कालिकाेटकाे नरहरिनाथ गाउँपालिकामा २०६५ जेड १९ गते वडा नम्बर- ९ की दलित महिला सदस्य मना सार्कीलाई धारा छाेएकाे निहुँमा हत्या गरियाे।
मना शनिबारको दिन आफ्नै खेतबारीमा दिनभरि मकै गोडमेल गरेकी थिइन्। बारीको काम सकेर घर फर्किदा साँझ सार्वजनिक धारामा हातखुट्टा धुन गइन। त्यहीबेला उनलाई धारा छोएको र पानी अछुतो बनाएको पारेको भन्दै स्थानीय राजिन्दा शाही र सिर्जना शाहीले कुटपिट गरे।
मना चिच्याउन थालिन्। उनका कान्छा छोरा नेत्र सार्की दगुर्दै त्यहाँ पुगे। त्यसबेला मना अचेत अवस्थामा पुगिसकेकी थिइन्। अर्का छोरा पदम सार्की पनि त्यहाँ पुगे। त्यतिन्जेल मनाकाे हाेस् गुमिसकेकाे थियाे। उपचारका लागि अस्पताल लैजान नपाएपछि त्यही रात ११ बजे उनकाे ज्यान गयो।
पानी छुँदा, मन्दिर पस्दा र बाटो काट्दा समेत ज्यान जाने ठाउँमा कुटाइ खानु त पानी सरह भएकाे पदमले बताए।
छुवाछूत तथा जातीय विभेद उन्मूलन गर्न देशले थरीथरीका कानुन बनाएको छ। पटक–पटक घोषणा गरेको छ। २०६८ जेठ १० मा संसद्ले जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय र ऐन पास गरेको थियो। दुर्भाग्य त्यसकाे ९ वर्षपछि त्यही दिन रुकुम पश्चिममा नवराज विकलगायत ६ जनाकाे बीभत्स हत्या भयाे। साेती घटनाकाे ३ वर्ष अगाडि जेठ महिनामै नरहरिनाथमा मनाले जातका कारण ज्यान गुमाउनु पर्याे। जसले साेती नरसंहारकाे संकेत गरिरहेकाे थियाे।
कानुन बनेकाे दिनलाई सम्झेर हरेक वर्ष उत्सव मनाउनुपर्नेमा हिन्दू वर्णाश्रम व्यवस्थामा आधारित समाजले रुकुम पश्चिमकाे साेती नजिक भेरि किनारका रगतकाे खाेलाे बगायाे। अन्तरजातीय प्रेम, विवाहका कारण, पानी, धारा र चुलो छोएको निहुँमा हत्या भइरहेका छन।
जनताको आवाज बोल्ने न्याय दिने प्रतिनिधिको आवाज बलियो हुनुपर्ने भएपनि दलित हो भने जनप्रतिनिधिको के हालत हुन्छ भन्ने कुरा नरहरिनाथ गाउँपालिकामा देखिएको छ।
संविधान जारी भएपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई नरहरिनाथमा कुटेर मारियो, कारण एउटै थियाे मनाले सार्वजनिक धाराकाे पानी छोएकी थिइन। पिडकले उल्टै गैरदलितसँग शारीरिक सम्बन्ध गरेको आरोप समेत लगाई बेइज्जती गरेका थिए।
४ दिनपछि आफन्तले शव बुझेर दाहसंस्कार गरे। कुटपिट गर्ने छिमेकी दुई महिलालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा त चलायाे। तर, परिवारले हालसम्म न्याय पाउन सकेकाे छैन।
उनी जनताकाे घर नजिककाे सिंहदरबारकी प्रतिनिधि पनि हुन। तर, उनले हालसम्म न्याय नपाउनु भनेकाे सरकार हार्नु हाे। सरकार हारेर हत्यारा बचिरहँदा समाजमा विभेदका बडेबडे खाडल खनिदै गएका छन।
मना सार्कीकाे हत्या छुवाछूत र जातीय विभेदको मुद्दा भएपनि प्रहरीले कर्तव्य ज्यानको मुद्दा मात्रै चलयाे। पोष्टमार्टम रिपोर्टमा पनि जालसाजी गरेर मुद्दाको तोडमोड गर्न खोज्याे। दलित भनेर हेपिएकाे स्थानीय शिक्षक चिन्तन नेपालीले बताए।
मनाले वडामा सर्वाधिक मत पाएर विजयी भएकी थिइन। तर, उनकाे हत्या हुँदा समेत वडाध्यक्ष र गाउँपालिका अध्यक्ष तथा सिंगाे गाउँपालिकाले एउटा शोक वक्तव्य समेत निकालेन। हत्याको छानबिन गराउने कुरा त परकै भयाे। शिक्षक नेपालीले भने,'कथित माथिल्लो जातकाहरु एकमुख भए। उल्टाे दलित भनेर अनेक लाञ्छना लगाए।'
बरु त्यसबेला प्रतिनिधिसभाको बैठकमा कालिकोटकाे उक्त घटनलाई लिएर दोषीलाई कारबाही गर्न सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउने काम भएकाे थियाे। बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य भएको बताएकी थिइन।
सांसद देवकोटाले उक्त घटनामा संलग्न राजेन्द्र शाही र सिर्जना शाहीलगायतका दोषीलाई हदैसम्मको कानूनी कारबाही गर्न गृहमन्त्रीसँग माग त गरेकि थिइन। तर, पीडितलाई न्याय दिन न सरकारकाे ध्यानाकर्षण भयाे त न गृह मन्त्रालयले प्रहरीलाई सक्रिय गराउने काम गर्याे।
जातीय विभेदलाई दण्डित गर्ने कानुन बने पनि प्रहरीले दलितका उजुरी दर्ता गर्न नै अस्वीकार गर्ने गरेको छ। दलितको आवाज कमजोर हुने र आरोपीको पहुँच बलियो हुने हुनाले प्रहरीले मिलापत्रमा मुद्दा टुंग्याउने गरिएका अनेक प्रमाण छन्। मुद्दा चलाइहाले पनि प्रमाण कमजोर बनाउने गरिएको छ।
त्यसैले प्रहरीबाट अदालतसम्म पुगे पनि अधिकांश मुद्दामा पीडकले सफाइ पाउने गरेका कयाैं तथ्यहरुकाे चाँङमा मना सार्कीकाे नाम थपिने सम्भावना बलियाे छ। जुन नजिर बनेर नवाराजहरुकाे मुद्दालाई समेत प्रभावित पार्ने निश्चित छ।