मन्त्रालयकाे भागबण्डा सच्याउन माधव नेपालकाे चेतावनी, पौडेल समूहले पनि माग्याे तीन मन्त्री

Breaknlinks
Breaknlinks

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकाे सरकार बनेकाे दुई महिनाभन्दा बढी भइसकेकाे छ। तर अझैसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेकाे छैन।

सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालयकाे भागबण्डा माेटामाेटी रुपमा तय भइसकेकाे छ। तर ठ्याक्कै मन्त्रीहरु भने पक्का भइसकेका छैनन्।

यसैबीच कांग्रेसभित्रकै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रिपरिषदमा आफ्नो पक्षका तीन जना मन्त्री हुनुपर्ने माग गरेकाे छ। तर प्रधानमन्त्री देउवाले भने पाैडेल समूहकाे उक्त मागलाई ठाडै अस्वीकार गर्दै दुई मन्त्रीभन्दा बढी दिन नसक्ने बताएका छन्।

पार्टी क्रियाशील सदस्यता र मन्त्री भागवण्डाबारे छलफल गर्न पौडेल समूहका नेताहरु प्रधानमन्त्री देउवाकै बालुवाटार निवास पुगेका थिए।

भेटमा पौडेल समूहका नेताहरुले पार्टीले पाएको ८ मध्ये तीन मन्त्री आफूहरुले पाउनुपर्ने बताएका थिए। तर देउवाले दुई जना भन्दा बढीलाई मन्त्री बनाउन नसकिने ठाडै जवाफ फर्काएक थिए।

देउवाले ठाडै जवाफ दिएपछि पौडेल समूहका नेताहरु मन्त्रीकाे लागि कुनै नाम नै नदिइ रुष्ट हुँदै बालुवाटारबाट 'ब्याड मूड'मा निस्किएका थिए।

'हामीले तीन मन्त्री चाहिन्छ भनेर प्रस्ताव गर्याैँ। तर उहाँले दुईभन्दा बढी दिन नसक्ने अडान लिनुभयाे। कुरा नमिलेपछि हामी कुराकानीबाट निस्किहाल्याैँ,' पौडेल समूहकै एक नेताले बिएल नेपाली सेवासँग भने।

सरकारमा हाल कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण, कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ सहभागी छन्। उनीहरु सबै देउवा समूहका हुन्। देउवा समूहबाटै पुष्पा भुसाल पनि मन्त्रीकाे लागि लगभग पक्का भइसकेकाे छ।

त्यसाे त देउवाले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई पनि एक मन्त्री दिने तयारी थालेका छन्। यससँगै सिटाैला समूहबाट भने उमाकान्त चौधरी मन्त्री बन्ने पक्का भइसकेकाे छ।

नेकपा (एकीकृत समाजवादी)काे असन्तुष्टी

सत्ता गठबन्धनका विभिन्न दलहरूले कति मन्त्रालय पाउने भन्नेबारे माेटामाेटी निश्चित भइसकेकाे छ। जस अनुसार कांग्रेसले प्रधानमन्त्री सहित ८, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४-४ वटा मन्त्रालयकाे नेतृत्व गर्नेछन्।

तर याे भागबण्डासँग माधव नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी)ले भने आपत्ति जनाएकाे छ। मन्त्रालयको संख्यामा चित्त नबुझेपछि नेकपा (एस)ले मन्त्रालय भागबन्डा नसच्याएसम्म सरकारमा नजाने  चेतावनी दिएको हाे।

मन्त्रालय भागबन्डाबारे फेरि छलफल भएपछि मात्रै पार्टीले मन्त्रीको नाम तय गर्ने नेकपा (एस) अध्यक्ष माधव नेपालले बताएका छन्। मन्त्रालयकाे भागबन्डा सम्मानजनक हुनुपर्ने उनकाे जिकिर छ।

यससँगै नेकपा (एस)ले आपत्ति जनाएपछि प्रधानमन्त्री देउवालाई तनाव थपिएकाे छ।

सहमति अनुसार माओवादीले भने मन्त्रीहरुकाे नाम टुंगाे लगाइसकेकाे छ। जस अनुसार देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाइँदै छ। माओवादीबाटै यसअघि जनार्दन शर्मा र पम्पा भुसाल सरकारमा सहभागी छन्। 

प्रकाशित मिति: : 2021-10-07 09:38:00

प्रतिकृया दिनुहोस्