अर्काकाे देशमा– ४

माेड

BreaknLinks
BreaknLinks

‘हेर्नुस् जननीजी, तपाईंले आफ्नाे श्रीमानलाई मनाउन सक्नुभएन। उसलाई थाहा छ, यो गाउँमा सरकारी सैनिकको जागिर खाने केवल तपाईंको श्रीमान् कर्मवीर सिंह मात्र पर्छ। अरु सबैले छाडिसके। हाम्रो, सेनाबाट तत्काल निस्कने उर्दीलाई उसले मात्र बेवास्ता गरेकाले अब हामीलाई पक्का भयो, उसले जागीर छोड्दैन। त्यसैले, अब हामी बाध्य भएर तपाईंहरुको परिवारलाई गाउँनिकाला गर्दैछौं। ध्यान दिनुहोला, तपाईंहरुले यो गाउँ एक हप्ताभित्र छाडिसक्नुपर्नेछ।’ रक्षक उर्फ रुद्र घले आफ्ना केही विद्रोही साथीहरुसँग आएर जननीलाई यसो भन्दै उनको घरमा आफ्नाे पार्टीको निर्णय भएको पुर्जी टाँस्छ। जननी एकछिन मौन रहन्छिन्। आफ्नाे बाल्यकालदेखिको हितैषी साथीले आज आफैलाई यसो भनिरहँदा जननीको कान टिनिन्न गरेर बजिरह्यो।

‘रुद्र, तिमी यो के भन्दै छौ ? के यो तिमीले नै भन्दै छौ ?’ उनी रक्षकको पाखुरामा समाएर झँगाल्दै बिन्ती गर्छिन्, ‘तिमीलाई यो बाल्यकालदेखिको साथीको अलिकति पनि माया छैन ? मैले मेरो श्रीमान्लाई जागिर छाड्न कति आग्रह गरें हुँला तर बाध्यताले गर्दा त्यो भनेजस्तो हुन सकेन अनि त्यसको सजाय आज मलाई दिँदै छौ ? रुद्र, एउटा साथीको नाताले मलाई दया गर। तिमी यसो नभन, बिन्ती छ।’ रक्षक आकाशतिर अनुहार फर्काएर यी सब सुनिरहेको थियो। लाग्थ्यो, उसको मुटु असह्य पीडाले भक्कानिँदै छ। हत्केलाले मुख छोपी रुँदै गरेकी जननीलाई त्यत्तिकै छाडेर उसले फटाफट आफ्नाे बाटो ततायो।

कर्मवीर सिंह, एउटा सिपाही। भर्खर दुई वर्ष मात्र हुँदैछ सेनामा भर्ती भएको। टुहुरो, गरिब कर्मवीरले वर्ष दिन अघि मात्र जननीलाई बिहे गरेको हो। जागिरले गर्दा कमवीर ब्यारेकतिरै बस्छ भने यता घरमा जननी एक्लै बस्दै थिइन्। गरिब भए पनि आफ्नाे नामझैं कर्मप्रति बफादार मेहनती कर्मवीरले जागिर खान थालेपछि जननीले उनले भनेजस्तै मान्छे भेटेकी हुन्। विद्रोही पार्टीबाट आफ्नाे घरमा जागिर छोड या गाउँ छोड भन्ने उर्दी बारम्बार दिएको भन्ने कुरा कर्मवीरले ब्यारेकमै सुनिरहन्थ्यो। तर पनि ऊ जागिर छाड्न चाहँदैनथ्यो। जब ऊ आफ्नाे बर्दी र बन्दुकमा उभिन्थ्यो तब उसलाई लाग्थ्यो, यो देशलाई मेरो खाँचो छ। साँच्चै नै ऊ आफ्नाे देशको खातिर आफ्नाे बली चढाउन पनि पछि नहट्ने कुरामा अडिग थियो तर जब ऊ एकान्तमा भावनामा बग्थ्यो तब उसलाई लाग्थ्यो जागिर छोडौं त जीवन धान्नै गाह्रो अनि जागिर नछाडौं त अनेक चेतावनी र दुःखहरु। यस्तै यस्तै दोधारमा कर्मवीर ब्यारेकमा बेखबर बसिरहन्थ्यो।

