'नदी सप्तक' कविता शृङ्खला- ६

नदीको उद्घोष

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।

त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।

यस अन्तर्गत छैटाैँ श्रृंखलामा कवि प्रज्वल अधिकारीकाे कविताः

नदीको उद्घोष

ओरालो झर्दैझर्दै 
ओरालोको पिँध चुम्नु- मेरो गौरव हो !
पहिचानको सहअस्तित्वको गीत गाउँदैगाउदै
विशिष्ट पहिचान निर्माण गर्नु- मेरो संस्कार हो !

मभित्र जीवन्त बाँचेको कालिगडीले 
तिमीलाई ईश्वर उपहार दिनु- मेरो कला हो !

झर्नु विस्तारित हुनु हो
बग्दा हर्षविभोर हुन्छु म
जम्नु व्यर्थ हो- मेरा लागि

ढुंगाका छातीमा काउकुती लगाउँदै दौडिनु 
किनारका हातहरू समाउँदै यात्रा गर्नु 
हामीबीचको त्रिकोणात्मक प्रेम हो !
तर जब,
हाम्रो प्रेमको फूलबारीमा 
कर्कश क्रसर चलाउँछौ तिमी
विक्षिप्त हुन्छु म

विक्षिप्त मन लिएर
मेरो हराएको प्रेम खोज्दैखोज्दै
म तिम्रो घर पस्छु
मेरो पीडाको भलले
भत्किन्छौ, टुट्छौ र हराउँछौ तिमी

प्रिय मान्छे !
यसमा मेरो कुनै दोष छैन
तिम्रो अस्तित्व जोगाउनु- मेरो कर्तव्य हो 
तिमीले पनि हाम्रो प्रेममा आँखा नलगाउनु 
बुझ्नु- 
प्रेममा धोका खाएको प्रेमी कति हिंस्रक हुन्छ !

यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः

प्रकाशित मिति: : 2021-09-25 11:00:00

प्रतिकृया दिनुहोस्