पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
गजेन्द्र बोहरा
तम्रा घरका जगै रातो…
या हुन् बलिवेदी रगतका रंग ती
आँगनको लिपाइ रातो
या हुन् रक्ताम्य रेटिएका अंग ती
ढुंगामाथि निशानै रातो
या हुन् नृशंस नरसंहारका चोट ती
सडकान्त स्तम्भै रातो
या हुन् गलेका गुरिल्ला लेखोट ती
घाँसको सिरैसिर रातो
या हुन् घाइते बिसाएका छाप ती
झारको झ्याङ्गै रातो
या हुन् लट्केका लाशका राप ती
बोटको गुराँसै रातो
वैशाख दोस्रो सातातिर केही बाटोहरू छिचोलेपछि सिके राउतले कर्णालीमा छोडिआएका केही हरफहरूको एउटा कवितागुच्छा थियो- रातो कर्णाली।
बेचैन, बैराग अनि विद्रोहका घुम्तीहरूमा रिङ्दारिङ्दै मधेसको माटोबाट राजनीतिको मूलबाटोमा हुँइकिरहेका डा.सिके राउत एउटा त्यस्तो नाम हो जोसँग अहिले मधेसमा बचेखुचेका आशमात्रै होइन, त्यसैमा सिङ्गो नेपाली राजनीतिको ‘बैकल्पिक बाटो’का रेखाहरू गाँसिएका छन्।
प्रश्नै-प्रश्नहरूले घेरिएका चन्द्रकान्त
‘झुकेरै हिँड, दबेरै बस’ आमाले हमेशा सम्झाइरहने यो कुराले चन्द्रकान्त राउत हरपल झङ्कृत गराइरहन्थ्यो। किन झुक्ने? के का लागि झुक्ने? किन दब्ने? के का लागि दबेर बस्ने?
अनि कहिलेकाहीँ उनकी आमा भन्थिन्- ‘सबै कुरा लेखिएको छ, नियतिका सबै कुरा निश्चित छन्।’
आमाका यिनै जीवनोपदेश सुन्दै बालापन बिताएका चन्द्रकान्त आफ्नो वैंशालु जीवनभरि नियतिका कैयौं आयामहरूमा ठोक्किइरहे। नियतिका त्यस्ता धेरै मोडहरूमा उनी बेचैन भएर भौतारिइरहे।
जिज्ञासै जिज्ञासाले भरिएको उनको बालापन छिप्पिदैं गएको जवानीसम्मै उस्तै थियो। पढाउने शिक्षकसँग सोध्नुपर्ने कैयौं प्रश्न थिए। आफ्नै छिमेकीसँग सोध्नुपर्ने हज्जारौ जिज्ञासाहरू थिए। आफ्नै समाजसँग कैयौँ गुनासाहरू थिए। आफ्नै देश अनि आफ्नै माटोसँग सोध्नुपर्ने धेरै प्रश्नहरूले उनी भित्रिभित्रै गिजोलिइरहेका हुन्थे।
उनलाई जन्माउनेहरूसँग सोध्नुपर्ने धेरै कुराहरू मनमा आउँथे। यी हावा, पानी अनि माटोमात्रै होइन, हरेक चीजमा उनी घोरिन्थे। यहाँसम्म कि आफ्नै जिन्दगीसँग जवाफ माग्नुपर्ने धेरै प्रश्न थिए उनीसँग।
‘ती दिनहरूमा म भित्र जिज्ञासा र कौतुहलता प्रशस्त हुने गर्दथ्यो’, हरेक किसिमका जिज्ञासाहरू उनले आफ्नो आत्मकथामा भनेका छन्।
यहाँसम्मका जिज्ञासाहरू कि, उनी आफूले पढ्ने किताबका अक्षरहरू पनि ‘पराई’ देख्थे।
‘अझ, ती किताबमा वर्णन गरिएका कुराहरू हाम्रो जीवन, हाम्रो रहनसहन, र हामीसँग पटक्कै मिल्दैनथ्यो। किताबहरू पहाडका कुनै शासकहरूको प्रशंसागानले भरिएका हुन्थे, पहाडका भेषभूषाका दृश्यले सुसज्जित हुन्थे, कसैले नजानेको लोककथाले भरिएका हुन्थे, कहिले नमनाइने चाडपर्वका वर्णनले भरिएका हुन्थे, हाम्रो कुनै सम्बन्ध नभएको संस्कृतिका बखानहरूले भरिएका हुन्थे’ उनले लेखेका कतै छन् ‘त्यहाँ म आफ्नो लोककथा खोज्थें, आफ्नो इतिहास खोज्थें, आफ्नो संस्कृति खोज्थें, आफ्नो चाडपर्व खोज्थें, आफ्नो रहनसहन खोज्थें, आफ्नो भेषभुषा खोज्थें, आफ्नो भाषा खोज्थें, तर दुर्भाग्य केही भेट्दिनथें।’
