काँग्रेसमा तरंग ल्याएका महामन्त्रीका प्रस्तावहरू

‘एक्लै हिँड्ने’ गगन र विश्वप्रकाशको ‘१, २, ३, ४’

Break n Links
Break n Links

दुईजना महामन्त्रीहरूको प्रस्ताव पारित गर्न नेताहरूबीच कुरा नमिलेपछि सारिएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आइतबार फेरि बस्दैछ। तर दुईजना महामन्त्रीहरूको प्रस्तावमा भने अझै सहमति जुटेको छैन। 

गत साता सुरु भएको काँग्रेस बैठकले पारित गर्नुपर्ने भन्दै महामन्त्री गगन थापाले यसअघि नै प्रस्ताव दर्ता गराइसकेका थिए। त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावले नेपाली काँग्रेस झन तरंगित भएको छ। 

गत फागुनमा भएको नेपाली काँग्रेसको महासमिति बैठकमै गगन थापाले ‘निर्वाचनपूर्व गठबन्धन नगर्ने’ प्रस्ताव गरेका थिए। महासमितिले त्यो प्रस्ताव पारित गरे पनि केन्द्रीय समितिले अनुमोदन गर्न बाँकी छ। यद्यपि नेपाली काँग्रेसको विधानअनुसार महासमिति बैठक भनेको केन्द्रीय समितिलाई समेत निर्देशन दिने अधिकारसम्पन्न पार्टीको सर्वोच्च निकाय हो। त्यो बेला पनि लामो विवादका बीच पार्टी सभापति शेरबहादुर देउवा केन्द्रीय समितिले अनुमोदन गर्नेगरी गगनको प्रस्ताव मान्न तयार भएका थिए। 

के हो महामन्त्री शर्माको ‘१, २, ३, ४’?

अहिलेको केन्द्रीय समिति बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका नेताहरूले लिने पदहरूको अवधि र अवसरका बारेमा नयाँ प्रस्ताव ल्याएका छन्। उनको प्रस्तावमा पार्टीका तर्फबाट कुनै नेता एक राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई पटक र तीन कार्यकालसम्म मन्त्री हुन पाउने व्यवस्था गरिएको छ। त्यस्तै एकजना व्यक्ति चार कार्यकालभन्दा धेरैपटक सांसद हुन नपाइने नीति अपनाउन पनि उनले पार्टीलाई प्रस्ताव गरेका छन्। उनको यो प्रस्तावलाई अहिले नेपाली काँग्रेसभित्र ‘१, २, ३, ४’ भनेर छलफलमा राखिएको छ। नेताहरूले पनि यसमा बहस गरिरहेका छन्। 

यद्यपि उनको प्रतिवेदन पनि महामसिति बैठकले नै पारित गरेको हो। तर अहिले केन्द्रीय समितिको बैठकमा उनले यी कुराहरूलाई थपेर प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन्। दुई महामन्त्रीका छुट्टाछुट्टै प्रस्तावहरूमा सहमति जुटाउनका लागि पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा शीर्ष तहका नेताहरू पटक पटक छलफल गरेका छन्। तर अझै सबै सहमत भइसकेका छैनन्। 

काँग्रेसका पदाधिकारी तथा शीर्ष नेताहरू शनिबार बिहान पनि देउवा निवास बुढानीलकण्ठमा बसेका थिए। यो बसाईंमा पनि सहमति भइनसकेको र आइतबार बिहानसम्ममा सहमति जुटाउने मौखिक सहमति भयो। नेताहरूका अनुसार आइतबार दिउँसो १ बजेसम्ममा प्रतिवेदन पारित गर्नेबारे नेताहरूबीच सहमति भइसक्नेछ। यसअघि स्थगित गरिएको केन्द्रीय समितिको बैठक आइतबार ३ बजेका लागि बोलाइएको छ। दिउँसोसम्ममा सहमति भएमा त्यसपछि बस्ने बैठकले महामन्त्रीका प्रस्तावहरू पारित गर्नेछ। 

महामन्त्री विश्वप्रकाश शर्माले भने आफूले राखेको प्रस्ताव केन्द्रीय समितिले पारित गर्ने विश्वास व्यक्त गरेका छन्। उनले त्यसमा आफू ढुक्क रहेको र आफूले आम नागरिक अनि पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूको भावना बोलेको पनि दाबी गरे। 

शनिबार काठमाडौंमा भएको एउटा कार्यक्रममा बोल्दै उनले भने ‘यो एउटा साझा दृष्टिकोण र सहमतिबाटै पारित हुनेछ भन्नेमा म विश्वस्त छु। त्यो हुनैपर्छ। मैले त्यसमा राजनीतिबाट निराश भएका आम नागरिकको भावना समेटेको छु।’ 

आफूले राखेको प्रस्तावलाई काँग्रेस रुपान्तरणको एउटा सुरुवात भन्दै पार्टी रुपान्तरका अझ धेरै मुद्दाहरू सम्बोधन गर्न बाँकी रहेको पनि दाबी बताए। 

‘यो देशमा प्रधानमन्त्री उही अनुहारहरू भइरहँदा नागरिकलाई ताजा नेतृत्व कहिले आउँछ भन्ने चासो छ। त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु। कुनै पनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटकमात्रै बनेर शीतलनिवासबाट वडा शीतल मुद्रामा बिदा भएर जानुपर्छ’, शर्माले भनेका छन् ‘प्रधानमन्त्री जतिसुकै लोकप्रिय हुन्, जतिसुकै जनताको रुवावासी चलोस्, तपाईं फेरि बन्नुपर्छ भनेर जनताले दबाब दिऊन्, तर दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक बन्न कसैले पनि पाउनु हुँदैन। अहिले काँग्रेसमा बहस भइरहेको १, २, ३, ४ भन्ने सुन्नुभएको होला। त्यो भनेको यस्तै पोलिसी लिनुपर्छ भन्ने हो।’ 

यसलाई शर्माले ‘एक्जिट पोलिसी’ भनेर ब्याख्या गरेका छन्। 

थापाको प्रस्तावमा के छ? 

तल्लो तहमा नेपाली काँग्रेसको जनाधार र पार्टीप्रतिको विश्वास खस्किदैं गएको भन्दै महासमितिको बैठकमा यसअघि नै थापाले निर्वाचनपूर्व गठबन्धन नगर्ने र पार्टीलाई एक्लै चुनाव जित्ने बनाउनका लागि सक्षम बनाउने प्रस्ताव गरेका थिए। 

आफूले प्रस्तुत गरेको प्रतिवेदनमा उनले लेखेका थिए- ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्नेछौं र हाम्रा मतदाताहरूलाई नेपाली काँग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं। हाम्रो आफ्नै संगठनलाई थप उर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली काँग्रेसले एक्लै बहुमत ल्याउनसक्ने पार्टीका रुपमा पुन:स्थापित गर्नेछौं।’ 

कतिपय नेताहरूले भने चुनावअघि गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयलाई नेपाली काँग्रेसले रणनीति बनाए पनि त्यसलाई नीतिकै रुपमा स्थापित गर्न नहुने बताउँछन्। 

२०७९ सालको निर्वाचनमा नेपाली काँग्रेसले नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी तथा जसपालगायतका पार्टीहरूसँग चुनावी गठबन्धन गरेको थियो। त्यो चुनावबाट नेपाली काँग्रेस अहिले संसदमा सबैभन्दा धेरै सांसद भएको पार्टी भएको छ। 

तर चुनावलगत्तै नेपाली काँग्रेस सत्ता नेतृत्व गर्नबाट चुक्यो। दोस्रो चरणमा माओवादी(पुष्पकमल दाहाल प्रचण्ड) नेतृत्वकै सरकारमा सामेल भयो र अहिले फेरि एमालेसँग मिलेर सत्ता साझेदारी गरिरहेको छ। 

‘एक्लै लडेर बहुमत ल्याउने कुरा अनि आफै चुनाव जित्न सक्षम बनाउने कुरा पार्टी, संगठन र राष्ट्रिय राजनीतिका लागि धेरै सकारात्मक कुरा हो। तर परिस्थितिहरू सधै एकनाशका हुँदैनन्। बहुदलीय राजनीतिक व्यवस्थामा परिस्थितिहरू बदलिइरहन्छन्’ काँग्रेसका एक पदाधिकारी भन्छन् ‘त्यसैले चुनाव अघि गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय पार्टीले अपनाउने रणनीति हुनसक्छ तर त्यसलाई नीतिकै रुपमा स्थापित गर्दा भोलि अप्ठ्यारो पर्नसक्छ कि भन्ने मत पनि छ।’ 

प्रकाशित मिति: : 2024-09-01 18:37:00

प्रतिकृया दिनुहोस्