राजनीतिको आँखाबाट मधेसको राजनीतिलाई चियाउने हो भने राणाकालकै सेरोफेरोमा पुग्नुपर्छ। जतिबेला नेपालमा राणा शासन अनि भारतमा अंग्रेजको रजगज थियो। भारतमा आधिपत्य जमाइरहेका अंग्रेज धपाउनका लागि भारतीयले अनेकप्रकारका दस्ता बनाइरहेका थिए।
नेपालमा पनि राणा शासनविरुद्ध भित्रभित्रै विद्रोहको ‘सलह’ फैलिंदै थियो। त्यो जुगमा मधेस नेपालमात्रै होइन कतिपय भारतीय ‘योद्धा’हरूका लागि पनि ‘सेल्टर’ बनिदियो।
सन् १९४२ तिर अंग्रेजविरुद्ध ‘आजाद दस्ता’ बनाएर लडिरहेका भारतका चर्चित नेता जयप्रकाश नारायणन भारतको जेलबाट भागेर सप्तरीमा आएर बसेको प्रसंङ्गहरू मधेस राजनीतिसँग जोडिएर हेर्ने गरिन्छ। त्यो बेला सप्तरीका स्थनीय सुरजनारायण सिंहको घरमा उनी लामो समय ‘शरण’ लिएर बसेका थिए र अंग्रेजविरुद्धको लडाईं यहीँ बसेर चलाएका थिए। उनको त्यो बसाईं मधेसको भूमिमा राजनीतिक चेतनाको सुरुवात पनि थियो।
त्यो बेलैदेखि हो मधेसले नेताहरूलाई शरणमात्रै दिएन बरु उनीहरूका लागि बलिदान पनि दियो। अंग्रेजको दबाबमा राणा शासकले जसप्रकाश अनि रामनोहर लोहियालाई पक्राउ गरेको थियो। उनीहरूलाई छुटाउनका लागि ‘आजाद दस्ता’सँग मिलेर मधेसका लडाकुहरूले हनुमाननगरमा आक्रमण गरेको थियो। त्यो बेला १५० जनाभन्दा धेरै मधेसीहरू पक्राउ परेका थिए र अब्दुल मिया अनि कृष्णवीर कुर्मीहरू प्रहरी हिरासतमै मारिएका थिए।
२००३ सालमा बिराटनगरको जुटमिलमा ‘मजदूर विद्रोह’ भयो। राणाविरुद्ध लडिरहेको तत्कालीन नेपाली काँग्रेसका ‘युवा नेता’ गिरिजाप्रसाद कोइरालाले त्यसको नेतृत्व गरेका थिए। ‘मजदूर’का अधिकार माग्दै गरिएकोजस्तो देखिए पनि त्यो बिद्रोहको निशाना तत्कालील राणा शासन नै थियो।
बिद्रोह दबाउन राणा प्रधानमन्त्रीले काठमाडौँबाट सेना पठाए। विस २००३ साल फागुन २१ गतेदेखि काँग्रेसका नेता गिरजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरको जुट मिलमा मजदुर आन्दोलन भएको थियो। आन्दोलन दबाउन विराटनगरमा सेना परिचालन भयो। मजदुर नेतासँगै काँग्रेसका नेता विश्वेश्वरप्रसाद (विपी) कोइराला, गिरिजाप्रसाद कोइराला, मिलका कर्मचारी तरिणीप्रसाद कोइराला, मनमोहन अधिकारी र युवराज अधिकारी कैयौ अरु मजदुरहरू पनि पक्राउ परे।
सेनाले जुट मिलमा आन्दोलन त दबायो तर त्यसले मधेसको भूमिमा एकप्रकारको ‘बिद्रोह’को लहर पैदा गरिदियो।
विपी कोइराला नेतृत्वमा २००३ साल माघमा भारतको कलकत्तामा ‘राष्ट्रिय काँग्रेस’को नामबाट बनेको पार्टीले सोही वर्ष नै नेपालमा आँधिहुरी ल्याउने आन्दोलन गर्यो। त्यो पनि मधेशको भूमिबाट राणा शासनविरुद्ध धावा बोलेर।
यसपछि चरण–चरणमा काँग्रेसले आन्दोलन गर्यो। काँग्रेसको आन्दोलनलाई २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीले पनि साथ दियो। यद्यपि त्यसअघि नै कम्युनिस्ट नेताहरूले २००३ सालमा जुट मिलमा भएको आन्दोलनलाई साथ दिएका थिए।
