ऊ हरेक साँझ मेरो घरबेटीकोमा आउँथ्यो। बडो मजामजाका कुरा गर्थ्याे। रक्सीको तातो रमरमसँगै कहिले कोहिमाको त कहिले ल्हासाको कुरा गर्थ्याे अनि कहिले देहरादुन त कहिले मुम्बईको। मलाई उसका कुराहरुले साह्रै धित मर्थ्याे अनि पढ्न पल्टाएका किताबहरु एकापट्टि थन्काएर म उसको कुरा सुन्न ऊ बसेको खाटको छेउमा बस्थें।
ऊ एउटा अधबैंसे रिक्साचालक थियो। उसको पुरानो नेपाली ढाका टोपी, उस्तै पुरानो कमिज अनि कालो कट्टु, उसको सुलुत्त परेको नाक, कैलोकैलो छोटा जुँगाले उसको मिजासिलोपनको परिचय दिइरहन्थ्यो। घरबेटी दिदी र दाइले उसका लागि एक सेर रक्सी ल्याइदिन्थे अनि उसको कुरा सुन्न फुर्सद निकालेर बस्थें। ऊ यसरी नै दिनहुँजसो आउँथ्यो अनि दिनभरिको थकाइ मेट्दै तातो र रातो भएर घर फर्कन्थ्यो।
मेरो धेरैचोटिको आगमनले होला, एकदिन त उसले मलाई एक गिलास रक्सी सारेर दियो। मैले नखाने इसाराले टाउको हल्लाएँ। ‘गुड ब्वाई’ भनेर त्यो पनि उसले सिनित्तै पियो। म फुरुङ्ग भएँ, दङ्ग परें, किनकि उसले मलाई पनि बोलायो। साँच्चै नै म ऊसँग बोल्न आतुर थिएँ, मित्रता गाँस्न लालायित थिएँ।
नभन्दै केही दिनमै ऊ मेरो हितैषी मित्र बनिसकेको थियो। मेरो कोठामा आएर ऊ मेरा पुस्तकहरु हेर्थ्याे अनि भन्ने गर्थ्याे, ‘पढेर पनि काम छैन भाइ, यो नेपालको पढाइ। खाली पास गर्यो, सर्टिफिकेट भेला पार्यो अनि खुलेका विज्ञापनहरुमा दौडायो, त्योबाहेक अरु काम छैन। तर, के गर्नु र, नपढे अशिक्षित भन्छन् यहाँ। जे भए पनि जस्तो भए पनि, पढ्नचाहिँ पर्छ है भाइ !’
दसैंको छुट्टी पनि आयो। अब, भोलिपल्ट बिहानै घर लाग्नुपर्ने, त्यसैले म ऊसँग बिदा माग्न साँझपख उसको डेरामा गएँ। ऊ अझै आइपुगेको थिएन। काठेघरको मुनिपट्टि बाँसको चिमले बारेको एउटा कोठा थियो, सायद ऊ त्यहींँ बस्दो हो। केही छिनमै ऊ आफ्नाे रिक्सा बेगले हुइँक्याउँदै आयो र रिक्सा छेउ लगाएर राख्दै भन्यो, ‘ढिलो भएकोमा माफ पाऊँ है सर !’ पोलिथिनको झोलामा अलिकति चामल, माछा अनि पोलिथिनमै बाँधेर अलिकति खाने भुटुन ल्याएछ उसले, सायद मेरो बिदाइका लागि। हामी भित्रै पस्यौं। मलाई खटियामा बस्ने इसारा गरेर ऊ चुल्हो जोड्न थाल्यो, म भने उसको कोठाको रमिता हेर्न थालें। बाँसका पातलो चिमले बारेको उसको कोठाको भित्ताबाट बाहिरको प्रकाश छिरेर बाहिरजत्तिकै उज्यालो थियो। कोठाको एक कुनामा सानो चुल्हो, छेउमा घोप्टाएर राखेका दुईवटा हलुङ्गेका थाल, एउटा कराई, ठूलो चम्चा अनि एउटा प्लास्टिकको बाटा। कोठाको एकापट्टि त्यही एउटा खाट, खाटमा गुन्द्री, गुन्द्रीमाथि चट्टी, सुतीको तन्ना बिछ्याइएको, खाटको सिरानपट्टि एउटा सानो टेबल, खाटमुनि रिक्साका दुईवटा टायर अनि वासरपम्प पनि।
