सेतै फुलेकाे कपाल। चाउरिएका अनुहारको छाला। उमेरले ९ दशक कटिन् तर पनि जोशिलो छ उनको आवाज। बुढ्यौलीले छोएकी उनलाई सबैले सोध्ने गरेको प्रश्न हो, ‘बूढी भइसक्नुभयो तर पनि कहाँबाट आउँछ तपाईंमा यतिधेरै जोश?’ ९२ वर्षकी भद्रकुमारी घले हाँस्दै जवाफ दिन्छिन्, ‘यो सबै भगवानको देन हो।’
दिनकाे एउटा कविता, भजन र निबन्ध लेख्नु उनकाे दैनिकी हाे। जसका लागि उनले रजिष्टर मात्र हाेइन, समय नै छुट्याएकी छन्।
अपरान्ह ४ बजे ओछ्यानमा पुग्ने उनी रातको ११ बजे उठ्छिन्, अनि एउटा रजिष्टरमा बुढ्यौलीका गन्थन र अर्काे रजिष्टरमा देश तथा विदेशमा घटेका घटनाबारे लेख्न थाल्छिन्। त्यतिकैमा खुसी छिन्, भद्रकुमारी।
दिउँसो आफूलाई भेट्न आउने मान्छेका कारण लेख्न फुर्सद नमिल्ने बताउने भद्रले २९२ वटा पुस्तक लेखिसकेकी छिन्।
सानैदेखि पुस्तक लेख्नमा पोख्त रहेकी उनलाई थाहै छैन उनले पुस्तकमा के–के लेखेकी छन्। ‘थोरै पुस्तक लेखेको भए पो पुस्तकको नाम थाहा हुन्छ’ हाँस्दै उनले भनिन्, ‘मलाई याद छैन मैले लेखेकाे सबै पुस्तकको नाम तर मेरी आमाको लागि लेखेको पुस्तक ‘सिन्धुलीकी शेरनी’ मेरो सबैभन्दा मनपर्ने किताब हो।’
झन्डै तीन सय किताब लेखिसकेकी उनी लेखाइमा मात्र हाेइन, चित्र कोर्नुमा पनि उत्तिकै सिपालु छिन्। त्यसैले त उनीसँग अहिले पनि ६०–७० वर्षअघिका चित्रहरु छन्। जसलाई उनले प्राकृतिक रङहरुले रङ्गाएकी छिन्।
‘मसँग पुराना चित्रहरु छन्, जसलाई मैले बेसार, रातो माटो र टुक्की बत्तीको ध्वाँसोबाट बनाएकी हुँ’, उनले भनिन्, ‘ती चित्रहरु अहिले पनि ज्यूँका त्यूँ छ। न कुनै दाग छ, न त कुनै खोट।’
उनले काेरेकाे चित्रलाई सर्वसाधारणले मात्र हाेइन, राजाहरूले समेत मन पराउने गर्थे। उनकाे चित्र प्रदर्शनीमा मुख्य अतिथि नै राजा महेन्द्र शाह, बिरेन्द्र हुने गर्थे। ‘मेराे चित्रकाे विमाेचन गर्न राजा महेन्द्र आउनुभयाे, राजा बिरेन्द्र पनि आउनुभयाे’। तर मेरो चित्रको अन्तिम विमोचन रानी कोमलले गर्नुभयो’, उनले भनिन्, ‘राज परिवारसँग मेराे राम्रै सम्बन्ध थियाे।’
आफ्नो जिउने सहारा चित्र र पुस्तकलाई बताउने उनी भन्छिन्, ‘म पुस्तककै कारण चर्चित छु। त्यसैले त मैले एकैपटक १५१ पुस्तक विमोचन गरेँ, जुन मेरो लागि अविस्मरणीय क्षण बन्यो।’
विपन्न परिवारमा जन्मिएकी भद्रका लागि सबैभन्दा खुसीको पल नै आफ्नो पुस्तक विमोचन गर्दा लागेको उनले बताइन्। ‘म जस्तो गरिब परिवारबाट आएकी साधारण महिलाको लागि त्योभन्दा ठुलो खुसीको कुरा के हुन सक्छ र?’ उनले भनिन्, ‘त्यो दिन म धेरै खुसी थिएँ।’
भद्रकुमारीको बाल्यकाल
वि.स. १९८८ मा काठमाडौंको डिल्ली बजारमा उनी जन्मिइन्। सामान्य परिवारमा जन्मिएकी उनी दुई वर्षपछि पुर्ख्यौली गाउँ ओखलढुङ्गा पुगिन्।
‘सन्तान धेरै, कमाइ थोरै भयो, मेराे बा महिनामा ३० रूपैयाँ कमाउनुहुन्थ्याे। खान लगाउन मुस्किल पर्याे’, विगत सम्झँदै उनले भनिन्, ‘त्यसैले मलाई बाआमाले गाउँमा पुर्याइदिनुभयाे।’
दूधे बालिकामै आमाकाे काखबाट अलग्गिएकी भद्र गाउँमा बस्न थालिन्। घरको कामकाजमा हजुरआमालाई सघाउन थालिन्। चार–पाँच वर्षकाे उमेरमा त उनी घाँसदाउरा गर्न सिपालु भइसकेकी थिइन्।
घरधन्दा गर्नमा नै रमाइरहेकी भद्रलाई एकदिन उनका हजुरबाले भन्नुभयाे, ‘अङ्ग्रेजका छोरी यति पढेका हुन्छन्, उत्ति पढेका हुन्छन्!’