जसमा मिलकै कर्मचारी मनमोहन अधिकारी पछि गएर कम्युनिस्ट पार्टीको संस्थापक सदस्य भए। उनी प्रधानमन्त्रीसम्म बने।
यसले के देखाउँछ भने काँग्रेसमात्रै होइन, कम्युनिस्ट पार्टीको उदय पनि मधेसकै भूमिबाट भएको थियो।कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेकपा कम्युस्ट पार्टी २००६ सालमा भारतको कलकत्तामा स्थापना भएको थियो। त्यसअघि काँग्रेससँग सहकार्य गरेर कम्युनिस्ट नेताहरू राणा शासनकाविरुद्ध आन्दोलनमा होमिएका थिए।
२००४ सालमा काँग्रेसले सुरु गरेको राणा शासनविरुद्धको क्रान्तिमा कम्युनिस्ट नेताहरू पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधानलगायतले साथ दिएका थिए।
जसको बलमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भयो। १०४ वर्षीय राणा शासन ढल्यो।
त्यसयता काँग्रेस र कम्युनिस्ट पार्टीले लामो आन्दोलन र पालैपालो सत्तायात्रा गरिरहेका छन्। नेपालमा लामो समयको राणा शासनको अन्त्य नै विभिन्न पार्टीको उदय थियो। त्यसयता अनेकन नामबाट पार्टी बने।
जहाँबाट राजनीति उदायो, त्यही भूमि राजनीतिमा अस्तायो
सबैभन्दा जेठो र सबैभन्दा ठुलो दल काँग्रेस विराटनगरबाट उदायो। त्यसपछि कम्युनिस्ट पार्टीलाई उदाउन बल दिने पनि विराटनगर नै थियो। कम्युनिस्ट पार्टी पछि धेरै नाममा विभाजन भयो।
जसमध्ये कम्युनिस्टको नाममा ठुला दलका रुपमा हाल एमाले र माओवादी रहेका छन्। यी दल उदाउनुमा मधेशकै माटोले काम गरेको छ। एमालेको २०२८ सालको त्यो झापा विद्रोह होस् कि माओवादीले २०५२ सालमा सुरु गरेको जनयुद्ध। राणादेखि पञ्चायतविरुद्ध लड्नका लागि मधेसले आफ्नो माटोमा धेरै रगत मिसाएको छ।
कुनै बेला राणासँग लड्दा मधेसले नेताहरूलाई संरक्षण दियो। आफ्नो छातिमा लुकाइराख्यो। नेताहरू मधेसकै छातिमा लुकेर राणाविरुद्ध लडे। ३० वर्षे पञ्चायतसँग लडे। माओवादीले थालेको ‘जनयुद्ध’का लागि हातहतियारदेखि लडाकु प्रशिक्षकहरू पनि मधेसकै भूमि भएर पहाड उक्ले। र, विस्तारै सबचिज यिनै राजनीतिक दलहरूसँगै उक्लिरह्यो, सत्ताको चुचुरोसम्मै मधेसलाई जहाँको त्यहीँ जस्ताको त्यस्तै एक्लै ‘बिचरो’ छोडेर।
तर ठुला भनिएका दलको उपेक्षामा मधेश पर्दै आइरहेको छ। जसले गर्दा ठुला दललाई मधेशले अनुमोदोन गर्न सकिरहेको छैन। २०४७ सालको नेपाल अधिराज्यको संविधान बनेपछि २०४८ सालमा आम निर्वाचन भयो।
तराईका २१ जिल्लामा काँग्रेस र एमालेले ९० प्रतिशत बढी मत पाए। तराईका ८३ स्थानमध्ये काँग्रेसले ५० स्थानमा र एमालेले २४ स्थानमा जित हात पार्यो। बाँकी सद्भावना पार्टीले ६, नेकपा प्रजातन्त्रवादीले २, संयुक्त जनमोर्चाले २ र स्वतन्त्रले २ सिट जिते।