मेरो ध्यान फेरि त्यही टेबलमा गयो। त्यो नाङ्गो टेबलमा उसले बियरका थुप्रै खाली बोतल राखेको रहेछ, सायद सजाएको होला। ती बोतलको पछिल्लोपट्टि दुइटा नामीनामी ब्रान्डका ह्विस्कीका खाली बोतलहरु अनि ती मदिराका खाली बोतलहरुका माझमा एउटा पुरानो सादा फोटो फ्रेम गरेर राखेको रहेछ उसले। त्यो फोटो बिस्तारै हातमा लिएर हेरें, म झसङ्ग भएँ, मन ढक्क फुल्यो, जीउ सिरिङ्ङ भयो, किनकि त्यो फोटोकी महिला मेरी आमाजस्तै थिइन्। ऊ, उसकी श्रीमती अनि काखमा बोकेको सानो बच्चाको त्यो फोटोमा उसकी श्रीमती मेरी आमाजस्तै, फेरि, मेरी आमाको जस्तै त्यो फोटोको उसकी श्रीमतीको दाहिने गालामा प्रस्ट चिनिने एउटा कोठीले पक्का भयो कि तिनी मेरी आमा नै हुन्। अनि मैले लामो सास तानें र उसको परिवारका बारेमा सोधें तर उसले खाना खाइसकेपछि मात्र आफ्नाे कथा सुनाउने भयो।
ह ह ह
‘भाइ, म यहाँको होइन। मेरो घर धेरै माथि पहाडमा पर्छ। म सानो जातको टुहुरो केटो, गाउँकै एक महाजनकोमा हली गोठालो बसेर एसएलसी पास गरें। त्यही गाउँकी एक ठुलो जातकी एउटी केटीसँग मेरो पिरती बसेको थियो। मैले उनलाई बिहे गरें। गाउँघर, समाजमा हामी चुनौतीसरह भयाैँ। हामी स्वयम्लाई पनि त्यो एउटा चुनौती थियो।
हामीले हाम्रो चुनौतीलाई सहर्ष स्वीकार गर्यौं। भाइ, बिहे गरेपछि जसोतसो घरजम चलिराखेकै थियो तर वर्ष दिन बित्न नपाउँदै हाम्रो कोखबाट छोरो जन्म्यो। अब हामीमा थप जिम्मेवारी आइपर्यो। खानबस्न त्यो नाथे हलीगोठालाको ज्यालाले कहाँ पुग्थ्यो र ! त्यसैले, हामी मेरो ससुरालीमा नै बस्न थाल्यौं। फेरि त्यतिमै कहाँ आत्मसन्तुष्टि हुन्थ्यो र ! छोरो छ, खानबस्न, छोरालाई हुर्काउन, बढाउन, पढाउन हामीले केही सोच्नैपर्ने भयो। त्यसैले, म उनलाई माइतमै छोडेर दुईचार पैसा कमाउन सहर झरें।
सहर झरेर मैले तपाईंले पढाउने स्कुलमै जागिर पाएको थिएँ। भाइ, त्यही जागिर नै मेरो जिन्दगीका लागि अभिशापसरह भयो। जागिरे भएको पनि वर्ष, दुई वर्ष बित्यो, त्यही समयमा सहरकी एक केटीसँग मेरो लभ पर्यो। यो छोरा मान्छेको मन पनि साह्रै उत्ताउलो। मैले ती केटीलाई म अविवाहित हुँ भनेर ढाँटिदिएँ। त्यहाँदेखि त भाइ, ख्यालख्यालैमा मैले उसलाई बिहे गरेँ। त्यसपछि त म आफैँले आफैँलाई अपराधीझैं लाग्न थाल्यो, तर के गर्नु र भाइ, जे गर्नु गरिहालियो।
त्यसताका हाम्रो स्कुलमा जिल्लाव्यापी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता भएको थियो। त्यहीबेला हाम्रो गाउँदेखि झरेका मेरो स्कुलका सरहरुसँग मेरो भेट भयो। उहाँहरु मेरो कोठामा आउनुभयो। त्यसपछि त कस्तो हालत जन्म्यो होला त भाइ ! सरहरुले मेरो कुकर्म थाहा पाइहाल्नुभयो अनि त्यहींँ नै पो झपार्न थाल्नुभयो मलाई त, वहाँ तिम्री स्वास्नी र छोरो भने कस्तो दुःख खेपिरा’छन्, तिमी भने यहाँ। ओहो ! त्यहाँदेखि त ती केटी पनि रुन थालिन्, म अपराधीचाहिँ घोसेमुन्टो लगाएर बसिरहें। भोलिपल्ट बिहानै मेरा सरहरु बाटो लागे, ती केटीसँगको सम्बन्ध पनि सुखद रहेन, केही महिनामै हामी छुट्टियौं, म के नै पो गर्नसक्थें र भाइ !
