रातभरि पानी पर्यो। खड्गबहादुरले अँध्यारा-अँध्यारामै पाखामा बाँधेको हल गोरुलाई खोल्मामा ल्याएर बाँध्यो। गोरुहरु निथ्रुक्कै भिजेछन्। ऊ पनि सिकुवासम्म आइपुग्दा निथ्रुक्कै भयो। एक खिल्ली सुर्ती सल्काएर ऊ बाहिरतिर हेर्दै ओछ्यानको पिँधतिर बसिरह्यो। यसपाली पानी साह्रै मजाले पर्यो। अब पानीको मूल फुट्ने भयो। खोलामा पनि पानीको छेलोखेलो हुने भयो। अब भोलिदेखि नै खड्गबहादुर खोलापारि जलकेनी टोलका महाजन देवदत्त पण्डितकहाँ हलगोरु, हलो र जुवा लिएर जोत्न जानुपर्ने भयो।
खड्गबहादुरले आफ्नाे पाँच रोपनी पाखेबारीमा मकै, कोदो छर्न जोत्न उही देवदत्त पण्डितकोबाट हलगोरु ल्याउँछ। बारी जोत्नुभन्दा एक महिनाअघि नै ती हलगोरु उसका खोल्मामा भित्रिन्छन् अनि खड्गबहादुरको सपरिवारले तिनीहरुलाई पोस्याउन थाल्छन्। गोरुहरु त्यो परिवारको शोभाझैँ हुन्छन्। खड्गबहादुर हलगोरुलाई बडो माया गरेर आफ्नाे पाखेबारीमा जोत्छ। महाजनकहाँबाट जिङग्रिङ्ङ परेर आएका ती हलगोरु चिल्ला भएर फेरिन्छन् अनि पाँचदिन जति खड्गबहादुरको जग्गा जोतेर फेरि उसको घरमा बर्खाको पानी नपरुन्जेल आराम गर्छन्। अब पानी पर्न सुरु गर्यो, पण्डितका बाँझा खेतहरु जोत्न थाल्ने बेला भयो। अब भोलिदेखि नै देवदत्त पण्डितको खेती नसिद्धिउन्जेल खड्गबहादुरले जोत्नुपर्ने भयो। यसपाली आफ्ना पाखेबारी बाँझै थिए। एक सातापछि त्यति जाबो बारी जोताैँला नै भनेको थियो तर पानी पर्न सुरु गर्यो, आफ्नाे बारी बाँझैँ रहने भयो, काम महाजनको सुरु हुने भयो।
खड्गबहादुर बिहानै उठेर गोरुलाई खोले बनाउन थाल्यो। पानी अझै सिमसिम परिरहेको थियो। बिस्तारै बिस्तारै उज्यालो भयो। नुन हालेको तातो चिया पिएर ऊ हलोजुवा काँधमा बोकेर हलगोरु धपाउँदै खोलापारि लाग्यो। सिकुवाको डिलमा बसेर उसका बालबच्चा ती हलगोरुलाई बडो माया गरेर हेरिरहेका थिए, बुवाले टाढैबाट कराउनुभयो, ‘खोल्मा सफा गर्नू, भरेदेखि गोरु उतै महाजनकहाँ बस्छन्।’ छोराछोरीलाई थाहा थियो, हामी गरिब छौं, हाम्रा आफ्नै हलगोरु छैनन्, त्यसैले हाम्रो यति नाथे बारी जोत्न पण्डितकहाँबाट हलगोरु ल्याएर दुई-दुई महिना स्याहार्नुपर्छ। ती छोराछोरीको मनमा आफ्नै एकहल गोरु स्याहार्ने ठूलो तृष्णा थियो। खड्गबहादुर ती सब थाहा पाउँथ्यो, तर गर्न नै के सक्थ्यो र ? उसले जान्दादेखि नै उसका बुवा पनि खोलापारि उनै पण्डितकहाँ हली बस्न जान्थे। पछि, सियो मिलाउन जान्ने भएपछि उसले पनि उनै पण्डितको खेत जोत्न थालेको हो। बडो मलिलो खेत छ पण्डितकाे। ठूलाठूला गरा, समथर टार, पानीको छेलोखेलो।
