‘एक कप तातो चिया बनाइदिनुस् न हजुर !’ हाम्रो त्यो शुभ बिहानलाई खल्लो बनाउने प्रयास गरेझैं एउटा मलिन बोली ढोका बाहिरबाट आयो। साथीहरुसँगको हँसाइलाई रोक्दै मैले ढोकातिर हेरें, जहाँ एउटा दुब्लो फोहोरी अनुहारको मान्छे भित्र हेर्दै ढोकामा उभिएको थियो।
‘धत् ! यसले त आजको साइतै बिगार्यो, एकाबिहानै बोहोनी नै भा’को छैन, तँलाई चिया चाहियो ? जा, अन्तै मागेर खा।’ मेरा साथीहरुको कर्कश आवाजले उसको नजर झुक्यो तर चलमल भने गरेन। किनकि, त्यो पुस माघको कठ्याङ्ग्रिने जाडो अब ऊ खप्न नसक्ने स्थितिमा थियो।
म ढोका नजिकै गएर उसलाई बनावटी कर्कश आवाजले हकार्दै भनें, ‘जाऊ, एकछिनमा आउनू। यस्तो महँगो रेस्टुरेन्टमा त चिया सित्तैमा पाइँदैन, फेरि महँगो पनि पर्छ। जाऊ, फुटपाथको चिया पसलतिर मागेर खान।’ मेराे बनावटी कर्कश आवाज उसले बुझ्यो क्यारे, त्यसैले ऊ चलमलाएन। फेरि उस्तै सानो आवाजमा बोल्यो, ‘कति पैसा लाग्छ, पहिले चिया नै बनाइदिनुस् न !’
म हारें अनि अघिल्लो साँझमा प्रयोग गरेका चियारङ, चिनी र दूध हालेर एक कप कमसल चिया बनाएर उसलाई दिएँ। ऊ ढोकाको बाहिरी छेउमा टुक्रुक्क बस्यो र दुई हातले तातो गिलास समाएर चिया पिउन थाल्यो। म एकिछन ढोकामा अडेस लागेर उसलाई नियालिरहें। हुस्सु र बरफका कणहरुले उसको लामो केश लपक्कै भिजेको थियो।
कुनै कन्टेनरमा फेला पारेको एउटा मोटो भद्दा कोट र उस्तै मैलो कट्टुले उसलाई त्यो जाडोबाट धेरथोर भए पनि बचाइराखेको थियो। छेउमा उसको कालो ठुलो बोरा थियो, जहाँ झिँगाहरु बाहिरबाट भन्किरहेका थिए।
ऊ बडो आनन्दसँग चिया पिइरहेको थियो। साँच्चिकै खाते थियो त्यो, जसले सडक र कन्टेनरमा फालिएका थोत्रा टिन र प्लास्टिकका बट्टाहरु बटुल्ने गथ्र्यो। उसको बाहिरी आवरणले मेरो नाक खुम्चिएको थियो तर उसको त्यो दयनीय अवस्थाले मभित्र उसप्रति दया जागिरहेको थियो। सायद ऊभित्र वियोगान्त कथाकहानी हुन सक्थे। बाहिरको जाडोबाट केही हदसम्म भए पनि बचेको आभास झल्कने अनुहार फेरेर ऊ उठ्यो अनि आफूले लगाएको मैलो कोटको भित्रबाट २० रुपैयाँको नोट झिकेर मलाई दियो र भन्यो, ‘तपाईंले पनि यसैबाट एक कप चिया खाए हुन्छ नि !’
ओहो ! उसको त्यो वाक्यले म त झसङ्ग भएँ। अनुत्तरित भएर अक्मकिएँ। उसको सामुन्ने उभिन पनि लाज लागेझैं भयो अनि हत्तपत्त ‘ए, हामी त खाइहाल्छौं नि, आफ्नै पसल त हो’ भन्दै भित्र पसेर एक कप चियाको दाम कटाएर पैसा फिर्ता दिएँ। ‘बस्नुस् ल !’ भन्दै आफ्नाे बोरा काँधमा बोकेर ऊ बाटो लाग्यो।
म ढोकामा अडेस लागेर उसलाई हेर्दै टोलाइरहें। त्यो क्षण म आफूलाई कहाँ-कहाँ खसेको अनुभव भयो। हाम्रो कर्कश आवाज, नानाभाँती घृणाका कठोर शब्द र भावनालाई चकनाचुर हुने गरी पछार्दै बोलेका उसका शब्दशब्द मेरो कानमा गुन्जिरहे, ‘...तपाईंले पनि यसैबाट एक कप चिया खाए हुन्छ नि... !’
