कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।
त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।
यस अन्तर्गत दाेस्राे श्रृंखलामा श्रवण मुकारुङकाे कविताः
हे कालीगण्डकी
ए कालीगण्डकी...!
हे आमा गण्डकी...!
माकुरोको माउ भयो
तिम्रो जिन्दगी
तिम्रो अमृतधारा पिई
हुर्किएका सन्तान
तिम्रै मुटु कलेजा पो
कुटुकुटु खान्छन्
ए कालीगण्डकी...
तिम्रो नाम कैलाशदेखि
काशी गंगासम्म
तर तिम्रै काख रित्तो
लुटे शालिग्राम
ए कालीगण्डकी...
तिम्रो निश्चल बगाइमा
हिमाल ऐना हेर्थ्यो
कौडा नाच्थे डाँफे मुनाल
घामले भाका फेर्थ्यो
ए कालीगण्डकी...
यता गैह्रो उता पैह्रो
त्चँ ! त्चँ ! कठैबरा
कुन विरह बोकी बसाइँ
सर्यो पानीचरा
ए कालीगण्डकी...
पुर्खा थिए माहुरीझैं
तिमी तिनको रानी
तर तिम्रा सन्तान चैं
तिम्रै मलाम जानी
ए कालीगण्डकी...
लाज, घिन, पाप, धर्म
छैन कुनै डर
आफ्नै आमा बेची मान्छे
बनाउँदैछन् घर
ए कालीगण्डकी...
यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः