६६औँ प्रहरी दिवस

प्रहरी दिवसमा १७ जना प्रहरी कर्मचारी पुरस्कृत

Photo:NK
Photo:NK

६६औँ प्रहरी दिवसका अवसरमा इलाका प्रहरी कार्यालय पाटन बैतडीमा कार्यरत प्रहरी निरीक्षक राजेश शाहीसहित १७ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई नगद पुरस्कारसहित पुरस्कृत गरेको हो।

जिल्लाका विभिन्न प्रहरी युनिटमा खटिएर उत्कृष्ट कार्यसम्पादन गरेका प्रहरी कर्मचारीहरूलाई पुरस्कृत र सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए। पुरस्कृत एवं सम्मानित हुनेमा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक शाही, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक सुरतबहादुर चन्द र इलाका प्रहरी कार्यालय तस्सुदेहीमा कार्यरत प्रहरी नायव निरीक्षक जनकबहादुर धामी रहेका छन्। 

यस्तै, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावल र राजेन्द्रसिंह कार्की पनि पुरस्कृत एवं सम्मानित भएका छन्। पाँच जना प्रहरी हवल्दार, छ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी पुरस्कृत भएका प्रहरी प्रवक्ता ओझाले बताए। 

प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले विभिन्न संघसंस्था र व्यक्तिहरूलाई पनि सम्मानित गरेको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रममा सहयोग गरेको भन्दै दशरथचन्द नगरपालिका र वीरेन्द्र मावि शाहीलेकलाई पनि सम्मान गरिएको छ। सोही कार्यक्रममा सहयोग गरेको भन्दै पूर्व प्रहरी सहायक निरीक्षक जगुवा भण्डारीलाई पनि सम्मान गरिएको छ। 

प्रहरी चौकी भवन निर्माणका लागि जग्गा दान गर्ने दोगडाकेदार- ७ का वीरभान कार्की र अम्मर प्रहरीका परिवारका तर्फबाट टेकेन्द्रप्रसाद कनौजियालाई समेत सम्मान गरिएको प्रहरी प्रवक्ता ओझाले बताए।

प्रकाशित मिति: : 2021-10-06 21:06:00

प्रतिकृया दिनुहोस्