राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको व्यवहारका कारण सर्लाही जिल्लाका सो पार्टीका कार्यकर्ताहरु नेतृत्वसँग असन्तुष्ट बनेका छन्। समयमै गल्ती नसच्याएमा केन्द्रीय नेतृत्वविरुद्ध आन्दोलितसमेत बन्ने सम्भावना बढेको छ।
सर्लाहीमा हालै राप्रपाको जिल्ला अधिवेशनसम्पन्न भएको थियो। केन्द्रीय कार्यसम्पादन समिति सदस्य किशोरबहादुर कार्कीको प्रमुख आतिथ्यमा कात्तिक १६ गते सम्पन्न उक्त अधिवेशनबाट प्रभाकर सिंहको अध्यक्षता ५१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो।
राप्रपा अध्यक्षहरू पशुपति शमशेर राणा र कमल थापा निकट समूहका कार्यकर्तालगायत सबैको उपस्थितिमा भएको महाधिवेशनमा बहुमत सदस्यले भाग लिएका थिए। तर, उक्त महाधिवेशनको निर्णयलाई नै उल्टाउँदै तेस्रा अध्यक्ष डा. लोहनीले २२ गते सत्यनारायण रायलाई आफूखुशी अध्यक्ष तोकिदिए। त्यसपछि स्थानीय कार्यकर्ता आक्रोशित भएका हुन्।
डा. लोहनीले अध्यक्ष तोकेका सत्यनारायण राय राप्रपाको प्रदेश २ का प्रमुख रामचन्द्र रायका भतिजा पर्छन्। लोहनीको यस कार्यलाई जिल्ला कार्यसमितिका सदस्यहरूले एकता भाड्ने कार्य भनेर विरोध जनाएका छन्।
राप्रपाको अधिवेशनबाट निर्वाचित सर्लाही जिल्ला अध्यक्ष प्रभाकर सिंहले भने, ‘शीर्ष नेतृत्वले एकताको सन्देश दिनुपर्ने बेला उल्टै बृहत् एकता भाँड्दै हिँडिरहेका छन्। शीर्ष नेतृत्वबाटै यस्तो व्यवहारको अपेक्षा हामीले गरेका थिएनौँ।' तत्काल उक्त कदम नसच्याए नेतृत्वविरुद्ध आन्दोलित हुने पनि उनले बताए।