अर्काकाे देशमा– ५

सारङ्गी माया

भीडभाड सहर, सबै आ–आफ्नै सुरमा, म पनि त्यही भीडमा च्यापिँदैच्यापिँदै हिँड्दै जाँदा एउटा अर्कै स्थिर भीडमा पुगें, जहाँ गाइनेको एक समूह सारङ्गी रेटेर मीठामीठा गीतहरु सुनाउँदै थिए। सारङ्गीको त्यो र्‍याइँर्‍याइँ आवाज सुन्न मलाई कति धेरै रहर लाग्थ्यो। उनीहरुले कति मजाले सारङ्गीसँगै गीत गाएका। ती बूढा गाइने बाजे, छेउमा एक अधबैंसे, अरु दुई तीनजना अनि एउटी मेरै दामलकी केटी। ती केटीको सुरिलो स्वर, उनको बान्की परेको अनुहार। सबैभन्दा त ती केटी नै मन पर्‍यो मलाई। भीड पातलिँदै गयो। उनीहरु पनि भीडले दिएको भेटी सम्हाल्न थाले तर म भने एक्लै उभिएर एकोहोरो उनीहरुको सारङ्गीलाई हेरिरहेको थिएँ।

मैले त्यो उमेरसम्ममा मादल, गितार, बाँसुरी, हारमोनियम, किबोर्ड सबै बजाइसकेको थिएँ। सबैसँग म परिचित थिएँ, तर मेरो मनपर्ने बाजा सारङ्गी त्यो बेलासम्म देखेको थिइनँ, बजाएको थिइनँ। सङ्गीतप्रतिको मेरो मोहलाई बुझेर मेरा बुवाले मलाई सङ्गीतका सबै सामान किनिदिनुभएको थियो तर सारङ्गी भने बाँकी नै थियो। म त्यो सारङ्गीप्रति लोभिइरहेको थिएँ। म एक्लै उनीहरुको अगाडि उभिइरहेकाले होला, ती केटीले मलाई टिठ्याएर नियालिन्, म लाजले रातो भएँ, उनीसँग आँखा जुधाउनै सकिनँ।

उनीहरु नजिकैको होटलमा हुल बाँधिएर खाजापानीका लागि पसे। म ‘के गरूँ के गरूँ !’ हुँदै त्यतैतिर टोलाइरहें। होइन, मैले मन थाम्न सकिनँ र तुरुन्तै उनीहरु पसेको होटलतिर लागें। उनीहरु खाजा खाँदै थिए। म त्यहाँ पनि के भन्ने भनी अकमक्क परी उभिइरहें। ती केटीले फेरि एकटकले मलाई हेरिन्। उनका ती तीखा आँखासँग मेरा आँखा निमेषभर पनि जुध्न सकेनन्। उनी त्यतिखेर मुसुक्क हाँसिन्, तिनले मलाई कुन अर्थमा हेरिन् कुन्नि ! म ती बूढा गाइने बाको छेउमा गएँ र उसलाई मेरो सारङ्गी बजाउने रहर सुनाएँ। मैले उसलाई मेरा लागि पनि पाइने भए एउटा सारङ्गी मगाएँ। उसले पेस्की माग्यो र अर्को हप्ता मलाई सारङ्गी ल्याइदिने कुरा बतायो। ओहो ! त्यो बेला म कति खुसी भएको थिएँ भने म कतिखेर घर पुगें, पत्तै भएन।

