ज्ञान उत्पादनको नेतृत्व गरिरहेको काठमाडौँको कीर्तिपुर नगरपालिकामा आइतबार (कार्तिक २ गते) ‘गुण्डा राज’ प्रहसन भयाे। (कीर्तिपुर जहाँ त्रिभुवन विश्वविद्यालय छ) जसले गर्दा नगरप्रमुखको कार्यकक्ष नागरिक सेवामुखी होइन, उदण्डको मञ्च बन्यो।
नगरप्रमुखको कार्यकक्षमा उदण्ड मच्चाउने कुनै सामान्य व्यक्ति भने थिएनन्। उनी जनताले निर्वाचित गरेर नेतृत्वमा पठाएका वडा नम्बर ३ का अध्यक्ष सुबिन्द्र महर्जन थिए। उनी नगरप्रमुखको कार्यकक्षमा तोडफोडमा उत्रिए। टेवलमाथि लात्ती बजारे। टेवल फुटाए।
वडाध्यक्ष र कार्यवाहक नरप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता)बीच छलफल चलिरहेको समयमा महर्जन कार्यकक्षमा तोडफोडमा उत्रिएका थिए। उनी कर्मचारीले जनप्रतिनिधिलाई समय नदिएको र नगरप्रमुखले त्यस विषयमा ध्यान दिन नसकेको भन्दै तोडफोडमा उत्रिएका थिए।
तोडफोड भएको विषयलाई उनी सामान्य रुपमा लिन्छन्। किन तोडफोड गरेको भन्ने विषयमा उनी भन्छन्, ‘तोडफोड गर्नुपर्ने अवस्था किन आयो भन्ने विषय हो। त्यसको जड बुझ्नुपर्छ।’
उदण्ड मच्चाउने यी वडाध्यक्ष एक हुन्। यसरी आफ्नो अनुकूलको काम नभएपछि उदण्ड मच्चाउने जनप्रतिनिधिको लामै नाम छ। देशको सुशासनका लागि काम गर्ने जिम्मेवारी पाएका जनप्रतिनिधि नै एकपछि अर्को गर्दै कुशासनको बीज रोपिरहेका छन्।
१ चैत २०८० मा डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भयो। कुटपिटबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो। जतिबेला उनको टाउकोमा ३ वटा टाँका लगाउनुपरेको थियो।
यसरी कुटपिट गर्नेमा अरु कोही थिएनन्, नगरउपप्रमुखसहित वडाध्यक्षहरू थिए। त्यो पनि उनीहरूले कार्यपालिकाको बैठक हलभित्रै प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि कुटपिट गरेका थिए।
एक कर्मचारीको काज फिर्ता गर्नुपर्ने माग राखेर बैठकमै नगरउपप्रमुख विमलाकुमारी बोहरा, वडा नम्बर १ का अध्यक्ष लालबहादुर धामी र वडा नम्बर ७ का अध्यक्ष कर्णबहादुर धामीलगायतले कुटपिट गरेका थिए।
उनीहरू बैठक हलमा कुर्ची तोडफोड गर्दै कुटपिटसम्ममा उत्रिएका थिए। घटनामा संलग्न रहेको आरोपमा पछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीचको विवाद नभएको कमै स्थानीय तह होलान्। कुनै न कुनै रुपमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद भएको देखिरहेको हुन्छ। जनप्रतिनिधिले भनेअनुसार काम नगरेको कर्मचारीमाथि आरोप लाग्ने गरेको छ।
जसले गर्दा कतिपय ठाउँमा जनप्रतिनिधि नै कर्मचारीमाथि हातपात गर्ने अवस्थामा पुग्ने गरेका छन्। जनप्रतिनिधिको कुटपिटपछि बेलाबेलामा कर्मचारीहरू हड्तालमा उत्रिएका घटना पनि सार्वजनिक भइरहेका हन्छन्।
जनप्रतिनिधि र कर्मचारीबीच कुनै पनि कार्ययोजना कार्यान्वनमा समस्या देखिँदा यस्ता विवाद भएका छन्। यसबाहेक जनप्रतिनिधि जसका लागि काम गर्छु भनेर निर्वाचित हुन्छन्, उसैमाथि जाइलागेका घटना पनि देखिरहेका छन्।