पहिलो विश्वयुद्धका योद्धा हजुरबाले त्यसाे भनिरहँदा उनमा पनि जोश आयो पढेर ठुलो मान्छे बन्ने। त्यसैले उनले आफू पढेकाे कुरा कल्पिन थालिन्।
‘भगवानले तँ साेच म पुरा गरिदिन्छु’ भनेझैँ उनी पाँच वर्षकाे उमेरमा मावली दाेखला गइन्।
कारण थियो, फुपूको विवाह। ‘मेरो मामा र फुपूको विवाह भयो, त्यसैले फुपूको साथी बनेर मामाघर पुगेँ’, उनले सम्झिइन्।
मामाघर पुगेकी उनलाई त्यहाँ कुनै दुखै थिएन। न घाँस काट्नु पर्थ्यो न त गाईवस्तु नै चराउनु पर्थ्यो। सात गाउँका मुखिया थिए, उनका मावली।
‘मामाघर स्वर्ग जस्तो थियो, कुनै दुख थिएन। काम गर्ने कामदार थिए’, मामाघरमा बिताएका दिनलाई स्मरण गर्दै उनले भनिन्, ‘मुखियाका छोराछोरीको सेवा गर्नका लागि पनि कामदारका छोराछोरी राखिएको थियो। मलाई त्यहाँ कुनै दुख नै थिएन।’
मामाघरमा मामाहरूले किताब पढेको देख्दा उनलाई खुबै चासो लाग्थ्यो, त्यसैले उनी मामाले पढेको कुरा ध्यान दिएर सुन्ने गर्थिन्।
किताबप्रतिको उनको लगाव देखेर मामाहरुले उनलाई पढाउन थाले। मावली बस्दाबस्दै उनले ‘बारखरी’ लेख्न र पढ्न जानिसकेकी थिइन्।
साता दिनमा नै पढ्न जानेकी उनले पहिलो पटक 'दुर्गाकवच' र 'बुद्धिचानक' पढेर सुनाएकी थिइन्। मामाहरुबाट पढ्न सिकेकी उनले पछि मामाहरुलाई पढाउन थालिन्। ‘म पढ्न जान्ने भइसकेपछि त मैले मामाहरुलाई नै पढाएँ’, उनी भन्छन्।
मावलीमा पढ्न जानेकी उनी सात वर्षको उमेरमा ओखलढुङ्गा फर्किइन्।
दोलखाबाट फर्किएर ओखलढुङ्गा आएकी भद्र मात्र त्यस्ति केटी थिइन्, जो पढ्न सक्थिन्। त्यसैले त उनलाई चिठ्ठी लेख्न होस् या पढ्नका लागि नै किन नहोस् गाउँलेले बोलाउने गर्थे। झन स्वस्थानीको समयमा त उनलाई फुर्सद नै हुँदैन थियो। गाउँलेको घर चाहर्दै उनको दिन बित्थ्यो।
‘म बिहानदेखि बेलुकासम्म नै व्यस्त हुन्थेँ’, उनी भन्छिन्, ‘कसैले दही, चिउरा दिन्छु भनेर बोलाउँथे त कोहीले दुध भात दिन्छु भनेर फकाउनु हुन्थ्यो। त्यो समय मेरो खुब माग हुन्थ्यो।’ गाउँलेले खानेकुरा दिएर बोलाउँदा उनी पनि मख्ख हुँदै उनीहरुको काम गरिदिन्थिन्।
गाउँले सबैले भद्रकुमारी पढ्नमा जान्ने छिन् भनिरहँदा उनमा थप जाँगर आयो, अझै पढेर नाम कमाउने। त्यसैले उनले भारत जाने निधो गरिन्।
उनको माइला बा भारतको गोरखपुरमा बस्थे। त्यहाँ नै आफूले पढ्न पाउँछु भनेर उनी ओखलढुङ्गाबाट गोरखपुर पुगिन्। नभन्दै उनले गान्धी विद्यापाठबाट औपचारिक शिक्षा लिन थालिन्। छोरी पढाउनु हुँदैन भन्ने देशमा उनी एक उदाहरण बनेर देखाइन्।
भारतमा पढ्दै गरेकी उनी नेपालमा पद्मकन्या पाठशाला खुलेपछि उनी गोरखपुरबाट नेपाल फर्किइन्।