जननीले योभन्दा अगाडि आफूमा त्यस्तो उर्दी गरेपछि कर्मवीरलाई भेटेर, फाेन गरेर जागिर छाड्न कैयौंपल्ट बिन्ती नगरेकी होइनन् तर के-के तालमेल मिलिरहेको थिएन। आज आएर अब जननीले कुम्लोकुटुरो बोकेर श्रीमान्कहाँ जानुपर्ने भयो। रहरले पालेकी भर्खर फुल्दै गरेको एउटा कुखुराको पोथी अनि घरको खोपीमा बस्ने गरेका एक जोडी परेवालाई त्यत्तिकै छाडेर जननी श्रीमान् बस्ने ब्यारेकतर्फ लागिन्।

जननीको परिवारमा यस्तो अवस्था आइनपरोस् भनेर रक्षकले पनि कोसिस नगरेको होइन। आफ्नाे बाल्यकालदेखिको मन मिल्ने साथी जननीलाई केही दुःख नपरोस् भन्न चाहन्थ्यो ऊ। किनकि उनीहरु कुनै बेला एकअर्कालाई मन पराउँथे, माया गर्थे तर यो कुरा आपसमा भन्न नसक्दै घरको करकापले गर्दा बुवाआमाले खोजिदिएकी केटी ममतासँग उसको बिहे भयो। ममता सोझी नारी थिइन्। थाहै नदिईकन श्रीमान् विद्रोही पार्टीमा लागेर गाउँगाउँमा विद्रोह र परिवर्तनका कुरा गरे पनि यसबारे ममता केही बुझ्दिनथिन्। तर उनलाई आफ्नाे श्रीमान्का बारेमा रातदिन सुर्ताले सताइरहन्थ्यो।

एक छाक खान पनि धौधौ पर्ने त्यो परिवारमा साहूको ऋणको भार उस्तै थियो भने गाउँमा विद्रोहको राँको पनि सल्कँदै थियो। रुद्रको घरमा सुखको सास फेर्न पक्कै पनि परिवर्तनको खाँचो थियो। गाउँमा रातारात विद्रोही पार्टीको विस्तार हुन थाल्यो। पूरै गाउँ नयाँ जोस र जाँगरले भरिपूर्ण भयो। गरिबहरुको र अन्यायमा परेकाहरुको सुनुवाइ हुन थाल्यो। यही लहरमा रुद्र पनि विद्रोही पक्षमा आबद्ध भयो र रक्षक बनी कहिले कता त कहिले कता पार्टीको काममा डटेर लाग्न थाल्यो। भूमिगत रुपमा पार्टीको काम गर्नुपर्ने भएकाले गाउँलेहरुले रुद्रका बारेमा शङ्का गरेका थिएनन् तर आज जननीलाई यो कुरा थाहा भयो।

विवश भएर जननी आफ्नाे कुम्लोकुटुरो बोकेर आफ्नाे श्रीमान्कहाँ गइन्। उता यो कुराले कर्मवीरलाई असह्य रिस उठ्यो, ती विद्रोही भनाउँदाहरुका बारेमा उसले जननीबाट जान्न खोजे पनि जननीले रक्षकको नाम भन्न सकिनन्। अब जननी पनि कर्मवीरसँगै ब्यारेकमै बस्न थालिन्।

देशमा विद्रोहले व्यापक रुप लिँदै गयो। कैयौं पुराना अन्यायी प्रथाहरुको उन्मूलन भयो। गाउँगाउँका जालीफटाहालाई सुधार्न थालियो र विद्रोहीहरुको आफ्नै शासन व्यवस्थाअनुरुप चल्न निर्देश गरियो। त्यसो त गाउँवासीहरुलाई यो परिवर्तित कठोर नियममा बस्न कुण्ठा नभएको भने होइन। देशमा कहिले पूर्व त कहिले पश्चिममा सरकारी सेना र विद्रोही पक्षबीच भिडन्त भएका समाचारहरु दिनहुँजसो सुनिन थाले। फलाना ठाउँका फलाना प्रहरी जवान, फलाना ठाउँका विद्रोही पक्षका फलाना विद्रोही छापामार मारिए, यसरी आखिर त्यहाँ देशका गरिब निमुखाहरु नै मारिँदै थिए। गरिब अनि वृद्धवृद्धा बुवाआमाहरुको शोकाकुल अनुहारको शोकाकुल देश बन्दै थियो।

