धर्मपत्नि राधिका शाक्यसहित जागरण सभाको मञ्चमा उपस्थित भएका प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभालाई शुक्रबार सम्बोधन गरेका छन्।
वि.सं.२०४७ चैत ५ गते काठमाडौँमा आयोजित चुनावी सभामा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले गरेको राजा लक्षित भाषण चर्चित छ। तर आज त्यो राजतन्त्र छैन। यद्यपि शाह वंश थेगेको नारायणहिटीलाई पिठ्युँ फर्काएर आयोजना गरेको एमालेको जागरण सभाप्रति लक्षित हो त?
समग्र देशलाई वास्तविक परिस्थितिसँगै तिनका कारणहरुको बारेमा जानकारीसहित त्यसको रक्षाका लागि सचेत पार्नुलाई सामान्यतया जागरण भनेर बुझ्नुपर्छ। त्यसकै जगमा चुनावबाट लक्ष्यमा पुग्न सकिन्छ भन्ने धारणलाई जागरणले टेवा दिन्छ।
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले जागरण सभा भनेर सडकमा उत्रनुको तात्पर्य के छ त?
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्न भन्दै सत्तारुढ दल एमालेले जागरणको आयोजना गर्नुले के सरकार राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्न असफल भएको छ त? भन्ने प्रश्न एमालेतिरै तेर्स्याउँदैन त!
शाह वशं परम्परा धानेको नारायणहिटी दरबार अघिल्लतिर जम्मा भएर एमालेजनहरुले कस्तो जागरण ल्याउन थालेका होलान् त? सत्तारुढ दलले सुशासन र जनसेवामा आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा सडकमा कार्यकर्ता उतार्नुको अर्थ के हुनसक्छ? जिम्मेवारी र जवाफदेहिताको केन्द्रमा रहेको एमाले सडकमा उत्रेर कसलाई के सन्देश दिन खोजेका हुन् त?
प्रधानमन्त्रीको पद सम्हालेको दल एमालेको जागरण सभाले सत्ता साझेदार दलहरुलाई हो वा विपक्षीलाई अथवा नयाँ विकल्पका शक्ति बन्दै गरेकाहरुलाई वा कतिपय खास स्वतन्त्र जनप्रतिनिधिलाई सन्देश दिन खोजेको छ कि हामी पनि कम छैनौँ भने!
अझ गहिरिएर खोतल्ने हो भने चीन भ्रमणको सानिध्यतामा गरेको जागरण सभाले भू-राजनीतिका प्लेयर राष्ट्रलाई केही संकेत गर्न खोजेको पो हो कि?
एमालेको जागरण सभा केवल एउटा अभियानका अगुवा दुर्गा प्रसाईं अथवा राष्ट्रिय स्वतन्त्रत पार्टीको पंक्ति लक्षित मात्रै त पक्कै होइन्। थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थितहरुको प्रदर्शनसमेत आजै भयो। पटक-पटक सामाजिक सञ्जालमार्फत ठाकठुक परिरहने काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) लक्षित मात्रै पनि भन्न सकिन्न।
एमालेको जागरण सभाले कतै सत्ता साझेदार दल नेपाली काँग्रेसलाई सत्ता साझेदारीको अवधि कायम राख्न दबाब दिन यसो गरेको होला त?
लौ यदि माथि भनिएकामध्ये कुनै पनि विषयलाई एमालेको जागरण सभाले छुँदैन भन्ने हाईपोथेसिस पनि दर्ज गर्न सकिन्छ। यदि त्यसो हो भने के एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई काम मात्रै दिएका हुन् त?
यसबीच आजै जागरण सभाकै दिन भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई जग्गा दिएको विषयमा परेको रिट सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको पनि जानकारी राखौँ।
प्रधानमन्त्रीको कुर्सीमा विराजमान सम्माननीय ओली चीन भ्रमणमा जानुअघि कम्युनिष्ट पार्टीको चमक देखाउन सडकमा कार्यकर्ता उतारेर राजनीतिक सन्देश दिन पो खोजेका हुन् कि त!
‘समृद्ध नेपाल, सुखी नेपाली’ प्रधानमन्त्री ओलीको सुपरिचित लक्ष्य अहिले कहाँ पुगेको छ? जनजीविका र सरकारका दैनिक सेवाहरु कुन स्तरका छन् भन्ने विषयमा प्रधानमन्त्री अवगत हुनुहुन्छ वा हुनुहुन्न होला? यी आम नागरिकका सवालको जवाफ कहिले आउने हुन् त?
बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) का विषयमा सत्ता साझेदार काँग्रेस र एमालेबीचमा सहमति जुट्न सकिरहेको छैन। चर्चामा रहेको प्रधानमन्त्रीको आसन्न चीन भ्रमणअघि प्रधानमन्त्री ओलीमाथि बिआरआईको अतिरिक्त भार छ।
देशका विभिन्न स्थानमा स्थानीय तह उपनिर्वाचनसमेत संघारमा छ। उपनिर्वाचनमा कार्यकर्ताहरुलाई उच्च मनोबल बनाउन पनि जागरण सभाले बल पुग्ने देखिन्छ। यद्यपि घोषित र अघोषित सहमतिमा उपनिर्वाचनमा सत्तारुढ दलहरुले सहकार्य गरिरहेका छन्।
सरकारको नेतृत्व गरिरहेको एमाले सरकारले बहन गर्नुपर्ने जिम्मेवारीलाई बहन गर्ने विषयमा गम्भीर हुन जरुरी छ। लोकतन्त्रमा आफ्ना विषय राख्ने विभिन्न उपाय हुन्छन्।
सरकारले कुरा नसुन्दा आफ्ना कुराको सुनुवाइ गराउन सडकमा नागरिकले संघर्ष गर्छन्। तर एमाले भने सरकारमा रहँदा समेत बेलाबखत सडकमा उत्रने अभ्यास गरिरहन्छ। संसद र सरकारमा रहेको दलबाट सडकमा गरिने यस्ता कार्यक्रमले नागरिकमा के सन्देश दिन खोजेको हो? त्यसको अन्तर्यमा पुग्न जरुरी छ।