र, उनले बुझिरहेका थिएनन् कि ‘हामी त्यस्तो पराया कुरा किन पढिरहेका थियौं। पढ्नु पनि त्यति खराब थिएन, अझ ती ‘पराया’ कुराहरूलाई आफ्नो भन्दै किन जोरजोरले चिच्याइरहेका थियौं, रहस्य झैं लाग्थ्यो।’
काठमाडौँले रोपिदिएको ‘विषवृक्ष’
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्यूटर साइन्स पढिरहेका चन्द्रकान्त राउत त्यो बेला अन्तिम वर्षको परीक्षा तयारी गरिरहेका थिए। छ वर्षअघि काठमाडौँ आएका उनको यो एउटा ‘डिग्री’का लागि अन्तिम रुझान थियो।
२०५७ पुस ११ गते काठमाडौँलगायतका सहरमा दंगा सुरू भयो। भारतीय अभिनेता ऋतिक रोशनले ‘मलाई नेपाल मन पर्दैन’ भनेको भन्दै चितवनको एउटा पत्रिकाले सामाचार लेखेको थियो।
त्यही समाचारका कारण केही दिनमै देशभरि एउटा दंगा फैलियो। ‘भारत र भारतीय विरोधी’ त्यो आन्दोलनको तारो बने मेधेसी नागरिक। कारण एउटै थियो- मधेसीहरू भारतीयजस्ता देखिन्छन्। र, केही दिनमै त्यो ‘पहाडे र मधेसी’बीचको दंगाका रुपमा जल्न थाल्यो।
हेर्दाहेर्दै त्यो दंगाको मुस्लोले पूरै देश छोपिसकेको थियो। पहाडीले मधेसी र मधेसीले पहाडेलाई ‘दुश्मन’बाहेक कसैले केही देखिरहेको थिएन।
देशभरि त्यो दंगाको नेतृत्व बाम पार्टीहरूले गरिरहेका थिए। काठमाडौंका कमाण्डर थिए-बामदेव गौतम। तर कसैलाई केही थाहा थिए ऋतिक रोशनले कहाँ र कहिले त्यो कुरा भनेका थिए।
केही समयपछिमात्रै प्रस्ट भयो- उनले त्यो कुरा भनेकै थिएनन्। नेपालको चर्चा कहिल्यै कुनै सन्दर्भमा गरेकै थिएनन्। तर त्यो बेलासम्म नेपालमा सल्किएको आगो निकै दन्किसकेको थियो, कैयौंको जिन्दगी खरानी भइसकेको थियो।
त्यही दंगाको एउटा मुस्लोभित्र थिए चन्द्रकान्त राउत। त्यो दंगाले उनको दिमागभरि झन् धेरै प्रश्नहरू उब्जाउन थाल्यो।
‘बिछ्यौनामा लेट्दै बेचैन म सोचिरहन्थें। मेरो मनमा पनि दङ्गा शुरू भएको थियो। प्रश्नहरूको ज्वालामुखी उठ्थ्यो। हामीमाथि आक्रमण किन? मैले के अपराध गरें? ऋतिकले, कुनै एउटा भारतीय ठिटोले, नेपाल मन पराउँदैन भने पनि मधेशीमाथि चाहीँ आक्रमण किन? म कैयौं पटक उठ्थें, र अविश्वासले ढोकाको छिस्किनी कैयौं पटक चेक गर्थें। निद्रा आउनुको साटो विचित्र विचारहरू आइरहन्थे।’
बाहिर सडकमा आन्दोलनको आगो दन्किरहेको थियो। सडकहरू पुत्ताइरहेका थिए। भित्रभित्र उनीभित्र प्रश्न, जिज्ञासा र डरहरूको मुस्लो उठिरहेको थियो।
‘के मेरा यी आफ्नै साथीहरू राती आएर ममाथि आक्रमण गर्लान्? के मेरा यी आफ्नै साथीहरू ममाथि खुकुरी प्रहार गर्लान्? के मेरा यी आफ्नै साथीहरू मलाई छतबाट फालिदेलान्? बेलाबेलामा म आफूतिर पनि हेर्न बाध्य हुन्थें, आक्रमणको कारक रहेको आफ्नो छालाको रंग हेर्थें, आफ्नो पहिचान बारे सोच्न बाध्य हुन्थें; आफ्नो भूमि, आफ्नो पूर्वज, आफ्नो इतिहासको स्मरण गर्न बाध्य हुन्थें। बिचबिचमा ढोकाको ढ्याम्मको आवाजले मलाई झस्काउँथ्यो।’
