राजा- काँग्रेस र कम्युनिस्ट दलहरूले बनाएको राजनीतिको ‘रणमैदान’मा आफ्नै नाम खोपेका मधेसका यी दलहरू आफैले खोतलेका बाटाहरूमा विभक्त भएका छन्। कोही एक्लै छन्, कोही एकाध हुल बाँधेर अर्कैतिर लागेका छन्। सुरुवातको इतिहासदेखि अहिलेसम्म आइपुग्दा मधेसका यिनै नेताहरूले जन्माएको मधेस राजनीति भने विभक्त त्यही बाटोमा रन्थनिइरहेको छ।
कुनैबेला ‘समाजसेवा’ अनि ‘अधिकार’का लागि बनाइएका कतिपय अभियानहरू नै ‘तराई-मधेस’मा राजनीतिक पार्टी कहलिए। ‘मधेसी दल’ भनिएका यी राजनीतिक पार्टीहरूलाई सुरुवातमा ‘क्षेत्रीय’ दल भनेर हेपिएको भाषा प्रयोग गरिन्थ्यो। विस्तारै भाष्य फेरियो। मधेसमा त्यसरी जन्मिएका यी दलहरूलाई अहिले ‘मधेसवादी’ दल भन्न थालिएको छ।
देशको शासन प्रणालीजस्तै सुरुमा मधेसमा पनि छुट्टै राजनीतिक दलहरू थिएनन्। बरु स्थापित ठूला राजनीतिक दलहरूकै संगठन थिए। मधेसकै नेताहरूले नेतृत्व गरेका कारण ती ‘मधेसवादी दल’ भनिए।
सांघीयतासँगै आफूहरूलाई ‘राष्ट्रव्यापी’रुपमा विस्तार गर्न लागेका यी दलहरूको सुरुवात जसरी फुटैफुटको रेसाहरूले बेरिएको थियो, यो वर्तमान पनि त्यो जालोबाट मुक्त भने हुनसकेका छैनन्।
जति छोटो सुरुवातको इतिहास छ, मधेसीवादी यी दलहरूको विभाजनको श्रृङ्खला भने त्योभन्दा पनि कैयौँ माइल लामो छ।
मधेसमा राजनीतिक पार्टीको ‘फासला’ गजेन्द्रनारायण सिंहको ‘नेपाल सद्भावना पार्टी’देखि चन्द्रकान्त (सिके) राउतसम्म मात्रैको छ।
मधेस र मधेसी जनताको आवाज बनेर अनेक पार्टीका उदय भएका छन्। जसरी पार्टी उदय हुँदै आए, यसैगरी विभाजनको सिलौटोमा मधेसको भावना पनि यिनीहरूले उसैगरी पिसेर बिलाएका छन्।
मधेसलाई केन्द्रमा राखेर सबैभन्दा पहिले जन्मिएको पार्टी हो– ‘नेपाल सद्भावना पार्टी’। २०४० सालमा गजेन्द्रनारायण सिंह, रामजनम तिवारी, रामचन्द्र मिश्रलगायतले मधेस अधिकारका लागि ‘नेपाल सद्भावना परिषद्’ गठन गरेका थिए।
उक्त परिषद्लाई ७ वर्षपछि २०४७ सालमा पार्टीमा रुपमान्तरण गरियो र बन्यो– ‘नेपाल सद्भावना पार्टी, नेपाल’। जसको अध्यक्ष बने गजेन्द्रनारायण सिंह। यस पार्टीले मधेसका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि बढायो।
यद्यपि यसअघि मधेस केन्द्रित दल नभएका होइनन्। वेदानन्द झाको नेतृत्वमा तराई काँग्रेस पार्टी २००८ सालमा नै स्थापना भएको थियो। यसैगरी अन्य दलहरू पनि मधेस केन्द्रित राजनीति गरेका थिए।
तर नेपाल सद्भावना पार्टी (नेसपा) नेपाल जसरी अन्य दल सशक्त हुन सकेका थिएनन्। नेसपा नेपालका अध्यक्ष गजेन्द्रनारायण सिंहले पहिलो पटक २०४८ सालमा संसद्मा धाती–कुर्ता लगाएर हिन्दीमा सम्बोधन गरेका थिए। जसले राजनीतिक तरंगसमेत ल्याइदिएको थियो।
मधेसको राजनीतिमा नेसपा नेपाल सशक्त हुँदै गएपनि पार्टी विभाजनबाट भने बच्न सकेन। परिषद्बाट पार्टी बनेको वर्षदिनमै नेसपा नेपाल विभाजनको सिकार हुनुपर्यो। २०४८ सालमा रामजनम तिवारीले पार्टी विभाजन गरे।