ओखलढुङ्गाबाट काठमाडौंसम्मको यात्रा
भारतबाट नेपाल फर्किएकी उनले काठमाडौंमा पढ्ने इच्छा गरिन्। अनि आमा भक्तकुमारीलाई काठमाडौं गएर पढ्ने प्रस्ताव राखिन्।
आमाले पनि उनलाई काठमाडौंमा पढाउने निर्णय गरिन्। ‘त्यो बेलामा गाडी चल्दैन थियो, तर काठमाडौं आएर पढ्नु मेरो इच्छा थियो’, विगतलाई सम्झँदै उनले बिएल नेपाली सेवासँग भनिन्, ‘अनि हिँड्दै काठमाडौं आएँ।’
हिँडेको ९ दिनपछि काठमाडौं आएकी भद्र पद्मकन्या स्कुलमा भर्ना भइन्। कक्षा तीनमा पढ्दै गरेकी भद्रले एकदिन सुनिन्, ‘पाँच वर्षमा म्याट्रिक!’
म्याट्रिक भनेको नबुझेकी भद्रले हजुरबालाई साेधिन् अनि बल्ल थाहा पाइन्, म्याट्रिक भनेको त नेपाल सरकारले भारत लगेर पाँच वर्ष पढाउनु रहेछ।
हजुरबाको कुरा सुनेर खुसी भएकी उनले हजुरबालाई निवेदन लेख्न लगाएर छात्रवृत्तिमा पढ्न भारत जाने तयारीमा लागिन्। नभन्दै छात्रवृत्तिमा उनको नाम पनि निस्कियो।
विनिता (म्याट्रिक) पढ्नका लागि भारत गइन्
छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी उनी विनिता (म्याट्रिक) पढ्नका लागि भारत गइन्।
भारतको बर्धा पुगेपछि कहिल्यै नदेखेकाे किताबहरु देखेर उनी छक्क परिन्। पढ्नका लगि भारत गएकी उनले त्यहीँ कला, साहित्य, नाटक र चित्रकलाको ज्ञान लिइन्।
स्कुलमा साथीहरुले कथा, कविता सुनाइरहँदा उनी भने नाटक देखाउने गर्थिन्। जुन नाटक देखेर सबैले उनकाे प्रशंसा गर्थे।
भारतमा पढ्न गएकी उनलाई पत्तै भएन कसरी बित्यो पाँच वर्ष। म्याट्रिक पुरा गरेर नेपाल फर्किएकी उनी फेरि नौ महिनाको नर्सिङ पढ्न मध्य भारत पुगिन्।
नर्सिङ कोर्स पुरा गरेपछि भारतबाट जनकपुर फर्किएकी भद्रले जानकी पब्लिक अस्पतालमा काम सुरु गरिन्। जहाँबाट उनले तलब स्वरूप भारु ७५ रुपैयाँ पाउने गर्थिन्।
जनकपुरमा नर्सिङ सेवा सुरु गरेकी उनी उच्च शिक्षा हासिल गर्न बनारस गइन्।
पढ्नका लागि बनारस गएकी उनी एक महिनाको बिदामा घर आइन्। घर फर्किएर आएकी भद्रलाई आमाले अञ्चलाधीशसँग भेट्न सुझाव दिइन्।
आमाको कुरा सुनेर उनी तत्कालीन अञ्चलाधीश दिलबहादुर श्रेष्ठलाई भेट्न गइन्। अञ्चलाधीश भेट्न पुगेकी उनलाई श्रेष्ठले अविर लगाइदिएर महिला संघको सभापति बनाइदिए।
‘हाम्रो देशमा भद्रकुमारी जस्ती आँटिली महिला चाहिन्छ भन्दै मलाई अञ्चलाधीशले सभापति बनाइदिनुभयो’, ६ दशकअघिको कुरा सम्झँदै उनले भनिन्, ‘अनि मलाई ७५ जिल्लाबाट नै म जस्ती बोल्ने महिलाको बारेमा पत्ता लगाउन आदेश दिनुभयो।’
नभन्दै उनले एक महिनामै दिएको जिम्मेवारी पुरा गरिन् अनि पुनः बनारस गइन्। बनारसबाट उच्च शिक्षा हासिल गर्न उनी सफल भइन्। विद्यापीठबाट शास्त्री उत्तीर्ण गरेपछि उनी नेपाल फर्किन्।
