सुनसरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, ६ जना घाइते

गएराति करिब ९ः३० बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा सोही ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

सुनसरीको इटहरी उपमहानगर ५ को मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख २९२४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ ०२ २२३ ह १४३६ नम्बरको सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा इटहरी १६ स्थित बालग्राममा प्रदेश३ ०१ ०२४च ९७२२ नम्बरको कारलाई ठक्कर दिएको थियो। 

मृत्यु हुनेमा सिटी सफारीमा सवार इटहरी ५ का २३ वर्षीय ईश्वर राउत रहेका छन्। टाउकोमा चोट लागेर गम्भीर घाइते राउतलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो। उनको उपचारका क्रममा राति १२ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। 

घाइते हुनेमा सिटी सफारीमा सवार झापाको दमक ७ बस्ने ३४ वर्षीय हेमन्त बिक सुनसरीको रामधुनी ३ बस्ने ३० वर्षीय दिलीप कुमार चौधरी, कार चालक रामधुनी ३ कै ३० वर्षीय सन्दीप राउत त्यस्तै सोही स्थानका ३५ वर्षीय नगेन्द्र गुरुङ, इटहरी ५ का २४ वर्षीय सौगात अधिकारी रहेको प्रहरीले बताएको छ।

उनीहरूमध्ये ५ जनाको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ। त्यस्तै रामधुनी ३ का दिलीप कुमार चौधरी अवस्था गम्भीर रहेकाले नोबेल अस्पतालमा उपचार भई रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने ट्रक चालक फरार रहेका छन्। उनको खोजी भइरहेको छ। दुर्घटनामा परेका तीनै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाश तिम्सिना

प्रकाशित मिति: : 2021-10-13 08:29:00

प्रतिकृया दिनुहोस्