सप्तरीको महादेवा गाउँको एउटा ‘झोपडपट्टी’मा जन्मिएका चन्द्रकान्त राउतले गाउँकै स्कुलमा कखरा सिके। उनका बुवा सिताम्बर राउत पनि मास्टर नै थिए। बाजे भने अलि ‘जोगी’ टाइपका थिए। तीन छोरा र एक छोरीमध्येका उनी सबैभन्दा कान्छा सन्तान थिए। त्यसैले परिवार अनि आफन्तहरूको ‘प्यार’ पनि उस्तै थियो।
उनको बुवा सवारी दुर्घटनामा परे। लामो समयसम्म शरीर नचल्ने भएपछि उनी ‘कोमा’मा गएजस्तै भए। त्यो बेला चन्द्रकान्त भर्खर माध्यमिक तहमा पढ्नका लागि गाउँभन्दा अलिपर वभनगामा कट्टीको स्कुलमा भर्ना भएका थिए। सम्मत्तिको नाममा एउटा सानो झुपडी र डेढ बिघा जमिनमात्रै थियो। त्यसको उब्जनीले खान पनि पुग्दैनथ्यो। दिनहुँ एकघण्टाभन्दा धेरै रित्तो खुट्टा हिँडेर स्कुल पुग्ने चन्द्रकान्तले जीवनको चरम गरिबी त्यहीँबाट भोग्न सुरू गरे।
एसएलसीपछि अन्तिम समयसम्म आफू पास भएको सर्टिफिकेट झिक्ने पैसा खोज्न भौतारिएका आफ्नो बुबाको त्यो अनुहार अहिले पनि उनी झलझली सम्झिन्छन्। अन्तिम घडीमा साहुसँग बल्लतल्त ऋण मागेर रातारात बुबाले उनलाई एउटा रात्री बस चढाए।
तल बाहुला उध्रिएको र शरीरमा ह्वाङ्ग परेको मैलो पाइन्ट अनि काखी च्यातिएको सर्ट लगाएका चन्द्रकान्त अर्कोदिनको उज्यालोसँगै काठमाडौँ ओर्लिए।
त्यही बेला हो, उनले पहाड देखे, पारी क्षितिजमा टाँसिएका सेता हिमाल देखे। ‘नेपाल’का मान्छे देखे। यति धेरै गाडी मोटरहरू देखे। जताततै हतारिएका जस्ता मान्छेका हुल देखे। बल्ल उनले सपनाको एउटा सहर देखे।
काठमाडौँमै डेरा गरी बस्ने आफन्तकहाँ केही दिनको पाहुना लागेका थिए उनी। ललितपुर पुल्चोक इन्जिनियरिङ कलेजमा छात्रवृत्तिमा नाम निकाले अनि उनी केही महिनापछि क्याम्पसकै होस्टेलमा बसे।
‘धोती’, ‘भैया’ अनि ‘मधिसे’हरूको परिभाषाभित्र आफू पनि रहेछु भन्ने कुरा उनले काठमाडौँ आएर बुझे। स्कुलमै ‘विद्रोह’का बाछिटाले भिजिसकेका चन्द्रकान्तलाई काठमाडौँले भित्रभित्रै चिथोरिरहेको थियो।
२०५७ सालको ऋतिक रोशन काण्डले चन्द्रकान्तको तन्तेरी दिमागमा उम्रिएको त्यही ‘विषाक्त वृक्ष’ मधेसमा एउटा अर्को ‘विद्रोहको हुरी’ बन्यो। अनि त्यो राजनीतिको एउटा बतास बनिरहेको छ।
वैराग्यदेखि विद्रोहसम्म
२००१मा ललितपुर क्याम्पसबाट इन्जिनियरिङ सकेपछि चन्द्रकान्त राउत केही समय मास्टर पनि भए।
इन्जिनियरिङका विद्यार्थीहरू पढाउँथे। परीक्षा लिन्थे र उत्तरपुस्तिकाहरू जाँच्थे। नम्बर चढाउँथे। तर, उनलाई पटक्कै चित्त बुझ्दैनथ्यो।
एकदिन उनले कलेज प्रशासनसँग भने- यो त भएन। व्यवहारिक नै छैन। कापीमा नम्बर चढाउनुमात्रै ठूलो कुरा होइन। विद्यार्थीले सिकेकै केही छैनन्।