त्यसैबेला एकरात विद्रोही पक्षले रक्षकको नेतृत्वमा एउटा ब्यारेक हान्यो। पचासौं विद्रोहीहरु मारिए अनि उत्तिनै संख्यामा सरकारी सेनाहरु पनि मारिए, जसमा कर्मवीर सिंह पनि पर्‍यो। भिडन्त स्थलदेखि दुई दिन लुकीछिपी हिँड्दै रक्षक आफ्नो घर आइपुग्यो। गाउँमा आउँदा थाहा भयो, कर्मवीर पनि त्यहाँ मारिएछ। जननीलाई पनि थाहा भयो, श्रीमान् मारिएको त्यो आक्रमणमा रक्षकले नेतृत्व गरेको थियो।

जननी गाउँ नै फर्किन्। उनी एक्लै बस्न थालिन्। एकचोटि गएर जननीसँग भेट गर्ने आँट रक्षकलाई आएन, किनकि जननीले यी सबै कुरा थाहा पाइन् भनेर उसले सुनिसकेको थियो।

आज गाउँको चोकमा विद्रोहीहरुको ठूलो आमसभा भयो। रक्षकले पनि बडो जोसका साथ भाषण दियो। विद्रोहीहरुको रगत नसाभित्रभित्रै खहरेझैँ उर्लिएर बग्दै थियो, चोकको छेउबाट कोसी नदी शान्त अनि सलल बगिरहेथ्यो भने त्यो विद्रोही सभाभन्दा केही पर जननी घरमा एक्लै सुस्ताइरहिन्। 
त्यो रात सरकारी सेनाहरु अचानक आएर गाउँ घेरा गरेछन्। बिहान सबैलाई चोकमा जम्मा गरियो। शङ्का लागेका र पक्का भएका २५/३० जनालाई सेनाहरुले नदीकिनारमा लाम लगाएर उभ्याए। रक्षक भाग्यले बच्यो। केही परको गोठमा राखेको परालको धुसुनमा लुक्न भ्याएकाले सेनाले उसलाई भेटेनन्। रक्षकले साथमा आफ्नी पाँचमहिने छोरी शान्तिलाई पनि सँगै लगेको थियो। छोरीको मुख छोपेर रक्षक ती सब लुकर हेरिरहेको थियो। हिजो विद्रोहका भाषण दिनेहरुले आत्मसमर्पणको सट्टा बलिदान रोजे, उनीहरु पालैपालो बन्दुकको निसाना बने। अब त्यहाँ केही मात्र खडा थिए। रक्षक प्रस्ट देख्दै थियो, त्यहाँ उसकी श्रीमती ममता पनि छिन्। ममता डरले कहालिएर रुन थालिन्, शान्तिले चनाखो हुँदै आमाको चिच्याहट सुन्न थाली, एकैछिनमा ढड्यामढड्याम आवाज आयो, ममता दुईवटै हात आकाशतिर फैलाउँदै नदी किनारको पानीमा गर्ल्याम्म ढलिन्, रक्षकले यो सब हेरिरह्यो।

सेनाहरु ब्यारेक फर्के। गाउँ सुनसान भयो, फेरि रात पर्‍यो, शान्ति भोक र दूधको प्यासले एकोहोरो रुन थाली। रक्षकले आफ्नो हातको औंला मुखमा लगाइदियो। बिचरी औंलो चुस्दाचुस्दै निदाइ। रक्षक आफ्नी बच्चीलाई हेर्दै रातभर धेरै धेरै रोयो। बिहान पनि शान्ति भोकले रुन थाली। उनको घाँटी सुकिसकेको थियो, केवल सासले मात्र रोएको सुनिन्थ्यो। रक्षक अत्तालियो, झटपट गोठबाहिर निस्केर ममताको लासतिर गयो। बच्चीले आफ्नी आमाको दूध चुसेपछि त केही ढुक्क होला भन्ने आशामा ऊ थियो। ममता नदीकिनारमा ढलेका बग्रेल्ती लासहरुको माझमा निर्जीव ढलेकी थिइन्। रक्षकले मृत आमाको चोलोको टाँक फुकालेर बच्चीलाई उनको दूध चुसाइदियो। शान्तिले धेरै बेरसम्म आफ्नी मृत आमाको स्तन चुसिरही।