त्यसपछि नेसपा नेपालले विभाजनको निकै तितो अनुभव लिनुपर्यो। २०५२ सालमा दोस्रो पटक नेसपा नेपाल फुट्यो। हृदयेश त्रिपाठीले पार्टी फुटाएर नेपाली समाजवादी जनता दल बनाए। त्रिपाठी २०६४ मा महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा बिलायो।
२०५८ माघ १० मा नेसपा नेपालका अध्यक्ष गजेन्द्रनारायण सिंहको मृत्युपछि पार्टीको अस्तित्व नै नरहने गरी विभाजनको सिकार भयो। गजेन्द्रनारायण सिंहको मृत्युपछि अध्यक्ष बनेर बद्री मण्डलले पार्टी चलाए। उनी दरबार नजिकका नेता मानिन्थे।
मण्डलले पार्टी चलाएको वर्षदिनमा पार्टी विभाजन भयो। बद्री मण्डल २०५९ मा ज्ञानेन्द्र शाहले गठन गरेको मन्त्रिमण्डलमा सहभागी भएपछि पार्टीमा विवाद भयो। माओवादी आन्दोलन चर्को भएको समयमा थियो। यस्तो समयमा उनी सरकारमा गएपछि पार्टी तेस्रो पटक विभाजित भयो।
गजेन्द्रनारायण सिंहकी पत्नी आनन्दीदेवी सिंहको नेतृत्वमा २०५९ मै पार्टी विभाजन भयो र नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) बन्यो। जसमा साथ दिनेहरूमा राजेन्द्र महतो, सरिता गिरीलगायत थिए।
फेरि दोस्रो जनआदोलन (२०६२/०६३)पछि २०६४ जेठमा बद्री मण्डल नेतृत्वको नेसपा नेपाल र आनन्दीदेवी नेतृत्वको नेसपा(आनन्दीदेवी)बीच एकता भयो। अध्यक्ष आनन्दीदेवी नै भइन्। मण्डल नेतृत्वबाट लक्ष्मणलाल कर्ण पार्टीको वरिष्ठ उपाध्यक्ष भए।
पार्टीको नाम सद्भावना आनन्दीदेवी बन्यो।
पार्टी एकता भएको तीन महिनापछि भदौमा पार्टी महाधिवेशन हुने भयो। तर महाधिवेशनका विषयमा विवाद भयो। कतिपय यो महाधिवेशन राजेन्द्र महतो अध्यक्ष बन्ने हुटहुटीमा भएको थियो भन्ने गर्छन्।
पार्टीको नेतृत्वको विषयमा विवाद हुँदा आनन्दीदेवी सिंह, श्यामसुन्दर गुप्ता, खुशीलाल मण्डल, देवेन्द्र मिश्रलगायत नेताहरू महाधिवेशनमा गएनन्। र, पार्टी फुटको अर्को बिउ उम्रियो।
पार्टीकै अध्यक्षसहितका पदाधिकारी महाधिवेशनमा नगएपनि राजेन्द्र महतो अध्यक्ष चुनिए। यसपछि पार्टी आधिकारिताको विवाद निर्वाचन आयोगसम्मै पुग्यो। निर्वाचन आयोगले नेसपा आनन्दीदेवीको आधिकारिता आनन्दीदेवी सिंह पक्षलाई दियो।
राजेन्द्र महतो अध्यक्ष चुनिसकेका थिए। उनी किन सोही पार्टीमा बस्थे र उनले पार्टी फुटाइछाडे। तीन महिनाअघि नेसपा नेपाल र नेसपा आनन्दीदेवीबीच मिलेर बनेको दल नेसपा आनन्दीदेवीलाई फुटाएर राजेन्द्र महतोले ‘सद्भावना पार्टी’ बनाए।
उनी सोही पार्टीको अध्यक्ष बने। नेसपा आनन्दीदेवीमा राजेन्द्र महतोमात्र असन्तुष्टि भएनन्। श्यामसुन्दर गुप्ता र सरिता गिरी पक्षले पनि राजेन्द्र महतो सँगसँगै पार्टी फुटाए। गुप्ताले नेपाल सद्भावना पार्टी (युनाइटेड) गठन गरे भने सरिता गिरीले नेपाल सद्भावना पार्टी नेपाल गठन गरिन्।