ऊ जोत्दा-जोत्दै यसो उभिएर परपरसम्म आँखा पुर्याउँछ, उस्तै टार खेत छन् सबैका, अलिपर मिक्लुक खोलामा बर्खाको बाढीको गडगडाहट सुनिएको सुनियै छ अनि खोलापारि आफ्नाे पाखेबारी भएको बाँझो जरुवा टोल। मनमा कुराहरु खेलाउँदै ऊ फेरि जोत्न थाल्छ। त्यत्रो कोसिस गर्दा, त्यत्रो बिन्ती गर्दा, पाउमै पर्दा पनि पण्डितहरुले हामीलाई कुलो नदिने भए।
जलकेनी र जरुवाबीचमा मिक्लुक खोला छ, हिउँदमा पनि गाउँमा यसो गहुँ छर्न पुग्ने गरी पानी बगिरहन्छ। जलकेनीका सारा जग्गामा कुलो सिँचाइ मनग्गे पुग्छ। त्यसो त त्यहाँका बासिन्दा पनि खानलाउन पुग्ने नै छन् तर उता जरुवा टोल भने नाम मात्रैको जरुवा। पानीको एउटा कुलो त के, खानेपानी लिनसमेत धेरै वर खोलाको डिलसम्म आइपुग्नुपर्छ। जरुवाका बासिन्दा प्रायः सबै निम्नस्तरका छन्, किनकि उनीहरुका जेजति जग्गा छन्, सबै पाखेबारी नै छन्। त्यही पनि रुखो, मकै कोदो पनि अच्कल्टिएर फल्ने। खड्गबहादुरको बुवाको पालामा पनि जरुवावासीले खोलादेखि एउटा सानो कुलो दिनका लागि वर्षौं अघिदेखि जलकेनीवासीसँग आग्रह गरेका थिए तर पण्डित देवदत्तको आनाकानीले दशकौं वर्षदेखि जरुवा पाखो पल्टिराखेको हो। यसरी वर्षौंदेखि खोलामा पानी बगिरहेको छ, त्यसको अलिकति पानी जलकेनीतिर गएर लटरम्म धान, मकै, गहुँ फलाइरहेको छ, अरु पानी त्यत्तिकै बगेको बग्यै छ, यता जरुवावासीहरु वर्षौंदेखि कुलोका लागि जलकेनीवासीबाट दयाको अपेक्षा गर्दै रहेका छन्, अनि उता पण्डित देवदत्तहरु कुलो नदिने अड्डीमा बसिरहेका छन्।
त्यसो त खड्गबहादुरले देवदत्त पण्डितसँग एउटा कुलो दिन धेरै पटक अनुरोध गरिसक्यो तर पण्डित आफ्नाे अड्डीमा अडिग रहेकै कारण कुरा त्यत्तिकै हराइरहेको छ। आफ्नाे पुर्खादेखि नै पण्डितका पुर्खाहरुलाई जीहजुरी गर्ने, उनीहरुको खेत जोतिदिने, उनीहरुको कमारा हुने प्रथाले कुलोको कुरा देवदत्तहरुको जङ्गी अड्डीले थिचिरहन्थ्याे। कहिलेकाहीँ विद्रोहका झिल्काहरु मस्तिष्कबाट उछिट्टिए पनि दास मनस्थितिका कारण ती झिल्काहरु क्षणभरमै हराउँथे या त कुण्ठित हुन्थे। र, यो साल पनि कुलोको कुरो मनमै मिचेर, पण्डितको खेत स्याहारेरै बर्खा बित्यो, हिउँद लाग्यो, धान राम्ररी फल्यो, देवदत्तको घरमा मुरीका मुरी अन्न भित्रियो र ज्यालास्वरुप केही पाथी धान खड्गबहादुरको थोत्रो बर्कोमा पर्यो।
