...अनि धोबी खोलामा ढल्यो भद्रकुमारीको सपना

बालेनको डोजरले घरका भित्ता कोतर्दै गर्दा नजिकै घरमा बसेकी भद्रकुमारी घलेलाई लागिरहेथ्यो, डोजरका ती पञ्जाहरूले आफैँलाई चिथोर्दैछन्। सपनाका ती मन्दिरहरूमा डोजर चलिरहँदा भद्र भने बालेनलाई आशीर्वाद दिइरहेकी थिइन्- नगरपितमात्रै होइन, यो देशको प्रधानमन्त्री, राष्ट्रपति बन्नू…!


समाजसेवाको त्यो एउटा सपनाको मन्दिर थियो, भद्रकुमारीको। जहाँ ५८ वर्षअघि उनले धोबी खोला किनारमा उनले बालुवा खोतलेर त्यसको जग हालेकी थिइन्। त्योबेला काठमाडौँ सहरको एउटा किनारमा ४०-५० वटा गाई पालेर उनले त्यसको आम्दानीले देशभरिबाट बटुलेर ल्याएका बालबालिका पढाउँथिन्।

त्यहीपछि भद्रकुमारी घले सदन बन्यो।

‘सेवा सदन’बाट भद्रकुमारी अझै अरू सेवाहरू सञ्चालन गर्ने योजनामा थिइन्। ५८ वर्षदेखि सेवा सदनमा लगानी गर्दै आएकी भद्रकुमारीले त्योबाहेक कहिल्यै अर्को सपना देखिनन्। जीवनमा विवाहसमेत गरिनन्।

सेवा सदनबाट शिक्षालय, सहकारी, प्रौढ शिक्षा, अनाथालय आदि सञ्चालन गरेकी भद्रकुमारीले अब सस्तोमा उपचार हुने अस्पताल र पाहुना घर पनि सञ्चालन गर्ने योजनामा थिइन्।

तर बीचमै बालेनको डोजर चल्यो।

सेवा सदनका अध्यक्ष दीपक घलेले भने, ‘गरीब, पिछडिएका समुदायका विद्यार्थीलाई ल्याएर स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने गरी अस्पताल सञ्चालनको योजना थियो। प्रक्रियासमेत अगाडि बढाइएको थियो। तर भएन।’

यस्तै बाहिरबाट काठमाडौँमा आएर बस्न समस्या भएकालाई बस्ने, खाने व्यवस्थासहित पाहुना घर सञ्चालन गर्ने योजनामा भद्रकुमारी थिइन्।

तर काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले भद्रकुमारीको सपनामाथि डोजर चलाइदिए। सरकारी जग्गामा सेवा सदन सञ्चालित भएको भन्दै यही साउन ३ गते सेवा सदनको मूल भवन र अरू संरचनाहरूमा पनि बालेनको डोजर चल्यो।

भवनमा आश्रय लिएका अलपत्र परे। सहुलियत रुपमा कोठा भाडा लिएर व्यापार गरेकाले व्यापार छाडे। आफ्नो सेवा सदनमा डोजर चलेपछि ठूलै पीर छैन उनलाई। तर ‘स्वप्न मन्दिर’ ढलेकोमा अव्यक्त दुःखभाव उनमा छ।

डोजर चल्दै गर्दा उच्च अदालत पाटनले सेवा सदन नभत्काउन आदेश दिएपछि थप भवनहरु भत्किनबाट जोगिए। यो समाचार तयार पर्दासम्म बालबालिका पढिरहेका छन्। आर्ट ग्यालरी, संग्राहलय, पुस्तकालयलाई भद्रकुमारीले आफू बस्दै आएको मैतीदेवी लगेकी छिन्।

अब बालेनले अन्य भवनहरु भत्काएमा अध्ययनरत बालबालिकालाई कहाँ पढाउने, आश्रय लिएका परिवारलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ। महानगरले विद्यार्थी, त्यहाँ आश्रय लिएका परिवारलाई व्यवस्थापन गर्ने बताएको छ।

घर्किन लागेको उमेर। छोटिँदै गरेका पदचापमा पनि भद्रकुमारी आफ्नो उदेश्य, आफ्नो सपनालाई विश्राम दिन सकेकी छैनन्। पछाडि हटेकी छैनन्। एकपछि अर्को समाज सेवामा हात बढाउँदैछिन्।

उनको समाज सेवाको पदचाप छोटो छैन। ५८ वर्ष भयो अरुका लागि समर्पित भएको। उमेरले ९३ वर्षकी भद्रकुमारी, पञ्चायत शासनकालमा ‘पञ्चायत सदस्य’ थिइन्।