गिरीले २०४७ सालमा गजेन्द्रनारायण सिंह नेतृत्वमा गठन भएको पार्टीलाई पुर्नजीवन दिएकी थिइन्। कालान्तरमा उनी उपेन्द्र यादवको पार्टीमा विलय भइन्। याद रहोस्, सरिता गिरी नेपाली संसद्मा भारतको पक्षमा वकालत गर्दा पार्टीबाट निस्कासनमा परेकी थिइन्।
२०७७ सालमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन्। समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन्। त्यसलगतै उनलाई पार्टीले कारबाही गरी सांसद् पदबाट हटाएको थियो।
२०६४ मा पहिलो संविधान सभाको निर्वाचन भयो। नेसपा आनन्ददेवीले समानुपातिकसहित २ सिट ल्यायो। पार्टी फुटाएर गएका राजेन्द्र महतोको सद्भावना पार्टीले ९ सिट जित्यो।
०००
नेसपा आन्नदीदेवीबाट फुटेर सद्भावना पार्टी बनाएका राजेन्द्र महोत्वले पनि पार्टीलाई सग्लो राख्न सकेनन्। महतो नेतृत्वको सद्भावना पार्टीलाई पहिलो पटक अनिल झाले फुटाए। उनले २०६८ साउनमा पार्टी फुटाएर ‘संघीय सद्भावना पार्टी’ गठन गरे।
टुटफुटबाट टाढिएका नेताहरू एकीकरणको बाटोमा आउन थालेका थिए। त्यसैसमयमा अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टी २०७१ फागनु १८ मा एक भए। दुई पार्टी मिलेर ‘नेपाल सद्भावना पार्टी’ बन्यो। यो नाम २०४७ सालमा गजेन्द्रनारायण सिंहले बनाएको पार्टी हो।
यो पार्टी २०७४ जेठ २६ मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा समाहित भयो।
अनिल झाले मात्र राजेन्द्र महतोको सद्भावना पार्टीलाई फुटाएनन् कि रामनरेश यादवले पनि फुटाए। अनिलले साउनमा पार्टी फुटाएर संघीय सद्भावना बनाए भने रामनरेशले करिब ६ महिनापछि २०६८ माघमा फुटाएर ‘राष्ट्रिय सद्भाना पार्टी’ बनाए।
सद्भावना विभाजन गरी बनेको रामनरेशको राष्ट्रिय सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) विभाजन गरी बनेको महेन्द्र राय यादवको ‘तमलोपा-नेपाल’ बीच २०७० भदौ १९ मा एकता भयो। जसबाट ‘तराई मधेस सद्भावना, नेपाल’ बन्यो। महेन्द्र राय यादव पार्टीको अध्यक्ष भए।
०००
२०६४ सालमा भएको निर्वाचनमा मधेसमा सशक्त रुपमा उदाएको पार्टी हो मधेसी जनअधिकार फोरम, नेपाल। उपेन्द्र यावद नेतृत्वको यस पार्टीले पहिलो संविधान सभामा प्रत्यक्षमा ३०, समानुपातिकमा २२ र मनोनित २ गरी ५४ सिट जितेर संसद्को चौथो शक्ति बन्यो।
यादवले नेकपा एमालेबाट छुट्टिएर २०५४ सालमा मधेसी जनअधिकार फोरम गैर सरकारी संस्था बनाएर मधेस अधिकारका लागि गतिविध गर्न थालेका थिए। २०४८ मा एमालेबाट सुनसरी–४ मा यादव उम्मेदवार भएका थिए। त्यहाँ काँग्रेससँग पराजित भएपछि उनी एमाले छाडेर मधेसी जनअधिकार फोरम नामको गैरसरकारी संस्था खोले।
गैरसरकारी संस्थालाई २०५४ सालमा मधेसी जनअधिकार फोरम नेपाल बनाएर पार्टी बनाए। मधेसी जनअधिकारी फोरम नेपालको २०६० सालमा विराटनगरमा भएको पहिलो महाधिवेशनले नेपालमा राजतन्त्रको विरोधमा आन्दोलन गर्ने निर्णय गर्यो। जतिबेला तत्कालीन राजा ज्ञानेन्द्रले राज्यसत्ता हातमा लिएर संकटकाल लगाएका थिए।