भद्रको राजनीति यात्रा
पढाइ सकाएर नेपाल आएकी उनी पाँच पटक माननीय भइन्। उनी चार पटक महिला संगठनको सभापति भइन् र एक पटक श्रम तथा समाज कल्याण राज्यमन्त्री भइन्। काम गर्नमा चासो राख्ने उनी काम नगर्नेलाई थकाउने समेत गर्थिन्।
सानैदेखि निडर स्वभावकी उनी राजासँग पनि डराउँदिन थिइन्। राष्ट्रिय पञ्चायतको बैठकमा राजाले लालमोहर लगाएको कुरामा विरोध गरेपछि उनलाई जेल हाल्नेसमेत कुरा चल्याे।
‘लोग्ने मान्छे र आइमाइ मान्छेको पक्षपात गर्ने विधान चाहिँदैन भनेर लालमोहर लगाएको ऐन फ्याँकिदिएँ, राजाले लालमोहर लाएको चिजमा विरोध गर्न नहुने रहेछ। त्यसैले मलाई जेल हाल्ने कुरा भयो’, राजा महेन्द्रसँग भएको विवादबारे उनले भनिन्, ‘मलाई राजा महेन्द्रले जेल हाल्ने सोचिसक्नु भएको थियो, तर रानीको कारण मलाई जेल सजाय भएन।’
रानीले राजासक्षम बिन्ती बिसाउँदै भनेको कुरा उनी सम्झिन्छिन्, ‘भद्रले राजाको विरोध होइन लोग्ने मान्छे र आइमाइ मान्छेबीच भएको विभेदको विरोध गरेको हो। रानीको कुरा सुनेपछि बल्ल मलाई राजाले कुनै सजाय दिनुभएन।’
राजाले जेल हाल्छु भन्दासमेत नडराएकी उनीसँग एउटा नमिठो अनुभव छ। जसलाई सम्झदा उनी भावुक हुन्छिन्।
तीन दिदीबहिनीमध्येकी उनी माइली छोरी हुन्। जसले कान्छा भाइलाई निकै माया गर्थिन्।
झण्डै ८ दशकअघि उनी भाइसँग पढ्नका लागि बनारस गएकी थिइन्। स्कुलमा पढ्दै गरेकी उनले भाइ लडेको खबर पाइन्। भाइको कुरा सुन्नासाथ उनी हतारिँदै घर आइन्। तर दुर्भाग्यबस भाइले संसार त्यागिसकेका थिए।
‘हामी दिदीबहिनीहरुका लागि तिहारको मुखमा दाजुभाइ गुमाउनु जस्तो नमिठो क्षण के हुन सक्छ होला र!’ भावुक हुँदै उनले भनिन्, ‘मेरो भाइ हामीलाई लक्ष्मी पूजाको दिन छोडेर गयो। मेरो लागि त्योभन्दा नराम्रो दिन कुनै भएन।’
समाजसेवी बन्ने प्रेरणा महात्मा गान्धीबाट मिल्यो
कुरा २०२४ सालको हो। उच्च शिक्षा हासिल गरेकी भद्रले समाजसेवा गर्ने निधो गरिन्।
नभन्दै उनले २५ परिवारका छोराछोरी पढाउन भनेर काठमाडौं ल्याइन्। त्यसका लागि उनले चाबहिलको धोबी खोलामा जग्गा भाडामा लिइन्।
‘विभिन्न जिल्लाहरुबाट ल्याएका ती बालबालिकाहरुलाई पढाउनका लागि मैले जग्गा भाडामा लिएर पाँच हजार वटा सुँगुर, पाँच हजार वटा कुखुरा, पाँच हजार वटै माछा र ४० वटा गाई पालेको थिएँ’, उनले भनिन्, ‘तर विस्तारै उनीहरु पढ्न छाडेर पसलमा काम गर्न थाले।’
आफूले ल्याएका केटाकेटीहरुले पढ्नकाे सट्टा अरूकाे पसलमा काम गरेकाे देखेर भद्रले सेमिनार गरेर उनीहरुलाई सोधिन्, ‘तिमीहरु किन नपढेकाे?’
जवाफमा उनलाई ती केटाकेटीहरुले भने, ‘हावा पश्चिमबाट चलिरहेको छ, तपाईं पूर्वतिर हुनुहुन्छ। गाईवस्तु पालेर पनि कोही पढ्छ?’
बालबालिकाको कुरा सुनेर उनले सबैलाई आफूबाट लाखापाखा लगाइन्। अनि आफ्नै ‘भद्रकुमारी घले सेवा सदन’ खोलिन्। जहाँ उनले आफूले कोरेका चित्र र आफैँले लेखेका पुस्तकहरु सजाएर राखेकी छिन्।
त्यतिमात्र होइन, उनले त्यही सदनमा स्कुल, अस्पताललगायत ज्येष्ठ नागरिक आश्रमसमेत बनाएकी छिन्। उनी भन्छिन्, ‘बूढाबूढीलाई पनि पालेको छु, यो सबै सेवा गर्ने प्रेरण महात्मा गान्धीबाट नै मिल्यो।’
भारतमा पढ्न जाँदा उनले देखेकी थिइन्, धोती लगाएका बूढा मान्छेले भाषण दिएर मानवको सेवा गरेको। त्यही देखेर उनमा पनि मानव सेवा गर्ने सोच आएको भद्र बताउँछिन्।
जीवनभर मानव सेवा र समाज सेवामा लागेकी उनले विवाह गरिनन्। भन्छिन्, ‘विवाहबारे सोच्ने फुर्सद पाइनँ।’
भद्रकुमारीले किन गरिनन् विवाह?
९० वर्ष पार गरिसकेकी उनी एक्ली छिन् तर सन्तृष्ट छिन्। उनलाई विवाह नगरेकोमा कुनै पछुतो नै छैन।
‘अहिले विवाह गरेर सन्तान भएकाहरुलाई सुख छ र?’ विवाह गरेका मानिसलाई प्रश्न गर्दै उनी भन्छिन्, ‘बिहे गर्नेलाई केही सुख छैन। छोराछोरीले दुख दिन्छन्। तर विवाह नगरिकन बसेकी म खुसी छु, मलाई कसैले दुख दिँदैन।’
घले गुरुङको प्रचलनअनुसार घरकी माइला छोरा र माइली छोरीले विवाह गर्नु हुँदैन भन्दै उनले भनिन्, ‘मैले त्यो चलनलाई पछ्याएकी होइन, म आफैँलाई विवाह गर्न मन नलागेको हो।’
आफू युवती हुँदासमेत कुनै केटामा चासो नलागेको उनले बताइन्। ‘मलाई कुनै केटा नै मन परेन, कसैको आँखा नराम्रो, कसैको नाक नै बाङ्गो’ ठट्यौली पारामा उनले भनिन्, ‘मैले मेरो लायकको केटा भेटिनँ। त्यसैले विवाह नै गरिनँ।’
हँसिली स्वभावकी भद्र नयाँ युवा पुस्तालाई एउटै सुझाव दिन चाहन्छिन्, ‘मेहनत गर्नुपर्छ, कहिले हार हुँदैन। आफूले कमाएका पैसामध्ये केही बचत गर्नुपर्छ, किनकी बुढेकालमा कोही पनि आफ्नो हुँदैन।’