२०४८ सालमा काँग्रेस–एमालेले तराईमा आफ्नो प्रभुत्व कायम गरेपनि त्यसपछि भएका निर्वाचनपछि यी दुई दलको तराईमा जनमत कमजोर बन्दै गयो। अन्य दल उदाए।
२०५१को निर्वाचनमा काँग्रेस ४० सिटमा खुम्चियो। यद्यपि निर्वाचन क्षेत्र ८२ बाट बढाएर ९२ बनाइएको थियो। यस निर्वाचनमा एमाले ३६ मा कुम्चिदा राप्रपा तराइमा ११ सिटसहित राम्रो प्रभाव जमान सक्यो। यस निर्वाचनमा सद्भावनाले ३ र स्वतन्त्रले २ सिट जिते।
२०५६ सालमा भएको आमनिर्वाचनमा काँग्रेसले केही सुधार गरेको थियो। उक्त समयमा काँग्रेसले ५७ सिट जित्यो। यसको कारण थियो। काँग्रेसका संस्थापक कृष्णप्रसाद भट्टाई प्रधानमन्त्रीको उम्मेदवार बनेर पर्साबाट चुनावमा होमिएका थिए।
यस निर्वाचनमा पनि एमालेले तराई–मधेशमा प्रभाव जमाउनबाट चुक्यो। मात्र २३ सिट एमालेले जित्यो। यसैगरी सद्भावनाले ५ र राप्रपाले ७ सिट जित्न सक्यो। माओवादी युद्धको समयमा भएको निर्वाचन यही हो। त्यसपछि नेपाल युद्धको चपेटामा पर्यो। निर्वाचन हुन सकेन।
एकैपटक २०६३ मा पहिलो संविधानसभा निर्वाचन भयो। दोस्रो जनआन्दोलनपछि शान्तिप्रकृयामा माओवादी आयो र देशभर माओवादीले २०६३ मा विजयी प्राप्त गर्यो।
तराईका २१ जिल्लामा माओवादीले ४२ सिट जित्यो। ११८ निर्वाचन क्षेत्रमध्ये काँग्रेस १६ मा एमाले १५ सिटमा खुम्चियो। यहाँसम्म आइपुग्दा दलहरूमा विभाजनको शृङ्खला सुरु भइसकेको थियो।
काँग्रेस–एमालेबाट नेताहरू बाहिएर अन्य पार्टी बनाइरहेका थिए। पहिचानको राजनीति चर्मउत्कर्षमा थियो। जसको बलमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले २०६३ सालमा २९ सिट जित्यो। यो जितले पहिचालनसहितको अधिकार नागरिक चाहन्छन् भन्ने पुष्टि गरेको थियो।
२०६३ मा सद्भावना पार्टीले ४, तराई मधेश लोकतान्त्रिक पार्टीले ९, जनमोर्चाले २, र स्वतन्त्रले १ ठाउँमा विजयी हासिल गर्न सफल भए।
यसपछि तराई–मधेशमा ठुला दलहरूले राम्रो उपस्थिति जनाउन पाएका छैनन्। दोस्रो संविधानसभा निर्वाचन २०७०मा मधेशमा एमालेले ५४ सिट ल्याउन सफल भयो। यो भने काँग्रेसको उपलब्धि थियो।
२०५१बाट गुमेको मत काँग्रेसले २०७० मा फिर्ता ल्याउन सफल भएको थियो। यस निर्वाचनमा एमालेले ३८, माओवादीले १२ सिट ल्याए। २०७० पछि ओरालो यात्रामा रहेको माओवादी उठ्न सकेको छैन भने अझै खस्किने बाटोमा छ।
२०७० मा मधेश केन्द्रित दल पनि विभाजको सिकार भइसकेका थिए। जसले यस निर्वाचनमा जनअनुमोदन हुन सकेनन्। मधेशी जनअधिकार फोरम नेपालले २ सिट, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले ४, तराईमधेश लोकतान्त्रिक पार्टीले ३ सद्भावनाले २, स्वतन्त्रले २ र राप्रपाले १ सिट जिते।