त्यही विषयमा प्रशासनसँग निकै गरमा-गरम बहस भयो। कलेज प्रशासनसँग सम्बन्ध बिग्रियो। त्यहाँ पनि उनले मधेस-पहाडको विभेद देखिरहेका थिए। भोगिरहेका थिए।
उनकै भाषामा- कलेजमा अरू लेक्चररहरू ड्रविङ्ग सर, सर्भे सर आदि हुन्थे, म भने पालेलगायत धेरैका लागि मधेशी सर नै थिएँ। त्यही मेरो पहिचान थियो। केही भर्खरै भर्ना भएका विद्यार्थीहरूका लागि त्यो नामले झनै बिग्रिएको रूप लिन्थ्यो।
यस्ता कुराले पोलिइरहेका चन्द्रकान्त राउतलाई झन् निराशाहरूलाई छोप्न थाल्यो।
एकदिन कलेजले उनलाई सोध्दै नसोधी विभागको ‘सहायक’ बनायो। उनले राजीनामा दिए।
देशको राजधानीका काठमाडौँमा एउटा ‘मधेसी मास्टर’को मास्टरी यात्रा त्यहिँनेर सकियो।
केही समय गाउँमा बिताएर सन् २००३ तिर उनी मोनबूशो स्कलरसीपमा पढ्न जापान गए। जापानको त्यो स्वप्नील संसारले पनि उनलाई अड्याउन सकेन।
त्यो व्यस्त, मस्त र सपनाको भव्य सहरमा उनले आफ्ना सारा सपनाहरू सेलाए। त्यो सहरमा उनी रम्न सकेनन्। भुल्न सकेनन्। बरू आफैभित्र हराउन थाले। वैराग्यको जालोले उनको दिल दिमाग छोप्दै थियो। आखिरमा उनी यसरी छोपिए कि चारैतिर ‘शून्यता’बाहेक उनले अर्थोक केही देखेनन्।
‘मेरो कोठाको भित्ताभरिमा चाहीँ ठूलो सादा कागजमा सानो अक्षरले ‘ब्रह्म सत्य, जगत् मिथ्या’ लेखिएको बाहेक अरू केही थिएन। लाग्थ्यो, केही घण्टापछि म फेरि अन्यत्र जानेछु। एन्सो अंकित टीशर्ट लाउँथें। ‘हरे राम’ लेखिएको चादर मसँग थियो, त्यो ओढेर बस्थें र आकाश र चलायमान मेघलाई झ्यालबाट टोलाइरहन्थें, प्रकृतिको अनन्तताको बारेमा अचम्मित भइरहन्थें।’
एकदिन उनले बुबालाई एउटा लामो पत्र लेखे- बुबा! म अब जोगी बन्न चाहन्छु। त्यसको जवाफमा उनका बुबाले लेखे- ‘तिमीले अहिले यी कुराहरूमाथि सोच्नुपर्दैन, खाली पढ र आफ्नो काम गर।’
‘नसोच्ने…!?’ त्यसैमाथि उनले झन् सोचिरहे।
‘म भित्र-भित्रै निकै खाली भएको महसुस गर्न थालें। भित्रको रित्तोपन असीम लाग्थ्यो। अन्तिम सत्य जान्ने इच्छा दिनानुदिन तीब्र हुँदै गयो, रात-दिन त्यसले मलाई बेचैन बनाइरह्यो। तर त्यही बेला आफ्नो पहिचानको सवालले, न्यायको सवालले, सामाजिक उत्तरदायित्वको सवालले पनि सताउँथ्यो’ शून्यताको त्यो घोर अनुभव अहिले पनि उनीसँग ताजै छन्।
सन् २००४ अगस्टको एक बिहान गेरू रंगको वस्त्र लगाएर उनी हिँडे। तर कहाँ जाने? गन्तव्य थिएन। के गर्ने? त्यसको कुनै पत्तो थिएन। त्यो बेला नेपालमा फेरि अर्को काण्ड चर्किएको थियो- इराकमा १२ जना नेपालीको हत्या भएको थियो र त्यसैको विरूद्ध भइरहेका जुलुशहरूले फेरि ‘पहाडे र मधेसी’बीचको अर्को विभाजन रेखा कोरिदिएको थियो।
महादेवाको त्यो झोपडपट्टीबाट चन्द्रकान्तका पाइलाहरू पूर्वतिर सोझिए। मेची तरेर सिलिगुढी पुगेका उनी एउटा रेलमा चढे।
रेल चढिसकेर उनी आफूले आफैलाई सोधे, जान त जाने तर कहाँ जाने?
आफैले उत्तर खोजेर सजिलै मन भुलाए- रेल जहाँ जान्छ त्यहीँसम्म जाने!
खासमा उनी ‘सत्य खोज्न’ हिँडेका थिए। तर, त्यो ‘सत्य’ कहाँ पाइन्छ? उनैलाई थाहा थिएन।
रेलको टिकट थिएन। रेलका डिब्बाहरूमा, ट्वाइलेटमा अनि भुँइमा पनि सुते।
काशी पुगे। स्नान गरे। मानौं उनी कुनै ‘पाप’ पखालिरहेका छन्। कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् गए। साईंबाबाको शरणमा पुगे र प्रशान्ति निलयमसम्मै गए। मनभरि स्याउँस्याउँ सल्बलाइरहेका प्रश्नहरूले उनलाई खेद्न छोडेका थिएनन्। कन्याकुमारीदेखि रामेश्वरम्सम्म, अनेकौं मन्दिर र पवित्र धामहरूमा आफूलाई पछारिरहे। मन्दिरहरूको द्वारमा आफ्नो मस्तक रगडे, आरतीको ज्योतिले आफ्ना परेलीहरू सेके, गुढ़ मन्त्रको जप गर्दै ध्यान गरे, आत्मा छुने भजनहरूमा झुमें।
‘सबकुछ’ छोडिसकेको चन्द्रकान्त गेरू वस्त्र लगाएर हिँड्ने एक फकीर जोगी भइसकेका थिए। उनले सबै कुरा छोडिसकेका थिए। आफ्नो परिवार छोडेका थिए। आफ्ना सपनाहरू छोडेका थिए। सांसारिक जिन्दगीमा रमाउने चाहनाहरूलाई गंगामै सेलाइदिएका थिए। तर, यो संसारले उनलाई के छोड्थ्यो र! त्यसैले त फेरि पनि राजनीतिको त्यही मूलबाटो ल्याइपुर्याएको छ राउतलाई।
घरिघरि बल्झिरहने उनै प्रश्नहरूले चन्द्रकान्तलाई त्यो फकीर जिन्दगीमा पनि बिझाउन थाले।
‘सांसारिक मोह र संसारलाई त्यागेर हिँडेको थिएँ। तर संसारले मलाई छोडेको थिएन, मेरो परिचयले मलाई छोडेको थिएन, राष्ट्रियताले मलाई छोडेको थिएन। म फकीर नै भइसक्दा पनि आफ्नो राष्ट्रिय पहिचानले मलाई छोडेको थिएन, र अझै सताउँथ्यो। ट्रेनमा, होटलमा, मन्दिरको द्वारमा, प्रश्न खडा भइहाल्थ्यो — ‘तपाईं कहाँबाट हुनुहुन्छ?’ र नेपालबाट भनेर उत्तर दिएपछि ‘नेपाली जस्तो त देखिनु हुन्न’ भन्ने चिरपरिचित वाक्य मेरो गालामा थप्पड झैं बजारिन पुग्थ्यो।’
उनलाई राम्रोसँग याद छ- मान्छेहरू शंका गर्थे, म दोहोर्याउँथे। झन् सशंकित, तिनीहरू मेरो परिचय पत्र माग्थे। रेल भित्र पनि यात्रीहरूले मेरो नागरिकता र पासपोर्ट माग्थे, होटल, बैंक वा टिकट काउन्टरको त कुरै छोडौं। म यस संसार र सांसारिकताबाट टाढा हुन खोज्दा, देश-राष्ट्र र सीमा परको आध्यात्मिक दुनियाँको पात्र हुन खोज्दा पनि नागरिकता र राष्ट्रियताको सवालले मलाई छोडेन। तिनीहरूले मलाई नराम्ररी पछ्याइरह्यो।
प्रश्नहरूको बेचैनीबाट भागिरहेका उनको मनमा एकदिन एउटा आवाज गुन्जियो- ‘म तिमीलाई त्यहाँ दास बन्न पठाएको होइन, बल्कि एउटा स्वतन्त्र मानव। म तिमीलाई एउटा मुक्त मानवको रूपमा पठाएँ र स्वतन्त्र मानवकै रुपमा तिमी मकहाँ आएको देख्न चाहन्छु, दासको रुपमा होइन।
