दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर निर्वाचित हुँदा धवल शमशेर राणाले आफ्नो सम्पूर्ण तलब समाजसेवामा लगाए। २०५४ र २०७४ मा राणालाई यहाँका मतदाताले मेयर पदको जिम्मेवारी सुम्पिएका थिए।
भ्रष्टाचारविरुद्ध आक्रमक र सार्मथ्य अनुसार नेपालगञ्जको विकास गरेका यिनै राणाले पाउने पारिश्रमिकबाट कयौं दीनदुखीलाई राहत मिलेको थियो। उनले मेयर हुँदा जस्तै सांसद भए पाउने पारिश्रमिक समाजसेवामा लगाउने घोषणा गरेका छन्। मतदातामाझ राणाले उक्त घोषणा गर्दै भने,–‘सांसदले जति तलब पाउँछन् त्यति म दीन–दुःखीको सेवामा खर्च गर्छु।’
राणाले दुई कार्यकाल गरी दश वर्ष नेपालगञ्ज उपमहानगरपालिका हाँके। त्यसअवधिमा पाउने पारिश्रमिकबाट कहिले निशुल्क भोजन गराउने संस्थालाई सहयोग गरे त कहिले पैसा अभावमा उपचार गर्न नपाएका बिरामीलाई सहयोग गरे।
उनले पहिलो कार्यकालमा प्रतिक्षालय समेत निर्माण गरेका थिए। राणाले चिकित्सा शास्त्र पढ्न अवसर पाएकी तर पैसा अभाव झेलिरहेकालाई समेत आफ्नो तलब दिएका थिए।
आफूले पाउने पारिश्रमिक सेवामा लगाउनुलाई सामान्य ठानेको राणा बताउँछन्। उनी भन्छन्,‘मैले पाउने पैसाले कसैको हित हुन्छ भने त्यो जत्तिको खुसी केही हुँदैन।’
नेतृत्व गरेका डाक्टर राणाले बाँकेको क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिएका छन्। उनको दल राप्रपा र एमाले धवलका पक्षमा घरदैलो गरिरहेका छन्।
राप्रपा–एमाले गठबन्धनबाट निर्वाचनमा होमिएका उनले संविधान सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका सभापति सुसिल कोइरालालाई कडा टक्कर दिएका थिए।
भ्रष्टाचार विरोधी, विकास प्रेमी नेताको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त राणा जनताको बीचमा सदाबहार लोकप्रिय छन्। धवल विकासप्रेमी राणा प्रधानमन्त्री देवशमशेरका पनाति, मसुरी शमशेरका नाती हुन्। मसुरी शमशेरले आफ्नो पालामा यस क्षेत्रमा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गरेका गरेका थिए।
मसुरी शमशेरका छोरा, धवलका बुवा कैलाश शमशेरले पनि कृषिलाई प्राथमिकता दिए। धवल शमशेरले भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधी (पिएचडी) गरेका छन्। राजनीतिमा पढेका कमै व्यक्तिहरुमध्ये पर्छन्, धवल शमशेर।
धवल शमशेरका बुवा नेपालका पहिलो ‘कृषि इन्जिनियर’ हुन्।
सुरुमा धवलले व्यवसायिक सफलतापछि व्यवसायसँगै जिन्दगीको नयाँ बाटो तय गरे। उनले राजनीतिमार्फत् विकासमा कायापलट गर्ने योजना बनाए। भारतमा अध्ययनको क्रममा नेपालमा फर्किएपछि राजनीति गरेर देश विकासमा लाग्ने भावना उनमा जागेर२०४७ सालमा राजनीतिमा आवद्ध भए।
२०५१ को संसदीय निर्वाचनमा पराजित भएपनि २०५४ मा तत्कालीन नेपालगञ्ज नगरपालिकाको प्रमुख पदमा अत्याधिक मतले निर्वाचित हुन उनी सफल भए।
नेपालगञ्जको नगर प्रमुख बन्दा धवल जम्मा ३२ वर्षका थिए। पहिलोपटक प्रमुख हुँदा उनले नेपालगञ्जमा विकास झल्किने गरी उल्लेखनीय काम गरे। नेपालगञ्जका तालतलैया संरक्षण, सडक तथा नालाको विस्तार र विकास, महेन्द्र पार्क (मिनी जू), रानी तलाउ निर्माण, नगरपालिकाको आय स्रोत बढाउन विभिन्न ठाउँमा सटर निर्माण जस्ता थुपै काम गरे। आफूले प्रमुख भए बापत पाउने भत्ता दीन–दुःखीलाई वितरण गरे। भत्ताको रकमबाटै उनले भेरी अस्पतालमा प्रतीक्षालय निर्माण गरे।
आफ्नो तलब–भत्ताबाट मानविय र सामाजिक कार्य गर्ने बिरलै जनप्रतिनिधि मध्येका एक हुन्, उनी।
१०४ वर्षसम्म नेपालमा शासन गरेको राणा खलकका अहिले औंलामा गन्न सकिने थोरै सन्तान राजनीतिमा सक्रिय छन्। तीमध्येका धवल शमशेर एक हुन्। यस्तै कारणले उनी जिजु हजुरबुवा देव शमशेरझैं ‘विकासप्रेमी’ नेताको छवि बनाउन सफल भएका छन्।
त्यहीँ छविकै कारण धवल २० वर्षपछि पनि नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखको कुर्सीमा बस्न सफल भए। आफ्नो पार्टीको बहुमत नहुँदा पनि सबैसगँको उच्च सहकार्यबाट उनकाे दोस्राे कार्यकाल पनि सफल भए।
उनको दोस्राे कार्यकालमा भताभुङ्ग भएको नेपालगञ्जलाई बनाउने काम भएको स्थानीयको बुझाई छ। भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने धवल सबैका प्रिय पात्र बन्न सफल भएका छन्।