बिहिबार सरकारले पूर्णता दिएको मन्त्रिपरिषद् विवादरहित बन्न सकेन।
करिब ८२ दिनदेखि चर्चामा आएका केही नेताहरुको नाम मन्त्रीकोे सूचीमै नअटाउनू र प्रधानन्यायाधीशले समेत भागबण्डा खोजेपछि मन्त्रिपरिषद् विस्तारको कामप्रति सबैले आलोचना गरे।
मन्त्रीको सूचीमा आफ्नो नाम नपरेपछि तात्तिदै हिँडेका प्रमुख तीन नेता हुन्, मेटमणि चौधरी, सुजता कोइराला र प्रमोद शाह।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट मेटमणि चौधरीको नाम सामाजिक सञ्जाल र राष्ट्रिय सञ्चारमाध्यमहरुमा खुब चर्चामा आयो, मन्त्रीको लागि। तर अन्त्यमा उनी मन्त्री बन्नै सकेनन्। त्यसपछि चौधरीले मन्त्री बन्न नसकेको दुखेसो पोख्दै हिँड्न थालेका छन्।
शुक्रबार साँझ एक टेलिभिजनमा उनले निन्याउरो अनुहारसहित अन्तर्वार्ता दिए। अन्तर्वार्तामै उनले दुखेसो सुनाए, 'मसँग पैसा थिएन। मैले पैसा फाल्न सकिनँ। यसैले म मन्त्रीको लागि योग्य बनिनँ। यसो भनिरहँदा तपाई बुझ्न सक्नुहुन्छ कि हाम्रै पार्टीबाट मन्त्री बनेका अन्य नेताहरु मन्त्रीको लागि योग्य नभएका भने होइनन्।'
त्यस्तै नेता चौधरीले शनिबार साँझ अर्को टेलिभिजन अन्तर्वार्ता दिँदै भने, 'पार्टीभित्रे ठूलो दुर्घटना भएको छ। दुर्घटना गाडी बिग्रेर भयो कि ड्राइभरको कारणले भयो भन्ने विस्तारै थाहा हुँदै जान्छ।'
नेता चौधरीको दुखेसो सुन्दा यस्तो लाग्छ कि उनी वास्तवमै पार्टीसँगै रुष्ट बन्दै गइरहेका छन्। त्यसो त, उनीनिकटकै केही नेताहरुको अनुसार चौधरी पार्टी अध्यक्ष नेपालसँग आजितसमेत भइसकेका छन् रे !
मन्त्री बन्न नपाउँदा दुखेसो पोख्दै हिँडेकी अर्की नेतृ हुन्, नेपाली कांग्रेसकी सुजता कोइराला। उनले पनि प्राइम टेलिभिजनमा एक अन्तर्वार्ता दिँदै आफ्नो दुखेसो पोखिन्। उनले अन्तर्वार्तामा भनेकी छन्, 'म मन्त्री बन्न लगभग पक्का भइसकेको थियो। तर अन्त्यमा रामचन्द्र पौडेल र शंशाक कोइरालाले धोका दिए। मैले अब उनीहरु कस्तो प्रवृतिको मान्छेहरु हुन् भनेर बुझिसकेँ। उनीहरुसँगको मेरो साथ अब छुटिसक्यो।'
अन्तर्वार्तामा सुजताले आफ्नै पार्टीका नेता रामचन्द्र र शंशाकलाई 'तपाई'समेत भन्न रुचाइनन्। उनले 'तिमी' नै भनेर बारम्बार गुनासो पोखिरहिन्। समग्रमा उनको अभिव्यक्ति सुन्दा पनि लाग्छ कि उनी पनि पार्टीभित्रैका नेताहरु निकै रुष्ट छिन्।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने सुजतालाई मन्त्री बनाउन सकारात्मक नै थिए रे ! हेरोँ, अब सुजताले देउवासँग अब कसरी अघि बढ्छिन् ?
जनता समाजवादी पार्टी (जसपा)का नेता प्रमोद साहले पनि आफु मन्त्री बन्न नपाएको गुनासो पोख्दै हिँडिरहेका छन्। उनले आफ्नै पार्टी अध्यक्षलाई समेत ठाडै प्रश्न गरेका छन्, 'मन्त्री नबनाउनु थियो भने किन मेरो नाम बिहानैदेखि सार्वजनिक गरेर मानमर्दन गरियो ? मलाई हिसाब चाहिन्छ।'
नेता साह पनि मन्त्रीको सूचीमा नअटाएपछि पार्टीसगँ रुष्ट नै छन्।
'हमालले के साेचे कुन्नी !'
मन्त्रिपरिषद् विस्तारको तीन दिन बितिसक्दा भने फेरि अर्को नयाँ 'ट्वीस्ट' थपिएको छ। प्रधानन्यायाधिशको कोटाबाट मन्त्री बनेको भनिएका आपूर्तिमन्त्री गजेन्द्र हमलाले एकाएक राजीनामा दिइसकेका छन्।
पदभार सम्हालेको दुई दिनसम्म उनले के सोचे कुन्नी, आइतबार बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई राजीनामा पत्र बुझाए।
सरकारले हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको दावी गरे पनि तीन दिनकै हमलाको अप्रत्यासित राजनीमाले उनी प्रधानन्यायाधिशकै कोटाबाट मन्त्री बनेका थिए भन्ने झन् स्पष्ट पारेको छ।
सायद, उनले चौतर्फी आलोचना सहन नसकेपछि यस्तो निर्णय लिए। धन्य हमाल ! आफूलाई साँचो सावित गरे।