दासहरूका लागि मकहाँ कुनै स्थान छैन। जन्मँदा तिमीलाई दिएको आत्मसम्मान खै त? जन्मँदा तिमीलाई दिएको स्वतन्त्रता खै त? अरू कुरा मसँग माग्नु पहिला मैले दिएका ती कुराहरू लिएर आऊ, आत्मसम्मान र स्वतन्त्रता लिएर आऊ। जाऊ, ती कुराहरू पहिला खोज, अनि मात्र मलाई खोज्नु। अहिले तिमी केवल भगौडा हौ, र तिनीहरूको लागि यसअगाडि कुनै मार्ग छैन।’
चन्द्रकान्तलाई लाग्यो- पहिचानको ब्रह्मज्ञान मैले भेट्टाएँ।
उनका पाइलाहरू हठात् मोडिए, फेरि त्यही जिन्दगीको फेरो समाउन।
त्यो ‘फकीर’ यात्राबाट मोडिएका चन्द्रकान्तका पाइलाहरू सन् २००६ अप्रिलको अन्त्यतिर क्याम्ब्रिज यूनिवर्सिटीको आँगनमा रोकिए।
समृद्ध बेलायतको काखमा पनि उनी शान्त भएनन्। फेरि उस्तै प्रश्नहरू, उस्तै बेचैनीले खल्बलिन थाले। कम्प्यूटर विज्ञानमा पिएचडि गर्न क्याम्ब्रिज पुगेका चन्द्रकान्तको मन क्याम नदीजस्तै शान्त हुन पटक्कै सकिरहेको थिएन। मनभित्र हुडुल्कीरहेको अशान्तिको त्यो हुरीकै बीचमा उनले पिएचडी पनि सकाए।
र, २००९मा उनी कम्प्यूटर बैज्ञानिकका रूपमा जागिर खान अमेरिका गए। धेरैले पछ्याउने अमेरिकी सपना त उनले सजिलै आफ्नो पोल्टामा पारिसकेका थिए।
विश्वका प्रख्यात वैज्ञानिकहरूको ‘सान’ मानिने बिबिएनमा उनी कम्प्यूटर बैज्ञानिक भए। वर्षमा करोडौं तलब थियो। गाडी थियो। गगनचुम्बी अपार्टमेन्ट थियो। नाम थियो, दाम थियो अनि सम्मान थियो।
तर देशभित्रै धेरै चोट खाइसकेका चन्द्रकान्त राउतको मन सपनाको त्यो दुनियामा पनि रम्न सकिरहेको थिएन। आफैमा हराइरहेको अमेरिकी सहरमा पनि मधेसीहरू खोज्थे। मधेसका मुद्दामा बहस गर्नेहरूसँग भेट्न खोज्थे। तर, सपनाको पछि भागदौड गरिरहेको त्यो सहरमा उनले कसलाई पो पाउनु?
अनलाइनमा समाचारहरू पढ्थे। मधेसका कुरा पढ्थे। फेरि उस्तै र उही दिग्दारीले छोप्थ्यो। दबिएका थिचिएका चित्कार सुन्थे।
त्यहीँबाट उनले गैर-आवासीय मधेशी संघ बनाए। संसारभरि छरिएर रहेका मधेसी मूलका नागरिकलाई एकै मञ्चमा गाँसे। आफै पनि कम्प्यूटर बैज्ञानिक थिए। मधेसलाई चिनाउने ‘इ-लाइब्रेरी’ बनाए। मधेसका इतिहासहरू खोजेर वेभसाइटमा राखे।
भित्र-भित्रै एक प्रकारले उनी ‘मधेस अभियान्ता’ भइसकेका थिए। त्यहीँबाट पैसा उठाएर उनले नेपालमा पठाउँथे र बालबालिकाको शिक्षामा खर्च गर्थे।
‘आफ्नै घर आगोमा दनदनी बलिरहेको बेलामा अमेरिकामा कफी पिउँदै आनन्द लिनुले कुनै अर्थ राख्दैनथ्यो। पहाडीहरूले हाम्रा घर लुट्दा, हाम्रा भाइ-बहिनीको हत्या गर्दा, हाम्रा दिदी-बहिनीको इज्जत लिँदा, हाम्रो घरमा आगो लगाइदिँदा अमेरिकामा विलासी जीवन बिताउनुले कुनै अर्थ राख्दैनथ्यो। त्यही भएर मैले घर फर्कने निधो गरें, अन्यायविरूद्ध लड्नका लागि, रंगभेदविरूद्ध लड्नका लागि, आफ्नो पहिचानको रक्षाका लागि, आफ्नो अस्तित्वको रक्षाका लागि, आफ्नो भूमिको स्वतन्त्रताका लागि, र आफ्नो दाजुभाइ दिदीबहिनीको दासता अन्त्य गर्नका लागि।’