ऊ भोलिपल्ट बिहान पनि आयो, उसैगरी चिया माग्यो, खायो अनि पैसा तिरेर गयो। प्रायजसो ऊ अब प्रत्येक बिहान आउन थाल्यो। पैसा तिरेर चिया खाने भएकाले अब मेरा स्टाफहरुले उसलाई ध्यान दिन छाडे। तर, मैले भने प्रत्येक बिहान उसलाई चिया बनाएर दिनुपर्थ्याे।
एक दिन त उसले चिया खाइसकेर पैसा छैन, भोलि दिन्छु भन्यो। ‘किन आजचाहिँ नलिई आएको, पैसा कमाएनौ ?’ भनी सोध्दा ‘हेर्नुस् न, हिजो पनि केही खान पाइएन। तीस रुपैयाँ कमाएको थिएँ, चार जना खाते केटाहरुले खोसिदिए। बेलाबलामा यसरी साह्रै दुःख दिन्छन्। राति पेटीमा सुतिरहेको बेलामा झाँगलझँगल पार्दै उठाएर पैसा माग्छन्, चुरोट खाने पैसा ले भन्दै पिट्छन् पनि ! ई हेर्नुस् न मेरो ४ अर्काको देशमा अनुहारमा, उनीहरुले कोपारिदिएका।’ अनुहारको घाउ मलाई देखाउँदै उसले दुःख बिसायो। ‘लल ठीकै छ, आजको पैसा तिर्नुपर्दैन,’ मैले भनें।
उसले मलाई पुलुक्क हेर्यो अनि लामो सास तान्यो। मलाई पनि ढुक्क लाग्यो, उसले मलाई सकारात्मक ढङ्गले सोच्यो। फेरि लामो सास तान्दै ऊ बस्यो र मसँग लामै कुरा गर्ने सुर झिक्यो। ‘अनि तपाईंको घरचाहिँ यहीँ काठमाडौं नै हो कि कता हो ?’ ‘होइन, मेरो घर त पूर्वतिर हो। यहाँ काम गर्न मात्रै आएको।’
‘अनि कति वर्ष भयो यहाँ बस्न थालेको चाहिँ ?’ ‘दुई वर्षजति भइसक्यो।’ ‘तपाईंले त धेरै कमाउनुहुन्छ होला ?’ उसका बारेमा पनि केही सोधोस् भनेर नै होला, ऊ यति भनिरहेको।
‘तिम्रो नामचाहिँ के हो नि ?’ मैल साेधें।
‘हर्कबहादुर आले।’
‘अनि घर ?’
‘लमजुङमा पर्छ हजुर।’
‘अनि त्यति टाढादेखि यहाँसम्म यो काम गर्न किन आएको ?
अरु काम पाइँदैन र ?’
‘आउँदा आउँदै यति टाढा आइपुगियो। गरीब भएपछि त आफ्नाे परिवार, गाउँघर मन मेटेर भए पनि छाड्नुपर्दोरहेछ। हुन त अरु काम पनि गरें नि ! तर के गर्नु, जति पसिना बगाए नि ठालुको देशमा।’
‘कति वर्ष भयो त यहाँ आएको ?’
‘भयो हजुर नौ वर्षजति।’
‘यति लामो समयसम्म यहाँ बस्दा घर जाऊँजाऊँ लाग्दैन त ?’
‘लाग्छ नि ! तर सबै कुरा रहर मात्र होइन रै’छ।’
‘उता चाहिँ कोको छन् त ?’
‘श्रीमती, एउटी छोरी, सानो छोरो। यतिखेर त ठूलाठूला भइसके होलान्, सायद मलाई बिर्सिसके होलान्।’
‘श्रीमती, छोराछोरी हुँदाहुँदै तिमी चाहिँ यसरी बस्नु त ? घर जानुपर्दैन ?’
‘हेर्नुस् न, मेरो बुवालाई औषधि गर्दा, बुवाको पालादेखिको ऋण तिर्न नसक्दा त्यहाँको साहुले उठीबास बनायो। बुवा मर्नु भयो। ऋण नै तीस हजार पुगेछ। जग्गा नै साहूलाई सुम्पिएर जहानपरिवारलाई जङ्गलछेउको पाखेबारीमा राखेर आएको थिएँ पैसा कमाउन, पैसा कमाएर साहूको ऋण तिर्न सक्ने भएपछि घर फर्कन्छु भन्दाभन्दै यतिका वर्ष भइसक्यो, खै पटक्कै पैसा पुग्दैन।’
‘पैसा कति कमाइसक्यौ त ?’
‘खै, जम्मै गरेर त पच्चीस हजार रुपैयाँ जति भइसक्यो होला।’
‘त्यो पैसा आफैसँग राख्छौ कि क्या हो ?’
‘होइन नि, उः त्यो पल्लो ठूलो घर छ नि ! त्यही घरको साहूजीले राखिदिनुहुन्छ। आफैंलै राख्यो भने त खोस्दिहाल्छन् नि ! अब त तीस हजार पुगेपछि सबै पैसा माग्छु र जान्छु।’
‘ल ल छिटो पैसा कमाएर घर जाऊ। उता परिवारले चाहिँ कस्तो दुःख खेपिरहेका होलान्।’
‘सुखैसुख त कहाँ पो हुन्छ र !’
ह ह ह....