२०६२ साल चैतमा सुरु भएको दोस्रो जनआन्दोलनमा यस पार्टीले सहभागी जनायो। त्यस आन्दोलनको सफलतापछि २०६३ साल माघ २ गते मधेस आन्दोलनको पार्टीले सुरुवात गर्यो। आन्दोलनले उठाएका ८ वटामध्ये मधेस स्वायत्व राज्यको मागसहित तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग ०६४ साल फागुन १६ गते ८ बुँदे सहमति भयो।
२०६४ सालको पहिलो संविधान सभावको निर्वाचनमा फोरमले भाग लियो र ५४ सिटसहित संसद् प्रवेश गर्यो। संसद् प्रवेश गरेपछि उपेन्द्रको पार्टी धेरै समय सग्लो रहेन।
०६६ सालको जेठमा विजयकुमार गच्छदारले पार्टी फुटाए। यसको कारण थियो, सरकारमा जाने वा नजाने भन्नेमा। ०६४ पछि पहिलो पटक संसद्मा पुगेको माओवादी अध्यक्ष प्रचण्डको सरकारमा फोरम पनि थियो। परराष्ट्रमन्त्री आफै उपेन्द्र भएका थिए।
०६६ मा प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्यो र तत्कालीन एमाले महासचिव मावधकुमार नेपाल प्रधानमन्त्री बने। नेपालको सरकारमा जाने वा नजाने भन्नेमा गच्छदार र उपेन्द्रबीच विवाद भयो।
विवादकै बीचमा २८ जना सभासद लिएर गच्छदारले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टी बनाए। फोरम यो फुट तेस्रो थियो। यसअघि पहिलो पटक २०६३ मा पार्टी फुटेको थियो। २०६३ मा अन्तरिम संविधान बनेपछि त्यसको विरोधमा फोरमकै नेतृत्वमा २१ दिन आन्दोलन चल्यो।
पछि सरकारसँग अध्यक्ष उपेन्द्रले २२ बुँदे सहमति गरे र आन्दोलन रोके। आन्दोलन रोक्नु हुँदैन भन्नेमा पार्टीकै उपाध्यक्ष भाग्यनाथ प्रसाद गुप्ता थिए। अध्यक्ष र उपाध्यक्षको कुरा नमिलेपछि पहिलो पटक उनले २०६४ भदौमा फोरम फुटाएर ‘मधेसी जनअधिकार फोरम, मधेस पार्टी’ बनाए। यो पार्टी पछि हराउँदै गयो र अहिले अस्तित्वमा छैन।
त्यसपछि फोरमको पहिलो महाधिवेशनमा अमर यादवले अध्यक्षको दाबेदारी गर्दा विवाद भयो। उक्त विवादका कारण मधेसी जनअधिकार फोरमबाट बाहिरिएर अमर यादवले २०६५ चैतमा ‘मधेस तराई फोरम’ बनाए।
कालान्तरमा त्यो पार्टी एमाले–माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विलय भयो। यी दुई जनाले पार्टी फुटाउँदा उपेन्द्रलाई झड्का लागेको थिएन।
गच्छदारले तेस्रो पटक पार्टी फुटाउँदा भने उपेन्द्रलाई झड्का लाग्यो। किनकी उनले २८ जना सभासद सँगै लगेर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बनाएका थिए। उनलाई पार्टी फुटाउन शरतसिंह भण्डारीले साथ दिएका थिए।
गच्छदारको पार्टी पनि धेरै समय सग्लो रहन सकेन। शरतसिंह भण्डारीले २०६९ असारमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) फुटाए। र, आफ्नै अध्यक्षतामा ‘राष्ट्रिय मधेस समाजवादी पार्टी’ गठन गरे।
गच्छदारले पार्टीलाई लामो समय चलाउन सकेनन्। २०७४ सालमा काँग्रेसमा समाहित गराए। २०६२ तिर गच्छदार काँग्रेस छाडेर उपेन्द्रको फोरममा पुगेका थिए।