दोस्रो संविधानसभाले २०७२ मा नेपालको संविधान बनायो। त्यसपछि २०७४मा आम निर्वाचन भयो। यसपछि पनि जसरी ठुला दलले तराई मधेशमा आफ्नो प्रभाव जमाउन सक्नुपर्ने थियो। सकेनन्।
२०७० मा सबैभन्दा धेरै सिट जितेको काँग्रेस १५ सिटमा खुम्चियो। कुल ८० सिटमध्ये एमालेले २७, माओवादीले १६ सिट जित्यो भने मधेश केन्द्रित संघीय समाजवादी फोरम नेपाले १०, राजपाले १०, राजपा नेपालले १ र राप्रपाले १ सिट जिते।
हालै सम्पन्न २०७९ को आमनिर्वाचनमा पनि ठुला दलको अवस्था उस्तै रह्यो। बरु यस निर्वाचनमा केही नयाँ दललाई तराई मधेशले जन्म दियो। २०७९ को निर्वाचनमा तराई मधेशमा एमाले र काँग्रेस २४–२४ सिट जिते। माओवादीले ३, लोकतान्त्रिक समाजवादी पार्टीले ४, जनता समाजवादी पार्टीले ७, नेकपा एसले ३ सिट जिते। नेकपा एस नेकपा एमालेबाट फुटेको पार्टी हो।
यस वर्ष तराई भूमी चितवनबाट राष्ट्रिय स्वतन्त्र पार्टी २ सिटसहित उदायो। जनमत पार्टी १ सिटसहित संसदमा छ। नागरिक उन्मुक्ति पार्टी ३ सिटसहित संसदमा पुग्न सफल भए। यी पार्टी यस वर्ष तराईमधेश भूमीबाट उदायका हुन्।
२०७९ मा तराईमधेश भूमीबाट स्वतन्त्र २ र आम जनता पार्टी १ सिटसहित संसदमा छ।
यो मत परिणामले पहाडी भु–भागमा ठुला पार्टीले जसरी लिड गरिरहेका छन्, त्यसअनुसार तराई मधेशमा लिड गर्न भने सकेका छैनन्। नेपाली राजनीति अनि राजनीतिक आन्दोलनको ‘गर्भस्थल’ हो मधेस। जसलाई राजनीतिक दलहरूले सुरुवातदेखि अहिलेसम्म पनि प्रयोगमात्रै गरिरहे।
गजेन्द्रनारायण सिंह, कुशेश्वर पाठक, महेन्द्र राय, रामराजाप्रसाद सिंहहरू यही मधेसले जन्माएको हो। पञ्चायतमा राजा महेन्द्रलाई बम हान्ने होनहार क्रान्तिकारी दुर्गानन्द झाहरू यसै गर्भका थिए। जसलाई सुन्दरीजल जेलमा गोली हानेर मारिएको थियो। त्यही मधेसका योद्धाहरू साकेतचन्द्र मिश्र अनि दिलिप चौधरीहरू पञ्चायतविरुद्ध लड्दालड्दै बेपत्ता पारिए।
काँग्रेस होउन् वा कम्युनिष्ट नेपालमा राजनीति र राजनीतिक आन्दोलनको मूलबाटो कोर्न यही मधेसमा थिए। पार्टीका संगठन निर्माणदेखि हरेक व्यवस्थाविरुद्ध लड्नका लागि मधेसले आफ्नो छाति सधैं फराकिलो पार्यो। यसअर्थमा पनि मधेस हरेक राजनीतिक परिवर्तनको एउटा जिउँदोजाग्दो साक्षी हो। पटक–पटक यिनै मधेस आन्दोलनका कारण देशमा संघीयताका रेखाहरू कोरिए।
बिस्तारै राजनीतिको मूलबाटो मोडिन थाल्यो। दलहरू सत्ताको घेराभन्दा बाहिर निस्किन छोडे। अनि राजनीतिको त्यो रिक्तता पूरा गर्न त्यहाँ चलाइएका अभियानहरू राजनीतिक पार्टी बने। सुरुमा क्षेत्रीय दलका रुपमा उदाएका मधेसवादी पार्टीहरू पनि बाटा–बाटामा बटारिएका छन्।
र, मधेस हिँजो पनि एक्लो भयो आज पनि उस्तै रह्यो। जहाँबाट नेपालको राजनीतिक रेखाहरू कोरिए मधेसको आफ्नै ‘भाग्यरेखा’ अहिले त्यसैगरी मेटिन थालेका छन्।