एक दिनको भेटमा राजा महेन्द्रले सरकारलाई लोकप्रिय बनाउन के गर्न सकिन्छ भन्ने सुझाव भद्रकुमारीसँग मागे। उनले सल्लाह दिइन्, पढ्न नपाएकालाई पढाउने। त्यसपछि महेन्द्रले आदेश दिए–‘पढाऊ।’

राजाको आदेशपछि भद्रकुमारीले देशका विभिन्न जिल्लाबाट २५ जना गरिब, विपन्न, पिछडिएका, दलित, जनजाति परिवारका बालबालिका काठमाडौँ ल्याइन्।

वि.स.२०२२ सालमा २५ जना बालबालिका ल्याएर काठमाडौँ-१० धोबी खोला किनारमा बसालिन्। त्यहाँ उनले जग्गा भाडामा लिएकी थिइन्।

बालबालिकालाई पढाउने अरू उपाय भद्रकुमारीसँग थिएन। उनले जग्गा लिजमा ल्याइन् र पशुपालन गरिन्। गाई, बंगुर, कुखुरा, माछा पालिन्। त्यसबाट हुने आम्दानीले उनले बालबालिका पढाइन्।

भद्रकुमारीले बालबालिका ल्याएर पढाउन सुरु गर्दा पञ्चायत व्यवस्था थियो। २०४७ सालमा पञ्चायत व्यवस्था ढल्यो। तर उनको विपन्न, दलित तथा पिछडिएका बालबालिका पढाउने अभियान ढलेन।

२०४७ सालमा पञ्चायत व्यवस्थाको अन्त्यपछि बहुदलीय व्यवस्था आयो। देशको शासन व्यवस्थामाथि प्रश्न उठाउँदै २०५२ सालमा तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्‍यो। २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले शासन व्यवस्थामाथि ‘कु’ गरेर सत्ता आफ्नो हातमा लिए।

देशमा राजनीतिको ठुलो उचारचढाव भइरह्यो। तर भद्रकुमारी गलिनन्। कतै डगमगाइनन्। बरु उनमा सेवाभाव बढ्दै गयो। प्रत्येक वर्ष २५ जना बालबालिका ल्याएर निःशुल्क कक्षा १२ सम्म पढाउनेक्रम चलिरह्यो।

यसरी उनले पशु पालन गरेर बालबालिका पढाउनेक्रम २०६२ सम्म गरिन्। समय बदलिँदै थियो। धोबी खोलामा बाँसले बारेर बनाएका घरहरू, पक्की घरमा परिणत भए। पशुहरू कम हुँदै गए।

पढ्न आउने बालबालिकालाई उनले किताबका अक्षरसँगै अरू काम पनि सिकाउँथिन्। धेरैजसो पशुस्याहार उनै बालबालिकाले पढाइसँगसँगै गर्थे।

तर विस्तारै ती विद्यार्थीहरू स्कुल छोडेर पसल अनि होटेलहरूतिर काममा लागे।

एकदिन भद्रकुमारीले सबलाई बोलाएर सोधिन्- तिमीहरूले किन नपढेको?

उनीहरूले जवाफ दिए, ‘हावा पश्चिमबाट चलिरहेको छ, तपाईं पूर्वतिर हुनुहुन्छ। गाई पालेर पनि कोही पढ्छ?’

त्यसपछि उनको सोच पनि बदलियो। उनीहरूलाई पढाउने तरिका बदलियो।

के हो भद्रकुमारी सेवा सदन?

‘हावा पश्चिमबाट चलिरहेको, तपाईं पूर्वतिर हुनुहुन्छ’ भन्दै पढाउन ल्याएका विद्यार्थी लाखापाखा लागे। त्यसपछि नयाँ सोचका साथ भद्रकुमारीले सञ्चालन गरिन्, ‘भद्रकुमारी घले सेवा सदन।’

२०६२ सालमा सेवा सदन स्थापना गरेर उनले समाज सेवालाई बृहत रुपमा लगिन्। ‘उहाँको समाज सेवा गर्ने सोचले भद्रकुमारी सेवा सदन स्थापना भएको हो’, भद्रकुमारी सेवा सदनका अध्यक्ष दीपक घलेले भने।

सेवा सेदनको नामबाट अहिले दुई दर्जन बढी विभागहरू छन्। पहिले मेट्रिक पास भएका बालबालिकालाई ल्याएर कक्षा १२ सम्म पढाइन्थ्यो। अहिले भद्रकुमारी सेवा सदन नामबाट विद्यालय सञ्चालन गरेर नर्सरीदखि कक्षा १० सम्म पढाइन्छ।

