सिद्धिचरण नगरपालिका–७ को धनेपु र डाँडागाउँबासीका पीडा सुनिनसक्नुको छ। सदरमुकाम नजिकै रहेको यो गाउँका बासिन्दाले मस्तसँग ननिदाएको वर्षौ भयो। बस्तीभन्दा तल बग्ने पोक्तिङ खोलाको कटानले उनीहरूको घरको आँगन वर्षेनी सर्छ, घरका गाह्रो चर्किन्छ र झ्यालढोका नलाग्ने हुन्छ।
पोक्तिङ खोलाभन्दा बस्ती निकैमाथि भए पनि वर्षेनीको कटानले सिंगो गाउँ जोखिममा छ। यही समस्याले यहाँका ७० परिवार कहाँ जाने कता जाने अन्योलमा छन्। अधिकांशका घर २०७२ सालको भूकम्पले क्षति पुर्यायो। यहाँका स्थानीयले अनुदान र ऋण खोजेर बल्लतल्ल घर बनाए। तर, दुःखले बनाएको नयाँ घरमा सरेको केही दिनमै घरको जगै सर्न थालेको छ।
धनेपुकी मिलाकी शेर्पाको घर २०७२ सालको भूकम्पले भत्कियो। अनुदानले नपुगेर ऋण गरेर भूकम्प प्रतिरोधी घर बनाइन्। उनको परिवार नयाँ घरमा सरि नसक्दै घरको जग बग्न थाल्यो। अहिले घर ढल्ने अवस्थामा पुगेको छ।
उनका छिमेकी गम्बु शेर्पाको कथा पनि फरक छैन। भूकम्पले घर ढलेपछि उनले सरकारी अनुदान चार लाखमा ऋण थपेर सात लाखमा घर निर्माण गरे। पहिलेको घर नजिकै पहिरो आउन थालेपछि अर्कै ठाउँमा घर बनाए। घर बनाएर सरेको एकाध महिना नबित्दै आँगनबाटै जमिन चिरिएर बग्न थाल्यो। उनको घरको आँगन एकवर्षमा दुई फिट बगिसकेको छ।
‘पानी पर्न थालेपछि रातभरि सुत्न सकिदैन नि,’ उनले गहभरि आँसु पार्दै भने। उनी मिस्त्री काम गर्दै परिवार पाल्छन्। घर बनाउँदा लिएको चार लाख ऋण तिर्नै बाँकी छ। गम्बु र मिलाकीले जस्तै यहाँको धनेपु र डाँडागाउँका ७० परिवारले बर्षौंदेखि आनन्दले निदाउन पाएका छैनन्। यो गाउँको उत्तर र दक्षिण दुईतर्फ पहिरो छ। बीचमा रहेका यी दुई गाउँमा दुईवटा आधारभूत विद्यालय पनि जोखिममा परेका छन्।
यस्तो समस्या वर्षेनी भोग्दै आए पनि सरकारी निकायले चासो दिएको थिएन। थप जोखिम बढेपछि अहिले सिद्धिचरण नगरपालिकाले अनुगमन थालेको छ। अनुगमनमा पुगेका वडाअध्यक्ष बमबहादुर राईले स्थानीयलाई खेतीपाती, पशुपालन गर्ने सबै ठाउँ गाउँमै भएकोले उनीहरूलाई त्यही अनुसारको ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने देखिएको बताए।
सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले पनि जोखिमका यि बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा हाल भईरहेकै स्थानलाई सुरक्षित बनाउन सकिएला भन्ने विषयमा अध्ययनका लागि पहल गर्ने बताए।
यो बस्तीका ११ परिवार विस्थापित भइसकेका छन्। अन्य केही घर विस्थापित हुने अवस्थामा छन्। उनीहरू आफ्नो घरमा बस्न सकेका छैनन्। भूगर्भविद्हरूलाई ल्याएर अध्ययन गराएर यदि पहिरो नियन्त्रण र जमिन बग्ने समस्या समाधान गर्न सकिने भए त्यहीअनुसार योजना बनाउने जनप्रतिनिधिहरूको प्रतिबद्धता छ। स्थानीयले भने उनीहरूले यसअघि पनि यस्तै प्रतिबद्धता जनाए पनि काम नभएको गुनासो गरे।