१३४ वर्ष पुग्यो वीर अस्पताल 

बुढो ‘बीर’को तन्नेरी रुप

मिनु गोले

काठमाडौं
BreaknLinks
BreaknLinks

‘औषधि नहुँदा रैतीले साह्रै दुःख पाउँदा रैछन्, त्यसैले अस्पतालको स्थापना गरेको हुँ। काठमाडौँको रानीपोखरीनिर हस्पिटल खोलिएको छ। रैती दुनियाँको एक पैसा खर्च नभै औषधि गर्न पाउने छन्,’ वि. सं १९४६ साल साउन १२ गते वीर अस्पतालको उद्घाटन गर्दै तत्कालीन वीर शमशेर जबराले भनेका थिए, ‘बेरामीका हिफाजतलाई जो चाहिन्या भान्छे, नोकर चाकरहरूको पनि बन्दोबस्त गरी खाना पिन्या सरजाम, सुत्न्या पलङ, बिछ्यौना दुरुस्त छन्, केही कुरामा कमी छैन। बेरामी १५ लाई हिफाजत साथ राज-रोज खाना पिनालाई चाहिन्या सरजामसमेत तयार छ।’


१ सय ३४ वर्षे जीवनको उकालो काटिसकेको यो त्यही वीर अस्पताल हो, जहाँ उपचारका लागि जनतालाई अस्पताल आउने ‘आदत’ बसाल्न तत्कालीन राणा शासकले त्यहाँ नि:शुल्क मासु-भातको पनि व्यवस्था गरिदिएका थिए।

आधुनिक नेपालको स्वास्थ्योपचार इतिहासमा वीर आफैं एउटा विम्ब पनि हो, अस्पतालहरूको।

वीर शमशेरले त्यो बखत नेपालको पूर्वदेखि पश्चिमसम्म देश भ्रमण गरेका थिए। त्यही क्रममा उनले मुख्य-मुख्य भागमा केही चिह्नहरू छोड्दै गए। चिह्नहरूमा लेखिएका हुन्थे ‘पि.वीर. १…२…३…’ पि भनेको ‘पृथ्वीनारायण शाह’ र वीर भनेको वीरसमशेर राणा। सार्वजनिक सम्पत्तिको नामाकरण तत्कालीन राजा(श्री ५) र प्रधानमन्त्री (श्री ३)का नाममा हुन्थे।

ती चिह्न राखिएका ठाउँहरूमा पछि सँगसँगैजसो अस्पतालहरू निर्माण भए। त्यही क्रममा जन्मिएका वीर, कोशी अनि भेरीजस्ता अस्पतालहरूले १ सय ३३ वर्षको इतिहास बनाइसकेका छन्।

रानीपोखरी नजिकै जहाँ अहिलेको नाचघर छ, त्यही जमिनमा केही छाप्राहरू बनाएर वीर शमशेरले अस्पतल सुरु गरेका थिए। जहाँ सुरुवातमा बेलायत र बंगालबाट झिकाइएका डाक्टरहरूले यहाँका नागरिकको उपचार गर्थे। वीर शमशेर आफैं पनि त्यहाँ उपचारका लागि जान्थे। आफू र आफ्ना परिवारको थुप्रै ‘बिमार’हरू भोगेका वीरले आफ्नै लागि पनि अस्पताल खोलेका थिए भनेर इतिहासकारहरूले लेखेका छन्।

यो इतिहास, इतिहासमात्रै होइन, वीर नेपाली आधुनिक चिकित्साको एउटा प्रस्थानविन्दु पनि बन्यो।

तर, १३४ वर्षको यो बुढो वीर राज्यको वेवास्ताले कहिले आफैं बिरामीजस्तै भयो। कहिले निकै हेलाको पात्र बन्यो। धेरै आलोचनाको शिकार बन्यो। जनताको उपचारका नाममा धेरैको राजनीति गर्ने थलो पनि बन्यो।

र, अब यो बुढो वीर फेरि एकपटक जवान बनेर दौडिने प्रयासमा छ। आफ्ना सेवा, सुविधालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै गएको वीर अहिलेसम्म आम नेपालीको स्वास्थोपचारमा एउटा भरोसा र आशाको केन्द्रजस्तै बनेको छ।

सुधारका यात्राहरू

एक समय थियो, देशभरिबाट वीरमा आउने बिरामी र बिरामी स्याहार्नेहरूले महिनौँ दिनका लागि काठमाडौं बसाइँ तय गर्नुपर्थ्यो। बिहानैदेखिको लाइन, राति अबेरसम्म पनि सकिँदैन थियो। अस्तव्यस्त वीर कनै बेला आफैं बिरामी र रुग्णजस्तै बन्यो।

डाक्टर भेट्न नपाएका बिरामीहरू आफ्नो दु:खाइ सहँदै महिनौं कुर्थे। कति त भेट्नै नपाइ फर्किन्थे। एउटा अप्रेशनका लागि पालो पाउन त वर्षौं लाग्थ्यो। केही दिनमै उपचार पाएर फर्किने बिरामीलाई सबले ‘भाग्यमानी’को नजरले हेर्थे। र, त्यस्ता भाग्यमानी सयौँमा केही जनामात्रै हुन्थे। जसको पहुँच र ताकत पुथ्यो। बाँकी त सब उही, लाइन बस्यो फर्कियो…।