छ/सात दिन ऊ आएन। लगभग एक हप्तापछि म कहाँ आएर हँसिलो अनुहार पार्दै उसले भन्यो, ‘हेर्नुस् न, अब त मेरो पैसा पुग्नै आँट्यो।’ जिन्दगीका सारा कष्टहरु पार गरेको आनन्दमा ढुक्कसँग उसले बोल्यो, ‘अब त एक हजार मात्र बाँकी छ। सायद यही महिनाभित्रमा पुग्छ होला।’
‘त्यसो भए तिमी पाँच सय मात्र जुटाऊ, म मेरो तर्फबाट तिमीलाई पाँच सय रुपैयाँ दिन्छु।’
मेरो कुरा सुनेर लामो सास तान्दै मतिर पुलुक्क हेरी ऊ हाँस्यो।
‘अनि घर पुगेपछि के गर्छौ ? मेरो कुरा गर्छौ कि गर्दैनौ ?’
‘आम्मै ! कस्तो कुरा गर्नुभा’को होला। म तपाईंलाई बिर्सन्छु र ! अर्काको देशमा मेरी एक जना बहिनी थिइन् त्यहाँ, साह्रै दयालु, साह्रै फरासिली भनेर भाउजूलाई सुनाउँछु नि ! अनि तीस हजार रुपैयाँ साहूलाई दिएर मेरो जग्गा फिर्ता गर्छु र सानो घर बनाएर दुःखसुख गरेर परिवारसँग बस्छु।’
म त्यो बेला क्षितिजमा टोलाउन पुगेछु। उसको टेक्ने ठाउँ नभए पनि आशा र सपना त हृदयमा भित्रभित्रै लटरम्म फलाएको रहेछ। अभावै अभाव, कष्टैकष्ट र कहालीलाग्दो जिन्दगीभित्र यिनै मधुरा सपनाहरु उसले आफैंभित्र कैद गरिराखेको रहेछ। आफ्ना छोराछोरी र पत्नीसँगको रमाइलो भेटघाटको मिठो कल्पनामा यो आजसम्म यसरी बाँचेको रहेछ।
‘अहिले म जान्छु। अब केही दिनपछि जाने बेलामा आउँछु ल !’
‘हुन्छ नि !’
ऊ हतारिएर गयो।
ह ह ह...
म मेरो काममा व्यस्त रहेको बेला एकाबिहानै ढोका बाहिरबाट मेरो नाममा बोलावट भयो। म बाहिर आएँ, जहाँ छ/सात जना प्रहरी हर्कबहादुरलाई घेरेर बसेका थिए। म झसङ्ग भएँ।
‘तिम्रो दाइले तिमीसित अन्तिमचोटि भेट्छु भनेर ल्याएको, ल के-के हो छिटो कुरा गर,’ एउटा अधबैंसे प्रहरीले मलाई भन्यो। दुवै हात नेलले बाँधिएको, लुगामा रगतको टाटैटाटा बोकेको हर्कबहादुर मेरो नजिकै आएर भन्यो, ‘बहिनी ! हेर न, हिजो मात्रै मेरो पैसा तीसहजार पुगेको थियो। त्यसैले, मैले अब म घर जान्छु, मेरो सबै पैसा दिनू भनी साहूजीलाई माग्दा उसले मलाई हेपेर, नपत्याएर तेरो पैसा दिन्न भन्यो। मैले उसलाई पैसा राख्नै दिएको छैन अरे ! अनि त मैले आँखै देख्न सकिनँ र उसको हत्या गरिदिएँ। साँच्चै हो बहिनी, मैले त्यो पाजीलाई मारिदिएँ। अब म झ्यालखाना जाँदै छु, सायद उतै मर्छु होला। मेरो घरमा यी सबै खबर लेखेर एउटा पत्र पठाइदिनुहोला। ई मेरो घरको ठेगाना।’
उसले एउटा सानो चिर्कटो नेलले बाँधिएको हात उठाउँदै मलाई दियो, जहाँ उसकी श्रीमतीको नाम र ठेगाना लेखिएको रहेछ।
‘हुन्छ... तर...’ म अकमकिएँ।
‘भयो-भयो, ल हिँड् अब।’
प्रहरीहरुले उसलाई घचेट्दै लगे। ऊ मतिर टाउको फर्काएर भन्दै थियो, के-के भन्दै थियो खै, मेरा कान टम्म भइसकेकाले सुन्नै सकिनँ। उसलाई एउटा प्रहरीले घुस्सीले हानेको मात्र देखें, त्यसलाई पनि मेरो चिन्तनले कुनै प्रतिक्रियाको संकेत देखाएन।
ऊ प्रहरीको गाडी हिँड्न लाग्दा झ्यालबाट मलाई हेरेर एकचोटि हाँस्यो, मेरो मस्तिष्क डामाडोल भइसकेकाले फेरि पनि कुनै प्रतिक्रिया जनाएन, जब उसलाई राखेको गाडी गुड्यो तब मेरा परेलीका सङ्घारमा आएर नुनिला आँसुका थोपाहरुले कमजोर प्रतिक्रिया देखाए।
२५ वैशाख २०६०
टाँडी