रक्षकले ममताको अनुहार हेर्‍यो, अझै पनि जीवनको भिक्षा मागिरहेको आभास झल्कन्थ्यो त्यहाँ। रक्षकको मन एकतमासले उड्यो, छाती भक्कानिएर आयो र ममताको छातीमा घोप्टो परेर रुँदै बर्बराउन थाल्यो, ‘ममता ! मलाई माफ गर, मैले तिमीले भनेजस्तो केही पनि गर्न सकिनँ, न आफैंले भनेजस्तो नै। म तिमीबिना कसरी बाँच्न सक्छु र ! हाम्रो यो दूधे बच्चीको के हालत होला अब। ममता, अब म यो ठाउँमा बस्दिनँ। म जान्छु, म अन्त कतै जान्छु। यो मेरो विद्रोही यात्रा पनि छाडिदिन्छु। मैले मेरी सोझी निर्दोष श्रीमती गुमाउनुपर्‍यो। मलाई माफ गर ममता !’ ऊ यसरी नै धेरै बेरसम्म रोइरह्यो।

उसका आँसु सुकिसकेका थिए। ऊ जुरुक्क उठेर नानीलाई काखी च्याप्यो र फेरि चोकमा आयो। सिरेटो चलेर जाडोले ऊ लुगलुग काँपिरहेको थियो। उसले आफ्नो कोट फुकालेर नानीलाई बेरेर चोकको बाटोमा राखिदियो। नानीको निधार, हात, खुट्टा, गाला, आँखा, ओठमा म्वाई खायो र नानीलाई त्यहीँ छाडी शून्य हृदय लिएर नदी किनारैकिनार जाने सुरमा लम्क्यो। केही तल पुगेर उसले आफ्नो कम्मरमा भिरेको पिस्तोल जोडले नदी माझतिर फ्याँकिदियो र नदीको मन्द छाल हेर्दै टोलाइरह्यो।

त्यत्तिकैमा अचानक पछाडिबाट उसलाई कसैले बोलायो, पछाडि फर्केर हेर्‍यो, जननी उसकी छोरी शान्तिलाई बोकेर उभिइरहेकी थिइन्। रक्षक फेरि भावशून्य भएर जननीलाई हेरिरह्यो। जननीका आँखामा बलिन्द्र अश्रुधारा देखियो। जननी रक्षकको छेवैमा आइन् र उसको काँधमा हात राखेर भनिन्, ‘रक्षक, तिम्रा लागि म पनि दुःखी छु। तिम्रो दुःखमा मलाई पनि धेरै दुःख लागेको छ तर यो दूधे बालकलाई एक्लै छाडेर तिमी कहाँ जान लागेको ? आऊ, हामी मिलेर अब हाम्रा दुःखहरु बाँड्नुपर्छ। यहाँ नयाँ वातावरण ल्याउनुपर्छ। तिमी र म बाँचेका छौं, त्यसैले यो काखेबच्चा शान्तिलाई मिलेर हुर्काउनुपर्छ। आऊ, गाउँ फर्काैँ अनि तिमी र म मिलेर यो शान्तिलाई हुर्काऔं, बढाऔं।’ भन्दाभन्दै जननी घुँक्कघुँक्क गर्दै रुन थालिन्। रक्षकले बिस्तारै उनको शिर उठायो, अनुहारमा छरिएका केशराशि सम्हालिदियो, उनका आँखाबाट झर्दै गरेको आँसु पुछिदियो अनि अँगालोमा बेस्सरी कस्यो।

१९ कात्तिक २०६२
 उर्लाबारी 

प्रकाशित मिति: : 2023-07-01 09:30:00

प्रतिकृया दिनुहोस्