बर्खे बिदाको छुट्टीमा खड्गबहादुरको छोरा दिलबहादुर क्याम्पसदेखि घर आयो। जरुवा टोलको एक मात्र शिक्षित, दिलबहादुर टोलकै आशाको त्यान्द्रो थियो। यसपाली त उसले सबै टोलवासीलाई भेला गर्यो र कुलो खन्ने कुरा गर्यो। नभन्दै गाउँलेहरुले पारी गाउँलाई थाहै नदिइकन खोलाको डिलबाट कुलो खन्न थाले। सबैको मनमा नयाँ उमङ्ग थियो, साथै त्रास पनि। गाउँमा यसो पानी पुर्याउन पाए केही हुन्थ्यो कि भन्ने आशा अब पूरा हुने खुसी थियो भने पारिकाहरु आएर कुलो भत्काइदिने पो हुन् कि भन्ने त्रास पनि उत्तिकै थियो। दिलबहादुरलाई यो सबै थाहा थियो, त्यसैले उसले सबैलाई भन्यो, ‘हेर्नुस्, यसपाली भत्काइदिए आगुम खनौंला तर सङ्घर्ष चाहिँ गर्नुपर्छ है, डराउनुहुँदैन।’
उनीहरुले दिनभरि कुलो खने, अब भोलि एक दिन मजाले खने त खोलाको अग्लो भीर पनि कटाइने भयो। तर, भोलिपल्ट देवदत्तको अगुवाइमा जलकेनीवासीहरु झ्याम्पल, कोदालो बोकेर आए र खनेको कुलो गल्र्यामगुर्लम भत्काउन थाले। त्यहाँ बोल्न सक्ने कोही भएन, केवल दिलबहादुरले देवदत्तलाई यति मात्र सोध्यो, ‘यो कुलो किन भत्काउनुभएको बाजे ?’ दिलबहादुरको कुरो नसुनेझैं उसलाई नहेरी कुलो भत्काउँदै गरेकोतिर हेर्दै देवदत्त कुर्लियो, ‘मोराहरु, ऐनले नदे’को काम नगर भन्दा नमान्ने भयौ होइन। यहाँबाट कुलो झिक्न पाउँदैनौ भनेर मैले कतिचोटि भनिसकें।’
दिनभर लगाएर खनेको कुलो भत्काउन निमेषभर पनि लागेन। जलकेनीका साहूमहाजनको समूहले त्यो कुलो निर्धक्कसाथ भत्काए भने जरुवावासीहरु निरीह भएर एकातिर गुरुम्म उभिएर पसिना पुछ्दै ती सब हेरिरहे। देवदत्त फेरि एकचोटि जरुवावासीतिर ढाड फर्काएर कुर्लियो, ‘फेरि पनि यस्तो भयो भनेचाहिँ नराम्रो हुन्छ नि, भन्देको छु।’ देवदत्त र उसको समूह पारि लागे, जरुवावासीहरु जर्याकजुरुक उठेर आ–आफ्नाे सामान बोकेर चुपचाप घरतिर लागे।
दिलबहादुर यो कुलाको विषयमा निकै लागिपरेका थियाे। आफ्नाे गाउँमा पनि एउटा कुलो ल्याऊँ, मकै र कोदो पनि मुस्किलले फल्ने पाखेबारीमा जाउलो र नगदे बाली फलाऊँ अनि गरीब दुःखी गाउँलेको अलिकति भए पनि जीवनस्तर सुधारुँ भन्ने कुराले दिलबहादुरलाई दुई तीन वर्ष अघिदेखि नै यो कुलाका बारेमा उत्सुकता लागेको हो। उसलाई थाहा थियो देवदत्तहरुले जरुवामा किन कुलो दिँदैनन्। कारण, जलकेनी र जरुवाबीचको उनीहरुको पुर्खादेखि नै चल्दै आएको एउटा प्रथालाई निरन्तरता दिनु थियो। जलकेनी टोलका साहु, महाजन, जमिनदारहरुको टोल हो भने यता जरुवा गरीब, उनीहरुको ज्यालामा काम गर्ने ज्यामी अनि उनीहरुको ऋणको ब्याज तिरिरहने ऋणी। त्यसो त देवदत्त जलकेनीभरिको पनि महाजन। पुर्खादेखि नै जलकेनी र जरुवामा उनको राज छ। जरुवाका प्रत्येक घरले उसबाट ऋण लिएका छन् अनि त्यही ऋणबाट पाइने प्रत्येक महिनाको चर्को ब्याजले देवदत्तको सम्पत्ति झन्झन् चुलिँदै जान्छ। एक छाक खान पनि मुस्किल पर्ने जरुवावासीहरु थोरै ज्याला र चारमाना धानमा पनि देवदत्तकहाँ बनिबुतो गर्न जानुपर्ने बाध्यता थियो, जसको अधिकतम फाइदा