मधेस स्वराज : मेची-काली यात्रा
बेलायत अनि अमेरिका हुँदै गर्दा उनले मधेसमा एक प्रकारको छद्म आन्दोलन सुरू गरिसकेका थिए। विभिन्न पत्र-पत्रिका अनि अनलाइनहरूमा मधेसका चर्का नारा बोकेर छापिने ‘क्रान्तिकारी’ आलेखहरूमा छापिने नामहरू उनै चन्द्रकान्त राउतका थिए।
‘विवश्वान’, ‘कुमार’, ‘आजाद’ र ‘ईंजोड’हरू त बिम्बमात्रै थिए, वास्तविक चित्र थिए- चन्द्रकान्त राउत। उनले अनलाइन वा फोनकै भरमा मधेसमा आन्दोलनको अगुवाइ गरे। भित्रभित्र उनको आन्दोलन देशभरि चर्किसकेको थियो। आफै कम्प्यूटर बैज्ञानिक उनले कुनै बेला सिस्टम ह्याकिङको काम पनि गरे।
‘भर्चुअल’ दुनियामै उनको ‘स्वतन्त्र मधेस’ आन्दोलन गर्भाधान भइसकेको थियो।
सन् २०१०मा जागिरबाट राजीनामा दिइवरि चन्द्रकान्त राउत नेपाल फर्किएर उनले एउटा कसम खाए- रंगभेद र अन्याय विरुद्ध लड्ने निर्णय मेरो हो, निशस्त्र वा सशस्त्र-त्यो निर्णय उनीहरूको हुनेछ।
अनि सुरू भयो चन्द्रकान्त राउतको मेची-महकाली : ‘मधेस स्वराज’ यात्रा। मधेस स्वराज उनले हिन्दी भाषामा लेखेको एउटा पुस्तक हो।
‘वैगारदेखि बचावसम्म’ उनको आफ्नै जीवनकथा हो। जसमा उनले बालापनदेखि भोगेको मधेसी-पीडाहरू पोखेका छन्। हुर्किंदै गर्दा भोगेको पीडाहरूको शब्दचित्र कोरेका छन्। हरेक शब्द-शब्दमा ‘पहाडे’ समुदायले ‘मधेसी’माथि गर्ने विभेदका भाव भरिएका यो किताबमा उनले आफ्ना ‘कुण्ठा’हरू यसरी पोखेका छन् जसले मधेसका हरेक कलिला दिमागमा ‘विद्रोह’को झिल्को बालिदिन्छ।
लहानको सहिद स्मारक चोकबाट सुरू भएको उनीहरूको त्यो यात्रामा पाँच जना थिए। महेश ईसर, नरेश अधिकारी, श्याम राउत, अजय यादव र चन्द्रकान्त राउत।
२०६३ सालमा अन्तरिम संविधान बनेपछि नेपालगन्जबाट सल्किएको ‘मधेस-आन्दोलन’को आगो त्यही वर्षको माघ ५ गतेसम्म तराईका सबैजसो जिल्लाहरूमा फैलिसकेको थियो।
त्यो दिन लहानमा प्रहरीको गोली लागेर एकजना किशोरको मृत्यु यो। दश कक्षामा पढ्दै गरेका रमेश महतो मधेस आन्दोलनका पहिलो ‘सहिद’ भए। त्यसपछि त आन्दोलनको आगो यसरी दन्कियो कि त्यसले पूरै मधेस ‘रणभूमि’ भयो। मधेसबाट ‘पहाडे’हरूले आफ्नो थातथलो छोड्नुपर्यो। पहाडबाट ‘मधेसी’हरू त्यसैगरी हिँड्नुपर्यो।
१९ दिनसम्म चलेको त्यो आन्दोलनमा ५४ जनाले ज्यान गुमाए। पछि सरकारले आन्दोलनकारीसँग ११ बुँदे सम्झौता गरेर आन्दोलन सकियो।
त्यो सडक, राजनीतिको यो मूलबाटो
‘मधेस स्वराज’ अभियानपछि चन्द्रकान्त राउतले एउटा अर्को दस्ता बनाए- ‘स्वतन्त्र मधेस गठबन्धन।’ मधेसलाई ‘अलग देश’ बनाउनेगरी बनाइएको यो अभियानले ‘स्वतन्त्र मधेस’को लागि आन्दोलनको सुरूवात गर्यो। छुट्टै मधेसको परिकल्पना गरिसकेका चन्द्रकान्तले मधेसको राष्ट्रिय गीतसमेत लेखे। छुट्टै देश, छुट्टै सेना अनि छुट्टै पहिचानको खाका कोरे र मधेसका कलिला मस्तिष्कहरूमा त्यसको छाप ‘अमिट’ बनाउन थाले।