अब वीर त्यस्तो छैन। उसले अब चोला फेर्दैछ। आफूमाथि लागेका सारा दागहरू मेटाउँदैछ। सुधारका यी पाइलाहरूमा अब बिरामीका चाल पनि मिल्न थालेका छन्। समयसँगै वीर अब पुरानो इतिहासमात्रै होइन, अन्तर्राष्ट्रियस्तरको आधुनिक चिकित्सा यात्रामा अघि बढ्दैछ।

१५ वटा पलङहरू बिछ्याएर बिरामीको उपचार सुरु गरेको वीरमा अब अत्याधुनिक लगभग एक हजार बेडमा एकैपटक बिरामीहरूले उपचार पाइरहेका छन्। त्यसका लागि वीरसँग ६ वटा भवनहरू छन्।

बिहान ८ बजेदेखि नै अब सबै क्याबिनहरूमा डाक्टर पुगिसक्छन्। बिहान सबेरै ७ बजेदेखि खुल्ने टिकट काउन्टरहरूमा अब पहिलाजस्तो धेरैबेर लाइन बस्नै पर्दैन। अनलाइन सेवा पनि छ। तर, अनलाइन प्रणाली वा त्यसमा धेरैको पहुँच भने छैन।

२०६३ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान गठन भएपछि वीर त्यसकै मातहतमा रह्यो। र, त्यसपछि वीरले बिरामीको उपचारमात्रै गरिरहेको छैन, सँगै ती बिरामी जाँच्ने डाक्टर अनि नर्सहरू पनि जन्माइरहेको छ। वीरको यो अर्को जुनी हो।

औषधिमै ठगिने अनि लुटिने बिरामी र आफन्तहरूलाई अब त्यसरी अस्पतालमै लुटिनुपर्दैन। वीरका हरेक तलाहरूमा अब उसको आफ्नै फार्मेसीहरू खोलिएका छन्, जहाँ सही मूल्य र परिणामका औषधिहरू पाइन्छन्।

‘हामीले उपचारका लागि आउने बिरामीको चापलाई हेरेर सुधारका प्रयासहरू गरेका छौं,’ वीर अस्पतालका सूचना अधिकारी डा.सागर मिश्रले भने, ‘देशभरिका नागरिकले उपचारका लागि वीर नै रोज्ने गरेका छन्। अर्को कुरा आर्थिक कारणले पनि होला प्रारम्भिक परीक्षण जहाँ गरे पनि जटिल सेवा लिन वीरमा आउने गर्छन्, विशेषगरी अस्पतालको भीड यो मध्यदिनमा साढे १० देखि साढे १२ बजेसम्म धेरै भीड भएको देखिएको छ। हामीले त्यसैलाई व्यवस्थित गर्न खोजेका हौं।’

गरीब र विपन्नहरूले वीरमा उपचार गराएबाफत कुनै शुल्क तिर्नुपर्दैन। यहाँ करिब ७०० बेडहरू त्यस्ता बिरामीका लागि छुट्याइएको छ।

सबैभन्दा धेरै विशेषज्ञ सेवा पाइने अस्पताल पनि वीर नै हो। यहाँ करिब ३२ प्रकाशका विशेषज्ञ सेवा छन् र त्यसैमा विज्ञता लिएका डाक्टरहरू छन्। ‘यहाँ उपचार पनि खासै महंगो छैन। यो आम नागरिकलाई सजिलोसँग उपचार सेवा दिनका लागि खोलिएको अस्पताल हो,’ मिश्र भन्छन्, ‘सबैभन्दा महंगो उपचार भनेको ब्रेनको सर्जरी हो। त्यसको शुल्क २५ हजार हो। यहाँ कुनै पनि उपचारका लागि लाखौं वा करोडौं जोहो गर्नैपर्दैन।’

उनकाअनुसार अब नयाँ भवनबाट पनि सेवा सुरु भइसकेको छ। त्यसले गर्दा बिरामीको चाप केही हदसम्म व्यवस्थित भएको छ।

कुनैबेला गन्धले सहिनसक्नु वीरका शौचालयहरू पनि विस्तारै सफा हुँदैछन्। त्यसकै कारण वीरको धेरै आलोचना पनि भइरहेको थियो। ‘हामीले अस्पतालको सरसफाइमा ध्यान दिएका छौं। शौचालय दिनमा कम्तीमा तीन चार पटक सफा गर्छौं। अहिले धेरैजस्तो मान्छेले पहिलाको भन्दा राम्रो हुन्छ भन्न थालेका छन्,’ मिश्र भन्छन्, ‘हामी पनि सरसफाइप्रति निकै सजक र सचेत छौं।’

विशेषज्ञसहित यहाँ ३ सय ३६ जना डाक्टरहरू छन्। करिब ५ सयभन्दा धेरै नर्सहरूले बिरामीलाई सेवा दिइरहेका छन्।

प्रकाशित मिति: : 2023-07-28 21:20:00

प्रतिकृया दिनुहोस्