यो विद्यालयमा हाल १६० जना विद्यार्थी छन्। जसमा २८ जना अनाथ बालबालिका छन्। उनीहरूलाई बस्ने, खाने सबै व्यवस्था भद्रकुमारी सेवा सदनले गर्दै आएको छ। बाँकी विद्यार्थीलाई न्यून शुल्कमा शिक्षा सदनमा पढाइने गरेको शिक्षा सदनका अध्यक्ष सुमन लामाले बताए।

शिक्षा सदनसँगै भद्रकुमारी सेवा सदनले छात्रावास सञ्चालन गरेको छ। जसमा ४७ जना विद्यार्थीहरु बस्दै आएका छन्। यस्तै सेवा सदनबाट जेष्ठ नागरिक सेवा केन्द्र, काठमाडौँ उपत्यका गुम्बा, निखिल ज्याेति आश्रम, उपभोक्ता तथा सहकारी, प्रौढ शिक्षालय, पुस्तकालय, संग्राहलय, आर्ट ग्यालरी, शिशु स्याहार, अनाथालय, राउटे समाज सञ्चालित छ।

भद्रकुमारी सेवा सदनबाट यी विभागहरू सञ्चालनका लागि ५ वटा भवन बनाइएका छन्।

२०२२ सालमा लिजमा ल्याएको जग्गा भद्रकुमारीले २०४२ सालमा खरिद गरेर भवन बनाएकी थिइन्।

यसमा राज्यको लगानी छैन। भद्रकुमारीले आफ्नो सम्पत्ति बेचेर यहाँ लगानी गरिन्। कुनै समय नर्सको जागिरे भद्रकुमारी २५ वर्ष पञ्चायत सदस्य भइन्। उनले जीवनमा कमाएको सबै सम्पत्ति यही सेवा सदनमा लागानी गरेको अध्यक्ष दीपक घले बताउँछन्।

के हो जग्गा विवाद ?

भद्रकुमारीले २०२२ सालमा काठमाडौँ-१० महादेवस्थानस्थित धोबी खोला छेउको जग्गा भाडामा लिएकी हुन्। जग्गा स्थानीय हिरामान महर्जनको थियो। भद्रकुमारीले जग्गा लिजमा ल्याएर पशुपालन गर्दै अनाथ, विपन्न, पिछडिएका, दलित, जनजातिका छोराछोरी पढाइन्।

उनले त्यसपछि २०४२ सालमा भोगचलन गरेको जग्गा आफैँले किनिन्। हिरामानसँगै केही र अन्य व्यक्तिसँग पनि जग्गा किनिन्। जग्गा किन्दा नम्बरी जग्गा नभएको थाहा भयो। पछि छुट जग्गाको रुपमा त्यसलाई भद्रकुमारीले २०६२ सालमा दर्ता प्रक्रिया थालिन्।

मालपोत कार्यालयमा प्रक्रिया पनि पूरा भयो। जग्गा नापजाँच भयो। कित्ता नम्बर छुट्याइयो। ५ रोपनी १२ आना जग्गा भद्रकुमारीको भयो। जग्गा छुट्याए पनि मालपोत कार्यालयबाट लालपुर्जा (जग्गाधनी प्रमाणपत्र) मिलेन।

सरकारले तत्काल लालपुर्जा वितरण रोक लगाएको थियो।

‘त्योबेला सरकारले जग्गा वितरण नगर्ने भने भनेपछि नापजाँच भएको जग्गा भद्रकुमारी दिदीको नाममा भएन,’ सेवा सदनका अध्यक्ष दीपक घलेले भने, ‘नापजाँच भएर ठिक्क भएको जग्गा रोक्का भएपछि उहाँको नाममा नभएको हो।’

२०६२ पछि भद्रकुमारीले २०७० र ७२ मा समेत जग्गाको लालपुर्जा बनाउने प्रक्रिया अगाडि बढाइन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन दिइन्। तर केही जोर चलेन।

लालपुर्जा नभएको भन्दै काठमाडौँ महानगरले यही साउन ३ गते सेवा सदनमा डोजर चलायो। आफ्नै नामको जग्गासरी महानगरले डोजर चलाएपछि उच्च अदालतले त्यसमा रोक लगाइदिएको छ।

तर त्यसअघि नै घलेले जग्गाजमिन सबै लैजान र बरू ती भवनहरू नभत्काएर नगरपालिकाले नै कुनै कामका लागि प्रयोग गर्न सुझाएकी थिइन्। तर बालेनले सुनेनन्।

