गिडीदह गइरहने सिकारी, जुडीबुटी खाेजेर आम्दानी बढाउने परिश्रमीहरु, घाेडाघाेडी खाेज्न जानेहरुका निम्ति गिडीदह नजिकै हाे। उनीहरुकाे चार घण्टा हाम्रा लागि ८ घण्टा हाे। त्यसैले खाना फुलचाउँलेमै खाएर हिँड्ने कार्यक्रम तालिका बनाइएकाे थियाे।
विस्तारै हामी उकालाे लाग्यौं। पाटन बुकीलगायत कयाैं फूलका बास्नाले बसाइरहेकाे थियाे। बुकी फूलकाे बास्नासँग प्रेमकाे गतिलाे साइनाे छ क्यारे। त्यसैले त यस्ताे गीत गाइन्छ।
पाट्न(पाटन) घाेडी खिलिखिलाउनी, बुकीका बासले।
काँ छियाँ काँसम्म आयाँ, हजुरका आशाले।।
याे यात्रामा कुनै प्रेमिका भेटिनेवाली थिइनन्। उनकाे व्यग्र प्रतीक्षा पनि थिएन। प्रतीक्षा र आश थियाे त गिडीदह भेटिने। त्यसैले बुकीका कयौं पाटन छिचाेलेर पुग्नु थियाे, गिडीदह। मनमा गिडीदह भेटिने तीव्र मनाेकांक्षा थियाे।
एन्नड्यु मार्भलकाे विश्व चर्चित कविताकी लजालु प्रेमिका जस्तै लजाएर बसेकी गिडीदहलाई आउ सँगै बसाैं भन्नु थियाे।
फुलचाउँलेबाट थाेरै उकालाे लाग्दा भर्खरै भात खाएकाे जिउ थाकिगयाे। शरीर ताताे भयाे। अग्लाे लेकमा सिरसिर बतास चलिरहेको थियाे। त्यहीँ बिसाइदियाैं शरीर।
ठूलाे शरीर भएका तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढथापाले भने, 'सय किलाेकाे ज्यानलाई पनि यस्ताे सास बुझिने उकालाेमा धानेकै छु। गिडीदह पुग्ने उत्साहले त हाेला।'
वरिपरिका सबै खित्का छाेडेर हाँसे। माथि निलाे आकाशमा बादलका गुच्छाहरु हाँसिरहेका जस्ता लाग्दै थिए। मानसपटलमा बन्दै थियाे निलाे आकृति। मन चंगा हुँदै थियाे। चंगा मन भएपछि क्विन्टलकाे ज्यान पनि सजिलै उकालाे लाग्न सक्दाे रहेछ। उधाे बग्ने नदीजस्ताे मान्छेकाे भेल उभाे बग्याे।
सुरु भयाे पानसय पाटन। पाटन उसै पनि अग्लाे ठाउँ। अग्लाे ठाउँमा हुँदा बाँकी संसार हाचाे लाग्ने रहेछ। त्यहीँ हामीले अनेकथरी स्टाइलमा फाेटाे सेसन गरेका थियौं। लालसा फेसबुकका भित्ताहरु रंग्याएर दुनियाँ लाेभ्याउने र दामीदामी कमेन्ट खाने थियाे।
त्यही पाटनबाट गहिराे खाेँचमा निलाे तन्ना ओछ्याए जस्तो देखिने आकृति नै गिडीदह रहेछ। संस्कृत भाषामा गिडीकाे अर्थ हुन्छ अग्लाे पहाड। दह भनेकाे पानी जम्मा हुने ठाउँ। त्यसैले गिडीदह नाम रहन भएकाे भनी गिडीखाेलाका स्थानीय पुरिचन्द्र शर्माले बताए।
अग्ला लेकका गहिराे खाेचमा रहेकाे यति सुन्दर तालकाे दृश्य देख्दा आफू पंक्षी किन भइनँ हुँला भनेर पछुतो लाग्न थाल्छ। जब पंक्षी बनेर गगनमा उठेकाे कल्पना गर्न लागिन्छ, तब आनन्दले कयौं भिर पाखाहरु पार गरिन्छ, यादै हुँदैन। सायद, यही विशेषता हाे गिडीदहकाे। त्यसैले त ६० वर्ष कटेका स्थानीय दुर्गा प्रसाद पाण्डे, साठी वर्षका पत्रका कर्ण भण्डारी र उस्तै उमेरका नारायण चाैलागाईं पनि सजिलै पुग्न सके।
अग्रज पत्रकार कर्ण भण्डारीकाे थेगाे छ, या उइय। 'या उइया, गिडि दह क्या अच्चली ठूलाे रहेछ। माइम्मरी राम्माे रहेछ। उमेरकाे क्या पत्ताे हुनाे हाे।'
हामी लामाचाैरकाे लामाे पाटन प्रवेश गर्दै गर्दा कतै उकालाे ओरालाे नभएकाे तराईको फाँट जस्ताे बाटाेमा हिँडिरहेका थियौँ। यस्ताे बाटाेमा साइकल गुडाउँदा कस्ताे हुँदाे हाे?
