेगरेका हुन्छन् कतिपय किसान वा सर्वसाधारणहरु।
बजार अनुगमन केबल भत्ता पचाउनका लागि सीमित छ। खाद्य वस्तुमा जथाभावी किसिमले कृत्रिम रङ र स्वाद मिलाइएका छन्। विभिन्न किसिमका नयाँनयाँ रोगहरु देखिन थालेका छन्। नशा च्यापिने, हड्डी खिइने, थाइराइडको समस्या पहिले देखिँदैनथ्यो। अस्वस्थकर खानपानका कारण जनस्वास्थ्य बिग्रँदो अवस्थामा छ। एउटा रोग निदान गर्न गयो भने दशथरी परीक्षण गर्न पठाउँछ अस्पतालले। निजी अस्पतालको शोषण झनै कहालिलाग्दो छ। गाउँगाउँमा पनि सिरानी छेउमा औषधीका पोकाहरु राख्ने बानी परेको छ गाउँलेहरुलाई। स्वास्थ्यसम्बन्धी जनचेतनाको धेरै नै खाँचो छ। जथाभावी र आफूखुशी औषधि किनेर खानाले बिरामीलाई उल्टै क्षति छ।
यस्तै यस्तै तमाम विकृति र विसंगतिका विरुद्धमा लेख-रचनाहरु प्रकाशन भएपछि यो लेखकलाई धम्की आउनु दुःखको कुरा हो। तर जतिसुकै धम्की आए पनि म जनताका लागि नै लेख्नेछु। कुनै झोलेले धम्की दियो भन्दैमा मेरो कलम रोकिँदैन। मेरो कलमको निबले भ्रष्ट र मुर्खहरुको छाला उधार्ने काम गर्छ।
प्रमुख दलहरुका केही मन्त्री, सांसद, नेता मेरा आफन्त र साथीभाइहरु पनि छन्। उहाँहरुले भने मप्रति नकारात्मक टिप्पणी गर्नसक्नुभएको छैन। तर झोले, अबुझ र मुर्खले नचाहिँदा टिकाटिप्पणी गर्नु स्वभाविकै हो। देश डुबाउने भनेकै मुर्ख र झोलेको सल्लाहमा लाग्ने नेताहरुकै कारण हो भनेर ठोकुवा गर्न सकिन्छ। विशेषज्ञता नभएका झोलेहरुलाई सल्लाहकार र स्वकीय सचिव नियुक्त गर्नु नै मन्त्रीहरुको कमी-कमजोरी हो भन्नुमा अत्युक्ति हुनेछैन। अझै पनि समय छ, मुलुक बर्बादीतिर लैजानु राम्रो काम होइन। परनिर्भर वा आयातमुखी हुनबाट मुलुकलाई बचाउनेतिर लागौँ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया