अमेरिकामा १६,७४२ नेपाली विद्यार्थी, विदेशी विद्यार्थीको १०औं स्थानमा नेपाल

बिएल संवाददाता

वासिङ्टन डीसी
Break n Links
Break n Links

अमेरिकामा पढ्ने नेपाली विद्यार्थीको संख्या बढेर  १६ हजार सात सय ४२ पुगेको छ। नेपाली विद्यार्थीको संख्या १०.९ प्रतिशतले बढेर यो कीर्तिमानी आँकडा छोएको हो। यो संख्या अमेरिकामा रहेका कूल विदेशी विद्यार्थीको १.५ प्रतिशत हो । 

यो संख्यासँगै अमेरिकामा शिक्षा लिइरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्याको आधारमा नेपाल १०औं स्थानमा उक्लेको छ। संख्या र स्थानका आधारमा यो नै नेपाली विद्यार्थीको सबैभन्दा ठूलो संख्या र उच्चतम स्थान हो।गत वर्ष १५ हजार ९० नेपाली विद्यार्थीका साथ अमेरिकामा पढ्ने विदेशी विद्यार्थी संख्याको आधारमा नेपाल ११औं स्थानमा थियो ।  

यो तथ्याङ्क २०२४ को ओपन डोर्स प्रतिवेदनमार्फत् सार्वजनिक भएको हो। यो प्रतिवेदन अमेरिकी सरकारको अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जसम्बन्धी आधिकारिक प्रतिवेदन हो।

ओपन डोर्सका अनुसार अमेरिकामा सन् २०२३/२४ मा ११ लाख २६ हजार ६ सय ९० अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिका रोजका छन् । यो संख्यासँगै अमेरिका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शीर्षस्थ गन्तव्य बन्न पुगेको छ। यो वर्ष  अघिल्लो शैक्षिक वर्षको तुलनामा ७% वढी विदेशी विद्यार्थी अमेरिका आएका छन् ।

अमेरिकामा २००९ पछि पहिलो पटक भारत विदेशी विद्यार्थीको संख्याका आधारमा पहिलो स्थानमा पुगेको छ । यस वर्ष तीन लाख ३१ हवार ६ सय दुई भारतीय विद्यार्थीहरूले अमेरिका रोजेका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा २३% बढी हो । यो वर्ष संख्याको हिसाबले दोस्रो स्थानमा धकेलियो । यस वर्ष  अमेरिकामा दुवई लाख ७७ हजार तीन सय ९८ चिनिया विद्यार्थी अमेरिकामा अध्ययनरत् छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत कम हो । 

पछिल्ला केही वर्ष यता अमेरिकामा अध्ययनरत् नेपाली विद्यार्थीहरूको संख्या निरन्तर रूपमा बढिरहेको छ । अमेरिकामा अध्ययनरत धेरै नेपाली विद्यार्थीले मास्टर्स र पीएचडीका लागि गतिलै छात्रवृति पाउँदै भएकाले उत्तीर्ण प्रतिशत पनि उच्च रहेको छ । तर, चार वर्षे अन्डरग्राड प्रोग्रामका लागि भने पर्याप्त छात्रवृतिको अभावमा भनेजस्तो परिणाम आउन सकेको छैन। धेरैले बिचैमा पढाइ छोड्ने गरेको पाइन्छ ।

प्रकाशित मिति: : 2024-11-21 02:55:00

प्रतिकृया दिनुहोस्