भर्खरै साइकल चलाउन सुरु गरेकाे मेरा लागि लामाचाैरकाे पाटन संसारकै अद्भुत दृश्य हाे। जहाँ साइकल चलाउने हजाराैं पर्यटक भित्र्याउने याेजना बनाइ लागू गर्न सकिन्छ। गिडीदह यात्रामा पर्यटन व्यवसायबाट मात्रै आम्दानी लिन सकिने कयाैं सम्भावनाहरू देख्न सकिन्छ। सँगै भएका किरण चाैलागाईं र म यही विषयमा गफिँदै हिँडिरहेका थियाैं।
उनले आफू घाेडी खाेज्न आएकाे अनुभूति सुनाए। फान्चाैरी चाैलागाईंकाे घरभित्र कयाैं कथाहरु छन्। त्यसमध्ये सय भारी खेत भएकाे एउटा घर, जहाँ सयाैं घाेडाघाेडीहरु पालन गरिएकाे थियाे। हिउँदमा घरमा राख्ने घाेडीहरु वर्षाम पाटनमा छाेडिन्थ्याे। निश्चित समयका लागि पाटनमा छाेडिएका घाेडीहरु खाेज्न जानुपर्ने। त्यही भएर फान्चाैरीहरुले घाेडी खाेजेर ल्याएपछि राख्ने एउटा सानाे गाेठ रहेछ। त्यसलाई फान्चाैरी ठाेटाे नामाकरण गरिएकाे रहेछ।
आफ्नाे पुर्खाले नामकरण गरेकाे ठाउँनेर पुगेपछि उनकाे अनुहार उज्यालो भयाे। उज्यालो अनुहारमै हामी अगाडि बढ्याैँ। मनमा हुटहुटी थियाे जतिसक्दो चाँडाे हिँडाैं। जतिसक्दो चाँडो गिडीदहकाे समिपमा पुगाैं।
करिब सात/आठ घण्टा उकाली-ओराली गर्दै अजङ्गका भिर पाखाहरु छिचाेलेपछि आइपुग्छ, गिडीदह। उसैउसै मन चंगा हुन थाल्छ। एक किनारबाट देखिने दृश्यले मन लाेभ्याउँछ। समिपमा कत्तिबेला पुगौं भन्ने बनाउँछ।
हेर्दा लाग्छ, निलाे आकाशकाे एक टुक्रा जमिनमा झरे जस्ताे वा समुद्रको एक भाग सुनामीले हुत्याएर ल्याइपुर्याए जस्ताे।
दहमा पुगेपछि यात्राका कयाैं कठिनाइहरु फिक्का लाग्छन्। उकालाेमा धकेल्दा-धेकेल्दा ऐठन परेकाे शरीर, कटकटी खाइएका हातगाेडा सबैलाई सकुन मिल्छ।
एकाएक पहिलाे पल्ट सगरमाथाकाे शिर चुमेका एड्मन हिलारी र तेन्जिङ नाेर्गे शेर्पा जतिकाे खुसी हुन मन लाग्छ। ट्रफि जितेकाे खेलाडी, परीक्षामा उत्कृष्ट भएकाे विद्यार्थी, म्याराथन जितेकाे धावक के खुसी हुँदा हुन् जति गिडीदह जाँदा हुन्छ।
याे एक विजयी यात्रा थियाे। जुन यात्राले गिडीदहलाई पृष्ठभूमि बनाइ फुलबुट्टाले सजाएर डायरीका पानारु भर्ने, दृश्यहरु कैद गरी यसकाे सुन्दरता विश्वुसामु पुर्याउने र तमाम पर्यटक भित्र्याउन याेजना बनाउने।