सर्वाेच्च अदालत बार एसोसिएसन अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बल पुग्ने गरी कुनै पनि कार्य नगर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन्।
बिहीबार दिउँसो साढे १ बजे बस्न लागेको फुलकोर्ट बैठकमा न्यायाधीशहरू सहभागी हुन लाग्दा शाक्यले सो बताएका हुन्। जबरालाई बल पुग्ने कुनै कार्य भएमा आफूहरूलाई स्वीकार्य नहुने उनको भनाइ छ।
‘न्यायाधीशहरूबाट जबरालाई बल पुग्ने कुनै कदम चालेमा स्वीकार्य हुनेछैन’, उनले भने, ‘उहाँ डुब्दै गएको घाम हो। उहाँलाई साथ दिने पनि डुब्छन्। हामी जितको नजिक छौं।’
जबराले गोला लिने र सुनुवाइ गर्ने काम भए आपत्तिजनक हुने उनको भनाइ छ। बेन्च सेयर गर्ने इजलासमा बहस नगर्ने अध्यक्ष शाक्यले चेतावनी दिए। बिहीबार धर्नामा कानुन व्यवसायी घाइते हुने गरी भएको प्रहरीको बलप्रति उनले आपत्ति जनाए।
यस्तै, बारका पूर्व अध्यक्ष हरिहर दाहालले बारको आन्दोलनमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने बताए। उनले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी दमन बन्द गर्न चेतावनी दिए।
‘प्रहरी हटाउनुस्। गृह प्रशासनसँग मिलेर कुनै अप्रिय घटना भएमा प्रधानन्यायाधीश जबरा जिम्मेवार हुनेछन्’, उनले भने।
जबराले राजीनामा नदिने भन्दै उनले भने, ‘सितिमिति जबराले छोड्ने अवस्था छैन। पोखरामा तोकिएको राष्ट्रिय सम्मेलन काठमाडौंमै गरौं। तीन हजार साथीहरू सडकमा राखेर प्रदर्शन गर्न सकियो भने प्रभावकारी हुन्छ।’