छुट जग्गामा बनेको घरमा महानगरले डोजर जबरजस्ती चलाएको अध्यक्ष घलेले बताए।

‘काठमाडौँ महानगरको जग्गा पनि होइन। छुट जग्गालाई नापजाँच गरिएको छ। मात्र लालपुर्जा हातमा नपरेको हो,’ घलेले भने, ‘छुट जग्गामा महानगरले बलपूर्वक डोजर चलायो। यहाँ भएकालाई बिचल्ली पार्नेभयो।’

यसअघि कहिल्यै पनि काठमाडौँ महानगरले भद्रकुमारी सेवा सदनको जग्गाका विषयमा प्रश्न उठाएको थिएन। बरु सहयोग गरेको थियो। २०६७ सालमा भद्रकुमारीले अस्पताल सञ्चालन गर्न अनुमति मागेकोमा १० नम्बर वडा कार्यालयले अनुमति दिएको थियो।

यसअघि २०४५ सालमा तत्कालीन नगर पञ्चायतले बंगुर पालन गर्नका लागि टहरा बनाउन त्यहाँ अनुमति दिएको थियो।

तर यस पटक काठमाडौँका स्वतन्त्र रुपमा विजयी भएका मेयर बालेनले भद्रकुमारी सेवा सदनको जग्गा सरकारी भएको भन्दै त्यहाँ बनेका भवन भत्काउन थालेको छ। भद्रकुमारीले भवन नभत्काउन र उक्त सबै सम्पत्ति महानगरलाई हस्तान्तरण गर्छु भन्दासमेत बालेनले भवन भत्काएर पार्क बनाउने योजना बनाएका छन्।

सेवा सदनको विषयमा अर्को मुद्दा सर्वोच्चमा पनि छ। सर्वोच्चमा विचाराधीन मुद्दा रहेकै समयमा बालेनले भवनमा डोजर चलाएका हुन्। उक्त जग्गाका विषयमा त्यहीँ आश्रय लिएकी शान्ति चौधरीले सर्वोच्चमा मुद्दा दर्ता गराएकी छिन्।

को हुन् भद्रकुमारी?

नेपाली राजनीति र सामाजिक क्षेत्रमा भद्रकुमारी घले परिचित नाम हो। राजनीतिज्ञदेखि समाजसेवी र कला, साहित्यमा नाम कमाएकी बनाएकी भद्रकुमारी ९३ वर्षे उमेरमा पनि उत्तिकै सक्रिय जीवन बाँचिरहेकी छिन्।

अहिले पनि अध्ययन, लेखनमा सक्रिय उनले केही समय पहिले बिएल नेपाली सेवासँग भनेकी थिइन्, ‘म पुस्तककै कारण चर्चित छु। त्यसैले त मैले एकैपटक १५१ पुस्तक विमोचन गरेँ, जुन मेरो लागि अविस्मरणीय क्षण बन्यो।’

झन्डै तीन सय किताब लेखिसकेकी उनी लेखाइमा मात्र होइन, चित्र कोर्न पनि उत्तिकै सिपालु छिन्। उनीसँग अहिले पनि ६०–७० वर्षअघिका चित्रहरू छन्।

वि.स. १९८८ मा काठमाडौँको डिल्ली बजारमा जन्मिएकी उनको पुर्ख्यौली घर ओखलढुङ्गा हो। अहिंसावादी नेता महात्मा गान्धीको शिक्षा लिएकी उनी नर्स पनि थिइन्।

पञ्चायत व्यवस्थामा २५ वर्ष (पाँच पटक) राष्ट्रिय पञ्चायत सदस्य भइन्। उनी चार पटक महिला संगठनको सभापति भइन् र दुई पटक राज्यमन्त्री भइन्।

हक्की स्वभावकी भद्रकुमारीले राष्ट्रिय पञ्चायतको बैठकमा राजाले एउटा विधानमा लालमोहर लगाएपछि त्यसलाई च्यातेकी थिइन्। र, उनलाई जेल सयाज पनि सुनाइयो।

‘लोग्ने मान्छे र आइमाइ मान्छेको पक्षपात गर्ने विधान चाहिँदैन भनेर लालमोहर लगाएको ऐन फ्याँकिदिएँ, राजाले लालमोहर लाएको चिजमा विरोध गर्न नहुने रहेछ,’ उनले बिएल नेपाली सेवासँग भनेकी थिइन्, ‘त्यसैले मलाई जेल हाल्ने कुरा भयो। तर रानीको कारण मलाई जेल सजाय भएन।’


चित्त नबुझेपछि राजाको लालमोहर नै मिल्काइदिइन् (भिडियोसहित)

प्रकाशित मिति: : 2023-07-30 20:30:00

प्रतिकृया दिनुहोस्