उपेन्द्रको पार्टीलाई पछि जयप्रकाश गुप्ता (जेपी गुप्ता)ले पनि फुटाए। २०६८ जेठमा गुप्ताले फुटाएर ‘मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)’ गठन गरे। उनलाई राजकिशोर यादवलगायतले साथ दिए।
गुप्ता डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेकै बखत सर्वोच्चबाट भ्रष्टाचारी ठहर भइ जेल पुगे। २०६८ फागुन ९ मा डेढ वर्ष जेल सजाय तोकिएका गुप्ता १३ महिनामा जेल मुक्त भएका थिए।
०००
मधेसको मुद्दा उठाएर उदाएको पार्टी हो– ‘तराई मधेस लोकतान्त्रिक’। २०६४ सालमा महन्थ ठाकुरले यस पार्टीलाई जन्म दिएका थिए।
उनी लामो समय (२०१६ विद्यार्थी राजनीतिदेखि) काँग्रेसमा लागेर पार्टीको कोषाध्यक्ष तथा मन्त्री भएका नेता हुन्।
तराईका मुद्दामा काँग्रेसभित्र उनको टकराब भएपछि २०६४ मा काँग्रेस फुटाएर उनी तराई मधेस लोकतान्त्री पार्टी (तमलोपा) बनाए।
जसमा साथ दिनेमा तत्कालीन तीन जना सभादसदहरू सद्भावनाका ह्रदयेश त्रिपाठी, एमालेका महेन्द्रराय यादव र राप्रपाका रामचन्द्र रायसँगै कांग्रेस नेताहरु वृशेषचन्द्र लाल, रामचन्द्र कुशवाह, अनिश अन्सारीलगायत थिए।
तमलोपाले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा भाग लियो। जसमा तमलोपाले प्रत्यक्षमा ९, समानुपातिकमा ११ र मनोनित १ गरी २१ सिट जित्यो। संसद्को ५औँ दल बन्यो।
यस पार्टीमा पनि विभाजनबाट जोगिन सकेन। महेन्द्रराय यादवले तमलोपा विभाजन गरे। एमाले नेतृत्वको सरकारबाट पार्टीले मन्त्री फिर्ता बोलाएपछि यादवले २०६७ पुस १६ मा तमलोपा विभाजन गरी ‘तमलोपा नेपाल’ बनाए। यस समयमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री थिए।
आधा दशकमै मधेसी नेताहरूको अस्तित्वको संकटमा
२०५२ देखि दश वर्ष चलेको माओवादी युद्ध र २०६२/०६३को दोस्रो जनआन्दोलनपछि मधेस केन्द्रित दलहरूको उदय भएको थियो। पहिलो संविधान सभामा मधेस केन्द्रित दलहरूले संसदमा सशक्त उपस्थित बनाए।
उनीहरुलाई संसद्मा पुर्याउन मधेसका दर्जनौँ नागरिक सहिद हुनुपर्यो। सयौँ नागरिक घाइते, अंगभंग भएर अहिले पनि बाँचिरहेका छन्। मधेसको आवाज बनेर २०६४ को निर्वाचनमा सशक्त रुपमा उदाएका पार्टीले नागरिकको आवाजभन्दा पनि सत्ता स्वार्थमा लाग्दा २०७० मा भएको दोस्रो संविधान सभामा भने अस्तित्व संकट पुगे।
पहिलो संविधान सभामा २१ सिट जित्दै ५औँ भएको महन्थ ठाकुर नेतृत्वको तमलोपा दोस्रो संविधान सभामा ११ सिटसहित ७औँमा झर्यो भने पहिलो संविधान सभामा ५४ सिट जित्दै चौथो भएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल दोस्रो संविधान सभा निर्वाचनमा १० सिटसहित ८औँमा झर्यो।
मधेस केन्द्रित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) १४, सद्भावना पार्टी १, तराई मधेस सद्भावना पार्टी नेपाल १ बाहेक दोस्रो संविधान सभामा प्रत्यक्षमा मधेस केन्द्रित दलले एक सिट पनि जित्न सकेनन्।
