एकपटक अक्सिजन लेभल घटेर तर्सिएपछि अब पीर पर्यो, राति निदाएको वेला अक्सिजन घट्यो भने? सोधखोज गर्ने नजिकमा कोही थिएनन्। त्यसपछिका दशौं रात घण्टा-घण्टामा अलार्मकै सहारामा बिते। अलार्म बजिरह्यो, मैले बाँचेको खुशीयाली मनाइरहेँ।
१९ वैशाखको साँझ ५ बजे। मोबाइलमा मेसेज आएको घण्टी बज्यो। मेसेजले तरंगित बनायोे, ‘कोभिड पोजेटिभ!’
अब गर्ने के? मन एकतमासको भयो।
यो प्रश्नसँगै मानसपटलमा एकैपटक आए– अस्पताल, आईसीयू, भेन्टिलेटर, अक्सिजन र पशुपति क्षेत्रमा ओइरो लागेका शव। मन–मगजमा यी सबै कुरा गढेर बस्नुमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एकोहोरो आइरहेका नकारात्मक पोस्ट र समाचारको प्रभाव बढी थियो।
अहिले पो बुझ्दै छु, त्यो बेला मैले आत्मबल खस्काएर मैदानमा उत्रिनुअगावै कोरोनालाई जितको ट्रफी दिएको रहेछु। तर, कोरोना संक्रमण भएको खबर नै यति दुष्ट छ, एकचोटि त यसले जिन्दगीलाई नै प्रश्नचिह्न लगाइदिन्छ।
मेरो अवस्था ठीक यस्तै थियो।
दुई दिनदेखि हल्का ज्वरो र शरीर दुखाइ थियो। पोजेटिभ रिपोर्टसँगै ज्वरो र दुखाइ ह्वात्तै बढ्न थाल्यो। हातमा रिपोर्ट बोकेर डेराको कोठामा एक्लै निरुपाय बनेँ। संकटमा अनेक भाव र विचारले एकैपटक घेरे।
सोचेँ, यो खबर घरमा अहिले नै दिन हुन्न। किनकि मलाई थाहा थियो, परिवारभन्दा टाढा शहरमा एक्लै बसेकी छोरीको चिन्ताले बाआमालाई गलाउँछ। फेरि पहिला त आफैंलाई सम्हाल्नु थियो।