अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङका जंगलभरी जंगली जनावर मार्न पासो थापिएको छ। तस्करहरूले बिनाको तस्कर गर्न कस्तुरी मार्ने उद्देश्यले जंगलमा पासो थापेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले वनगस्ती गर्ने क्रममा पासो फेला पारेको हो। हालसम्म १७५ वटा जाल फेला पारिसकेको मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए।
उनका अनुसार गस्ती अभियान अन्तर्गत पहिलो दिन ४१ वटा, दोस्रो दिन १०० र तेस्रो दिन ३४ वटा जाल फेला पारेको छ। 'तस्करहरूले बिना तस्करी गर्नका लागि पासो थापेको देखिन्छ। कस्तुरीको बिनाकै खोजीका लागि थापेको हो,’ उनले भने' 'भालेको बिना काटेर लगेको अवस्था थियो। रेड फक्स चाहीँ कस्तुरीको लागि थापेको पासोमा झुक्किएर परेका हुन्।'
जंगलमा छवटा कस्तुरी र दुईवटा रेड फक्स मृत फेला परेको छ। तिमध्ये चारवटा पोथी र दुईवटा भाले कस्तुरी छन्। भाले कस्तुरीसँग मात्र बिना हुन्छ। चाडवाडको मौका छोपेर त्यस क्षेत्रमा चोरी सिकारी बढेको प्रहरीले जनाएको छ। तस्कर भने फेला परेका छैनन्।
'तस्कर भेटेका छैनौं। जता पनि पासैपासो छ'' अधिकारीले भने, 'हामीले शंकास्पद व्यक्तिमाथी निगरानी बढाएका छौं। तस्करहरूको ठूलै समूह भएको अनुमान गरेका छौं।
विशेषगरी कागबेनीमाथिको निच्चा जंगलमा कस्तुरीलाई पासो थापिएको हो। पहिलो दिन लुप्रा पाखामा दुईवटा कस्तुरी र एउटा रेड फक्स फेला परेको थियो। दोस्रो दिन तीनवटा कस्तुरी भेटिएको र तेस्रो दिन एउटा रेड फक्स मृत अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
कस्तुरीको बिना निकै महंगो मुल्यमा बिक्री हुन्छ। दैनिक ३० देखि ४० जनाको टोलीले गस्ती गरिरहेको एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले जानकारी दिए। 'दैनिक गस्ती गरिरहेका छौं। सोमबार चाहिँ कस्तुरी भेटिएन, पासो मात्र भेटियो,' उनले भने, 'अब करिब जंगल पासोमुक्त भएको छ। क्लिन बनाएका छौं।' मंगलबार पनि प्रमुख जिल्ला अधिकारीसहित १५ जनाको टोली गस्तीमा गएका छौँ।'
लकडाउन खुलेपछि नै जंगलमा पासो थापिएको हुनसक्ने अनुमान गरिएको छ। ‘पासोको अवस्था हेर्दा धेरै पुरानो होइन। यही एक डेढ महिनाभित्र हालेको देखिन्छ,’ बराल भन्छन्, ‘मुस्ताङकै मान्छेको सहयोग बिना कसैले यति ठूलो अपराध गर्ने आँट गर्दैन। यहाँका मान्छेले पासो नथापे पनि तस्करलाई सहयोग गरेका छन्। यो निकै दुखद् कुरा हो।’