देवदत्तलाई नै थियो। यसरी गरीब जरुवावासीबाट धेरैभन्दा धेरै फाइदा लिँदै गरेको देवदत्त पण्डित पारि कुलो दिन चाहँदैनथ्यो। किनकि, पारि कुलो गएमा त्यहाँ पनि अन्नबाली सप्रेर फल्नेछन्, उनीहरुको जीवनस्तर सुध्रनेछ र यता आफ्नाे खेतमा आफैं काम गर्नुपर्ने हन्छ अनि ऋण दिएर चर्काे ब्याज लिन पाइँदैन भन्ने ऊ ठान्छ। यसकारण, देवदत्त पण्डित आफ्नाे कुरामा अड्डी कसिराखेको थियो।
अब यो प्रथालाई तोड्नुपर्ने थियो, जसका लागि त्यहाँ दिलबहादुरको निडर नेतृत्वको आवश्यकता थियो भने जति कुलो खने पनि भत्काइदिने त्यो जलकेनीवासीको समूहमा पनि एक निःस्वार्थ भावना बोकेको प्रभावकारी व्यक्तिको उत्तिकै आवश्यकता थियो।
त्यो साल त्यत्तिकै बित्यो, फेरि बर्खा आउन आँट्यो। जरुवावासीमा फेरि पनि कुलोको कुरा चल्न थाल्यो। प्रत्येक घरघरमा गएर दिलबहादुरले कुलोप्रति निराश गाउँलेहरुलाई फेरि जोस दियो। जरुवावासीले फेरि पनि खोलाको डिलबाट कुलो निकाल्न थाले। सबै त्रसित थिए, तिनीहरु आएर फेरि कुलो भत्काइदेलान्। सबैको नारीमा जाँगर नै आउँदैनथ्यो तर दिलबहादुरको जोसिलो कुराले उनीहरु चुपचाप कुलो खन्न थाले। मनमा आधा आशा अनि आधा निराशा बोकेर उनीहरु साँझ घर फर्के।
यता देवदत्तको मनमा फेरि बेचैन हुन थाल्यो। हुक्का छोडेर लौरो टेक्दै ऊ फेरि घरघरमा गएर बेलुका उसकहाँ भेला हुने हुकुम गर्यो। बेलुका जलकेनीवासीहरु देवदत्त पण्डितको घरमा भेला भए। देवदत्त सिकुवाबाटै जङ्गिन थाल्यो, ‘ती मोराहरुले फेरि कुलो खन्न थाले। तिनीहरुले हामीलाई नपत्याएका रहेछन्। अब भोलि हामी त्यहाँ गएर त्यो कुलो भीरदेखि लडाउने मात्र होइन, तिनीहरुको त्यो अगुवा भनाउँदो दिले कामीलाई पनि त्यही भीरबाट लडाइदिने हो। बडो जोरी खोज्छ पाजी !’
दिलदत्त, देवदत्तको एक्लो छोरो। भर्खर बखार्काे छुट्टीमा क्याम्पसदेखि घर आएको, बरन्डामा बसेर अध्ययन गरिरहेको बेला बुवाको यस्तो कुरा सुनेपछि उसलाई केही बोलूँबोलूँ लाग्यो र तल ओर्लेर उनीहरुको कुरा सुन्न थाल्यो। त्यहाँ कुलोको कुरो मात्र होइन, ज्यानकै कुरा चलिराखेको थियो, ऊ बीचैमा प्वाक्क बोल्यो, ‘के कुरा गर्दै हुनुहुन्छ तपाईंहरु ? अर्काको ज्यान मार्न त्यति सजिलो छ र ? उनीहरुले जुन कुलो खने, त्यो ठिकै हो, किनकि उनीहरुले पनि त्यसबाट केही आशा गरेका होलान् र त्यो हुन्छ पनि।