अर्को हप्ता उसले मलाई सारङ्गी ल्याइदियो। उनीहरु सबै आएका रहेछन्। त्यही होटलमा उनीहरुले मलाई पनि लगे अनि सारङ्गीको तार मिलाउन र रेट्न सिकाए। म खुसीले गद्गद् थिएँ। म अब प्रत्येक हप्ता त्यही हटियामा आएर उनीहरुसँग सारङ्गी बजाउन सिक्ने भएँ। सारङ्गी सिकाइको त्यो बेलामा म प्रत्येक हप्ता त्यति लामो बाटो खुब जाँगर चलाउँदै अल्छी नगरीकन हिँड्थें, किनकि म मेरो मनपर्ने बाजा सारङ्गी सिक्दै थिएँ। त्यति मात्र कहाँ हो र, अझ नढाँटी भन्नुपर्दा अब त म त्यो सारङ्गी, ती गाइने बूढा बाभन्दा पनि ती केटीलाई मन पराउन थालेको थिएँ। ती भेटहरुमा उनको र मेरो भेटघाट अनि बोलीचालीमा म सजिलै बुझ्न सक्थें कि उनी पनि मलाई मन पराउँछिन्। 
उनीबाट मैले थाहा पाएँ कि उनको नाम रीमा र ती बूढा बा उनका बुवा। आमा उनी सानै हुँदा खसेकी रे। सँगै हिँड्ने अरुचाहिँ आफन्तहरु। दिनैपिच्छेका हटियाहरुमा उनीहरु यसरी नै हिँड्दारहेछन्। उनले बडाे मलिन स्वरमा भनेकी थिइन्, “बा पनि बिरामी हुनुहुन्छ, कुन बेला के हुने हो। त्यसपछि त यो संसारमा म एक्लै हुनेछु।” उनीप्रति हृदयमा प्रेमको सागर उर्लेर आयो अनि झट्टै भनें, “जिन्दगीका हर दुःखकष्टहरुमा मलाई सम्झनू, मलाई भन्नू। म छु तिम्रा लागि।”

म फुरुङ्ग थिएँ, यो संसारमा मेरो मनले खाने, मलाई मनपर्ने र मैले भनेजस्तै कोही रहेछन्। पिरतीका कुरा गर्न कति सिपालु ती रीमा। अब त म उनलाई निष्फिक्री माया गर्न थालेछु। घरमा आमाले पनि थाहा पाउनुभयो, कराउनुभयो, “धत् लाटा ! बाहुनको छोरा भएर पनि कहींँ गाइनेकी छोरी हेर्छन्। हेर, एसएलसी परीक्षा आउन आँट्यो, ऊ भने हप्तैपिच्छे बजार अनि दिनैपिच्छे सारङ्गी र गितार। यस्ता कुराहरु तेरा बुवाले थाहा पाउनुभयो भने तेरा खुट्टा भाँच्नुहुन्छ नि !” तर, म प्रत्येक बिहान मेरा देवतासँग प्रार्थना गर्थे, ‘मेराे सबै बाधा अड्चन हटाइदेऊ, भगवान् !’

समय कति चाँडै बितेछ। मेरो प्रवेशिकाको नतिजा पनि आयो, अब उच्च शिक्षाका लागि चाँडै नै काठमाडौं जानुपर्ने रे, बुवाले उतै राजधानीमै काकाको जिम्मा लगाइदिने कुरा गर्नुभयो। कस्तो विडम्बना, रीमासँग एकचोटि भेटेर बिदा हुने भनेर धेरै कोसिस गर्दा पनि सम्भव भएन। अन्त्यमा खिन्न मन लिएर म मेरो सारङ्गी बोकेर काठमाडौं लागें।

त्यहाँ रहँदा सङ्गीतमा निकै दख्खल रहेका मेरा काकाले मलाई सङ्गीत क्षेत्रमा सङ्घर्ष गर्न निकै सहयोग गर्नुभयो। उहाँकै सहयोग र देनले गर्दा केही वर्षको सङ्घर्षपछि मैले रेडियो नेपालमा गीत रेकर्ड गर्ने सौभाग्य पाएँ। ‘देउरालीमा जोर पन्छी भाकेर, तिमीलाई भेटौं कि भनेर आएँ म, ज्यानै थाँतेर’ बोलको त्यो लोकगीतले आजभोलि गर्दै सारा नेपालीको मन जित्यो। रेडियोमा आफ्नाे गीत यसरी लोकप्रिय भएर घन्कँदा मलाई गद्गद्को आभास मिल्थ्यो। त्यसो त मैले अरु पनि थुप्रै गीत रेकर्ड गराएँ, साथसाथै आफ्नाे अध्ययनलाई पनि निरन्तरता दिइरहें। लगभग नौ वर्षको लामो अन्तरालपछि आफ्नो पढाइ सकेर र एक स्थापित कलाकार बनेर घर फर्कें।

वर्षौंपछि हाम्रो एक मात्र हटिया बजार भर्ने मलाई रहर जाग्यो। बजारको भीड उस्तै रहेछ। बजार आफ्नै सुरमा थियो, मैले केही पर एउटा भीडको छेउ हुँदै जानु थियो। भीडनजिकै पुग्दा सुनें, त्यहाँ गाइनेको समूहले गीत गाइरहेछ। त्यहाँ त्यही मेरो गीत गाइँदै थियो। भीडलाई चिर्दै म त्यो गीत गाउनेहरुलाई हेर्न पुगें, जहाँ एक सात/आठ वर्षको सानो बच्चाले सुरिलो स्वरले गीत गाउँदै थियो,

‘देउरालीमा जोर पन्छी भाकेर,
तिमीलाई भेटौं कि भनेर आएँ म, ज्यानै थाँतेर...’