त्यसपछि मेरो मन बरालियो। म जागिर छाडेर बतासिँदै, बरालिँदै कहाँ पुगिनँ र, कोहिमा, भुटान, देहरादुन, मुम्बई सबै घुमें भाइ तर फर्केर कहिल्यै आफ्नो घर भने गइनँ। त्यत्रो ठाउँ घुमियो, कतै खुट्टा हल्लाएर जागिर पकाइयो त, कतै जुठा प्लेट पनि माझियो। अहिले यो बुढेसकालमा रिक्सा कुदाउँदैछु। ई हेर्नुस् न, यिनी मेरी श्रीमती कमला, यो मेरो छोरो प्रतीक अनि म। हामीले आजभन्दा अठार वर्षअगाडि दसैंमा खिचाएका हौं, यो फोटो।’
ह ह ह
अब त ती मेरी आमा नै हुन् भनेर मलाई पक्का भयो, किनकि उसले भनेजस्तै मेरी आमाको नाम पनि कमला अनि म प्रतीक। मेरी आमाले भन्नुहुन्थ्यो, हाम्रो बुबा घर छोडेर गएपछि वर्षौं बित्दा पनि फर्कनुभएन अरे, पछि खबर आयो अरे, बुबाले अर्कै पो बिहे गर्नुभयो भनेर। माइतका बाआमा खसेपछि त भाउजूहरुले पनि साह्रै हेला गर्थे अरे, मेरी आमालाई। म सानै थिएँ अरे। अनि मेरी आमाले त्यो गाउँ छाडी मलाई लिएर कतै टाढा जानुभयो अरे। अर्काकोमा बनिबुतो गरेर भए पनि मेरी आमाले मलाई पढाउनुभएको अरे। अझै पनि मेरा लागि मेरी आमाले एकदुई मोहर पोल्टामा साँचिराख्नुहुन्छ।
ती रिक्सावाल दाइलाई एकिछन हेरिरहें, उसप्रति मायाको सागर उर्लेर आयो। उहाँ त मेरा बुबा पो हुनुहुँदोरहेछ। मेरो मन गाँठो परेर आयो। छाती निचोरिएर आयो, आँखा रसाएर आयो अनि गह्रौं मन बोकेर म मेरो डेरा फर्कें।
भोलिपल्ट सबेरै म उसको डेरामा गएँ। यसपालिको दसैं मेरो घरमा मनाउने कुरा गरें, ऊ मान्दै थिएन, तर मैले उहाँलाई जसरी भए पनि लानु नै थियो।
करिब ६ घन्टाको बसको यात्रा अनि थप छ घन्टाको लामो पैदल यात्रापछि मात्र हामी साँझमा घर पुग्यौं। आमा घरभित्र चुल्होछेउ खोक्तै बसिराख्नुभा’को रै’छ। मेरो बोली सुनेर उहाँ बाहिर निस्कनुभयो। हामी भित्रै बस्यौं। आमाले कुपी ल्याएर हाम्रो छेउमा राखिदिनुभयो र बाहिर निस्कनुभयो। वातावरण एकिछन सुनसान भयो। मैले मेरो बुबाको अनुहारतिर हेरें, उहाँका आँखाबाट आँसु झर्दै थियो। मैले ‘नरुनुस् बुबा’ भनेर आँसु पुछिदिएँ। मेरो आँखामा पनि आँसु डबडबाइरहेको थियो।
आमालाई बोलाउने निहुँमा बाहिर गएर अँध्यारोमा आँसु पुछें र आमालाई बोलाएँ। आमा पिँढीमा आँगनपट्टि फर्केर बसिराख्नुभा’रैछ। आमालाई भित्रै आउनुस् न भनी साउती गरें तर उहाँ त अघिदेखि नै पछ्यौरीले आँसु पुछ्दै सुक्सुकाइरहनुभएको रहेछ।