११ असोज २०७९ मा बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष जुद्धबहादुर एडीले एक जना नागरिकमाथि कुटपिट गरे, त्यो पनि दलित मन्दिरमा प्रवेश गरेको आरोप लगाएर।
उक्त घटनामा अध्यक्ष एडीलगायत स्थानीय संलग्न थिए। गाउँको नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा उनीहरूले दलित पूजा गरेको ठाउँमा आउनु हुँदैन भन्दै टेकेन्द्र सुनारमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट सुनारको आँखा, कान, नाक र पीठ्युँमा चोट लागेको थियो।
माथिका यी प्रतिनिधिमूलक घटनाले के देखाउँछ भने सुशासनका लागि काम गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधि नै ‘गुण्डा राज’ चलाइरहेका त छैनन्? जसले कहिले कर्मचारी, कहिले सहकर्मी र कहिले नागरिकमाथि जाइलाग्ने गरेको घटना घटिरहेका छन्।
यस्ता घटनाले जनप्रतिनिधि ऐन, नीति, नियम कार्यान्वयन गर्छन् कि नीति, नियममाथि प्रहार भन्ने प्रश्न उठेको छ। जनताद्वारा निर्वाचित जनताको नजिकको सरकारका प्रतिनिधिले सुशासनको कस्तो जग बसालिरहेका छन् भन्नेमा शंका गर्ने ठाउँ छ।
नेपालको संविधानले कल्पना नगरेको कुटपिटका घटना जनप्रतिनिधिबाटै किन भइरहेका छन् भन्नेमा उनीहरूको जवाफ हलुका हुने गर्छ– घटना हुनुका पछाडि के कारण छन्? कीर्तिपुर नगरपालिका-३ का वडाध्यक्ष सुबिन्द्र महर्जन बुझ्नुपर्ने बताउँछन्।
उनी यस्ता घटना किन हुन पुग्छन्, त्यसको पछाडिको पक्षलाई हेर्नुपर्ने बताउँछन्। ‘जनप्रतिनिधि नै तोडफोडमा उत्रनुपर्ने कुरा त्यसको पछाडि हुने कुराले निर्धारण गर्ने गर्छ’, उनी भन्छन्।
यति भनिरहँदा उनी कानुनभन्दा माथि कोही छैन भन्ने कुरा भने सम्झँदैनन्। यसले के देखाउँछ भने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका जनप्रतिनिधि पनि हुकुमी शैलीको शासनतर्फ उद्धत छन्।
तर यो शैली नेपालको संविधान २०७२ ले कल्पना गरेको छैन। नेपालको ऐन, कानुनले कल्पना गरेको छैन। जहाँ कमजोरी भएको छ, जसले कमजोरी गरेको छ त्यसका लागि नियमन गर्ने, कारबाही गर्ने निकाय बनाइएको छ।
तर पनि यहाँ जनप्रतिनिधि नै कानुन हातमा लिने जस्ता गैरकानुनी काममा लाग्नुले उनीहरू ‘गुण्डा राज’ चलाउन खोजेको देखिन्छ। नेपाल नगरपालिका संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा यस्ता घटना घट्नुमा व्यक्ति विशेष कारण हुने बताउँछन्।
जनप्रतिनिधि नै हातपातमा उत्रनु राम्रो सन्देश नभएको उनको भनाइ छ। ‘जनप्रतिनिधिमात्र होइन, कोही पनि हातपातमा उत्रनु राम्रो हुने कुरै भएन। अझ जनप्रतिनिधि त्यसमा जिम्मेवार हुनुपर्छ,’ उनले भने।
कति जनप्रतिनिधि यस्ता हातपातका घटनामा संलग्न भएको विषय जानकारी नभएको भन्दै उनले आफू को हुँ र आफ्नाे जिम्मेवारी के हो भन्नेमा जनप्रतिनिधिले बुझ्नुपर्ने बताए।
नेपाली राजनीतिले कहिल्यै बदल्न नचाहेको मधेसको ‘नसिव’