छेउमा बसेर त्यो गीतका ताल र सुरमा एक महिला सारङ्गी रेट्दै थिइन्। कपाल कोर्न नपाएकी, फाटेको लुगा लगाएकी, निन्याउरी ती महिला तिनै मेरी रीमा थिइन्। म अवाक् भएर यो सब हेरिरहें। भीड बिस्तारै पातलिँदै गयो। उनीहरु पनि गीत गाइसकेर छरिएका दानभेटी भेला पार्न थाले, म एक्लै उभिइरहें।

आफ्नाे सरसामान बोकेर हिँड्न लागेकी उनलाई मैले उनको नामबाट बोलाएँ। उनले एकचोटि पछाडि फर्केर हेरिन्, उनको अनुहार आश्चर्य, डर, दुःख र खुसीले विस्फारित भयो अनि हत्केलाले मुख छोपी रुँदै उनी बजारको भीडभन्दा पर एकान्तमा पुगिन्। मैले उनलाई सोधें, ‘यो सब कसरी भयो ?’

म गएकै वर्ष उनका बुवा खस्नुभएछ। सँगै हिँड्ने आफन्तहरु पनि उनलाई एक्लै छाडेर आ–आफ्नै सुरमा लागेछन्। त्यसपछिका काला रातहरु र उराठ दिनहरु रीमाले एक्लैएक्लै बिताउनुपरेछ अनि त्यस्तै कुनै अजङ्गको कालो रातमा सडकको पेटीमा उनी बलात्कृत हुनुपरेछ र त्यसकै पीडा आज आठ वर्षको भइसकेछ, त्यो सानो छोरो। अनि जेजसरी भए पनि छोराकै लागि भए पनि रीमा आजसम्म यसरी बाँचेकी रहिछ।

उनी फेरि बिलौना गर्दै रुन थालिन्, “यो संसारमा मेरो भन्नु कोही पनि छैन, कतिन्जेल बाँचौं यसरी नै !” मेरा कन्सिरी ताते, रिसले जीउ सिरिङ्ङ भयो, मेरी रीमालाई कसले यस्तो बनायो। सक्थें त पृथ्वी नै उल्टा गरिदिन्थें, फेरि सोचें, यस्तै हो नियतिको खेल। मेरी रीमा निर्दोष छिन्, पवित्र छिन्। रीमाको यो छोरो मेरो पनि छोरो हो। मलाई मेरो सत्यप्रेम प्राप्तिको घडी आएको महसुस भयो। रीमाको अनुहार उठाएँ, बग्दै गरेका उनका आँखाको आँसु पुछिदिएँ, केही पर बसेको छोरालाई अँगालोमा आउन इसारा गरें, मेरा दुई अँगाला भरिए। छामें, मेरा अँगालोमा लुकेर घुँक्कघुँक्क रुने मेरी प्रेयसी नै हो। मेरा आँखा पनि डबडबाए। मन दह्रो गरेर झर्न लागेको आँसुलाई परेलीमा अल्मल्याउँदै भनें, “जिन्दगीका हर दुःखकष्टहरुमा मलाई सम्झनू, मलाई भन्नू, म छु तिम्रा लागि।”

निकै बर शान्त रहेपछि उनले शिर उठाएर मेरो अनुहारमा हेरिन्। मेरा आँखाबाट पनि उनको जस्तै आँसु झर्दै गरेको उनलाई थाहा भएछ।

६ माघ २०६२
 उर्लाबारी

अर्काकाे देशमा– १: कैदी सपना
अर्काकाे देशमा– २: नाता
अर्काकाे देशमा– ३: प्रथा
अर्काकाे देशमा– ४: माेड
प्रकाशित मिति: : 2023-07-15 15:30:00

प्रतिकृया दिनुहोस्