२०६८ चैतमा काठमाडौँको खुल्लामञ्चमा पहिलोपल्ट उनले सार्वजनिक सम्बोधन गरे त्यो बेला चन्द्रकान्त राउत, ‘डा. सिके राउत’ बनेर सबैमाझ चिनिए।
दोस्रो संविधानसभाबाट संविधान बन्ने तरखर हुँदै थियो। त्यो बेला उनले ‘स्वतन्त्र मधेस’को नारा झन् चर्काए। ठाउँ-ठाउँमा आन्दोलन हुन थाल्यो। सरकारले उनलाई खोजिरहेको थियो। २०७१ भदौ २८ गते राति मोरङको रंगेलीबाट उनलाई सादा पोशाकका प्रहरीले पक्राउ गरे। त्यो बेला राउत आफ्ना कार्यकर्ताहरूलाई प्रशिक्षण दिएर फर्किरहेका थिए।
सरकारले ‘राजद्रोह’को मुद्दा लगायो र केही दिनपछि उनी फेरि छुटे। तर पनि उनको नाममा देशका विभिन्न ठाउँहरूमा मुद्दा थिए।
संविधान बनिसकेपछि त्यसलाई मधेसी दलहरूले स्विकार गरेनन्। मधेसमा फेरि आन्दोलन भयो। भारतले अघोषित रूपमै ‘नाकाबन्दी’ लगायो। त्यो बेला पनि उनले आफ्नो अभियानलाई झन् फैलाउने मौका पाए। पछि मधेसी दलहरूसँग सरकारले सम्झौता गर्यो।
२०७४ सालको निर्वाचन विथोल्ने अभियान चलाएका सिके राउतलाई त्यो बेला पनि पक्राउ गरेको थियो। त्यसपछि सरकारले उनको गतिविधिमाथि प्रतिबन्ध लगायो। उनी जेलमै थिए।
२०७५ सालमा सरकारले उनलाई जेलबाट निकालेर ११ बुँदे सम्झौता गर्यो।
एकातिर तत्कालीन प्रधानमन्त्री केपी ओली अनि अर्को छेउमा पुष्पकमल दाहाल प्रचण्डलाई राखेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिके राउतसँग त्यो सम्झौतापत्रमा हस्ताक्षर गरे।
र, ‘असाधारण क्षमता भएका’ प्रचण्डसँग तुलना गर्दै केपी ओलीले सिके राउतलाई एउटा खुला धारमा ल्याएर छोडिदिए।
अनि यो उनको जिन्दगीको एउटा त्यस्तो आरम्भरेखा बनिदियो जसले उनलाई मात्रै होइन सिङ्गो मधेसलाई राजनीतिको एउटा आशलाग्दो मूलबाटोमा ल्याइपुर्यायो।
‘प्रचीन’ पार्टीहरूकै ‘मूलखर्क’हरूमा सिकेले गएको चुनावमा उनीहरूलाई पछारिदिए। आफू उदाए, विरक्तिएका युवालाई राजनीतिको त्यो बाटोमा ल्याए जहाँ उनले धेरै उज्याला क्षितिजहरू सजाएका छन्।
राजनीति गर्न मधेस झरेका अनि मधेसकै लागि भनेर मधेसमा जन्मिएका सारा पार्टी र नेताहरूमात्रै होइन सिङ्गै राजनीति नै ‘बिसर्जन’को बाटोमा लागिरहेको खडेरीमा सिकेले रोपेका आशाहरूको परिक्षा पनि सुरु भएको छ।
आशा र अपेक्षाका लाखौं औंलाहरू च्यापेर राजनीतिको यो मूलबाटोमा हिँड्दैगर्दा राउतसँग अहिले पनि त्यसको स्पष्ट गन्तव्य भने छैन। न लक्ष्यका रेखाहरू कोरिएका छन्। कुनै गर्भसिद्धान्तबिनै राजनीतिको बाटोमा डोरिएका सिके पहिला पनि भन्थे र अहिले पनि भनिरहेका छन्- कसैले देश र जनताका लागि राम्रो गर्छ भने त अहिले नै म राजनीति छोडिहाल्छु…!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया