लोकतन्त्र कि लुटतन्त्र! चुनाउ हो कि ‘आऊ अनि चुन’? यो कस्तो पर्व, यो कस्तो उत्सव? जहाँ पैसा, सत्ताको दुरुपयोग र असमानताको नाङ्गो नाच मञ्चन भइरहन्छ! चुनावको मूल उद्देश्य जनताको आवाजलाई शक्तिमा बदल्नु हो। तर, यहाँ त्यो आवाज पैसाको भारले दबाइएको छ। जसरी करोडौं रुपैयाँ बाँडिन्छ। मतदातालाई खरिद गर्न खोजिन्छ, अब भन्नोस्, यो कुनै उत्सवको संकेत हो? पक्कै होइन।
अहिले सबैतिर लोकतन्त्रको नाउँमा राज गर्नेहरूले ‘लोकतन्त्र’को खिल्ली उडाइरहेका छन्। सत्ताका लोभीहरूले लोकतन्त्रको आत्मालाई बेचिरहेका छन्।
बुधबार सम्पन्न भएको महाराष्ट्र विधानसभा निर्वाचनले भारतीय लोकतन्त्रमा गम्भीर प्रश्न खडा गरेको छ। सामान्यतया निर्वाचनलाई लोकतन्त्रको पर्व मान्ने गरिन्छ, तर अहिले यो पैसाको उत्सवजस्तो देखिएको छ।
सत्तारुढ दलहरूले पैसाको वर्षा गरी मतदाताहरूलाई प्रभावित गर्न खोजेको घटनाले निर्वाचनले लोकतान्त्रिक मूल्यमा ठूलो क्षति पुर्याएको देखिन्छ।
झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनकाअनुसार, भाजपाले उनको छविलाई बिगार्न पाँच सय करोड खर्च गरेको दाबी गरेका छन्। तर महाराष्ट्र राज्यमा यो रकम दुई हजार करोडभन्दा माथि पुगेको हुनसक्ने अड्कल गरिएको छ।
मतदानको अघिल्लो दिन मुम्बई, विरार–नालासोपारा, नाशिक र छत्रपति संभाजीनगरजस्ता क्षेत्रमा करोडौँ रुपैयाँ भेटिएको थियो, जुन भाजपाका सदस्य र मुख्यमन्त्री एकनाथ शिन्दे समूहका कार्यकर्ताहरूले वितरण गरिरहेका थिए। मतदानको केही घण्टाअघि उम्मेदवार वा सत्तासीन दलका नेता–कार्यकर्ताको हातबाट फेला पर्दा पनि भारतीय निर्वाचन आयोगले कुनै ठोस कदम चालेन।
नालासोपारा क्षेत्रमा भाजपाका राष्ट्रिय महासचिव विनोद तावडे एक होटलमा पैसा बाँड्न लागेको आरोप लाग्दा पनि निर्वाचन आयोग समयमै कारबाही गर्न असफल भयो। यस्तै, सांगोलामा शिन्दे समूहका विधायकबाट १५ करोड रुपैयाँ बरामद भएपनि सम्बन्धित व्यक्तिहरूलाई कारबाही नगरी रकम फिर्ता गरिएको बताइएको छ। यसले प्रहरी र निर्वाचन आयोगप्रति गम्भीर शङ्का उत्पन्न गरेको छ।
निर्वाचनमा पैसाको प्रभाव मात्र नभई धर्म, जाति र साम्प्रदायिक विभाजनका मुद्दाहरू पनि प्रयोग गरिएको आरोप लगाइएको छ। मतदाता सूचीबाट लाखौँको नाम हटाइएको र चुनावमा तनाव सिर्जना गरी मतदातालाई प्रभावित पारिएको कुरा पनि सतहमा आएको छ।
देशका प्रधानमन्त्री, गृहमन्त्री र अन्य मुख्य नेताहरूले सरकारी स्रोतको दुरुपयोग गर्दै पन्ध्र दिनसम्म महाराष्ट्रमा डेरा जमाएको दृश्य लोकतन्त्रका लागि घातक भएको आलोचकहरू बताउँछन्। यस्तो गतिविधिले निर्वाचनमा सत्ताको दबाब स्पष्ट रूपमा देखिएको छ। तर, यी सम्पूर्ण दबाबका बाबजुद पनि महाराष्ट्रका जनताले सावधानीपूर्वक मतदान गरेका छन्।
निर्वाचनमा पैसाको प्रभुत्व र लोकतन्त्रको अपमानकाबीच पनि महाराष्ट्रको स्वाभिमान र लोकतान्त्रिक मूल्य सुरक्षित रहेको विश्वास गरिएको छ। यस चुनावले भारतीय लोकतन्त्रलाई गहिरो सोचविचार र सुधारको आवश्यकता भएको स्पष्ट रूपमा देखाएको छ।
(पत्रकार शाही, शिवसेना ‘उद्धव ठाकरे’ समर्थक हुन्।)