हारपछि पाठ र फेरि एकता
दोस्रो संविधान सभामा नराम्रोसँग हार बेहोरेपछि मधेस केन्द्रित दलहरू फेरि मिल्ने अवस्थामा पुगे। २०७४ को आम निर्वाचनअघि कतिपयले एकता गरे। कतिपयले एकताको प्रयास गरे।
जुन पहिलो ठुलो मिलन २०७४ को वैशाख ७ गते भएको थियो। विभिन्न पार्टीबाट फुटेर टुक्रा बनेका महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एक भए।
उनीहरूले पार्टीको नाम बनाए– ‘राष्ट्रिय जनता पार्टी’।
०००
पार्टी बनेको आधा दशकमा टुक्राटुक्रा भएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमलाई पनि दोस्रो संविधान सभाको निर्वाचनले एकताको अवस्थामा ल्याइपुर्यायो। २०७२ को जेठ ३२ गते अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम नेपालको एकता भयो।
जसबाट संघीय समाजवादी फोरम बन्यो। पार्टीको अध्यक्षमा उपेन्द्र बने र संघीय दलको अध्यक्ष अशोक राई बने। यस समयमा यी दुई पार्टी मात्र एक भएका थिएनन्। साथमा खस समावेशी पार्टी पनि यही समावेश भएको थियो।
अशोक राई एमालेबाट राजनीतिमा उदाएका नेता हुन्। उनले २०६९ सालमा एमाले छाडेका थिए। पहिचानको मुद्दामा पार्टीमा विवाद भएपछि एमाले छाडेका नेता राई एमालेमै हुँदा तीन पटक मन्त्री भए। हालै २०७९ मा पनि उनी जसपा नेपालबाट शिक्षा मन्त्री भएका थिए।
यादव नेतृत्वको संघीय समाजवादी फोरम र ६ दल मिलेर बनेको राजपाबीच २०७४ को निर्वाचनमा सहकार्य भयो। पार्टी एकता गर्ने पनि कुरा भयो। तर पार्टी एकता भएन। बरु यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भयो।
यी दुई पार्टीको एकताबाट समाजवादी पार्टी बन्यो। जसमा संघीय परिषद्को नेतृत्व भट्टराईले गरे भने केन्द्रीय समितिको अध्यक्ष यादव भए। २०७७ वैशाख १० गते यादव नेतृत्वको समाजवादी पार्टी र ६ जना अध्यक्ष रहेको जसपाबीच पनि एकता भयो। केपी शर्मा ओली नेतृत्व सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि समाजवादी पार्टी र जसपाबीच एकता भएको थियो।
एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ रह्यो। हतारमा रातारात पार्टी एकता भएपछि यस पार्टीको नेतृत्व टुंग्याउन भने सकस नै भयो। वैशाखमा पार्टी एकता भए पनि भागबण्डा टुंग्याउन ५ महिना नै लाग्यो।
असोजको ३ र ४ गते पार्टी बैठक बसी केन्द्रीय समित र पदाधिकारीको टुंगो लगाइयो। जसमा डा. बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष बने। महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष बने भने अशोककुमार राई र राजेन्द्र महतो वरिष्ठ नेता बने।
मधेसको मुद्दा लिएर उदाएका दल एक दशकमा दर्जनौँ पटक फुटेर जनता समाजवादी पार्टी नेपालको झण्डामुनि एक पटक एक हुन आए। जुन मधेसको मुद्दा मात्र उठाउने दल होइन, सबै क्षेत्र र वर्गको समष्टिगत पार्टी भनेर चिनियो। ठुलो पार्टी पनि बन्यो।
