सगरमाथाको चुचुरोमा
मान्छेले विजयको झण्डा गाड्यो
समुद्रमाथि पुल हाल्यो
पानीमुनि बसायो मानवबस्ती
केही घण्टामा नै महासागर छिचोल्ने जहाज बनायो
धर्तीका कुनाकाप्चा फैलायो आफ्नो साम्राज्य
र
बुन्दैछ अन्तरिक्षमा बस्ती बसाउने योजना,
अन्ततः दंगदास भयो देखेर
विज्ञानको प्राप्ति
र प्रविधिको चमत्कार
यन्त्रका आँखाले हेर्न थालेपछि
अहंकारको मातले लठ्ठिएर
फुटायो उसले आफ्नै विवेकका आँखाहरु
अनि जारी गर्यो प्रकृतिमाथि विजयको घोषणापत्र
उसले गर्यो प्रगतिको नाउँमा प्रयोगको ज्यादती
जंगलका छाती चिथोर्यो
पहाडको हाडछाला काढ्यो
सेता हिमसारी लुछेर हिमालहरु नंग्यायो
आफ्नो स्वतन्त्रता खोज्न उसले
वन्यजन्तुहरुको उठीबास लगायो
नदीमा बग्ने स्वच्छता देखि सहेन
र बगायो आफ्नो मलमूत्रको बाढी
पृथ्वीमाथि जमायो एकलौटी अधिकार
तर अणुवम बनाउने शूत्र थाहा भएको उसलाई
थाहा थिएन प्रकृतिको सन्तुलनको शूत्र
अनि परीक्षा प्रणाली
गुफाबाट शुरु भएको उसको यात्रा
आज गुफामै टक्क अडिएको छ
घमण्डको सभ्यता धर्मराएको छ
सधैं सधैं हतारमा हुने मान्छे
आज फुर्सदै फुर्सदको उकुसमुकुसमा छट्पटीएको छ
स्वार्थको विषले भष्मासुर भएको मान्छेलाई
क्रियाको प्रतिक्रियामार्फत
प्रकृति सिकाउँदै छिन्
समभाव र सहअस्तित्वको महान पाठ
किनकि प्रकृति आमा हुन् र गरु पनि