हेर्नुस्, यो देश सबैको हो, यो गाउँ अनि यो प्राकृतिक सम्पदा सबैको हो। त्यो खोलाको पानी उनीहरुले प्रयोग गर्दा के हाम्रो खेत सुक्छ र ? त्यत्रो पानी बगेरै गइरहेको छ। अलिकति पानी उनीहरुले पनि लान पाए त्यताको पाखेबारी पनि खेत हुने थियो, त्यहाँ पनि अन्नबाली राम्ररी उब्जने थियो अनि त्यहाँको जीवनस्तर पनि केही हदसम्म सुध्रिने थियो। यसमा हामीलाई बेफाइदा के छ र ? त्यो टोल सम्पन्न भए यो टोल सम्पन्न हुन्छ। यो गाउँ सम्पन्न हुनु भनेको यो समाज अनि हाम्रो सिङ्गो देश सम्पन्न हुनुमा सहयोग पुग्नु हो। हाम्रो देश तपाईंहरुको जस्तै विचारले गरीब भएको हो। यहींँ वारि गाउँमा अन्नबाली लटरम्म फल्छ, त्यहीं पारि गाउँ पाखेबारी बाँझैँ पल्टिरहन्छ अनि कसरी यो समाज र देशको विकास हुन्छ।
म दिलबहादुरबाट प्रभावित भएको छु। सदियौंदेखि चलिआएको यो बेमेल, एकलकाँटे प्रथालाई तोड्दै जरुवा र जलकेनीबीच एकआपसमा साझेदारी भावना अनि मेलमिलाप र सरसहयोगको सुमधुर प्रथाको जग बसाउन म पनि उत्सुक छु, जसका लागि मेरो हितैषी, सहपाठी मित्र दिलबहादुरलाई तपाईंहरुले त्यस्तोविपरीत ढङ्गले नसोचिदिनुहोला। किनकि, ऊ एक इमानदार र प्रगतिशील युवा हो। त्यसैले, म तपाईंहरुलाई त्यो कुलो नभत्काइदिन अनुरोध गर्छु।’
भीड चुपचाप भयो। बुवा देवदत्त भुइँतिर शिर निहुर्याएर बसिरह्यो। भेला भएकाहरु एक दुई जना, एक दुई जना घट्दै आँगन छिट्टै शून्य भयो, केवल बुवा र छोरा मात्र आमनेसामने भए। आफ्नाे भनाइभन्दा छोराको विपरीत विचार सुन्दा पनि दवदत्त चुप रहिरहे। त्यसो त देवदत्तलाई त्यो रातभर निद्रा लागेन। आफ्नाे छोराप्रति पनि उसलाई रिसको अलिकति पनि क्लेस आएन। मन एकतमासले उडिरह्यो। ओछ्यानमा पल्टिए पनि अबेरसम्म निद्रा आएन। कताकता आफ्नै ज्यान हलुङ्गो रुवाझैँ लाग्न थाल्यो र कुनै अथाह गहिराइमा तैरिएर बिस्तारैबिस्तारै झरेझैँ लाग्दै थियो।
भोलिपल्ट देवदत्त सबेरै उठ्यो, आफ्नाे नित्यकर्म गरिसकेर पिँढीमा बसी चिया पिउन थाल्यो। पर, खोलापारि एक हुल गाउँलेहरु झ्याम्पल, कोदालो बोकेर खोलातिर कुलो खन्न आउँदै थिए। यता जलकेनी सुनसान थियो, हिजो भेला भएकाहरु सबै आ-आफ्नै काममा व्यस्त थिए। देवदत्तकहाँ कुलो भत्काउन जानेहरुको भेला हुने छाँटकाँट देखिएन। देवदत्तको नजरमा हिजोका कुराहरु मेलै गरी आउन थाले। आफ्नाे छोराको विचार पनि ठिकै लाग्न थाल्यो। छिमेकीहरुको अनुहारमा पनि छोराकै समर्थनमा झल्केको भाव सम्झ्यो तर आफ्नाे पुर्खौंपुर्खादेखि चलिआएको प्रथा सङ्कटमा पर्न आँटेकोमा आफ्ना पुर्खाप्रति ऊ आफू निर्धो, निरीह भएको भान पर्यो र कताकता छातीभित्र चसक्क दुखेजस्तो लाग्यो।
यतिका अबेरसम्म पनि छोरोको पत्तो नहुँदा नचाहिकन नै उसले छोराकी आमालाई ‘दिलु कता गयो ?’ भनी सोध्यो। पण्डितनीले भन्दा मात्र देवदत्तलाई थाहा भयो, दिलदत्त बिहानै उठी कोदालो बोकेर पारि जरुवावासीलाई कुलो खन्न सघाउन गइसकेछ।
१४ कात्तिक २०६२
उर्लाबारी