फेरि फुटतिर मधेसवादी दल
२०७७ साल मधेसवादी दलहरू एक ठाउँमा भएको वर्ष हो। तर यो संक्रमणको वर्ष पनि रह्यो। एमाले र माओवादी केन्द्रबीच मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्को विवाद भएको वर्ष पनि २०७७ साल रह्यो। पार्टीभित्रको विवादलाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरिदिए।
२०७७ पुस ५ मा ओलीले संसद् विघटन गरेपछि नेकपाभित्र त फुट भयो नै। सँगै मधेस केन्द्रीय दलहरू पनि एक ठाउँमा रहन सकेनन्। संसद् विघटनको जसपा नेपालले विरोध गर्यो। जसको नेपालको सबै दलले विरोध गरेका थिए।
सर्वोच्च अदालतले संसद् पुन: स्थापना गरिदियो। त्यसपछि ओली नेतृत्वको सरकारमा जाने र नजानेबीचमा जसपा नेपालभित्र विवाद सुरु भयो। डा बाबुराम भट्टराई र उपेन्द्र यादवले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा गए। महन्थ ठाकुर र राजेन्द्र महतो ओलीलाई साथ दिन लागे।
२०७७ वैशाखमा समाजवादी पार्टी र जसपाबीच भएको एकता फेरि दुई धारमा भयो। ओलीले फेरि २०७८ वैशाख ७ गते राति प्रतिनिधिसभा विघटन गरे। त्यसपछि ठाकुर-महतो पक्ष सरकारमा सामेल भयो। भट्टराई–यादव ओलीको विपक्षमा गयो।
यसबीचमा दुवै पक्षले एकले अर्को पक्षलाई कारबाही थाले। पार्टी आधिकारिकताका लागि विवाद निर्वाचन आयोगसम्म पुग्यो। भट्टराई–यादवलाई निर्वाचन आयोगले जसपा नेपालको आधिकारिता दियो। ठाकुर–महतो पार्टीविहीन भए।
पार्टीविहीन भएपछि उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी बनाए। उक्त पार्टीको नेतृत्वमा महन्थ ठाकुर छन्। पार्टी फुटाउन साथ दिएका राजेन्द्र महोतो भने २०८० फागुन १४ गतेबाट पार्टी छाड्दै राष्ट्रिय मुक्ति क्रान्ति भनेर हिँडेका छन्।
उता यादव नेतृत्वको जसपा नेपाल पनि ३ पटक फुटिसकेको छ। पार्टीभित्र नेतृत्वका विषयमा यादव र भट्टराईबीच मतभेद हँदै आयो। अन्तत उनीहरु २०७९ साल असारको २८ गते दुई नेताले छुट्टा–छुट्टै केन्द्रीय समितिको बैठक राखेर पार्टीलाई अलग गरे।
२०७९ साउन १२ गते भट्टराईले जनता समाजवादी पार्टी नेपालबाट छुट्टिँदै आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन गरे। त्यसपछि उनी २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर निर्वाचनमा होमिए। त्यसपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल २ पटक फुट्यो।
२०८१ वैशाख २३ गते यादव पार्टीको विधानविपरीत चलेको भन्दै संघीय परिषद् अध्यक्ष अशोककुमार राई नेतृत्वमा पार्टी फुट्यो। यतिबेला यादव स्वास्थयमन्त्रीका रुपमा अमेरिका भ्रमणमा थिए। राईले जसपा नेपालबाट १२ जना सांसदमा बहुमत ७ जना सांसदलाई साथमा लिएर पार्टी फुटाए। उनी पार्टीको अध्यक्ष बने।
राईले पार्टी फुटाएको हप्ता दिन नहुँदै जसपा नेपालबाट फेरि प्रा.डा.महेन्द्र लावतीलगायतले पार्टी फुटाए। उनीहरुले अर्को मोर्चा बनाएका छन्।