सुवास शर्मा
नेपालको प्रधानमन्त्री पद केवल एउटा औपचारिक हैसियत होइन, यो इतिहासको एउटा भारी बोकाइ हो। हरेक शासकले आफ्नो समय, आफ्नो परिस्थिति, र आफ्नै संघर्षसँगै यो पद सम्हालेका छन्। उमेर र अनुभव—यी दुईबीचको तानातानमा नेपालको प्रधानमन्त्रीहरूको यात्रा सजिलै देखिन्छ।
प्रधानमन्त्रीको कुर्सी सिंहदरबारको एउटा कुर्सी मात्र होइन, यो लाखौँ जनताको आशा, सपना र वेदनाको भार हो। यसमा बस्ने मानिस केवल आफ्नो दल वा परिवारको नेता हुँदैन, उनी इतिहासको एउटा "पात्र" बन्छन्।
नेपालले देखेका प्रधानमन्त्रीहरू कहिले जवान उमेरमै जिम्मेवारीमा पुगेका छन्, त कहिले जीवनको उत्तरार्धमा मात्रै देशको बागडोर सम्हालेका छन्। कतै अनुभवले त कतै युवाको जोशले नेतृत्वलाई उचाल्यो। तर प्रश्न एउटै छ-नेतृत्व उमेरको अंकले तय हुन्छ, कि जिम्मेवारी बोकेर हिँड्ने क्षमताले?
नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा ३१ वर्षकै उमेरमा सत्ताको शिखरमा पुगे। त्यो उमेर, जहाँ आजका युवाले अझै करियरको बाटो खोजिरहेका हुन्छन्, भीमसेनले भने राज्यकै जिम्मा काधमा बोक्दै नेपालको सार्वभौमिकताको रक्षा गरेका थिए। उनीबाट नेपाली राजनीतिमा "उमेर भन्दा जिम्मेवारी ठूलो हुन्छ" भन्ने पाठ सुरु हुन्छ।
नेपालका पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी ७३ वर्षको उमेरमा सिंहदरबार पुगे। उनको "जेष्ठ नागरिक भत्ता" जस्ता ऐतिहासिक निर्णयले आज पनि उनलाई “जनताको नेता” बनाएको छ। उनले प्रमाणित गरे बुढ्यौलीले सोच र भिजनलाई रोक्दैन, बरु जिम्मेवारीलाई गहिरो बनाउँछ।
गिरिजाप्रसाद कोइराला पहिलो पटक ६५ वर्षको उमेरमा प्रधानमन्त्री भए। जीवनको लामो यात्रापछि पाएको त्यो अवसरले उनलाई मुलुकको निर्णायक नेता बनायो। शान्ति प्रक्रिया, लोकतन्त्र र संस्थागत विकासमा उनको भूमिकाले देखाउँछ कि कहिलेकाहीँ बुढ्यौलीकै काँधमा ठूलो जिम्मेवारी टेकिन्छ।
सुशील कोइराला, जीवनभर संगठनमा होमिएका तर पद नचाहने नेताका रूपमा चिनिए। तर ७४ वर्षको उमेरमा प्रधानमन्त्री हुँदा उनले देखाए “सादगी, इमान र धैर्य पनि नेतृत्वका आधार हुन सक्छन्।” उनको शासन लामो भएन, तर उनको साधारण जीवनशैलीले राजनीतिलाई नैतिकताको पाठ दियो।
शेरबहादुर देउवा ४९ वर्षमा पहिलो पटक प्रधानमन्त्री बने। उनको करियर लामो संघर्ष र अनुभवको उपज थियो। तर उमेरले उनलाई स्थिरता दिन सकेन। उनको कार्यकाल सदैव उतारचढावले भरियो। तर, उनको जुझारुपन र निरन्तरता आज पनि नेपाली राजनीतिमा उपस्थित छ।
केपी शर्मा ओली ६३ वर्षमा प्रधानमन्त्री बने। दशकौं लामो जेलजीवन, विचारधारात्मक संघर्ष र पार्टीको भित्रि राजनीति छिचोलेर उनी सिंहदरबार पुगे। उनको उमेरले दिएको अनुभवले उनलाई राष्ट्रवादी छविमा चिनायो। भारतीय नाकाबन्दीको प्रतिकारमा उनले दिएको भाषण र निर्णयले जनताले उनलाई "साहसी" भनेर चिने। तर, त्यही उमेरले कहिलेकाहीँ लचकताभन्दा जिद्दीपन बढी ल्याएको आरोप पनि भोग्नु पर्यो। र आज इतिहासले केपी ओलीलाई राष्ट्रबादीबाट एकाएक अधिनायकवादी बनाएर कठोर सजाय दियो।
डा. बाबुराम भट्टराई ५७ वर्षमा प्रधानमन्त्री भए। बुद्धिजीवी छविको व्यक्ति, विद्रोही विचारधाराको अभियन्ता र योजनाकारका रूपमा उनको आगमनले नेपाललाई नयाँ खालको नेतृत्व देखायो। उनले विकास र सुधारको सपना बुनिए पनि समय र राजनीतिक समीकरणले उनलाई अपूर्ण बनायो।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने ५१ वर्षको उमेरमा भूमिगत बाटो छिचोलेर सिंहदरबार छिरे। बन्दुक सम्हालेको हातले सत्ता सम्हाल्दा नेपालमा शान्ति प्रक्रियाको नयाँ अध्याय सुरु भयो। तर, उनको उमेरले दिएको जोश र युद्धकालीन करिश्मा शान्तिकालीन राजनीतिमा कहिलेकाहीँ भारी सावित भयो।
र, आज Gen—Z आन्दोलनले ल्याएको ताजा बहस। “नेतृत्व केवल बुढ्यौलीमा मात्र सम्भव छ? कि नयाँ पुस्ताले पनि मुलुक सम्हाल्न सक्छ?” भन्ने प्रश्न सर्वत्र छ। यही प्रश्नसँगै सुशीला कार्कीको प्रधानमन्त्री बन्ने प्रसङ्ग आइपुग्छ। ७३ वर्षको उमेरमा पनि उनी शक्तिशाली विकल्पका रूपमा चर्चामा आउनु उमेरभन्दा ठूलो कुरा अनुभव र नैतिकताको प्रमाण हो। महाअभियोगको चोट बोकेकी, तर इतिहासमै पहिलो महिला प्रधानन्यायाधीशको परिचय बनाएकी कार्कीलाई युवा आन्दोलनले "आमा" को हैसियतमा अघि सार्नु, पुरानो पुस्ताप्रतिको सम्मान र नयाँ पुस्ताको आकांक्षाबीचको सेतु हो।
यसरी नेपालका प्रधानमन्त्रीहरूको इतिहास हेर्दा उमेर कहिले बाधक भएन, अनुभव कहिले पर्याप्त भएन। उमेर त केवल अंक हो, जिम्मेवारी र दृष्टिकोण नै असली शक्ति हो। भीमसेन थापा, मनमोहन, गिरिजा हुँदै प्रचण्डसम्म, बाबुरामदेखि ओली र देउवासम्म, अनि आज सुशीला कार्कीको सम्भावनासम्म सबैले देखाएका छन् कि नेतृत्व उमेरले होइन, परिस्थितिले जन्माउँछ।
नेपाललाई आज पनि यही प्रश्नले घेरेको छ, हामीले अनुभवको छातामुनि सुरक्षित भविष्य खोज्ने कि युवाको आँधीमा नयाँ सम्भावना?
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया